प्राडा धर्मराज अधिकारी
काठमाडौं, २८ भदौ ।
विश्वमा हाइकुको आरम्भ जापानबाट भएको मानिन्छ । त्यहाँका सुरुका हाइकुकार माचुवा वासो हुन् । यद्यपि बौद्ध धर्म र ताओवादको संयुक्त प्रभावबाट चीनमा हाइकुको अवधारणा विकास भएको मान्नेहरू पनि छन् । आधुनिक हाइकुका प्रयोक्ता जापानी सिकी हुन् । वस्तुतः ‘सम्भावनाको खालीपन’ लाई हाइकुको आत्मा मानिएको छ । हाइकु रचनामा प्राकृतिक किगो, बिम्ब, ऋतु एवम् मौसमलाई बुझाउने शब्दहरूको प्रयोग गरिन्छ । त्यस्ता रचनामा प्रकृतिका नानावली बिम्बहरूको बग्रेल्ती प्रयोग गरिन्छ । प्रकृतितर्फको यात्रा एवं प्रकृतिको मन्मय एवम् तन्मय चित्रण गरिन्छ । प्रकृतिको क्रुरता अर्थात् रोदन, क्रन्दनलाई किमार्थ स्वीकार गरिँदैन । कुनै पनि जीवका वस्तु प्रकृति विरोधी हुन सक्दैन भन्ने सन्देश यस्ता खाले रचनाले दिने गर्दछन् । यससँगै १७ औं शताब्दीको अन्त्यतिर आइपुग्दा जापानी कवि काराई सेनर्युले ‘सेनर्यु’ अर्थात् ‘सेन्यु’ लेखनको विकास गरे । परम्परागत मान्यता एवं शास्त्रीय विचारधाराभित्र रहेर लेखिएका रचना जसमा ‘पर्याप्त व्यङ्ग्यहरूको प्रयोग भएको हृुन्छ’ लाई सेन्यु भनियो । यसरी प्रकृति चित्रणभन्दा ज्यादा सामाजिक, सांस्कृतिक एवं राजनीतिक व्यङ्ग्यको प्रचुर प्रयोग गरिएका रचनालाई यसभित्र राखियो ।
नेपाली साहित्यमा हाइकुको प्रथम प्रयोग २०१९ सालमा शंकर लामिछानेबाट भयो भने यसपछि क्षेत्रप्रताप अधिकारी, पुष्कर लोहनी, रामकुमार पाँडे, माधवलाल कर्माचार्य, रामदयाल राकेशहरूबाट सिद्धान्त पक्ष र रचनाका तहमा केही कामहरू भए । व्यस्त जीवनमा लामो रचना पढ्ने, लेख्ने, सुन्ने धैर्यता नहुने भएकोले पनि यसको लेखन र विकास द्रुततर रूपमा हुँदै गयो । नयाँ पुस्तालाई पनि यसले क्रमशः आकर्षण गर्दै गयो । साथै संस्थागत रूपमा पनि धेरथोर मात्रामा स्थापित हुने मौका पायो । यसैक्रममा नेपाली साहित्यका केही हाइकु रचनाकारहरूको पङ्क्तिमा २०६० को दसकदेखि दिल पौडेल पनि जोडिन आइपुग्छन् ।
प्रस्तुत काउसो जून (२०७७ साउन) समाजसेवी, प्रशासक, कवि, आख्यानकार एवम् समालोचक दिल पौडलद्वारा तात्तातै (बन्दाबन्दी बिच) रचिएको दोस्रो हाइकु सङ्ग्रह हो । यसै सङ्ग्रहभित्र उनको पहिलो हाइकु कृति ‘प्रजातन्त्र २०६२’ भित्रका हाइकु रचना पनि समाविष्ट छन् । साथै यसै आलोच्य कृतिमा गर्भमा अर्को ‘पुर्पक्ष मन’ शीर्षकको सेन्यु सङ्ग्रह पनि गाभिएका छन् । परम्परित एवम् प्रचलित मान्यता अनुसार लेखिने हाइकुको अक्षरको संरचना ५–७–५ अर्थात् पहिलो पंक्तिमा पाँच अक्षर, दोेस्रो पङ्क्तिमा ७ अक्षर र तेस्रो पङ्क्तिमा ५ अक्षरको संरचना हुनुपर्दछ । सेन्युमा पनि यही नियम लागु हुन्छ यद्यपि हाइकु र सेन्युको बाहिरी संरचना एउटै भए पनि अन्तर संरचना फरक हुन्छ । दिल पौडेलका ती दुवैथरी रचनाको संरचना अक्षर संरचना मात्र नभएर वर्ण संरचनामा पनि आधारित छन् ।
उक्त हाइकु सङ्ग्रहभित्र ४८७ ओटा हाइकु रचना छन् जो शीर्षकविहीन छन् । त्यस्तै १८५ ओटा सेन्युमध्ये ६० ओटा शीर्षक युक्त छन् । उनका हाइकु र सेन्यु दुवै थरी रचनामा समाज बोलेको छ । मान्छेका द्वैनन्दिन जीवनका अहम् सवालहरू सम्बोधित भएका छन् । सामाजिक न्याय, मानवता, राष्ट्रवादिता, अर्थक्षेपण, राजनीतिक दाउपेच र सांस्कृतिक विचलनप्रति व्यङ्ग्य कसिएको छ । अघिल्ला रचनामा ऋतु वर्णनसहित प्रकृतिको सहारा लिएर जीवनबोधी भावहरूलाई मूर्त रूप दिइएको छ भने पछिल्ला रचनामा सामाजिक व्यङ्ग्यलाई प्रश्रय दिइएको छ । दुवैथरी रचनाबाट लिइएका केही उदाहरणहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।
प्राकृतिक बिम्बका माध्यमबाट समाजको यथार्थलाई टपक्क टिपेका उदाहरण हुन् :
प्राञ्जल पाखा
जोर जुलुम उत्पात
तरुण भुज (३१३)
लकडी पास
लिखत मिलाउँदै
जङ्गल नाश (२८३)
सामाजिक संरचना, परिश्रमी मन तर सुकुम्बासी जीवन हाड घोट्दा पनि छाक टार्न मुस्किल पौरखीको यथार्थ निम्न हाइकुमा देख्न पाइन्छ ।
उदर खाली
मोहियानी दुर्दशा
झण्डा उचाली (२०८)
जिरा र नुन
महिनावारी टार्ने
विरही धून (२९०)
हाम्रो कृषि पद्धति परम्परित छ, लोकजीवनमा समेत आधारित छ । पुर्खाको कर्म परम्पराबाट स्थानान्तरित हुँदै आएका कतिपय मुहावरा विस्मृत भइसके । यहाँ समाजमा अति प्रचलित यस्तै मान्यतामध्येको एक ‘क¥याङ् कुरुङ आए, काँक्रा फर्सी रोप’ भन्ने कथनलाई यसरी प्रस्तुत गरिएको छ :
फर्सी रोपेर
क-याङ् कुरुङ हेर
सुन्दर नभ (१९९)
त्यस्तै कृषि र पशुपालन कर्म गरेर जीवन जीउन पर्ने अत्यधिक ग्रामीण जनताको जिविकोपार्जनलाई कविले यसरी अभिव्यक्ति दिएका छन् ः
साँझमा वेसी
रंगीविरंगी तोरी
फेनिल हुरी (३९९)
चिसो सिरेटो
गाइवस्तु खर्कमा
नानी कोक्रामा (४१८)
कवि आम नेपालीको गास, बास र कपासको चिन्तामा चुलुम्म डुबेका छन् । काम, दाम र मामको खोजीमा विदेशिन बाध्य नेपाली युवाहरूको अवस्था र तिनका परिवारको विचल्लीको कथा सुनाउँदै यस्तो अवस्थाबाट पार पाउनका निम्तिको चासो यसरी प्रकट गर्दछन् :
खाडी पसेका
परिवारको जोहो
लास बाकस (१६७)
देशको झण्डा
परदेशको कुल्ली
अनन्त पिडा (४३१)
हातका ठेला
साहुको तमसुक
विदेश खाडी (४४३)
नेतागणको षड्यन्त्र एवम् असक्षम नेतृत्व र राजनैतिक दाउपेचप्रति कविले व्यङ्ग्य प्रहार गरेका छन् :
अशान्ति हिंसा
फाँसीवादी सामन्त
ढोंगी सिद्धान्त (८२)
क्रान्तिका नेता
कार्यकर्ता नचिन्ने
गुरिल्ला कहाँ ?
त्यस्तै कर्मचारी तन्त्रको ज्यादतिप्रति पनि उनी खनिएका छन् :
म कर्मचारी
अधम दुराचारी
वय कुमारी (१५८)
ऐन कानुन
पट्याउँदै नगद
महान ठानून् (५८)
यसरी दिल पौडेलले यस सङ्ग्रहभित्रका हाइकु र सेन्यु दुवैथरी कवितामा सिद्धान्त, नेता, राजनीति, नारी वेदना, युवा, कर्मचारीतन्त्र, ट्युसनजीवि, प्रेम, प्रजातन्त्र, विदेश, विप्रेषण, जनसरोकारका कार्यालय, शिक्षा र स्वास्थ्य क्षेत्र, सरकार, कानुन र प्रजातन्त्रमाथि भए गरेका कुकृत्य, विकृति, विसङ्गति र विरोधाभासप्रति तीव्र एवम् तीक्ष्ण व्यङ्ग्य प्रहार गरेका छन् ।
हाइकुको आत्मा मानिने संभावनाको खालीपनको भरपुर उपयोग गर्दै लेखिएका यी कवितामा क्रियापदको उचित विन्यास, बिम्ब विधान र अनुप्रासयुक्त कथनमा त्यति ध्यान पु-याएजस्तो लाग्दैन तथापि जीवनबोधी भावनादेखि कोरोना कहरसम्मका कुरालाई विषयवस्तु बनाएर रचिएको र अहिलेको डरलाग्दो एवम् कहालीलाग्दो अवस्थामा पनि नित्य नवीन पद्धतिको एवम् जनरुचि अनुरूपको रित्तिएका र भाँचिएका मनलाई रौनक, खुराक दिएर उर्जाशील बनाउन सक्ने, थोरैमा धेरै अर्थात् गागरमा सागर सदृश कृतिको रचना गरेर पाठकसामु पस्किनु भनेको उनको ठूलो खुवी हो, योगदान हो । यस कृतिको अर्को महत्त्वपूर्ण पक्ष भनेको विद्वान् मित्रद्वय धनप्रसाद सुवेदीको भूमिका लेखन र डा.यज्ञेश्वर निरौलाको हाइकुमाथि गरिएको गहन समालोचना हो । आलोच्य कृतिको कायलाई अझ सुदृढ र सबल बनाउने कार्य उक्त समीक्षात्मक लेखनले गरेका छन् । समग्रमा भन्दा कृतिको अन्तर पक्ष जत्तिकै बाह्यपक्ष पनि आकर्षक रहेको छ भने कृति पूर्णरूपले पाठ्य रहेको छ ।