युवराज खतिवडा
काठमाडौं, ३ असोज ।
यो पडकास्ट ‘जीवनका पानाहरू’ मा हामी हाम्रो अमूल्य जीवनप्रतिको आदर्श र विश्वास, अनि जीवन भोगाइका यावत अनुभवहरूको कुरा गर्ने छौ, जुन अनुभव मेरो पनि हुन सक्छ, तपाइँको पनि हुन सक्छ अथवा तपाई हामी जस्तै समाजको कुनै एउटा पात्रको पनि हुन सक्छ ।
यसैगरी हाम्रो सम्बन्ध, प्रेम, विछोड, सुख र दुःख जस्ता जीवनका विविध पाटाहरूमा केन्द्रित हुँदै विभिन्न व्यक्ति अथवा व्यक्तित्वहरूसँग अवुभव साटासाट गर्ने छौं । हाम्रो समाज, हाम्रो देश र परदेशका हाम्रा अनुभवहरू, संघर्ष र सफलताका तीता–मीठा कथाहरूका साथै मानवीय समवेदनाका यावत पक्षहरूको समष्टिगत स्वरूपसहितको एउटा शालीन प्रस्तुति हुनेछ ‘जीवनका पानाहरू’ ।
तपाईहरूसँग जीवनका पानाहरूको दोश्रो प्रस्तुतिसम्म आइपुग्दा आज म मूलतः पडकास्टको निर्माण किन र कसरी जस्ता विषय वस्तुसँग सम्बन्धित रहेर केही कुराहरू गर्नेछु । साथै पडकास्टको कुरा गर्नुभन्दा पहिले म मेरो रेडियो कर्मसँग सम्बन्धित एउटा छोटो अनुभव यहाँहरूसँग राख्न चाहन्छु ।
राजधानी काठमाडौंमा एफएम रेडियोहरूको स्थापना भएको त्यति धेरै भैसकेको थिएन । केही सीमित स्टेसनहरूले भर्खरै आफ्नो प्रसारण सुरू गरेका थिए अनि केही चाहिँ सिंहदरबारभित्र रेडियो नेपाल परिसरमा रहेको १०० मेगा हर्ज एफएम स्टुडियोबाट संचालन भइरहेका थिए । भर्खर भर्खर सुरूभएको यो प्रसारण सेवाले पस्कने स्थानीय तर द्रुत गतिको सूचना, समाचार र मनोरञ्जन समाजका सबै तह, तप्का र उमेर समूहका मानिसहरूको रोजाई बनिरहेको थियो । यसैगरी एफएम रेडियोमा काम गरेर यसैलाई आफ्नो क्यारियर बनाउने सपना बोकेका हजारौ युवा युवतीहरूको भीड पनि समाजमा बढिरहेको थियो । यस्तै यस्तै भीडभित्रको एउटा पात्रको रूपमा म आफू पनि एउटा एफएम रेडियोमा संलग्न हुन पुगेँ ।
त्यो बेला मेरो बसाइ कोटेश्वरमा थियो । एफएम रहेको थियो सिंहदरबार परिसरमा अनि साप्ताहिक रूपमा प्रसारण हुने उक्त सांगीतिक कार्यक्रमको प्रसारण समय रहेको थियो राति ९ः१५ देखि ११ः०० बजेसम्म । म कमर्सको विद्यार्थी भएकोले मैले सुरू गरेको कार्यक्रम कुनै अनुभवी पत्रकारले जस्तो दिनभरिका राजनीतिक, आर्थिक र सामाजिक गतिविधिहरूको रिपोर्टिङ गर्दै गरिने, समाचारमूलक प्रस्तुति त थिएन, तर पनि एउटा सांगीतिक कार्यक्रमबाटै सही, आफ्नो क्यारियरलाई अगाडि लैजान सकिन्छ भन्ने दृढ विश्वास भने ममा थियो त्यो बेलासम्म । त्यसकारण म जे गर्दै छु त्यसमै राम्रो गर्न सकौं भनेर कार्यक्रमको प्रस्तुतिलाई बढीभन्दा बढी स्तरीय र राम्रो बनाउन मैले मेरो सबै ध्यान केन्द्रित गर्न थालें ।
अहिलेकै जस्तो त्यो बेला पनि काठमाडौँमा रातिको समयमा गाडीहरू चल्दैन थिए । त्यसकारण रातिको समयमा रेडियोसम्म जान आउनको लागि मैले एउटा साइकलको समेत जोहो गरें । मेरो पहिलो रातको त्यो बहु प्रतिक्षित कार्यक्रम वास्तवमंै सफल रहेको मलाई महसुस भयो र आफू निकै प्रसन्न भएँ । कार्यक्रम सकेर जब म घर फर्कनको लागि रेडियो स्टेशनबाट बाहिर निस्किएँ, दुर्भाग्यबस मेरो साइकलका दुबै चक्काहरूबाट हावा फुस्केको रहेछ । त्यो रात म हिँडेरै डेरा कोटेश्वर पुगें ।
जीवनमा पहिलोपल्ट सफल रेडियो कार्यक्रम संचालनको ममा जुन उत्साह र उमङ्ग थियो, राति डेरासम्म पुग्दा भने दिनभरिको काम र मध्यरातको एक्लो हिडाइको थकानले सबै नै बिर्सिसकेको थिएँ । समय बित्दै जाँदा, यस्तै र अरू धेरै कारणहरूले गर्दा मेरो रात्रिकालीन घर फिर्ती पैदलै हुने गर्यो ।
एक रातको घटना म सदैव स्मरण गर्नेगर्छु ।
त्यो रात मेरो कार्यक्रम ‘अन एयर’ भैरहेको थियो । कार्यक्रममा प्राविधिक सहयोगीका रूपमा सो एफएम सुरू हुँदादेखिकै वरिष्ठ प्राविधिक तथा कार्यक्रम संचालक मसँग थिए । प्रविधिको काम पनि सम्हाल्दै उनी अरू कसैसँग फोनमा कुरा गर्न समेत व्यस्त थिए । गीत बजिरहेको र विज्ञापनको समेत समय हुन लागेकोले म पनि प्राविधिक कक्षमा नै बसिरहेको थिएँ । फोनमा भइरहेको कुराकानीको प्रसङ्ग सुन्दा लाग्दथ्यो सायद उनी आफ्ना कुनै हितैषीसँग कुरा गर्दै थिए र रेडियोको व्यवस्थापन पक्षसँग आफू असन्तुष्ट भएको दुखेसो पोख्दै थिए । उनी भन्दै थिए कि उनले कामबाट पारिश्रमिक नपाएको १० महिना जति भैसकेको छ । व्यवस्थापनले अफिससम्म आउन जानको लागि उनको मोटरसाइकलमा हाल्ने तेल खर्चसमेत दिएको छैन र अघिल्लो सालको दशैंमा दिएको केही रकम नै उनले पाएको पछिल्लो पारिश्रमिक थियो आदि । यस्तै तनावग्रस्त अवस्थामा उनी आफ्नो साथीलाई यी सबै कुराहरू सुनाइरहेका थिए ।
फोन वार्तालापकोे यस्तै प्रसङ्ग चलिरहँदा ती महानुभावले आफूले पारिश्रमिक नपाएको विरूद्धमा अरू केही गर्न नसके पनि रेडियोको प्रसारण चाहिँ बन्द गर्न सक्ने भन्दै बज्दै गरेको रेडियोको प्रसारणलाई एकाएक बन्द गरिदिए ।
त्यसपछि पनि उनको त्यो फोन वार्ता जारी नै रह्यो । त्यसको केही बेरपछि स्टुडियोको अर्को नम्बरमा आएको एउटा फोन कलको जवाफ दिने क्रममा उनी कसैलाई भन्दै थिए– प्रसारण किन रोकियो भन्ने कुरा पत्ता लगाउन र त्यसलाई सुधार गर्न उनी आफू प्रयासरत छन् ।
यसप्रकार करिब ५ मिनेटको शून्यतापछि रेडियोको प्रसारण पुनः सुचारू भयो ।
यी सबै घटनाक्रमहरूको साक्षी आफू बस्नुपर्दा मलाई त्यो बेला निकै नरमालो लागेर आयो । बाहिरबाट देखिने मिडिया र भित्रबाट भोगिने मिडियाबीचको वास्तविक अन्तर मेरो मस्तिष्कमा फन्फनी घुम्न थाल्यो । त्यो एउटा प्रतिनिधि घटना भए पनि त्यसको आधारमा सञ्चार गृहहरूमा कार्यरत श्रमिकहरूको वास्तविक अवस्था कस्तो रहेछ भन्ने कुरा बुझ्ने मौका मिल्यो । प्रसारण सकाएर राति घर फर्कने क्रममा पनि बाटोभरि नै मेरो दिमागमा प्रश्नै प्रश्न उठिरह्यो– के मैले रोज्न लागिरहेको यो पेसाले मेरो व्यक्तिगत आवश्यकताहरूलाई पूरा गर्न सक्छ ? के यसले मेरो सुदूर भविष्यलाई सुरक्षित बनाउने छ त ? मिडिया कर्ममा लाग्ने मेरो निर्णय सही छ त ? तर मैले तत्काल यी प्रश्नहरूको उत्तर पाउन सकिनँ ।
यसप्रकारबाट सुरू भएको मेरो रेडियो अनुभव केही समयको अन्तरालपछि फेरि जोडिन पुग्यो अफगानिस्तानको राजधानी काबुलमा रहेको KRASH Radio मार्फत । Kabul Radio Army Show (Krash) नाम दिइएको उक्त क्यानेडियन रेडियोसँग जोडिएर मैले परदेशमा रहँदा, बस्दा एउटा परदेशिएको युवाको रूपमा मेरो आफ्नै जीवनको महत्वलाई बुझ्ने मौका पाएँ । त्यतिमात्र होइन, दशकौंदेखिको युद्धले जर्जर र छियाछिया पारेर रोग, भोक र शोकले थलिएका स्थानीय अफ्गानीहरूको जीवन कथा र व्यथालाई अझ नजिकबाट महसुस गर्ने अवसर पनि पाएँ । अनि संसारभरि साम्राज्य फैलाउने उद्देश्यले लागिपरेका धनी र शक्ति सम्पन्न पश्चिमेली मुलुकहरूका कतिपय नागरिकहरूको जीवनलीलालाईसमेत नजिकबाट देख्ने र बुझ्ने एउटा अवसर पाएँ ।
अहिले धेरै वर्षपछि आएर म यहाँहरूसँग यो जीवनका पानाहरूमार्फत यसरी एकाकार भइरहँदा मलाई वास्तवमै गौरवान्वित महसुस भइरहेको छ ।
पडकास्टप्रतिको मेरो लगाव धेरै भइसकेको छैन । हरेक दिन, हरेक समय, घरमा होस् या काममा, म प्रायः गीत, संगीत वा रेडियो सुनिरहेको हुन्छु । ड्राइभिङ गर्दा पनि मेरो गाडीमा केही न केही बजिरहेकै हुन्छ । जन्मभूमिबाट टाढा भएर होला, नेपालसँग सम्बन्धित सामग्री प्रसारण हुने भएर बीबीसी नेपाली सेवाको लाइभ समाचार मोबाइलको डाटा प्रयोग गरेरै भए पनि प्रायः नछुटाई सुन्ने गर्छु । मलाई अझ वार्तापमा आधारित टक–सोहरू सुन्न एकदमै मन पर्छ ।
धेरै लामो समयदेखि नै नेपाली समाजभित्रका मानवीय संवेदना लुकेका कुराहरू, जुन बिहान बेलुका रेडियो टिभीमा आउने समाचारभन्दा भिन्न हुन्छन्, त्यस्ता कुराहरू समाचारमूलक वेभसाइटमा पढ्नेभन्दा पनि सुन्न मिल्ने गरी राखिएका छन् कि छैनन् होला ? यदि छन् भने कहाँ, कसरी सुन्न सकिएला भन्ने खुल्दुली मनमनै प्रकट भइरहेको हुन्थ्यो । यस्तै यस्तै जिज्ञासाहरूलाई शान्त पार्ने सिलसिलामा पडकास्टतिर मेरो ध्यान आकर्षित भएको हो ।
पडकास्ट एक प्रकारको मिडिया नै हो जुन इन्टरनेटमा फीडमार्फत प्रसारण हुन्छ र यसलाई कम्प्युटर, आइपड वा अन्य स्मार्टफोन जस्ता पोर्टेवल मिडिया प्लेयरहरूमा सुन्न सकिन्छ । एकजना अनुभवी मिडियाकर्मीलाई भने पडकास्ट निर्माण गर्न त्यति धेरै मेहेनत गर्नु नपर्ने रहेछ । एउटा माइक्रोफोन अनि एउटा हेड फोन र एउटा कम्प्युटरको सहायताले घरमै बसेर, अझ भनौ आफ्नो बेडरूमबाटै पनि पडकास्ट रेकर्ड गर्न सकिने रहेछ । तर, मजस्तो सिकारूलाई भने अलिक बढी नै मेहेनत लाग्ने रहेछ ।
नेपालमा पडकास्टको कुरा गर्दा सर्वप्रथम इन्टरनेट प्रयोगकर्ताको बारेमा जान्नु जरूरी हुन्छ । सन् २०११ सम्ममा नेपालमा जम्मा ९५ इन्टरनेट प्रयोगकर्ता रहेकोमा सन् २०२० को मेमहिनासम्म आइपुग्दा त्यो संख्या बढेर २ करोड २० लाख नाघिसकेको आकडाहरूले देखाउछन् जुन कूल जनसंख्याको ७३ प्रतिशतको हाराहारीमा हुन आउँछ । पश्चिमी देशहरूमा निकै लामो समयदेखि प्रभावशाली रहदै आएको पडकस्टको प्रयोग नेपालमा पनि वर्तमान समयसम्म आइपुग्दा अझ भनौ यो कोरोनाको कहरले उब्जाएको लकडाउनसम्म आइपुग्दा ह्वात्तै बढेको छ । इन्टरनेटको प्रयोगसँगै भाइरल हुने नाममा विभिन्न ब्लग अनि युट्युबजस्ता माध्यमहरूमा फैलिरहेको अप्रमाणित, गुणस्तरहीन र दिमागलाई असर पुर्याउने किसिमका समाचारहरूको कोलाहलमा पडकास्टले सत्यता, सकारात्मकता र विश्वसनीयता फैलाउनको लागि मद्दत गरिरहको मत यसका जानकारहरूको रहेको पाइन्छ ।
यसप्रकार मेरो ध्यान पडकास्टतिर आकर्षित हुँदै जान थालेपछि रूचि र चाहनाअनुसारका स्तरीय पडकास्टहरू नेपाली भाषामा के कति होलान् भनेर खोजी गर्न थालेँ ।
इन्टरनेटको भावसागरभित्र प्रवेश गरेर छोटो समयमा खोजी गर्दा र प्राप्त भएका सामग्री विश्लेषण गर्दा थाहा भयो कतिपय नेपाली पडकास्टहरू एकदमै राम्रा र स्तरीय पनि रहेछन् । तर कतिपय चाहिँ नामका मात्रैका पनि पाइयो । चर्चित टेलिभिजन प्रस्तोता पत्रकार विजयकुमार पाण्डेले पनि आफ्नो टेलिभिजन कार्यक्रम दिशानिर्देशका केही एपिसोडहरूलाई अप्लोड़ गरेर पडकास्टमा भर्खर भर्खर आफ्नो उपस्थिति जनाएका रहेछन । रेडियोकर्मी सविना कार्कीले पनि धेरै वर्षदेखि प्रेम सम्बन्धी पडकास्ट संचालन गरिरहेको पाएँ । दुवै पडकास्टहरू निकै स्तरीय र श्रवणयोग्य लाग्यो । हिन्दी भाषामा भने मलाई भारतीय स्टेन्डअप कमेडियन जाकिर खाँले जीवनलाई सकरात्मकता दिने विषयमा केन्द्रित भएर प्रस्तुत गरेका पडकास्टहरूले मन छोयो । त्यस्तै Ambassador of Peace पुरस्कारद्वारा सम्मानित प्रेम रावतका ‘विश्वमा शान्ति सम्भव छ’ भन्ने विषयमा केन्द्रित भएर संसारका विभिन्न स्थानहरूमा दिएका प्रवचनहरूलाई समेटेर बनाइएका अंग्रेजी भाषाका पडकास्ट सामग्रीहरू पनि एकदमै राम्रा लागे । बीबीसी र सीएनएनजस्ता विश्वभरिका प्रमुख सञ्चार माध्यमहरूले पनि आफूले निर्माण गरेका कतिपय कार्यक्रमहरूलाई पनि पडकास्टमा सुन्न मिल्ने गरी राखिएको रहेछ ।
यसरी पडकास्टको खोजी गर्दै गर्दा यसको प्रभावकारीता र यसले प्रदान गर्ने सकारात्मकताको कुरा गर्दैगर्दा हालसालै अझ भनौं गत जुलाई महिनाको अन्त्यदेखि मात्रै पूर्व अमेरिकी राष्ट्रपति पत्नी मिशेल ओबामाले पनि ‘समुदाय अनि प्रेम जसले आपसी सम्बन्धहरूलाई बलियो बनाउँछ’ भन्ने विषयमा केन्द्रित रहेर आफ्नो पडकास्ट सुरू गरेको कुरा उल्लेख गर्नु पनि सान्दर्भिक हुन्छ जस्तो लाग्दछ ।
पडकास्टको सुरूवात
जतिखेर मलाई अब पडकास्टको काम गरेर मेरो जीवनमा एउटा नौलो बिहानीको सुरूवात गर्छु भन्ने सोचाई आयो, यसबारेमा मनमा कुराहरू खेल्न थाले अनि दिमागले योजना बुन्न थाल्यो । म वास्तवमा धेरै नै उत्साही भएँ । यसप्रतिको मेरो चाहना र योजनालाई मूर्तरूप दिनको लागि जब ल्यापटप हातमा लिएर समग्र पडकास्टको रूपरेखा र पहिलो अङ्कमा समेट्ने विषयवस्तुको बारेमा घोत्लिन थालँे, अवस्था सोचेभन्दा धेरै नै फरक भइदियो ।
रेडियो कार्यक्रम निर्माण र प्रस्तुतिका बारेमा धेरै पहिले नै सिकेको, जानेको र अनुभव गरेको सामान्य ज्ञानलाई लामो समयसम्म प्रयोग गर्न नपाउँदा दिमागका सबै कुनाहरू एउटा सफेद पानाजस्तो खाली खाली भैसकेका रहेछन् । यस बारेको प्राविधिक ज्ञान त मसँग शून्य बराबर नै रहेछ । एउटा स्तरीय आवाजसहितको पडकास्ट बनाउन धेरै मेहेनत गर्नु पर्ने रहेछ । विषय वस्तुको छनौट गर्ने, त्यसमा केन्द्रित भएर स्क्रिप्ट लेख्ने अनि त्यसमा सांगीतिक धुनसमेत प्रयोग गरेर एडिटिंग गर्नुपर्दा त मजस्तो भर्खरै सुरूवात गर्दै गरेको एउटा सिकारूलाई कति समय लाग्छ भन्ने कुरा भनिसाध्य नै नहुने रहेछ ।
केही नयाँ काम सोच्नु र त्यो काम गर्नु बीचको यथार्थ–अन्तर मलाई त्यसपछि महसुस भयो र तत्वबोध यस कुराको भयो कि यस बारेको कखरा सिक्न मलाई अझै धेरै नै बाँकी छ ।
हुन पनि हो, जीवनमा चिन्तन मनन् र अध्ययन गर्ने बानी छुटेको पनि वर्षौं भैसकेको थियो । पढ्ने, हेर्ने र बुझ्ने भन्ने कुरा बिहान बेलुकाको समाचार, युट्युबमा आउने चलचित्र अनि फेसबुक र अन्य सामाजिक संजालमा पोस्ट भएर आउने कुराहरूबाहेक अरू केही पनि त थिएन । विभिन्न समयमा किनेका र विभिन्न व्यक्तिहरूबाट कोसेली स्वरूप प्राप्त केही दर्जन पुस्तकहरू पनि पढ्नै नपाई कतै कुनामा थन्किएको पनि वषौं भैसकेको थियो ।
इन्टरनेट क्रान्तिको युगमा हामी र हाम्रो समाज जबर्जस्त रूपमा प्रवेश गर्दै गर्दा हाम्रो सोचाइको दायरा कति सीमित छ भन्ने कुरा मलाई यो पडकास्ट निर्माण सम्बन्धी प्रक्रियामा प्रवेश गर्दैगर्दा प्रष्ट भयो । मलाई यसकारण पनि लाग्दछ कि अहिलेसम्म पनि धेरैलाई पडकास्टको बारेमा धेरै जानकारी नहुन सक्छ तर यसभित्र प्रवेश गरिसकेपछि यसको विषयवस्तु र प्रस्तुतिको अनौपचारिकताले दिने आनन्द असीमित छ । यसको कुनै सीमा छैन । कुनै पनि काम गर्दैगर्दा त्यो काम गरेर हामीले के गुमायौं र के पायौं भन्नेभन्दा पनि हामीले त्यसका लागि कति प्रयास गयौ ? भन्ने कुरा महत्वपूर्ण हुने रहेछ । हामीले फ्याक्ने सबै ढुङ्गाले आँप झर्छ नै भन्ने जरूरी छैन । कतिपय ढुङ्गाहरू त्यतिकै खेर जान पनि सक्छन् तर आँप झार्ने प्रयास गर्ने कुरा नै महत्वपूर्ण रहेछ ।
सिक्ने कुरा गर्दैगर्दा अहिले म सञ्चारकर्मी विजयकुमार पाण्डेले कतै भनेको कुरा सम्झन्छु ‘उमेर जतिसुकै भएता पनि सिक्न चाहनेको निम्ति सिकाइ कहिल्यै पनि नसकिने रहेछ । उमेर जतिसुकै थोरै भएता पनि सिक्न नचाहनेका निम्ति सिक्ने बेला आयो कि हमेसा अल्छीलाग्दो रहेछ । मुख्य कुरा Attitude को हो, दृष्टिकोणको हो र नजरिया को हो । कोही मान्छे कति सकारात्मक हुन्छन् कोही त्यति नै नकारात्मक । कोही मानिस हलुका उज्यालोमा अध्यारो जंगलहरू पार गरिदिन्छन, कोही मानिसलाई हजारांै चोटी पूर्णिमाको जून देखाए पनि उनीहरू कालो दागबाहेक केही देख्दैनन ।’
पडकास्टको पहिलो अङ्क तयारी गर्दैगर्दा, यस बारेको प्राम्भिक ज्ञान बटुल्दै गर्दा खासगरी यसको प्राविधिक पाटोको बारेमा युट्युब हेर्दै, अरू अरूका अनुभवबाट सिक्दै निकै लामो समय गुजारिएछ । पडकास्टको डमी रेकर्ड गर्दै, आफैं सुन्दै, थोरबहुत परिमार्जन गर्दै फेरि सुन्दै यसको मूल स्वरूप तयार हुन गएको हो । यसको डमी सुनेर कतिपय व्यक्तिहरूले यसलाई सन्देशमूलक र जानकारीमूलक बनाउन सक्दा राम्रो हुने सुझाव पनि दिनु भएको थियो जुन मलाई एकदमै मनन् योग्य लाग्यो । मेरा कतिपय व्यक्तिगत सीमितताहरू थिए । जस्तो कि हरेक दिन १०–११ घण्टा आफ्नै नियमित काममा व्यस्त हुनु पर्ने भएकोले समयको अभाव हुने, आफू यस विषयमा प्रोफेसनल नभएको कारणले आवश्यक सूचना र विषय वस्तुको अभाव महसुस हुने तथा प्रस्तुतिलाई स्तरीय र आकर्षक बनाउन आवश्यक पर्ने टिमवर्कको अभाव जस्ता कुराहरूले गर्दा यस प्रस्तुति निर्माणको समग्र पक्षमा पटक पटक सम्झौता गर्नु परेको तीतो यथार्थलाई पनि स्वीकार गर्दछु ।
अन्त्यमा,
अहिले हामी कोरोनाको कहरका बीच बाँचिरहेका छौं । कोरोनाको त्रासका बीचमा नै बाँच्न अभ्यस्त हुँदै जानु हाम्रो बाध्यता हो । त्यसैले पनि तपाई हामी जहाँ जुन अवस्थामा छौं, खुशी रहने प्रयास गरौं । हामी आफैंनजिक भएको खुशीको श्रोतलाई चिन्न नसकेर टाढाटाढा क्षितिजतिर नयन डुलाइरहेका हुन सक्छौं । आफूलाई अनि आफ्नालाई प्रेम गरौं । प्रकृतिको उपहार स्वरुप प्राप्त यो जीवन साँच्चै अमूल्य छ, यसको पूरा पूरा सदुपयोग गरेर बाँच्न सिकौं । संघर्ष र परिश्रमको फल मिठो हुन्छ । आशा गरौं– ढिलो चाँडोको कुरा मात्र हो, हामीले चाहेको र सोचेको कुरा पक्कै प्राप्त हुने छ । एक न एक दिन हामी पक्कै पनि सफल हुन्छौं भन्ने आशाको त्यान्द्रोले हामीलाई सधैं क्रियाशील र गतिशील बनाइरहेको हुन्छ । अस्तु ।
(यो सामग्री हाल अमेरिकाको टेक्सास राज्यलाई आफ्नो कर्मक्षेत्र बनाएका युवा प्रतिभा युवराज खतिवडाको पडकास्ड ‘जीवनका पानाहरू’ को श्रव्य सामग्रीबाट लिइएको हो ।)