नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असाेज ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकले तत्काल मन्त्रीपरिषद् पुर्नगठन गर्ने निर्णय लिएको छ । पेरिसडाँडास्थित कार्यालयमा आज पनि बस्ने बैठकले बिदाइ गर्ने र नयाँ मन्त्रीको नामावली फाइनल गर्ने भएको छ । हिजोको बैठकमा मन्त्रीमण्डल पुर्नगठन गर्नेमा ९ जना सदस्य नै सहमत भएपनि बिदाइ गर्ने मन्त्रीका बारेमा फरक फरक मत आएको थियो । प्रधानमन्त्री केपी ओलीले तत्काल थोरै मात्र मन्त्रीलाई राजीनामा गराउनुपर्ने विचार राखेका थिए भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्तिमा १ दर्जन मन्त्रीको बिदाइ गरेर नयाँ मन्त्री नियुक्त गर्नुपर्ने बताएका थिए ।
तर वरिष्ट नेताद्वय झलनाथ खनाल र माधव नेपालले भने सबै मन्त्रीको राजीनामा गराएर नयाँ मन्त्री नियुक्त गर्नुपर्ने धारणा राखेका थिए । हिजोको बैठकमा निकै आक्रमक रूपमा प्रस्तुत भएका खनालले सबै मन्त्रीको राजीनामा माग्दा कसैले पनि अपमानित महसुस नगर्ने बताए । कोहीलाई कायमै राख्ने र कसैलाई राजीनामा माग्दा राजीनामा दिनेहरू अयोग्यजस्तो देखिने हुँदा सबैको राजीनामा मागेर आवश्यकताको आधारमा पुन नियुक्ति दिन सकिने बताए । जिम्मेवारी हेरफेरको पनि कुरा उठेकोले सबै मन्त्रीलाई फिर्ता बोलाउनु उपयुक्त हुने उनको धारणा थियो ।
यता अध्यक्षद्वयप्रति आक्रमक रूपमा प्रस्तुत भएका माधव नेपालले पनि झलनाथको कुरामा समर्थन जनाएका थिए । उनले ओली र प्रचण्डलाई लक्षित गर्दै आफूनिकट नेताहरू बाहिरिन्छन् कि भन्ने डर भए मन्त्रीमण्डल पुनर्गठन नै नगरे भयो भन्दै व्याङ्ग्य गरेका थिए । सबै मन्त्रीको राजीनामा गराएर कार्यविधिमा परेकालाई नियुक्ति दिनुपर्ने उनको भनाइ थियो । दुईवर्ष कार्यकाल पुगेका मन्त्रीहरूलाई यो वा त्यो बाहनामा पुनः जिम्मेवारी दिन नसकिने भन्दै नेपाल कड्किएका थिए । खनाल र नेपालले २ वर्ष पार गरेकालाई मन्त्रीमा कायमै नराख्ने अडानको कारण ९ मन्त्री स्वतः सरकारबाट बाहिरिने सम्भावना देखिन्छ ।
दुई वर्ष पूरा गरिसकेका मन्त्रीहरू हटाउने मापदण्ड लागु भएमा ईश्वर पोखरेल, रामबहादुर थापा, प्रदीपकुमार ज्ञवाली, गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, जगतबहादुर सुनुवार, पद्मा अर्याल र विना मगर सरकारबाट बाहिरिनेछन् । पछिल्लोपटक योगेश भट्टराई, घनश्याम भुसाल, पार्वत गुरूङ, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ, भानुभक्त ढकाल, लेखराज भट्ट, डा. शिवमाया तुम्बाहम्फे, हृदयेश त्रिपाठी मन्त्री भएका थिए । उनीहरूलाई राजीनामा दिन लगाएर जिम्मेवारी हेरफेरका साथ पुनः नियुक्ति दिने या राजीनामा दिनु नपर्ने भन्नेबारे आजको सचिवालय बैठकले निर्णय लिनेछ ।
गौतम र श्रेष्ठलाई सरकारमा लगिने
हिजोको बैठकमा प्रतिनिसभसभा निर्वाचन हारेर पनि हाल राष्ट्रियसभामा रहेका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि सरकारमा लाने या नलानेभन्नेमा सबै सदस्यले आ–आफ्नो मत राखेका थिए । प्रधानमन्त्री ओली, पोखरेल र थापाले कानुनको अध्ययन गरेर निर्णय लिनुपर्ने बताएका थिए । उनीहरू सकेसम्म गौतम र श्रेष्ठलाई सरकारमा नलादा राम्रो हुने बताएका थिए । तर प्रचण्ड, खनाल र नेपालले भने सरकारमा लानुपर्ने बताएका थिए । महासचिव पौडेलले यसबारे मौन रहे ।
यता गौतम र श्रेष्ठ स्वयं सरकारमा जान आतुर देखिएकोले बहुमतको आधारमा उनीहरू सरकारमा सहभागी हुने देखिएको छ । यसबारे पनि आजको सचिवालयले निर्णय लिने भएको छ ।
नयाँ मन्त्रीमा जसको चर्चा छ
आजको सचिवालय बैठकले मापदण्ड बनाएरै मन्त्री छान्ने बताइएको छ । यसअघि गत २६ भदौको सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुने गरी मापदण्ड निर्धारण गर्ने निर्णय गरेको थियो । सो निर्णयको कार्यन्वयन हुने एक सचिवालय सदस्यले बताए ।
सोहीअनुरूप नयाँ मन्त्रीमा सुरेन्द्र पाण्डे, पम्फा भुसाल, भीम रावल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, बेदुराम भुषाल, विरोध खतिवडा, खगराज अधिकारी, महेश बस्नेतलगायतको मन्त्री बन्ने चर्चा छ । यता दुई कार्यकाल प्रतिनिधिसभामा निर्वाचित भएर पनि अवसर नपाएका गणेश पहाडी, यज्ञराज सुनुवार, विजय सुब्बा, गणेश ठगुन्ना, विशाल भट्टराई, राजबहादुर बुढा, प्रेम आलेमध्येबाट केहीले अवसर पाउन सक्ने पनि स्रोतको दाबी छ ।