के ट्रम्पले अरूलाई भाइरस सार्न सक्छन् ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अब अरूलाई कोभिड सार्ने खतराभन्दा बाहिरको अवस्थामा पुगेका उनको उपचारमा रहेका चिकित्सकले बताएका छन् । ट्रम्पको उपचारमा संलग्न डाक्टर सीन कोन्लीले दिएको यो विवरण नै ट्रम्पको स्वास्थ्यबारे बिहीवार यताको पहिलो औपचारिक विवरण हो । भाइरस सङ्क्रमणका कारण अस्पतालमा भर्ना भए यता पहिलोपटक राष्ट्रपति ट्रम्पले शनिवार ह्वाइट हाउसमा समर्थकहरूको भिडलाई सम्बोधन गरेका थिए ।

तीन दिन अस्पताल उपचार गराएका ट्रम्पले अरूलाई रोग सार्ने हुन् कि भनेर गम्भीर चासो व्यक्त भएको थियो । डाक्टरले उनको शरीरमा अब ‘भाइरस सङ्ख्या बढाउन सक्ने किसिमको स्थितिमा नरहेको’ भन्दै उनको शरीरमा भाइरसको सङ्ख्या पनि घटिरहेको लेखेका छन् । तर विज्ञप्तिमा ट्रम्प कोभिड १९ नेगेटिभ भए नभएको उल्लेख गरिएको छैन। डा. कोन्लीले राष्ट्रपति ट्रम्पको शरीरमा कति भाइरस छ भन्ने जाँचिएको बताए ।



उनले भने, ‘राष्ट्रपति सीडीसीले तय गरेको मापदण्ड बमोजिम आइसोलेशनबाट बाहिर निस्कने अवस्थामा पुगेको जानकारी गराउन चाहन्छु । आज बिहानको सीपीआर जाँचबाट उनीबाट अब अरूलाई कोभिड-१९ सर्ने खतरा छैन ।’ ट्रम्पलाई दश दिन अघि कोरोनाभाइरसको लक्षण देखिएको थियो । पछि उनले अक्टोबर २ तारिखका दिन अस्पताल भर्न गरिएको थियो । अस्पतालमा उनलाई अन्य औषधि सहित डेक्सामेथासोन नामको स्टेरोइड दिइएको थियो जुन प्रायजसो भाइरसका कारण स्वास्थ्य अवस्था गम्भीर रहेकाहरूलाई दिने गरिन्छ ।

डाक्टर कोन्लीको यो पछिल्लो अभिव्यक्ति ट्रम्पले ह्वाइट हाउसमा भएको एक भेलामा ‘आफूले राम्रो’ महसुस गरिरहेको बताएसँगै सार्वजनिक भएको हो । उनले हाल आफूले कोभिड-१९ विरुद्ध कुनै पनि किसिमको औषधि नलिएको बताएका छन् । शनिवारको उक्त कार्यक्रम आधिकारिक रूपमा ‘शान्तिपूर्ण र्‍याली’ थियो । तर आलोचकहरूले भने त्यो कार्यक्रम ट्रम्पको चुनावी अभियान जस्तो देखिएको टिप्पणी गरेका छन् ।

आगामी महिना हुने राष्ट्रपतीय निर्वाचनमा उनका विपक्षी जो बाइडन हाल पेन्सलभेनियामा चुनावी अभियानमा सामेल छन् । सर्वेक्षणहरूका अनुसार बाइडन ट्रम्प भन्दा एक अङ्कले अगाडि छन् । एबीसी न्यूजले गरेको सर्वेक्षणमा ट्रम्पले कोरोनाभाइरस महामरी व्यवस्थापन गरेको विषयलाई ३५ प्रतिशत अमेरिकीहरूले अनुमोदन गरेका छन् ।

हालसम्म २१४,००० भन्दा बढी अमेरिकीहरूको कोभिड-१९ का कारण मृत्यु भएको छ । जोन्स हप्किन्स विश्विद्यालको पछिल्लो तथयाङ्क अनुसार अमेरिकामा सङक्रमित हुनेहरूको सङ्ख्या ७७ लाख भन्दा बढी छ ।

सम्बन्धित समाचार