स्मृतिका पानाबाट (कथा)

सुवर्णेश्वर मन्दिरको डाँडामा पुगेर कटुञ्जे गाविसलाई आँखाले नथाकुञ्जेल एक फन्को लगाएँ । बिहानको आठ बजेको हुँदो हो । पुस महिनाको दिन, घाम लाग्ने कुरै थिएन । ज्यान काँपिरहेको थियो तर पनि म विना हलचल विगत सम्झिएर उभिरहेँ ।

आजभन्दा ठीक दश वर्ष अगाडिका ती अतितका दिनहरू मेरा मन मस्तिस्कमा अझै पनि ताजा र स्मरण योग्य थिए । स्थानीय निकायको चुनावको तयारी, त्यसमा पनि नारा र जुलुशका आवाजहरू, जताततै जिन्दावाद र मुर्दावाद मात्र । धेरै वर्षपछि हुनलागेको रे यसपाली स्थानीय निकायको चुनाव । कहिल्यै यस किसिमको वातावरण महसुस नगरेको मलाई, नारा र जुलुशमय परिवेश हेर्न अति चाख लाग्न थाल्यो । बाहिर कुनै किसिमको आवाज सुन्ने बित्तिकै म घरको बारदलीबाट लम्किएर हेर्थँे । झन्डा कस्तो छ ? मानिसहरूको उपस्थिति कति छ अनि चहल्–पहल् कुन पाटीको कति छ ? आदि इत्यादि ।



एकछिन् वातावरण शान्त हुन्थ्यो र म लुसुक्क कोठाभित्र छिर्थें अनि फेरि किताब समाएर परीक्षाको तयारी सुरू गर्थे । मलाई त्यो चुनावी माहौल अति रमाईलो लाग्न थालेको भएर होला, प्रचारबाजीमय रोचक अवस्थालाई नियाली मात्र रहुँ, बरू परीक्षा छोडिदिऊँ या नदिऊ जस्तो लाग्न थालेको थियो । फेरि सोच्थेँ– होइन, किन छोडुँ परीक्षा ? म कुनै पाटिको प्रतिनिधित्व गर्दैछु र ? एकछिनको रमाइलो हेर्न मैले मेरो परीक्षा नै रद्घ गर्नु हुँदैन । विना पढाइ भोलि मैले के गर्ने ? मेरो भविष्य कस्तो होला ? यसर्थ मैले मेरो लक्ष्य प्राप्तिको लागि भए पनि पढ्नु नै छ । अनि केही सिप नलागेपछि मन मारेर आँखा किताबका वाक्यहरूमा नचाउँन थाल्थेँ । ईच्छा नलागी नलागी मैले परीक्षाको तयारी गरेँ र परीक्षा पनि दिएरै छाडेँ ।

परीक्षा सकियो । कक्षा कोठाबाट बाहिर निस्किएँ । लामो सास फेरेँ । अनि सानोठिमी क्याम्पसको क्यानटिनभित्र छिरेँ र ठाडो घाँटी लगाएर रातो प्लास्टिकको जगबाट घट्घट् पानी पिएँ । अब भने फ्री भइयो । चुनावी माहौल हेर्न रमाइलो हुने भयो । यही सम्झिदै हतार हतार म गाडी चड्न क्याम्पस अगाडिको बाटोमा पुगेँ । गाडी आयो, कोच्चिँदै चडेँ । पुरानो ठिमी हुँदै गाडी सल्लाघारी पुग्यो । गाडी दुधपाटीतिर लाग्यो, म भने आफ्नो घर जाने बाटो तीनकुनेतिर लागेँ ।

ट्राफिक लाइटको रातोे बत्ती बलेछ । दुईतिर गाडीको लामो ताँती देखियो । कुन बेला बेला हरियो बत्ती बल्ला र गाडि हुइँक्याऊँ भन्ने दाउमा ड्राइभरहरू देखिन्थे । म भने ट्राफिक लाइट हेर्दै बाटो काट्न के लागेकी थिएँ, कताबाट एक्कासि फेरि ठूलो समूहले लगाएको नाराको चर्को ध्वनि मेरा कानमा आएर ठोकियो ।
निमेषभरमैं टाउको मात्र देखिने गरी सडकमा कोचाकोच मान्छेको भीड देख्दा मलाई देश व्यापी रूपमा ठूलो जुलुस विरोधमा उर्लिएझैँ लाग्यो । गाडी चालक, यात्रु र ट्राफिकको आँखा त्यो भीडमा गएर अडियो । सबैजनाको ध्यान त्यतै आकर्षित भयो ।

‘हाहाहा । हरियोे बत्ती बलेर पनि फेरि रातोे बत्ती बलिसकेछ ।’ एउटा गाडी चालकले केहीबेरपछि हाँस्तै भन्यो । छेउमा रहेको ट्राफिकले भन्यो ‘अनि के हेरेर बसेको त आफ्नो काम नगरी ? यहाँ बसेर यस्ता नारा र जुलुस हेर्न थाल्यो भने दिन गएकै पत्तो हुँदैन । आखिर काम नगरी घर चल्दैन ।’ ‘जब चुनाव आउनलाग्छ अनि नेताहरूको नाटक हेर्न यसैगरी रमाइलो पो हुन्छ त केही दिन… हाहाहा !’ सडक काट्न लागेको कुनै बटुवाको आवाज सुनियो । सबै हाहाहा गर्दै हाँस्न थाले । नारा र जुलुश गरेर हिँडेका पार्टी, कार्यकर्ता र नेताहरूलाई एकछिन भए पनि तिनीहरूले हाँसेर उडाई दिए । म विना प्रतिक्रिया तिनीहरूको कुरा सुनिमात्र रहेँ ।
नारा–बाजी साम्य भयो । सबै आफ्नो बाटो लागे । मैले पनि बाटो काटेँ र पाइला कटुञ्जे हाइटतिर लम्क्याएँ । कुखुराका चल्लाहरू खोरबाट फुत्किएझैँ गरी हुरूरूरू हजारौँ मान्छेहरू कहाँबाट निस्किए र एक सुरले हिँड्दै गरेकी म अचानक त्यस भीडबाट घेरिन पुगेँ । अचानक ठूलो समूहबाट घेरिएर म आत्तिएँ, निसास्सिएँ, उकुश मुकुश भएँ । मलाई के गरूँ र कसो गरूँझैँ भयो । बल्ल बुझेँ, त्यो भीड त घरदैलो अभियानको लागि निस्किएको रहेछ । अनि मन ढुक्क भयो । जुलुश छिचोल्दै म आफ्नो बाटो लाग्न मात्र के आटेकी थिएँ, आकस्मिक रूपमा एउटा अञ्जान मान्छेले मलाई जोड्ले धक्का दियो । म उछिट्टिएर केही पर रहेको ठूलो ढुङ्गामा गएर मेरो टाउको बजारियो । म भुइँमा लडें र बेहोस् भयो ।

‘ऐया…’ मेरा आँखा खुल्यो । मेरा आँखा खुल्दा म टिचिङ्ग अस्पतालको बेड नं. ५ लेखिएको सानो क्याविन कोठामा थिएँ । टाउको टन् टन् दुखिरहेको थियो । सेतो बेण्डिज टाउकोमा र दायाँ हातको पाखुरामा बाँधिएको रहेछ । ‘होस् खुल्यो, होस् खुल्यो’ नर्सहरूले बाहिर साउती गरेको आवाज सुनियो । मलाई हेर्ने र भेट्ने मान्छेहरूको ताँती हुरूरूरू मेरो क्याविन कोठाभित्र छिर्न थाले । मलाई हेर्न आउने प्रायः सबै अञ्जान मानिसहरू मात्र थिए । चिनेको भनेको एकजना मात्र हुनुहुन्थ्यो, जो रातदिन मसँगै हुनुहुन्थ्यो । उहाँ मेरो बाबा हुनुहुन्थ्यो । हरेक दिन मलाई भेट्न आउनेको घुइँचो र अञ्जान मान्छेहरूको आवत जावत मलाई दिक्क लाग्न थालेपछि मैले बाबालाई यो अनावश्यक घुइँचो मलाई मन परेन भनिदिएँ । बुवाले मेरो कुरा सुनेर आफ्नो अनुहार बिगारेजस्तो गर्नुभयो ।
दिनको एक दुई पटक आफ्नै दौँतरी मिल्ने उमेरको एउटा ठिटो मेरो क्याविनमा आउने र जाने गरिरहन्थ्यो । के छ – कसो छ, सोधिरहन्थ्यो । तर मैले त्यो को हो ? के हो आदि केही सोध्ने ईच्छा देखाइनँ । क्याविनमा बसेको पाँचौँ दिनको दिन बाबा हस्पिटल आउन केही ढिला गर्नुभयो । त्यो दिन अघि पछिका दिनहरूमा भन्दा धेरै डाक्टरहरू आइरहे… चेकअप गरिरहे ।

त्यो दाँैतरी केटाले बाबाले गर्ने सबै काम गरिरहेको थियो । त्यसको सहयोगी भावना र काम गर्ने तरिका मलाई मन पर्दैगयो । औषधि ल्याउने, बिल राख्ने, डाक्टरलाई सोधपुच्छ गर्ने सबै काम अति शिष्टतापूर्वक गर्दथ्यो । ‘ऐया…’ म कहिले काहिँ अति साह्रो चिच्याउँथँे, दुखाइ सहन नसकेर । मेरो चिच्याइ सुनेर र मेरो दयनीय अनुहार देखेर ऊ रून्चे मुख लगाउँथ्यो, मानौँ पीडा मलाई होइन, उसैलाई भइरहेछ । म चिच्याउँदा ऊ मेरो बेडको एक छेउमा बस्थ्यो र मेरो बाँया हात समाउँथ्यो । कहिले काहीँ बाबा नभएको मौका पारी म निदाएको बेला उसले बिस्तारै मेरो टाउको मुसार्ने पनि गरेको पनि मैले महसुस गरेकी थिएँ । यसै गरी चलिरहेका थिए मेरा हस्पिटल बसाइका दिनहरू ।

त्यस अञ्जान ठिटोको आवत जावत सुरूसुरूका दिनहरूमा भन्दा फरक ढङ्गले बढ्न थालेको थियो । पहिला दिनको एक–दुई पटक आउने जाने गर्ने मान्छे पछि दुई–चार पटकसम्म आवत–जावत हुन थाल्यो । उसको हरेक बानी बेहोरा मलाई अति मन पर्न थालेका थिए ।

पन्ध्र दिनका दिन म घर जाने भएँ । ‘गाडीको सबै व्यवस्था भयो अँकल, मैले सबै पैसा बुझाइदिएँ ।’ उसले आफ्नो हातको बिल देखाउँदै बाबासँग भन्यो । म अलमलमा परेँ । त्यो को हो ? के गर्छ ? किन मेरो बिलको सबै पैसा तिर्यो र घर जान गाडी पनि लिएर आयो ? यस्ता थुप्रै कुराहरू मेरा मनमा खेल्न थाले । ‘हिँड छोरी !’ बाबाले मेरो बायाँ हातको पाखुरा समाएर डोर्याउनुभयो । त्यस अञ्जान युवकले मेरा लुगा कपडा भएको झोला बोक्यो । हामी गाडी चड्यौँ । म र बाबा पछाडिको सिटमा बस्यौं, त्यो युवक अगाडिपट्टि ड्राइभर बस्ने सिटको छेउमा बस्यो ।

म अस्पतालमा उसको उपस्थ्तििमा अभ्यस्त भइसकेकी थिएँ । आज घर आइयो । मलाई लाग्यो आजबाट सायद ऊसँग मेरो भेट हुँदैन होला । को हो ? किन आयो ? र अब मलाई माया लगाएर ऊ फेरि कहाँ र किन जान्छ होला ? यी अनुत्तरित प्रश्नहरूले मेरो मनलाई खिन्न बनायो । गाडी चढेपछि बाटोभरि म उसकै बारेमा मात्र सोचिरहेँ । जति जति घरको दुरी घट्दै जान्थ्यो, त्यति त्यति उसको र मेरो भेट अब कहिल्यै पनि हुँदैन होला भन्ने चिन्ताले मन चिसिन थाल्थ्यो । मनमा कुरा खेलाउँदा खेलाउँदै घरको गेट अगाडि आएर गाडी रोकियोे । गाडीका सामानहरू बाबा र ऊ मिलेर बाहिर निकाले ।
‘ल अब ओर्ल छोरी’ आफ्नो हात दिदै बाबाले भन्नुभयो । उसको मुखबाट ‘बिस्तारै है, हतार गर्नु पर्दैन’ भन्ने बोली निस्कियो । उसका हरेक शब्दहरूमा अति मायालु लवज थियो तर त्यही मिठो लवजले मेरो मन खिस्रिक्क बन्यो । गाडी मोडियो । बाबाले ‘बाबु आउँदै गर्नु है’ भन्नुभयो । ‘हुन्छ म समय मिलाएर आउँला न’ उसले भन्यो र मलाई हेरेर ‘बाई’ भन्दै हात हल्लायो । गाडी गुड्यो ।

गुडेको गाडीसँगसँगै उसको छायाँ र मिठो प्रेम पनि निमेष भरमा नै बिलाएर गयो । आज, भोलि, पर्सि गर्दै ऊ आउला भनेर बाटो हेर्दैै रहें तर ऊ फर्केर आएन । ऊ आएन तर पनि मेरो मनले उसलाई खोजिरह्यो । उसको मायालु र हार्दिकतापूर्ण व्यवहार मेरो मानसपटलमा सिनेमाको रिलझैं आउने जाने भइरह्यो । मैले चाहेर पनि भूल्न सकिनँ । तर पनि मेरो मनमा एउटा विश्वास बाँचिरह्यो कि एक न एक दिन त्यो मान्छे पक्कै फर्केर आउने छ । मेरो मायाले पक्कै पनि उसलाई तानेर ल्याउने छ । तर अहँ, ऊ फर्केर आएन ।

मेरो टाउकाको घाऊ निको भैसकेको थियो । म एउटा सहकारीमा लेखापालको काम गर्न थालिसकेकी थिएँ । नयाँ काममा अभ्यस्त बन्दै थिएँ । समय बित्तै गइरहेको थियो ।

एकदिनको कुरा । अफिसको काम सकेर घरजाने क्रममा चुनदेवी मन्दिरको ठाडो उकालो हुँदै म कटुञ्जे हाइटतिर जाँदै थिएँ, आफ्नै सुरमा । अचानक एउटा बाइक मेरो अगाडि आएर घ्याच्च रोकियो । म झस्किएँ र पुलुक्क बाइकतिर हेरेँ । हेल्मेट र मुखमा माक्स लगाएको मान्छे, मतिर मुन्टो फर्काएर हेरिरहेको थियो । मैले चिन्न सकिनँ । ‘आऊ बस, म घर छोडिदिन्छु’ उसले भन्यो । उसको बोली चिनजान मान्छेको झैँ लाग्यो तर ठम्याउन सकिनँ । उसले फेरि मायालु तर आदेशात्मक रूपमा भन्यो– ‘बस छिटो ।’

म द्विविधामा परें तर पनि खै कुन शक्तिले हो एउटा आज्ञाकारी बालकले झैं निःशब्द म त्यो अञ्जान मान्छेको बाइकपछाडि बसेँ । बाटोमा कुनै कुरा भएन । मेरो घर अगाडि पुगेर बाइक रोकियो । म ओर्लिएँ । उसले हेल्मेट फुकाल्दै सोध्यो ‘अहिले कस्तो छ तिमीलाई ?’ उसको अनुहार मैले तुरून्त चिनिहालेँ । मेरो भित्री मनले भन्यो– ‘वाहु, आफ्नै हिरो पो रहेछ ।’

म उसलाई देखेर मख्ख भएँ । हँसिलो अनुहार लगाउँदै मैले भने ‘आइम फाइन् ।’
बाइकबाटै उसले आफ्नो दायाँ हात लम्क्याएर मेरा दुबै हातहरू समायो र भन्यो ‘तिम्रो बाबासँग मेरो र तिम्रो बिहेको कुरा भएको छ । नाइ भन्ने हैन नि ! अनि बिहे पछि हामी अमेरिका गैहाल्ने ।’

म छक्क परेँ । मैले मेरा हातहरू उसका हातहरूबाट फुत्काएँ र घरभित्र जान अनुरोध गरेँ । ऊ ब्यस्त छु भन्दै टारेर गयो । म धेरै समयपछि उसलाई देख्न पाउँदा अति खुसी भएँ । त्यसमा पनि बिहेको कुराले त मेरो मन नै फुरूङ्ग भयो । बिहेपछि जन्म घर मात्र होइन, आफ्नो देश नै छोडेर जानुपर्ने कुराले भने मन भावुक बन्योे । सोचेँ– समय अनुसार जिउनुपर्ने रहेछ । बदलिँदो परिस्थितिसँगै आफूलाई अभ्यस्त नै जीवन रहेछ ।

यस्तै कुरा सोच्दै म घरभित्र छिरेँ । बाबाले मलाई बैठक कोठातिर बोलाउनु भयो र मेरो बिहेको कुरा निकाल्नुभयो । ‘मेरो कारण उसको टाउकोमा चोट लागेको हो । मनै बिहे गर्छु उसलाई र अमेरिका लैजान्छु’ भनेको छ नानी राजुले । मान्छे राम्रो लाग्यो । आखिर एक दिन न एक दिन त बिहे गर्नै पर्छ । तेरो पढाइ पनि सकियो । बिहे गर्ने उमेर पनि त भयो नि अब ।’

बाबाले यसो भनिरहँदा म भावुक बनें । राजु मेरो मनले चाहेको मान्छे नै थियो, यसले राखेको बिहेको प्रस्ताव झन् सुखद् थियो तैपनि अचानक जन्म घर छोडेर अमेरिका जाने कुराले केही नरमाइलो पनि लाग्यो । किन किन रून मन लाग्यो र बाबाको छेउमा बसेर स्वाँक स्वाँक गरेँ । मलाई हेर्दै बुवा र आमा पनि पिलपिल आँशु झार्न थाल्नुभयो । अचानक वातावरणले अर्कै रूप लियो ।

केहीबेरपछि मनलाई सँभालेँ र बिहेको लागि अनुमति दिएँ । यसरी अस्पतामा आकस्मिक रूपमा आरम्भ भएको हाम्रो सम्बन्ध विवाहमा रूपान्तरण भयो । उसलाई अमेरिकाको डिभी परेकोले प्रक्रिया पूरा गरेर धेरैको सपनाको संसार अमेरिका पुगियो । अमेरिका बसाइकै क्रममा म दुई सन्तानकी आमा पनि भएँ ।

लामो समय अमेरिकामा बिताएर अहिले म मेरो देश नेपाल आएकी छु । यही मौका पारी बाल्यकालमा भाँडाकुटी खेलेर अधिकांश समय बिताउने गरेको यो पवित्र भूमि सुवर्णेश्वरको मन्दिर परिसरमा बसेर विगतका ती तीता–मिठा पलहरू स्मरण गर्दै स्मृतिका पानाहरू खोतल्दै छु । आफ्नै अतितले मलाई कहिले रोमाञ्चित बनाउँछन् भने कहिले भावुक । हिजो यस मन्दिर परिसरमा खेल्न पाउँदा रमाउने म र आज दुई सन्तानकी आमा बनेर यहाँ उपस्थित ममा कति ठूलो परिवर्तन आइसकेको महसुस भइरहेछ । मेरो बाल्यकालको साक्षी सुवर्णेश्वरको मन्दिर भने चुपचाप मेरो परिवर्तित रूपलाई नियालिरहेछ ।।

 

सम्बन्धित समाचार