६ महिनादेखि थन्किएका सार्वजनिक यातायात सञ्चालनमा आए, आन्तरिक हवाई उडान नगर्ने व्यवसायीको अडान

६ महिनादेखि थन्किएका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन् । कोरोना भाइरसको महामारीका कारण सरकारले चैत्र ११ गतेदेखि सुरू गरेको लकडाउन साउन ६ मा खुला गरे पनि सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी साधन खुला गरिएको थिएन । मन्त्रिपरिषद्को सोमबारको बैठकले सबै खाले सार्वजनिक यातायात आजदेखि खुला गर्ने निर्णय गरेसँगै सबै खाले सार्वजनिक गाडी सञ्चालनमा आएका हुन् ।

आज विश्वकर्मा दिवससमेत भएकाले ग्यारेज तथा गाडीमा विश्वकर्मा पूजा गरेर गाडी सञ्चालनमा आएका छन् । लामो दूरीको गाडी भने आवश्यक मर्मतसम्भार र चेकजाँचपछि मात्रै सञ्चालनमा आउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत गरिने महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारी जानकारी दिए । यातायात व्यवसायीले बसपार्कमा सामूहिक रूपमा विश्वकर्मा पूजासमेत गर्दैछन् । कतिपयले भने व्यक्तिगतरूपमा नै पूजा गरेर छोटो तथा मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका छन् ।



सवारी साधनमा सिट क्षमताको आधा मात्रै यात्रु रहनु पर्ने व्यवस्था गरिएको छ । त्यसबापत व्यवसायीलाई सामान्य अवस्थाको तुलनामा दोब्बरसम्म भाडा लिन पाउने अनुमति दिइएको छ । तर, यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ । यातायात व्यवसायीले पनि गाडीलाई स्यानिटाइज गर्नुपर्ने तथा ढोकामा नै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने नियम लगाइएको छ ।

देशभर सबै खाले सार्वजनिक गाडी सञ्चालनमा आए पनि काठमाडौं उपत्यकामा भने महामारीको जोखिम बढ्दै गएकाले जोरबिजोर प्रणालीमा मात्रै सञ्चालनको अनुमति दिइएको छ । बुधबार काठमाडौं उपत्यकाका तीन वटै (काठमाडौं, भक्तपुर र ललितपुर) जिल्ला प्रशासन कार्यालयहरूले यातायातमा जोर बिजोर प्रणालीलाई कायमै राख्दै ब्यवसाय खोल्न तोकिएको बारको प्रतिबन्ध हटाएका छन् ।

यता वायु सेवा सञ्चालक संघले भने पूर्ण क्षमतामा यात्रु राखेर सेवा दिन नपाएसम्म उडान नै नगर्ने निर्णय गरेको छ । ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका उनीहरूले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा ५० प्रतिशत यात्रु राखेर उडान सम्भव नभएको प्रष्ट्याएका छन् ।

कोरोना भाइरसको महामारीले आर्थिक गतिविधि चलायमान हुन नसकेका बेला सिट क्षमताका ५० प्रतिशत मात्रै यात्रु राख्दा भाडा महंगो हुने र यात्रुले बेहोर्न नसक्ने भएकाले उडान सुरू गर्नुको औचित्य नभएको उनीहरूको ठहर छ ।

सम्बन्धित समाचार