नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असोज ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत वर्षको चैत ११ गतेबाट देशभर लकडाउन गरेसँगै पर्यटन क्षेत्रसमेत ठप्प भयो । अहिले सरकारले लकडाउनलाई केही खुकुलो बनाए पनि पर्यटन क्षेत्र भने अझै सुचारू हुन सकेको छैन । लामो समयसम्म बन्द रहेको पर्यटन क्षेत्रका मजदुरहरूका लागि सरकारले कुनै राहत प्याकेज नल्याएको भन्दै पछिल्लो समय पर्यटन मजदुरहरू आन्दोलित समेत बन्ने पुगे । चारमहिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाको समयमासमेत आफूले राहत पाउन नसकेको भन्दै पर्यटन मजदुरहरू सडकमा आएर प्रर्दशनसमेत गरे, नेपाल पर्यटन बोर्डमा तालाबन्दी नै गरे । आफूहरू समस्यामा परेको बेला पर्यटन मजदुरका लागि भनेर बनाइएको कल्याणकारी कोषको समेत उपयोग नभएको उनीहरूले गुनासो गर्दै आइरहेका छन् । कोरोनाले निम्त्याएको यस्तो विषम परिस्थितिमा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), हिमाल आरोहण संघ, नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयले समेत आफूहरूका समस्याहरूलाई वेवास्ता गरेको मजदुरहरूको आरोप छ । पर्यटन मजदुरहरूका यी र यस्तै विषयको सेरोफेरोमा रहेर पर्यटन मजदुर संघर्ष समितिका संयोजक प्रकाश घायल राईसँग नवकान्तिपुर डटकमका लागि महेश कठायतले गरेको कुराकानीको सम्पादित अंश :
कोरोनाका कारण लामो समयदेखि पर्यटन गतिविधिहरू ठप्प भइरहँदा पर्यटन मजदुरहरूमा कोरोनाले कस्तो प्रभाव पारेको छ ?
पर्यटन उद्योग भनेको पर्यटन मजदुरहरूको जीवनयापनका लागि एउटा भरपर्दो माध्यम हो । पर्यटन उद्योगबाट यस क्षेत्रका मजदुरहरूले मात्र नभएर प्रत्यक्ष अप्रत्यक्ष रूपमा अन्य क्षेत्रका व्यवसायी र मजदुरहरूले पनि लाभ लिइरहेका हुन्छन् । प्रायः पर्यटन मजदुरहरूले सिजनमा मात्र काम पाउँछन् अरू बेला खासै काम हुँदैन । अहिले कोरोना कारण अन्य क्षेत्रहरू केही सुचारू भएपनि प्रर्यटन क्षेत्रका गतिविधिहरू ठप्प नै छ । पर्यटन क्षेत्र भनेको घुमघाम गर्ने, रमाइलो फिल गर्ने क्षेत्र हो । तर लामो समयसम्म घरभित्र बस्दा र आयआर्जनको बाटोसमेत बन्द भएपछि यस क्षेत्रका मजदुरहरू अहिले अप्ठ्यारो स्थितिमा छन् । आर्थिक मात्र नभएर अहिले मानसिक तनावका कारण कतिपय मजदुर साथीहरूले आत्महत्या समेत गरेका छन् । समग्रमा भन्नुपर्दा अहिले पर्यटन क्षेत्रका मजदुरहरू प्रत्यक्ष अप्रत्यक्ष रूपमा एकदमै मारमा परेका छन् ।
पछिल्लो समय पर्यटन मजदुरहरू सडकमा आएर प्रदर्शन गरिरहेको पनि देखियो नि, किन ?
कोरोनाका कारण हामी मजदुरहरूले धेरै नै समस्या भोग्नु पर्यो । अझै पनि कोरोनाको संक्रमण अन्त्य भएको पनि छैन र तत्काल यसको अन्त्य हुने अवस्था पनि देखिँदैन । यस्तो बेलामा हामी पर्यटन मजदुरहरूले कति समयसम्म यो अप्ठ्यारो परिस्थिति झेल्नु पर्ने हो कुनै ठेगान छैन । त्यसैले कोरोनाका कारण प्रभावित मजदुरहरूलाई मजदुरहरूको नाममा भएको कल्याणकारी कोषबाट राहत उपलब्ध गराउनु पर्यो र उक्त कोषको रकम कार्यन्वयनमा ल्याउनु पर्छ भनेर हामी प्रदर्शन गरेका हौं ।
योबाहेक पर्यटन मजदुरहरूका अरू केके मागहरू हुन् ?
अहिले हामीले विशेष गरेर मजदुर कल्याणकारी कोषको रकम कार्यन्वयनमा ल्याएर कोरोनाबाट प्रभावित मजदुरहरूलाई नै राहत दिनुपर्ने भनेका छौं । त्यसमा पनि शहरी क्षेत्रमा कोठा भाडामा बस्नेलाई विशेष सम्बोधन गरिनु पर्ने भन्ने हो । यसका साथै पर्यटन मजदुरलाई पेन्सनको व्यवस्था गर्नुपर्ने र यो वर्षको लाइसेन्स रिन्यु गरिदा सबै शुल्क मिनाह गरिनुपर्ने लगायतका मागहरू छन् ।
पर्यटन मजदुरहरूका समस्याहरूको सम्बोधन नभए यसले दीर्घकालीन रूपमा पार्न सक्ने असर चाहिँ के देख्नुहुन्छ ?
पर्यटन क्षेत्रका श्रमिकहरू वेवास्ता गर्नु भनेको देशको अर्थतन्त्रलाई नै वेवास्ता गर्नु हो । किनभने देशको अर्थतन्त्रमा नेपालको पर्यटन क्षेत्रको एकदमै ठूलो देन छ । देशको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुर्याइरहेको पर्यटन क्षेत्र र त्यसमा पनि यस क्षेत्रका श्रमिकहरूलाई वेवास्ता गर्दा त्यसको असर पर्यटन मजदुरहरूलाई मात्र होइन, दीर्घकालीन रूपमा देशको अर्थतन्त्रलाई पनि यसले असर पर्ने देखिन्छ । त्यसैले पर्यटन क्षेत्र बचाँउन यस क्षेत्रका श्रमिकहरूलाई पनि बचाउँन आवश्यक हुन्छ । पर्यटन मजदुरहरू पलाएन हुनबाट कसरी रोक्ने राज्यले त्यसप्रति बेलैमा ध्यान दिनुपर्छ ।
मजदुरहरूको पटकपटकको दबाबका कारण पर्यटन बोर्डले मजदुरहरूको प्रतिनिधित्व हुने गरी कार्यसमिति बनाएको छ, यसले कसरी काम गर्छ ?
अब हामी सुरूमा कोरोनाबाट प्रत्यक्ष प्रभावित वर्गहरू कोको हुन् ? सबैभन्दा बढी पीडित श्रमिकहरूलाई प्राथाकितामा राखेर त्यसको डाटा संकलन गर्छौ । त्यसका लागि हामी छलफल गरेर एउटा कार्यनीति बनाउँछौं । कोरोनाको प्रभाव रहँदासम्म श्रमिकहरूलाई कसरी रातह उपलब्ध गराउन सकिन्छ हामी त्यसतर्फ प्रयासरत छौं । त्यसैले अब कल्याणकारी कोषको बजेट पनि कार्यन्वयनमा आउँछ ।
पर्यटन मजदुरहरूले देशको अर्थतन्त्रमा टेवा पुर्याएको कुरा अवगत नै छ । योसँगै नेपालको कला संस्कृतिलाई विदेशी पर्यटकमार्फत विश्वलाई चिनाउने मजदुरहरूको भूमिकालाई कसरी हेर्नु हुन्छ ?
यो धेरै महत्वपूर्ण र संवेदनशील विषय पनि हो । नेपालको इतिहास, धर्म, संस्कृति र पहिचानलगायतका हरेक कुराहरूको प्रर्वद्धन गर्ने कुराहरूमा पर्यटकहरूसँग जोडिएका श्रमिकहरूको भूमिका महत्वपूर्ण नै छ । पर्यटकहरूले हाम्रो देशको बारेमा सोध्दा हामीले उनीहरूलाई सधंै सकारात्मक सन्देश नै दिन्छौं । हाम्रो देशमा राजनीतिको विषयमा पनि हामी विदेशमा नराम्रो सन्देश नजाओस भनेर सबै राम्रो छ भन्छौं । त्यसैले देशको अर्थतन्त्रमा मात्र नभइ देशको धर्म, संस्कृति, पहिचान र इतिहासको समेत प्रर्वद्धन गरिरहेका हुन्छौं । त्यसकारण पर्यटन मजदुरहरू अर्थतन्त्रका मात्र होइनन्, धर्म, संस्कृति, पहिचान र इतिहासको समेत सेना हुन् । प्रत्यक्ष रूपमा देशको अर्थतन्त्रलाई टेवा पुर्याउने मजदुरहरूको अप्रत्यक्ष रूपमा राष्ट्रियताको सवालमा पनि धेरै ठूलो देन छ ।
देशको अर्थतन्त्र र राष्ट्रिय पहिचानलाई चिनाउन पर्यटन मजदुरहरूप्रति सरकार र सम्बन्धित निकायको दृष्टिकोण चाहिँ कस्तो पाउँनु हुन्छ ?
अहिले पर्यटन क्षेत्रको नेतृत्वमा यसका क्षेत्र सम्बन्धित ज्ञान भएको नेतृत्व आउन सकेको छैन । पर्यटन क्षेत्रका विभिन्न निकायहरूमा अहिले नेतृत्व गरिरहेकाहरूमा त्यो अनुसारको ज्ञान, सीप र दक्षता छैन, जसका कारण यो क्षेत्रको विकास हुन सकिरहेको छैन । अहिले पर्यटन बोर्डमा, टानमा, पर्यटन मन्त्रालयमा लागायत पर्यटनसँग सम्बन्धित निकायहरूमा यो क्षेत्रलाई राम्रोसँग बुझेको कुशल नेतृत्व आउन सकिरहेको छैन । यसले गर्दा पर्यटन क्षेत्रको सुधार हुन नसकेको देखिन्छ । त्यसैले यस्तो नेतृत्वले गर्दा हामी पर्यटन मजदुरहरूका मुद्दाहरू खासै उठाएको देखिँदैन । उल्टै जिम्मेवार व्यक्तिहरू सार्वजनिक रूपमै मजदुरहरूप्रति असभ्य भाषा प्रयोग गर्नुहुन्छ । त्यसैले यसै क्षेत्रमा लामो अनुभव भएको नेतृत्व आउनु पर्छ, जसले गर्दा पर्यटन मजदुरलाई मात्र होइन सिङ्गो पर्यटन उद्योगलाई नै न्याय हुन्छ ।
त्यसोभए पर्यटन मजदुरहरूप्रति सम्बन्धित निकाय उदासिन हुनुको कारण के हुन सक्छ ?
मजदुरहरू स्वंयम आफ्नो हक अधिकारका लागि लड्न नसक्नु पनि एउटा कारण हो । यसक्षेत्रमा वर्षोदेखि थिचोमिचोमा पारिएका मजदुरहरू बोल्न नसकेर हो । हामी भौतिक रूपमा ठूला ठूला हिमाल पहाडहरू सहिजै चढे पनि बौद्धिक रूपमा आफ्नो अधिकारका लागि लड्न सकिरहेका थिएनौं, जसका कारण मजदुरहरूप्रति सम्बन्धित सबै निकायहरू उदासिन देखिन्थ्ये । तर अब त्यस्तो परिस्थिति छैन । मजदुरहरूले पनि आफ्नो हक अधिकारका लागि लड्नु पर्छ भन्ने थाहा भइसक्यो । त्यसैले विगतमा जेजस्तो भए पनि अबका दिनहरूमा हामी आफ्नो अधिकारका लागि लड्न डराउँदैनौं । त्यसैले अहिले पछिल्लो सयम हामी आफ्नो अधिकारका लागि संगठित भएर सम्बन्धित निकायहरूलाई दबाब दिदै आएका पनि छौं ।
मजदुरहरूको पेशागत सुरक्षा, सामाजिक सुरक्षाका र दीर्घकालीन जीवनयापनको लागि कस्तो कार्यनीति ल्याउन आवश्यक देख्नु हुन्छ ?
यस विषयमा हामीले पटकपटक पर्यटनमन्त्री, पर्यटन बोर्ड र टानसँग पनि कुरा राख्दै आएका छौं । तर मन्त्रीले पर्यटन बोर्डमा पर्यटन बोर्डले टानमा र टानले पुनः पर्यटन बोर्डमा पठाउँदै आएको छ । टान र बोर्डलाई सँगै राखेर कुरा गर्दा नेपाल सरकार र पर्यटन विभागमा कुरा राख्नुहोस भनेर टार्दै आइरहे । यसको मतलब मजदुरहरूको समस्याहरूप्रति कुनै निकाय गम्भीर बनेको हामीले पाएनौं । त्यसैले हामी पटकपटक खबरदारी गर्दैै आयौं । राज्य भनेको सबैको अभिभावक भएकाले पहिलो कुरा राज्यले नै हाम्रो समस्याहरूलाई सम्बोधन गर्नु पर्छ । साथै दीर्घकालीन रूपमा पनि मजदुरहरूको पेशागत सुरक्षा र जीवनयापनका लागि सरकार र सम्बन्धित निकायहरूले पर्यटन मजदुरहरूसँग छलफल गरी ठोस कार्यनीत ल्याउनु पर्छ, जसले गर्दा पर्यटन क्षेत्रमा आबद्ध मजदुरहरूलाई पलाएन हुनबाट रोक्न सकियोस् र देशको अर्थतन्त्रलाईसमेत टेवा पुगोस् ।