नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असाेज ।
नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच नयाँ मन्त्रीमा सहमति नजुटेपछि सचिवालय बैठकले त्यसबारे निर्णय गर्ने भएको छ । आइतबार परिसडाँडामा रहेको नेकपाको कार्यलयमा बस्ने सचिवालय बैठकले मन्त्रिमण्डल पुर्नगठनको निर्णय लिनुको साथै कम्तिमा पनि १३ जना नयाँ मन्त्री छान्ने स्रोतको दाबी छ । नेकपाका ९ जना सचिवालय सदस्यमा अधिकांश सदस्य मन्त्रिमण्ठल पुर्नगठन गर्नुपर्ने र कार्यसम्पादनका आधारमा मन्त्रीहरू हेरफेर हुनुपर्ने मत राख्दै आएकोले आइतबारको बैठकमा सोहिअनुसारको निर्णय हुने देखिएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठनभन्दा पनि विस्तार गर्नुपर्ने बताउँदै आएका छन् । २ मन्त्रालय फुटाएर र खाली ३ मन्त्रालयमा गरी नयाँ ५ मन्त्रीलाई नियुक्ति दिएर अगाडि बढ्नुपर्ने ओलीले बताउँदै आएका छन् तर सचिवालयमा नै ओली अल्पमतमा रहेकोले उनको यो एजेण्डा पारित हुने देखिँदैन । प्रचण्डले कार्यसम्पादनको आधारमा कम्तिमा १० मन्त्रीको विदाइ गर्ने र खाली ३ सहित १३ जना नयाँ मन्त्री नियुक्त गर्ने बताउँदै आएको र सचिवालयका अधिकांश सदस्यहरू प्रचण्डको प्रस्तावमा सकारात्मक रहेकोले सचिवालयले यही स्प्रिडमा निर्णय लिने तयारी रहेको बताइन्छ ।
गौतम र श्रेष्ठलाई सरकारमा लैजाने तयारी
प्रतिनिधिसभा निर्वाचन हारेका नेकपा उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा नियुक्त भएका छन् । उनीहरूलाई सरकारमा सहभागी गराउने विषयमा पनि नेकपामा दुई धार देखिएको छ । ओली निकट नेताहरू उनीहरूलाई सरकारमा लैजानु कानुनविपरीत हुने र जनामतको अपमान हुने बताउँदै आएका छन् । यता कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल पनि गौतम र श्रेष्ठलाई सरकारमा लैजानुपर्ने बताउँदै आएका छन् ।
यसबारे पनि सचिवालयले निर्णय लिने भएको छ । गौतम र श्रेष्ठ स्वयं सरकारमा जान लालायित छन् । साथै प्रचण्ड, नेपाल र खनाल पनि उनीहरूलाई सरकारमा लैजानुपर्ने पक्षमा रहेकोले सचिवालय बैठकले उनीहरूलाई मन्त्री बनाउने निर्णय लिने देखिएको छ । स्रोतका अनुसार गौतम र श्रेष्ठसहित वाँकी ११ जना मन्त्रीको नाम पनि सचिवालयले फाइनल गर्नेछ । बाँकी नयाँ मन्त्रीमा पनि स्थायी कमिटी सदस्यहरूलाई प्राथमिकतामा राखिने भएको छ । साथै २ कार्यकाल प्रतिनिधि सभामा निर्वाचित भएर पनि अवसर नपाएका नेताहरूलाई यसपटक अवसर दिने तयारी गरिएको छ ।
नयाँ मन्त्रीमा जसको चर्चा छ
नयाँ मन्त्रीमा स्थायी समितिमा रहेका भीम रावल, सोमप्रसाद पाण्डे, जनार्दन शर्मा, पम्फा भूषाल र देवेन्द्र पौडेलको सम्भावना बलियो देखिएको छ । साथै हालसम्म मन्त्री बन्ने अवसर नपाएका बेदुराम भूषाल, विरोध खतिवडाको पनि चर्चा छ । यता ओलीको अघिल्लो कार्याकालमा मन्त्री भएका खगराज अधिकारी र महेश बस्नेतले पनि यसपटक अवसर पाउने चर्चा छ ।
यता दुई कार्यकाल प्रतिनिधिसभामा निर्वाचित भएर पनि अवसर नपाएका गणेश पहाडी, यज्ञराज सुनुवार, विजय सुब्बा, गणेश ठगुन्ना, विशाल भट्टराई, राजबहादुर बुढा, प्रेम आलेलगायतलाई पनि सम्भव भएसम्म अवसर दिने तयारीमा ओली प्रचण्ड रहेका छन् भने दुई वर्ष कार्याकाल पूरा गरेका १० जना मन्त्रीलाई भने विदाइ गर्ने तयारी गरिएको छ ।