कमला मुस्कान
काठमाडौं, १० असाेज ।
ढकमक्क फुलेका गोदावरी र मखमली फूलहरूले तिहार आउँदै गरेको संकेत गरे । घर वरिपरि ईन्द्रेणीझैँ फुलेका ती फूलहरू अति मनमोहक देखिन्थे । म प्रेमपूर्वक ती फूलहरू खेलाउन थालेँ । गोडमेल गरेर हरेक फूलका बोटका जराहरूमा चिसो पानी छर्किंदै गर्दा कहिलेकाहीँ मेरो आफ्नै आङ्ग पनि सिरिङ्ग भएको महसुस गर्थें अनि फेरि मलाई त्यस बेला आफ्नो शरीर नै आफ्नो हो या होइन भनेर छुट्याउन गाह्रो भएझैं हुन्थ्यो । प्रेमिल मौसम र अञ्जान अङ्कमालमा डुबेकी मलाई को आयो–को गयो ? केही थाहा हुँदैनथ्यो । म घण्टौँसम्म आफ्नै संसारमा डुबिरहेकी हुन्थेँ । एकोरिएर घोत्लिएको बेला कसैले मेरो एकाग्रपन भङ्ग गर्दै मलाई बोलायो भने मेरो रिस आगो बनेर व्यक्त हुने गथ्र्यो । मेरो यस्तै कडा रिसका कारण कैयौँ पटक आमा रूनुभएको छ ।
श्रीमान् थकित मुद्रामा कालो झोला दायाँ कुममा झुण्ड्याउँदै नाकको टुप्पोमा चिप्लिएको धेरै पावरवाला चस्माभित्रबाट चाखलाग्दो ढङ्गले पल्याक पुलुक गर्दै वरिपरिको वातावरण नियाल्दै अनि मसिना गुच्चाजस्ता आँखा लिएर घरको गेटभित्र छिरे । बिहान उठेर दाँत माझिसकेपछि घाँटीको कस् सफा गर्दै बोकाले भ्या….गरेर निकालेको आवाज जस्तै रुखो स्वर बनाएर उनले ‘म घर आएँ है’ भन्ने संकेत गरे । अनि, गर्मीले रापिलो भुङ्ग्रोभित्रबाट हिमालको काखमा पुगेजस्तो गरी सिलिङ्ग फ्यानको मुन्तिर लम्पसार परेर लामो लामो सास फेर्दै लडे । यसरी लडेको श्रीमान्को पारा देखेर म खित्त…हाँसंँे । आफ्ना दुबै हातहरू सिराने बनाएर शरीर घोप्टो पारी भुइँमा लडेका श्रीमान्ले श्रीमतीले गिल्ला गरेर हाँसेको देखेपछि अलिकति टाउको उठाएर पुलुक्क मेरोे अनुहारतिर हेरे अनि आँखा तरे । केही क्षणपछि धमिलो ट्याङ्क जुसलाई पारदर्शी सिसाको गिलासमा ल्याएर श्रीमान्लाई दिँदै भनें– ‘उठनुहोस्, फ्रिजको चिसो पानीमा बनाएको जुस खानुहोस्, शीत्तल हुन्छ ।’
‘खान्न म तेरो जुस–सुुस, तँ आफैं खा’ श्रीमान्ले कुनै रिस फेरेझैं गरे ।
‘झन् मायाले बनाएर ल्याइदिएको त…, यो जुस साँच्चि नखाने… ?’ ल जा, मेरो पनि रिसले पारो तात्यो र त्यो जुस उनकै अगाडि एकै घुट्कोमा घुटुक्क पारिदिएँ ।
‘खाना तयार भयो । छिटो आऊ खान ।’
मैले आफूभन्दा तीस वर्ष जेठो मेरो बुढो लोग्नेलाई खाना खान भान्साबाट बोलाएँ । चस्मा माथि सार्दै आएर टेबलमा बसेको बुढोले दुधसँग मुछेर धमाधम खाना खान थाले । खानापछि आफ्नो जुँघा मुसार्दै उनी सुत्ने कोठातिर लागे र एकैछिनमा सपना देख्न थाले ।
श्रीमतीको ईच्छा र आवश्यकताको बारेमा उनलाई केही वास्ता थिएन । आफ्नो तरिकाले एक सुर भएर काम गर्ने, श्रीमतीकोे चाहनाको कुनै पर्वाह नगर्ने उनको बानीले म आजित थिएँ । लामो समयसम्म श्रीमान्को हार्दिक सम्बन्ध नपाएपछि अन्ततः म अर्को केटा साथी बनाउन बाध्य भएँ ।
गोरी, मोटा हातपाखुरा भएकी, कलकलाउँदी रूपकी धनी अधबैंसे श्रीमतीको शारीरिक र मानसिक आवश्यकता नबुझ्ने लठेप्रो लोग्नेको अनुहार हेर्न पनि मन लाग्न छोड्यो । आफूभन्दा धेरै जेठो श्रीमान् भएको कारणले हुनुपर्छ, उनीसँग कहिल्यै पनि मेरो विचार मिलेन ।
बिहे गरेको केही वर्षसम्मको समय रोमाञ्चक नै थियो । सन्तान प्राप्तिपछि हाम्रो विचारमा फरकपन देखिन थाल्यो । उनको विचारसँग मेरो विचार नमिल्ने र मेरो सोचसँग उनको सोच नमिल्ने वातावरणको सिर्जना हुन थाल्यो । अनि, घर कलह र झगडाले अशान्त हुन थाल्यो । कहिलेसम्म घरको अवस्था यस्तो बनाइरहने भन्ने प्रश्नले मेरो मन आतङ्कित बन्थ्योे । समय बित्तै गयो ।
शनिबारको दिन थियो । त्यो रातभर म निदाउन सकिनँ । सिटिङ्ग रूमको टेबलमा रहेको व्हिस्कीको बोतल रित्याउँदै गर्दा मनले एउटा निर्णय गर्यो– अब आफ्नो अफिसको केटा साथीलाई दोस्रो लोग्नेको स्थानमा राख्छु ।
भोलिपल्ट दिनको दुई बज्यो । खाजा खाने समयमा रिसभ र म अफिसबाट केही पर रहेको एउटा रेष्टुरेण्टमा खाजा खान भनेर गयौँ । खाजा खाने त केवल बाहना थियो, रिसभलाई मनका कुरा गर्नु थियो । अनि, अघिल्लोरात आफ्नो घरमा श्रीमान् र आफू बीचमा भएको झगडा र आफूले लिएको निर्णयका बारेमा मैले रिसभलाई खुला हृदयले सुनाएँ । मेरो कुरा सुनेर रिसभ अति खुसी देखियो । उसको अनुहारमा उज्यालो पोतियो । दुई सन्तानको बाबु रिसभकी श्रीमती बितेको पाँच वर्ष भइसकेको थियो । मेरो कुरा सुनेर उसले दङ्ग पर्दै भन्यो– ‘छोरा छोरी ठूला र जागिरे बनाइसकेँ विन्दा मैले । मलाई पनि तिमीजस्तै असल केटीसाथीको खाँचो थियो । अब म तिम्रो मिठो प्रेममा डुबेर बाँकी जीवन बिताउँन चाहन्छु ।’
रिसभको स्वीकृतिले खोला किनारमा रहेर पनि प्यासै रहेको मेरो अनुहार पनि एकाएक खुसीले उज्यालियो ।
हप्ताको दुईचार पटक रिसभ र म केही घण्टा ढिलो गरी घर जान्थ्यौँ । कुनै दिन अफिस विदा हुने थाहा पाउने बित्तिकै हाम्रो कतै रोमाञ्चक यात्रामा जाने योजना बनिहाल्थ्यो । हामी दुईबीच सबै सम्बन्धहरू खुलस्त हुने गर्थे । सम्बन्धसँगसँगै हामी अति नजिकका साथी पनि थियाैं । हामी दुई बीच कुनै किसिमका सरसल्लाह, पारिवारिक योजनाहरू लुक्तैन थिए ।
आफू अफिसबाट ढिलो आउने र श्रीमानलाई घर, परिवार, छोराछारी र आफन्तको केही मतलब नहुने भएको हुँदा मैले आफ्नी आमालाई घर हेरविचार र छोराछोरीलाई रेखदेख गर्न भनेर घरमा ल्याएर राखेँ । आमा घर आएपछि मेरो र रिसभको भेटघाट झ्याङ्गिन थाल्यो । रिसभले मलाई उसका छोराछोरीसँग चिनजान र भेटघाटसमेत गराइ सकेको थियो ।
रिसभका छोरा छोरीको जागिर बाहिरी जिल्लामा सरूवा भयो । रिसभ घरमा एक्लै हुने भएको कारण अब मलाई रिसभको घरमा जान आउन कुनै किसिमको अप्ठ्यारो भएन । मनले जुन बेला चाह्यो म रिसभको घर जाने आउने गर्न थालेँ । रिसभका छोराछोरी घर आएको बेला मलाई रिसभका दुबै छोराछोरीले घरमा आउन आग्रह गर्थे । उनीहरू मलाई आफ्नी आमालाई गरेझैँ माया पनि गर्थे । धेरै समयसम्म मेरो काखमा लुट्पुटिरहन्थे । यो सबै देखेर मलाई म मेरा दुई सन्तानकी मात्र होइन चार सन्तानकी आमा हुँ भन्ने लाग्थ्यो अनि खुसीले छाती ढक्क फुलेको अनुभूति हुन्थ्यो ।
आज मेरी छोरी रीपुको जन्म दिन । मैले पनि रिसभ र उसका दुई छोरा छोरीलाई मेरो घरमा रमाइलो गर्न बोलाएँ । अति खुसी भएर रिसभकी छोरीले मलाई अँगालो हाली र भावुक मुद्रामा भनी ‘हजुर मेरी आमा जस्तै हुनुहुन्छ…हाम्रा सबै कुराको विशेष ख्याल राख्नुहुन्छ । हजुरलाई देखेर आज मलाई मेरी आमाको धेरै याद आइरहेको छ । के म हजुरलाई आमा भनेर बोलाउन सक्छु ?’
रिसभकी छारीको कुरा सुनेर हामी सबै स्तब्ध बन्यौँ । मेरी आमा सोफाको छेउमा बसेर रून थाल्नुभयो । मेरो छोरो रिमाल परबाट दौडिदै आयो र मेरो शरीरमा टाँसिएर ‘हुन्न हुन्न, मेरी आमाको चारवटा सन्तान भएपछि हामीले पाउने मायामा कमी हुन्छ’ हाँस्तै भन्यो । कोठा हाँसोले गुञ्जियो ।
अलिक पर बसेर हाम्रो सबै कुरा सुनिरहेका मेरो श्रीमान्ले आफ्नो मुजा परेको अनुहार कच्याक कुचुक पार्दै आँखा सन्काएर ‘मैले त चिनिनँ नि उहाँहरूलाई’ भन्दै परिचय माग्न थाले । मेरो श्रीमानको कुरा सुनेर रिसभले पुलुक्क मेरो अनुहारमा हे-यो र तिम्रा श्रीमान्लाई के उत्तर दिउँ भने जस्तो गरी असजिलो शरीर बनायो । मेरो छोरोले हतार हतार भन्यो ‘ल बाबालाई थाहा छैन ? उहाँ ममीको अफिसको सर हो नि । हामीलाई कति माया गर्नुहुन्छ ।’ यति भनेर ऊ रिसभको काखमा गएर बस्यो । चस्माको पावर कम भएझैँ गरी मेरा श्रीमान्ले रिसभको अनुहार नियालेर हेरे र ‘ए हो र….’ भन्दै खित्त हाँस्यो । छोरोको कुराले म र रिसभ ढुक्क भयौँ ।
रिसभ र मेरा दुबै छोरा छोरी पखेटा लागेर गुँड छोडी उडेका चराझैँ आफ्ना आफ्ना गन्तव्यतिर लागे । मेरा श्रीमान्ले मलाई सधैँका लागि छोडेर परमधाम भए । मेरी प्राणभन्दा प्यारी आमा पनि अब यो लोकमा रहिनन् । उमेरको उत्तरार्धमा आखिर सँगै बाँच्ने र बाँचुञ्जेल हाँसेर ज्युने आयु लिएर देवताले पनि रिसभ र मलाई एक बनाइदिए । अहिले रिसभ र म दुईजाना मात्र छौँ तर पनि एक्लिएको महसुस हामीले गरेका छैनौँ । कहिले काहीँ मलाई लाग्छ– यो समय र एकान्तपना उसको र मेरो लागि नै रचिदिएका होलान् दैवले ।