कमला मुस्कान
काठमाडौं, ३ असाेज ।
सुनधारा एउटा पुरानो पुरातात्विक महत्व बोकेको धारो हो, जहाँ हामी हाम्रा बाल्यकालका दिन र अधिकांश समयहरू बिताउने गथ्र्यौं । रीमा, सीमा, गीता, रमिता, शम्भो, रमेश, कला, लीला, राम र भैरव हाम्रा अति मिल्ने साथीहरू थिए । भात पकाइ खेल्दा सुनधाराको पानी अञ्जुलीमा खुर्र्र्र बोकेर दौडिने शम्भो र म भाँडाकुटी खेल्दा बुवा आमाको रोल निभाउने गथ्र्याैँ । रमेश डाक्टर, रीमा, सीमा, गीता, रमिता, कला, लीला, भैरव र राम हाम्रा छोरा र छोरी । कसैले पनि नदेख्ने गरी आमाको थोत्रो गुन्युको धरो लुगाभित्र लुकाएर रीमा खेल्न आइपुग्थी र हत्तपत्त आफ्नो टाउकोमा नातो बाँधेर छ महिनाको बच्चाले झैं रोएर उवाँ उवाँ गर्दै आमा खोजेको नक्कल गर्थी ।
शम्भो ‘हैन आमा कहाँ गइछ हँ, छोरीलाई दुध खान मनलागे जस्तो छ, कठै मेरी छोरी !’ भन्दै आफ्नो काखमा रीमाको टाउको राखी सुमसुम्याउन थाल्थ्यो । म भने दिदीले लगाएर फटाएको स्कुले नीलो रङ्गको फ्रक लगाएर चुलोमा सोतेले आगो फुकेको नक्कल गर्थें । खेल्दाखेल्दै कहिले काहीँ स्कुल जाने समय नाघिसकेको हुन्थ्यो । बा–आमा लौरो बोकेर आउँथे अनि भाटा खाइन्थ्यो ।
घरका सदस्यहरूले देख्ने र भाटा खाइने डरले गर्दा इन्द्रचोक र मखन गल्लीसम्म खेल्न पुग्थ्यौँ । टाढाटाढा खेल्न पुगेको दिन हामी धेरै खुशी हुने गथ्र्यौं । कारण स्कुल जाने, गृहकार्य नगर्दा गुरु र गुरुआमाको छडी खाने डर नहुने, लामो समय खेल्न पाइने र टाढाबाट आमा बुवाको आँखाले हामीलाई नदेख्ने हुँदा स्वतन्त्र भएको महसुस गथ्र्यौं । उता घरका परिवारहरू दिनभर हामीलाई नदेखेपछि खोज्न हिँड्दा हिँड्दै हैरान हुने गर्थे । राती घर पुगेपछि सबैलाई एक ठाउँमा भेला पारेर गाली गर्दै र कुटपिट गर्ने काम धेरै बेरसम्म चल्थ्यो । कुटाइ खाएको रात हामी अब कतै टाढा खेल्न नजाने कसम खाने गथ्र्यौं तर भोलिपल्ट बिहान हुनासाथ अघिल्लो दिन आफूले बुवाआमासँग गरेको बाचा बिर्सन्थ्र्यौं र सुनधारा, मखन गल्ली वा ईन्द्रचोकतिर खेल्न पुगिहाल्थ्र्यौं ।
हार खाएर हुनुपर्छ सायद, पछिल्ला दिनहरूमा हाम्रा बुबाआमाले हामीलाई खोज्नै छाडिसकेका थिए । हाम्रो समूहमा हामी अति मिल्ने साथीहरू मात्र थियौं । समूहका कसैलाई केही आइपर्र्यो भने हामी सबै एक हुन्थ्यौं । मनका कुराहरू एक आपसमा कहिल्यै लुक्तैन थिए । हाम्रो समूह अति बलियो थियो । यसै कारणले गर्दा होला हाम्रो समुहलाई कसैले केही गर्ने आँट गर्दैनथे ।
हाम्रो खेल्ने, कुद्ने र डुल्ने उमेर विस्तारै छिप्पिँदै जान थाल्यो । समय यति छिटो बित्यो कि समूहका साथीभाइहरू आ–आफ्ना कामहरूमा व्यस्त हुन थाले । पढाइको चाप बढ्नु र विवेकमा व्रmमिक वृद्घि हुँदै जानुले हामी साथीहरूमा भेट्घाट हुने समय छोट्टिँदै जानथाल्यो । विस्तारै विस्तारै हाम्रो समूहका साथीहरूबीच महिनाको एकचोटि भेट हुन पनि कठिन हुन थाल्यो ।
यसैबीच एसएलसी परीक्षाको नतिजा प्रकाशित भयो । हाम्रो समूहका हामी सबै साथीहरू पास भएका थियौँ । खुसी र उत्साहको सीमा रहेन । धेरै समय अगाडिदेखि भेट्घाट् हुन नसकेको हामी साथीहरूको समूह, आ–आफ्नो लड्डुका पोकाहरू बोकेर भर्खरै मात्र खुलेको ‘सुनधारा क्याफे’ मा जम्मा भयौँ । उत्साहित साथीहरू अति हँसिलो मुद्रामा देखिए । म भने सबै साथीहरूको कुरा सुन्दै तिनीहरूको मनोविज्ञान अध्ययन गर्ने काममा मग्न भएँ ।
साथीहरूले कोही विज्ञान, कोही समाजशास्त्र, कोही शिक्षा त कोही व्यवस्थापन आदि विषय पढ्ने आ–आफ्ना विचारहरू व्यक्त गरे । म, सम्भो, सीता, रीता, गीता र रमिताले नजिकै रहेको त्रिचन्द्र क्याम्पसमा मानविकी संकाय पढ्ने ईच्छा सुनायौँ । त्यो दिन भविष्यको योजना बनाउने, सुन्ने र सुनाउने कार्य बेलुकैसम्म चल्यो । लक्ष्य प्राप्तिको तिव्र चाहना लिएर खुसी र उमङ्गका साथ शुभकामना लिँदै र दिँदै तथा फेरि छिट्टै भेट्ने बाचा गर्दै हामी आ–आफ्ना घर तर्फ लाग्यौँ । विस्तारै विस्तारै हाम्रो समय पढाईमा बित्न थाल्यो । जिम्मेवारी र पढाइको बोझले गर्दा फोनमा बाहेक हाम्रो भेटघाट हुन छाडिसकेको थियो । सबै जना नयाँ क्याम्पसमा नयाँ साथीहरू बनाउने र नौलो ढङ्गबाट अगाडि बढ्ने काममा लागिसकेका थिए÷थियौं ।
गर्मी महिनाको दिन थियो । बिहान पाँच बजे म आफ्नो कोठाको दुबै झ्यालहरू खोलेर चिसो हावाको महसुस गर्दै पढ्नमा व्यस्त थिएँ । ढोका अचानक खोलियो । म झस्किएँ र पुलुक्क ढोकातिर हेरेँ । स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै शम्भो हुत्तिएर म भएतिर आयो । ‘कल्पना….’ लामो सास फेरेर मलाई बोलायो । म अचम्भित भएँ । ‘यति बिहानै किन आयौ शम्भो ?’ मैले सोधेँ । हिजो बेलुका करिब दश बजेतिर रमिताका बुबा–आमा मेरो घरमा रून्चे अनुहार लिएर आएका थिए । रमिताकी आमा मेरो टाउको सुम्सुम्याएर हिक्क हिक्क गर्दै धेरै बेरसम्म रूनुभयो । ‘शम्भो रमिता हिजो बिहानदेखि नै घरमा छैन । टोल छिमेकीहरूले भनेअनुसार उसको एउटा अन्जान ठिटोसँग लसपस थियो रे । त्यही ठिटोसँग भागेकी छ रे । अब के गर्ने ? तिमीलाई त थाहा छैन होला है त्यो कुन केटा हो भन्ने ? तिमीहरूका सबै साथीहरूलाई यो कुरा सोधिदेऊ, लौन बाबु ।’ यो कुरा सुनेर म डरले काप्न थालेँ । उहाँहरू धेरै रूनुभयो । मेरा आमा र बुबा दुबैले उहाँहरूलाई सम्झाउनुभयो । ‘रातैभरी मलाई निद्रा लागेन र बिहानै तिम्रो घर आइपुगेँ । अब हामी के गर्ने ?’
शम्भोका कुराहरू सुनेर मेरो मन अमिलो भयोे । एकछिन त के गर्ने र कसो गर्ने भन्ने कुनै कुरा मेरो मनमा आएन । एक टकले मैले शम्भोलाई नै मात्र हेरिरहेँ । विगतका ती हाम्रा बाल्यकालहरू सम्झिएर भावविभोर हुँदै आँखाबाट आँसुका ढिकाहरू झारिरहेँ । यो मेरो अवस्था देखेर शम्भोका पनि आँखाहरू रसाउन थाले । हामी दुईजाना अँगालो हालेर मच्ची मच्ची रून थाल्यौँ । हाम्रो रूवाइ आमा बाको कानसम्म पुगेछ । उहाँहरू आत्तिँदै मेरो कोठामा आइपुग्नुभयो । हामी दुबैजनाले पालोपालो सबै कुराहरू आमा बालाई सुनायौँ ।
मनले क्याम्पस जान मानेन । शरीर भारी भयो । आमा–बाको सल्लाह–सुझावअनुसार हाम्रा पुराना साथीहरूलाई भेला गरी रमिताको बारेमा छलफल गर्ने योजना बनायौँ । घरको लेनलाइन फोनबाट एक–एक गरी सबै साथीहरूको फोन नम्बर डायल गर्ने काम भयोे ।
‘हेलो म कल्पना, हाम्रो समूहकी साथी रमिता हिजो बिहानदेखि हराएकी हुँदा भरे बेलुका हामी सबैजाना मेरो घरमा भेला होऔं न ल…!’ म भाभुक भएर फोनमा बोल्दै गएँ, शम्भो फोन नम्बर टिपाउँदै गयो । त्यो दिन हाम्रो समूहका साथीहरूको मनमा बज्र परेझैं भयो । मेरो र शम्भोको अनुहार निबुवा निचोरेझैं देखियो । खाना खान मन लागेन । आलस्य बनेको शरीर बेलुका हुने साथीभाइको जमघट कुरेर बसिरह्यो ।
पालैपालो साथीहरू घर आउन थाले । एकैछिनमा बाल्यकालको हाम्रो टोली घरको सिटिङ्ग रूममा भेला भए । रून्चे स्वरले म बोल्न थालेँ । सबैजाना चनाखो भएर मेरो बोली सुन्न थाले । मेरो कुरा सुनेर सबै साथीहरू अति भावुक भए । कोठा शान्त भयो । एक शब्द कसैको मुखबाट निस्किएन । हामी सबै कसै न कसैको मुखबाट केही सुझाव आओस् भन्ने प्रतीक्षामा थियौँ तर आएन । साथीहरू एकोरिएको देखेर म आत्तिएँ । मेरा आँखाहरूबाट खहरे भेलझैँ गरी आँशु बग्न थाल्यो । मेरो यस्तो अवस्था देखेर शम्भो पनि भक्कानियो ।
धेरै बेरपछि गीताले भनी ‘यसमा निराश हुने कुनै काम छैन । रमिताको बारेमा आज दिउँसो मैले उसको घर गएर उसका बाबा आमालाई सबै कुरा भनिदिएकी छु । त्यो प्रेम चक्कर थियो । केटा भतmपुरको हो । मैले रमिताको प्रेमी र उसको घरसमेत पहिला नै देखेकी थिएँ । मेरो मामा घर र रमिताको प्रेमीको घर नजिकै पर्छ । मेरो मामा घर जाँदा रमिता र त्यो केटाको भेट भएको हो । हाम्रो मामाहरूको आफन्त पर्छ त्यो केटा । बिहेको कुरा गर्न आज दिउँसो नै रमिताका बाबा–आमा भतmपुर गैसक्नुभयो । अब हामी सबैजाना रमिताको बिहे भोज खाने तयारीमा लागौँ ।’ गीताको यो कुरा सुनेर हाम्रो अनुहार उज्यालियोे । सबैजना ठूलो स्वरले हाँस्न थाल्यौँ । कोठामा हाँसो गुञ्जियो । एकाएक हामी फेरि खुसी देखियौँ र एक अर्कालाई बधाई दिन थाल्यौँ ।
समय कसैको बसमा हुँदो रहेनछ । हामी घडीको काँटा पछ्याउँदै हिँड्ने एक यात्रु मात्र रहेछौँ । जीवन यात्रामा हामी साथीभाइहरू छरियौं । कोही पढाइको सिलसिलामा र कोही अर्थोपार्जनका लागि कोही हामी विदेशियौं भने कोही बिहे गरेर थन्कियौं । कति जागिरे जीवनमा प्रवेश भए त कति साथीहरू व्यापार–व्यवसायतिर लागे । हाम्रो बाल्यकालको साथीहरूको समूह आ–आफ्ना बाध्यताहरूको कारण तितर बितर भयो । ती पुराना यादहरू आज मात्र विगत बने, वर्तमान त सधैँ शून्य रह्यो ।
किर्रर्रर्रर्र…ड्रेसिङ्ग टेबलमाथि रहेको एप्पल मोबाइलले घण्टी ठोक्यो । म झस्किएँ । आधारातमा फोन ? कसको रहेछ ? म जुरूक्क उठेँ र भित्तामा रहेको बत्तीको स्वीच थिचें । बत्तीको उज्यालोमा आँखा मिच्दै फोनको स्क्रिनमा हेरँे । मोबाइलमा नेपालको फोन नम्मर देखेपछि मनै दङ्ग भयो । हत्तारिदै बोलेँ ‘हेलो…!’
‘हेलो कल्पना…’ स्वर गीताको रहेछ । मैले बोल्न नपाउँदै गीताले भनी ‘रमिताको असमाहिक निधन भयो । शम्भोलाई पनि सुनाउनु । म धेरै बोल्न सक्ने अवस्थामा छैन कल्पना, बाई….!’
फोन काटियो । म भावुक भएँ र डाको छोडेर रून थालेँ । खाटमा मिठो सपना देखिरहेको शम्भो मेरो पीडायुक्त चिच्याहट सुनेर झस्कियो र के भो, के भो भन्दै मेरो नजिक आयो । अर्को बेडमा सुतिरहेका हाम्रा बच्चाबच्ची पनि झस्किएर मेरो नजिक आए । गीताले बोलेको फोनको रेकडिङ्ग शम्भोले सुन्यो । रमिताको निधनको समाचारले हामीलाई असाध्य दुखी बनायो र हामी दुबैजना अँगालो मारेर रुन थाल्यौं । हामीले न हाम्री बालसखा रमिताको अन्तिम अनुहार हेर्न पायौं न यो पीडाको घडीमा उनका परिवारमा समवेदना नै बाँड्न सक्यौं । आज हामीलाई विदेशिनुको अत्याधिक पीडाबोध भयो ।
त्यो बाल्यकाल आज एकादेशको कथाझैँ बन्यो । हाम्रो मित्रता, हार्दिकता र आत्मीयता स्मृतिमा सीमित बन्न पुग्यो । यदि हामी आफ्नै देशमा भएको भए र विदेशी भूत सवार नभएको भए साथीभाइलाई अप्ठ्यारो पर्दा सहयोगी हात बढाउन सक्थ्यौं तर आज विवश छौं । विदेशिने रहर एउटा नशाबाहेक केही होइन भन्ने जानेर पनि आज हामी मातृभूमिबाट धेरै टाढा भयौं ।
साथी रमिताको वियोगको पीडामा शम्भो र म रोएको देखेर हाम्रा बालबच्चा हामी नजिकै आए । स्वदेशको सम्झना र न्यास्रोपनले हामी हाम्रा बच्चाहरू च्यापेर खुब रोयौं, भक्कानियौं । हाम्रो त्यस रोदनलाई न कसैले बुझ्यो, न कसैले सुन्यो र न कसैले के भयो भनेर सोध्न नै आयो । विदेश पलायन भएर केही पैसा र केही भौतिक सामग्रीहरू जम्मा गर्न सके पनि मातृभूमिकोे न्यास्रोपनले हामीलाई कहिल्यै छोडेन । मनमा सधैं एउटा रित्तोपनको आभास भइरह्यो । अनि थाहा भयो– भौतिक रूपमा जति उपलब्धि हासिल गरे पनि मातृभूमिको प्यास र आफन्तहरूबाट टाढिनु परेको मनको पीडालाई कुनै उपलब्धिले पनि मेटाउन सक्तोरहेनछ ।