नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असाेज ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वयबीच सरकार र पार्टी सञ्चालनको कार्यविधिमा सहमति भएको बताइए पनि स–साना विषयमा भने विवादले डेरा जमाइ नै रहेको छ । पछिल्लो समय ओली र प्रचण्डबीच मन्त्रीमण्डाल पुर्नगठन गर्ने कि विस्तार गर्ने भन्नेमा विवाद देखिएको छ । सो विवाद सचिवालयमार्फत समाधान गर्ने भन्नेमा विषयमा भने उनीहरू सहमत भएका छन् । त्यसको लागि भोलि पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने छ ।
प्रधानमन्त्री ओली मन्त्रिमण्डल विस्तार गर्ने योजनामा छन् । पुर्नगठन गर्दा २ वर्ष कार्याकाल पार गरेका मन्त्रीहरु विदाइ हुने हुँदा अधिकांश आफूनिकट मन्त्रीहरुको विदाइ हुने बुझेर ओली पुनर्गठन नगर्ने अडानमा छन् । ओलीले खाली ३ मन्त्रालय र दुई मन्त्रालय फुटाएर ५ जना नयाँ मन्त्री थपेर अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् । यसो गर्दा क्याविनेटमा आफ्ना समर्थकहरू नै धेरै हुने र काम गर्न सहज हुने ओलीको बुझाइ छ । पुर्नगठन गरेमा माधव नेपालदेखि झलनाथ खनालसम्मका निकटलाई स्थान दिनुपर्ने हुँदा आफैं क्याविनेटमा अल्पमतमा पर्ने उनको बुझाइ छ ।
यता प्रचण्डले भने २ वर्ष कार्याकाल पार गरेका र कार्यसम्पादन कमजोर भएका कम्तिमा १० जना मन्त्रीको विदाइ गरेर नयँ मन्त्री नियुक्ति गर्नुपर्ने बताउँदै आएका छन् । अब बन्ने सरकार निर्वाचनसम्म जाने भएकोले जनतामा परिवर्तनको महसुस गर्ने गरी काम गर्नसक्ने टिम बनाउन उनले ओलीलाई सुझाव दिएका छन् । साथै उनले सहमतिका साथ पार्टी र सरकार चलाउने भनिएपछि असन्तुष्टहरूलाई पनि क्षमताको आधारमा जिम्मेवारी दिनुपर्ने भएकोले मन्त्रीमण्डल पुर्नगठनको विकल्प नभएको प्रचण्डले बताउँदै आएका छन् ।
वामदेव र श्रेष्ठबारे पनि ओली प्रचण्डबीच विवाद
प्रतिनिधिसभा निर्वाचन हारेका र हाल राष्ट्रियसभामा रहेका पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सरकारमा लाने विषयमा पनि ओली र प्रचण्डबीच विवाद छ । प्रचण्डले उनीहरूलाई सरकारमा लगेमा सरकारको काम प्रभावकारी हुने बताउँदै आएका छन् । तर ओली भने निर्वाचनमा हारेकालाई मन्त्री बनाउँदा जनमासमा नराम्रो सन्देश जाने भन्दै मन्त्री बनाउन इन्कार गर्दै आएका छन् । गौतम र श्रेष्ठ भने सरकारमा जान तयार रहेका छन् । उनीहरू दुवै उपप्रधानसहित एक एक मन्त्रालय सम्हाल्नेगरी सरकारमा जान तयार रहेको सन्देश अध्यक्षद्वयलाई दिइसकेका छन् । गौतमले त मन्त्री नै नबन्ने भए राष्ट्रियसभामा किन ल्याएको भन्ने प्रश्नसमेत प्रधानमन्त्री ओलीलाई गरेका छन् ।
गौतमले अर्थ मन्त्रालयको जिम्मेवारी दिन लभिङ गरिरहेका छन् । हिजो मात्र राष्ट्रपति विद्या भण्डारीले राष्ट्रियसभामा सिफारिस गरेपछि गौतमले प्रचण्डलाई फोन गरेरै अर्थ मन्त्रालयमा आफ्नो दाबी रहेको बताएको स्रोतले बतायो । यता ओली भने अर्थमा गौतमलाई कुनै पनि हालतमा नलाने योजनामा छन् । गैतमको ढुलमुले स्वभावको कारण भोलि प्रचण्ड माधव समूहमा सक्रिय भएमा आफैंलाई अप्ठ्यारो पर्ने ओलीको बुझाइ छ । त्यसैले ओली अर्थमा महासचिव विष्णु पौडेललाई ल्याउन चाहेका छन् ।
सचिवालयले छान्ने भयो नयाँ मन्त्री
पहिले नेकपा माओवादीको केन्द्रीय कार्यलय रहेको पेरिसडाँडामा भोलि नेकपाको सचिवालय बैठक बस्ने भएको छ । पेरिसडाँडामा बैठक गर्दा पार्टीभित्रको विवाद समाधान भएको सन्देश जाने भन्दै प्रचण्डले ओलीसँग सचिवालय बैठक पेरिसडाँडामा राख्ने बताएका थिए । ओली सहमत भएसँगै शुक्रबार पेरिसडाँडामा पहिलोपटक नेकपाको सचिवालय बैठक बस्ने भएको हो । सो बैठकले नयाँ मन्त्रीको टुंगो लगाउने बताइएको छ । साथै गौतम र श्रेष्ठलाई सरकारमा सहभागी गराउने या नगराउने भन्नेमा पनि भोलिको बैठकले निर्णय लिने भएको छ ।
साथै मन्त्रीमण्डल पुर्नगठन गर्ने वा विस्तार भन्ने विषय पनि भोलिको सचिवालयले टुंगो लगाउने छ । पार्टी एकताका बाँकी कामको पनि कार्ययोजना बनाएर महाधिवेशनको तयारी गर्ने विषयमा पनि भोलिको बैठकले ठोस निर्णय लिने बताइएको छ ।