नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असाेज ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकमा नयाँ मन्त्री चयनको विषयलाई लिएर मतभेद देखिएको छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले नयाँ मन्त्री चयन र कायम रहेका मन्त्रीको राजीनामाको विषयमा हस्तक्षेप गरेपछि सोमबारको बैठक प्रधानमन्त्री केपी ओलीको आग्रहमा स्थगित गरिएको थियो । बैठक स्थगित गरेर अध्यक्षद्वय प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका थिए ।
प्रचण्डसँगको भेटमा ओलीले मन्त्री नियुक्तिको विषयमा अनावश्यक हस्तक्षेप स्वीकार्य नहुने बताएका थिए । खनाल र नेपालले सबै मन्त्रीको राजीनामा माग्नुपर्ने अडान लिएको विषयमा ओलीले प्रचण्डसँग आपत्ति जनाउँदै भनेका थिए– ‘सबै निर्णय तपाईहरूकै निर्देशनबमोजिम हुने हो भने म प्रधानमन्त्री भएको के अर्थ भयो ? नयाँ मन्त्री नियुक्तिमा तपाईहरूको सुझावको सम्बोधन गर्छु तर लिस्ट नै दिएर मन्त्रालय नै तोकेर जबरजस्ती गर्न थाल्नुभयो भने सहमतिको वातावरण बिग्रन्छ ।’
पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सरकारमा लाने निर्णयमा पनि ओलीले चित्त दुखाएको स्रोतले बतायो । ‘निर्वाचन हारेकालाई छानी छानी मन्त्री बनायो भनेर मेरै आलोचना हुन्छ, त्यसमाथि पनि तपाईहरू मन्त्रालय तोकेरै मन्त्री बनाउन दवाव दिनुहुन्छ । सरकारको काम त मैले गर्ने हो नि । कुन नेतालाई कुन मन्त्रालय दिंदा सहज हुन्छ त्यसको निर्णय गर्न मलाई दिनुहोस्’ ओलीले प्रचण्डलाई आग्रह गरेका थिए ।
जवाफमा प्रचण्डले मन्त्रालय बाँडफाँडको बारेमा हस्तक्षेप नगर्ने बताएका थिए । मन्त्री छनौट कार्यविधिअनुसार गर्नुपर्ने र सहमतिमै नयाँ मन्त्री छानिनेमा प्रचण्डले विश्वस्त गराएपछि ओली भोलि सचिवालय बैठकमार्फत नयाँ मन्त्री छान्न तयार भएका छन् । २ वर्ष कार्यकाल पार गरेका र कार्यसम्पादन कमजोर भएका कम्तिमा १२ जना मन्त्रीहरूको बिदाइ गर्ने विषयमा ओली प्रचण्ड सहमत भएका छन् । यसअघि खनाल र नेपालले सबै मन्त्रीको राजीनामा माग्ने बताएकोमा उनीहरूलाई सम्झाउने जिम्मा आफू लिने प्रचण्डले ओलीसँग बताएका थिए ।
ओलीले सचिवालय सदस्यद्वय उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालाई फिर्ता बोलाउँदा उनीहरूको अपमान हुने भन्दै सो निर्णयमा पुनर्विचार गर्नुपर्ने बताएका थिए । प्रचण्डले भने यसबारेमा सचिवालय बैठकले नै निर्णय लिने बताएका थिए । खनाल, नेपाल र उपाध्यक्ष गौतम पनि २ वर्ष कार्यकाल पार गरेका मन्त्रीहरूलाई कुनै पनि बाहनामा दोहोर्याउन नहुने बताउँदै आएकोले थापा र पोखरेलको मन्त्री पद धरापमा रहेको बताइन्छ ।
मंगलबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको छ । यसअघि सचिवालय बैठक जनसंगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको थियो । आइतबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे नीतिगत छलफल मात्रै भएको थियो ।
मंगलबारको बैठकले मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्तिबारे बनाएको सैद्धान्तिक मापदण्डलाई मूर्तरूप दिने, कोरोना महामारीले सिर्जना गरको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणापत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धताहरूको कार्यान्वयनजस्ता विषयमा निर्णय लिने नेकपाले जनाएको छ ।