कमला मुस्कान
काठमाडौं, १६ असाेज ।
सानो बालक रूँदै–रूँदै आमाले धान रोप्दै गरेको खेतमा गयो । आमा बिहानदेखि नै हिलोमा धान रोपिरहेकी थिई । आफ्नो बच्चो रूँदै आफू भएतिर आएको देखेर हातमा रहेको बिउको मुठ्ठी हिलो खेतमा थपक्क छोडिदिई र बच्चोलाई हिलो पोतिएको छातीमा ट्याप्प टाँसी । भोकले बालक रून थाल्यो । आमाले चिम्रिएको दुधको मुन्टो सानो बालकको भोकले ब्याकुल मुखमा खाँदिदिई । सानो बालक खुसी भएर आमाले मुखमा कोचिदिएको दुधको मुन्टो तान्न थाल्यो । केही बेर दुध चुसेपछि बच्चो खेल्न कुद्यो । आफ्नो बच्चामा बालसुलभ खुसी देखेर आमा आनन्दित हुँदै रोपार्ईंमा व्यस्त भई ।
न भोक, न त तिर्खा, बालककी आमा निरन्तर मुखियाको काममा जुटी । मुखियाको घरमा काम गर्ने एउटा तिघ्रे लमक–लमक आफ्ना पाइलाहरू अगाडि लम्काउँदै रोपाईं भइरहेको खेततिर आयो । बालककी आमाजस्तै धेरै गरिब महिलाहरू मुखियाको खेतमा रोपाईंमा संलग्न थिए । तिघ्रे फटाफट खेतको आलीमा आएर उभियो र भन्यो– ‘तिमीहरूलाई भोक लागेको छैन ? मुखेनी आमाबाट खानाको लागि बोलावट भएको छ ।’
तिघ्रेको कुरा सुनेर पर खेल्दै गरेको बच्चो हिलोमा लड्दै–पड्दै आमाको नजिकै आयो र भन्यो ‘आमा–आमा ! आज हामी मुखियाको घरमा धानको भात खान जाने हो ? मुखियाको घरमा त घ्यु पनि भातमा हालेर खान पाइन्छ है ? आज हामी मिठ्ठो खाना खान जाने है मुखिया बाकोमा ।’ बालक जिद्घी गर्न थाल्यो ।
बालकको कुरा सुनेर तिघ्रेले भन्यो ‘हो हो, घ्यू हालेर धानको भात मजासँग घिच्लास् मुखियाको घरमा… छाैंडा ।’
आमाले बच्चालार्ई ‘हो बाबु, घ्यू र धानको भात खान पाइन्छ मुखियाकोमा । चूप–चूप’ भन्दै बच्चोलाई मायाले आफ्नो काखमा राखेर टाउको मुसारी दिई । तिघ्रे सबै खेतालाहरूलाई खानाखाने सूचना दिँदै हिँड्यो । यता कतिखेर भोकले अन्नको सितो मुखमा हालौं भन्ने अवस्थामा पुगेका खेतालाहरू खेतको नजिकै रहेको कुलोमा गएर हातगोडा धुनथाले । बच्चो आज घ्यूभात खान पाइने सूचना पाउने वित्तिकैदेखि खुसीले फुरुङ देखियो ।
धानको भात दशैँदेखि आजसम्म खान नपाएको त्यो बच्चाले धानको भात र घ्यु खान पाउने कुरा सुनेदेखि आफ्नी आमालाई बारम्बार ‘कतिखेर खाने आमा भात र घ्यु’ भन्दै सोधिरहेको थियो । आमा ‘पख् न, एकछिनमा खाने’ भन्दै सानो छोरालाई धैर्य गर्न सम्झाइरही । आमाकै मनमा पनि मुखिनीको फरासिलो र मायालु भावनालाई कसरी पगाल्न सकिएला भन्ने विचार आयो । मुखिनीको मन खुसी पार्न सके केही छाक कोदो, मकै, गहुँ र धानको चामल पाइन्थ्यो कि भन्ने कुरा बालककी आमाले सोची । कसरी पार्ने होला त मुखिनीको मन खुसी भन्ने विचार गर्दै ऊ छोरो च्यापेर मुखियाको घर पुगी ।
आँगनको वरिपरि सुक्कुल ओछ्याइएको थियो । सुक्कुलको अगाडि मुखिनीले भोर्लाको पात गाँसेर बनाएको टपरी फिँजाइदिइन् । सबै खेतालाहरू मुखिनीको जय जय होस् भन्दै टपरा हातले समात्तै शिर निहुर्याएर मुखिनीलाई ढोग्न थाले । टपरीको नजिक च्युरीको पात गाँसेर बनाइएका खाली दुनाहरूमा मासको दाल हाल्दै लम्फु गोठालोे खेतालाकोे वरिपरि घुम्न थाल्यो ।
यता सानो बालक च्यापेर मुखिनीलाई एकनासले हेरिरहेकी बालककी आमाले मुखिनीको सेतो जिउडाल र लुवाइखुवाइ देखेर आँखा भरी आँशु पार्दै सोची– ‘कोही म जस्ता गरिब महिला हप्तौँ हप्तासम्म पनि अन्नको अभावले पेट दोबारेर बाँच्न बाध्य हुनुपर्ने, कोही भने सबै कुराले सम्पन्न भएर सुकिला मुकिला भई स्वस्थ शरीरमा सोह्र–श्रृङ्गारले सजिएर रहन पाउनु पर्ने ! हे दैव, तिम्रो लीला हामी किन बुझ्न सक्दैनौ ? हामीले जति दुःख गरे पनि एक पेट खान र एक सरो लगाउन हामीलाई पुग्दैन तर यिनीहरूलाई भने कामै नगरी पनि ढलिमली गर्न पुगेको छ ।’
मनमा जति कुरा खेलाए पनि बालककी आमाले आफ्नो मन बुझाउन सकिन । मुखिनी रोपाहार नअघाउलान् भन्ने डर मान्दै खाना बाँड्दै गरेका आफ्नो नोकरचाकरलाई राम्रोसँग खाना बाँडन अ¥हाइरहेकी थिइन् । पर आँगनको एक छेउमा सानो बालक निरन्तर रूपमा ‘घ्यू र भात चाइयो । म घ्यू र भात खान्छु’ भन्दै ठूलो–ठूलो स्वरमा कराइरहेको थियो । बालककी आमा आफ्नो बच्चोलाई शान्त पार्ने उपायहरू गरिरहेकी थिई तर जे गरे पनि बालक मान्नेवाला थिएन ।
परबाट बालककी आमाले बालकप्रति गरेको सम्पूर्ण क्रियाकलाप हेरिरहेकी मुखिनी भान्साघरभित्र पसिन् र एउटा दुनामा भरी खारेको घ्यू बोकेर बाहिर निस्किन् । ‘दुई आमा छोरा किन खाना खान नआएका ? के भो ? पेटमा भोक छैन कि कसो ?’ मुखिनीले बालककी आमातिर हेर्दै भनिन् । ‘म घ्यु र भात खाने मुखिनी आमा….’ सानो बालक आमाको पञ्जाबाट फुत्किएर मुखिनी भएको ठाउँ नजिकै पुग्यो । मुखिनीले बालकलाई छुट्टै अर्को सानो पिर्का ओछ्याइदिइन् अनि ठूलो टपरीमा तातो भात र एउटा दुनोमा घ्यु बालकको छेउमा राखिदिइन् । बालक घ्यु र भात देखेर दङ्ग भयो । मुखिनीले आफ्नो छोराप्रति देखाएको प्रेम देखेर बालककी आमा प्रसन्न भइन् र आभारी हुँदै मुखिनीको खुट्टामा ढोगीदिइन् ।
सबैले खाना खाए । फेरि खेत रोप्ने काममा हिँड्न तयार भएका ती खेतालाहरू सँगै बालककी आमा पनि तयार भइन् । मुखिनीले बालककी आमालाई मसिनो स्वरले भनिन् ‘बालकलाई यहीं छोडेर जाऊ । भरे फर्किदा बालकलाई बोकेर घर लैजानू । आज मसँग बसेर यसले धेरै खानेकुरा खानेछ ।’ बालककी आमाले पनि मुखिनीको कुरा सुनेर खुसीले पुलकित हुँदै भनिन् ‘हुन्छ–हुन्छ, भइहाल्छ नि । यो हजुरसँगै बसोस् ।’ बालक पनि मुखिनीको कुराले मख्ख प¥यो ।
पर्म सकियो । सबै खेतालाहरू लामो सास फेर्दै बेलुकाको खाना खान हातगोडा धोएर मुखिनीको घरतिर लागे । बालककी आमा पनि खेतालाको पछि पछि मुखियाको घरतिर लागिन् । मुखियाको आँगनमा आफ्नै सुरले खेलिरहेको सानो बालकले ‘आमा’ भनेर बोलायो । बालककी आमा दौडिएर बालक भएतिर गइन् र बालकलाई आफ्ना दुई हातले जुरूक्क बोकिन् । बालकले आफ्नो तोते बोलीले भन्योे ‘मैले गौमाताको बुबु, दही, मोही, बिगौती खा’को । मलाई बुबु हालेर मिठो खीर देको नि, थाहा छ ?’ बालककी आमाले छोराको कुरा सुनेर भित्रभित्रै खुसी हुँदै भनिन् ‘ए हो र ? अनि कस्तो लाग्यो बाबुलाई गौमाताको बुबु, दही, मोही र बिगौती मिसाएको माम् ?’ ‘मिठो थियो’ बालकले उत्तर दियो ।
जताततै बालिएको दियोले गर्दा आँगन झिलिमिली देखिएको थियो । सबै खेतालाहरू फेरि खाना खान आँगानको बरिपरि बसे । सानो बालक पनि आमाको काखमा खाना खान बसेझैं गरी बस्यो । आमा र बालक एउटै टपरीको खाना झिकेर कपाकप खान थाले । खानापछि अरू खेतालाहरूझैँ बालककी आमा पनि घर जान तयार भइन् । मुखिनीले अन्य खेतालाहरूको आँखा छलेर इशाराले बालककी आमालाई बोलाइन् । उनले पनि मुखिनीको इसारा तुरून्तै बुझिहालिन् र लुसुक्क मुखियाको भन्साघरभित्र छिरिन् ।
मुखिनीले एक पाथी मकै, एक पाथी गहुँ, एक पाथी धान, एक पाथी कोदो गरी सबै अन्न मिलाएर लगभग पचास किलाको बोराको एक बोह्रा अन्न बालककी आमालाई घर लान इसारा गरिन् । मुखिनीले आफूप्रति देखाएको दया, माया, स्नेह र सहयोग देखेर बालककी आमा अत्यन्तै हर्षित भइन् । भावुकताबस् उनका आँखामा आँशु छल्कियो । मनको कुरा बुझेझैं गरी त्यति धेरै अन्नपात पाएकोमा दङ्ग हुँदै बालककी आमाले श्रद्धाले मुखिनीको गोडामा ढोगिदिइन् ।
यता हलीको काम गर्न हिँडेको लोग्ने काम सकेर घर फर्कियो । घरमा आफ्नी श्रीमतीलाई नदेखेपछि ढिँडो र गुन्दु्रक पकायो । अगेनाको डिलमा पकाएको खाना छोपेर ऊ स्वास्नी खोज्न मुखियाको घरतिर लाग्यो । मुखियाको भान्साघरअगाडि मुखिनीले दिएको एक बोरा अन्नसहित दही, घ्यु, दूध र मोही बोक्न तयार परेकी स्वास्नीलाई देखेर लोग्ने पनि दङ्गदास बन्यो । मुखिनीले त्यति धेरै अन्नपात दिएको देखेर कृतज्ञतास्वरूप लोग्ने दौडिदै गएर मुखिनीको गोडामा ढोगिदियो ।
अनि, खुसी थाम्न नसकेर लोग्नेले आफ्नी स्वास्नीलाई हार्दिकतापूर्ण ढङ्गले छातिमा टाँस्यो । दुबै लोग्ने–स्वास्नी एक–अर्काको दुःख, श्रम र मायाको सम्मान गर्दै आँखाभरि आँशु पारेर भावुक बने । अनि मुखिनीप्रति कृतज्ञ हुँदै दुबैजान मुखियाको घरबाट बिदा भए ।
आमाले बालक छोरो बोकी अनि बाबुले अन्नको बोह्रा आफ्ने काँधमा बोक्यो । गरिब भए पनि ती गरिब दम्पतीबीचको अथाह माया र प्रेम देखेर मुखिनीको पनि आँखा रसायो । बालकको हातमा मुखिनीले एउटा पाकेको केरा राख्दै ती दुई लोग्ने स्वास्नीलाई भनिन् ‘यो सानो बच्चोलाई दुःख गरेर भए पनि राम्रोसँग पढाउनू, हुर्काउनू र ठुलो मान्छे बनाउनू । यो महङ्गीमा दुई सन्तान जन्माउने कल्पना पनि नगर्नू ।’ मुखिनीको कुरालाई आत्मसात् गर्दै दुबै लोग्ने–स्वास्नीले ‘हुन्छ’ भन्ने सङ्केतको टाउको हल्लाए । लोग्ने बोह्रा काधँमा हालेर अघि लाग्यो अनि स्वास्नी बालक छोरो बोकेर पछि–पछि लागी ।
परिवार गरिब भएता पनि लोग्ने–स्वास्नीबीचको आपसी प्रेम र सम्मान गहिरो र सुदृढ थियो । एक अर्काको साथ र सहयोगकै कारण आइलाग्ने हरेक विपत्तिहरूलाई उनीहरू मिलेर सामना गर्थे । आर्थिक र भौतिक रूपमा विपन्न भए पनि यो जोडी आपसी सम्बन्धमा र दाम्पत्य जीवनमा हुनु पर्ने विश्वास र प्रेममा धेरै सम्पन्न र वैभवशाली थिए । गाउँमा उनीहरू धेरैका लागि ईर्ष्याका विषय पनि थिए ।
आफूले दिएको अन्नपात र छोरो बोकेर खुसी हुँदै हिँडेको यस जोडीलाई मुखिनीले ओझेल नपरुञ्जेलसम्म हेरिरहिन् ।