एलपी पौड्याल
काठमाडौं, १५ कात्तिक ।
‘बुढा, तिमीले मलाई बीच बाटोमैं अलपत्र पारेर जाने भयौ ।’ उसले क्वाँक्वाँ रूँदै भनी ‘तिमी फर्केर आएनौ भने भन त म कसको सहारामा बाँच्नु ?’
‘चिन्ता नगर अनु, म मर्न होइन, बाँच्नका लागि अस्पताल जान लागेको हो । तिमी र म मिलेर अझै धेरै गर्न बाँकी छ । तिमी मेरो शक्ति हौं । धैर्य गर, म २-४ दिनभित्र फर्केर आउने छु ।’ अनि एम्बुलेन्समा चढ्दै अंकितले थप्यो– यदि म फर्केर आउन सकिन भने ठान्नु, हाम्रो सहयात्रा यत्ति रहेछ । छोरीको राम्रो हेरचाह गर्नू ।’
अंकितले आफ्ना कुरा पूरा गर्न नपाउँदै अनामिका गाउँ नै थर्काउने गरी रून लागी । त्यहाँको वातावरण नै अत्यन्तै कारूणिक बन्यो । त्यही बेला अनामिकाको रोदनलाई चिर्दै अंकितलाई लिएर एम्बुलेन्स अस्पतालतिर लाग्यो । अनामिकाको रोदनले जम्मा भएका छिमेकीहरू स्तब्ध भएर कहिले एम्बुलेन्स गएतिर र कहिले अनामिका रोएतिर हेर्दै थिए । अनामिकासँग साह्रै मिल्ने छिमेकी साथी थिइन्– अन्जना । उनी पनि अरू छिमेकी सरह बाटोमा उभिएर आँखाभरि आँशु पारेर भावुक हुँदै अनामिकाको दयनीय अवस्थालाई हेर्दै थिइन् । उनलाई पनि गेटभित्र छिरेर सधैंझैं अनामिकालाई हक गर्दै सान्त्वना दिने हिम्मत आइरहेको थिएन । उनले भित्रभित्रै सोचिन्– छ्या, कोनोनाको त्रासदी पनि ! यसले घर, परिवार, आफन्त र छिमेकी सबैलाई छुट्याइदियो । ढिलोचाँडोको कुरा मात्र हो, काठमाडौंबासी सबैले अनामिकाकोे नियति भोग्नुपर्ने छ ।
एकाएक अंकितको शरीरमा अक्सिजनको मात्रा घटेपछि डाक्टरहरूको सल्लाहअनुसार नै उसलाई अस्पताल लगिएको थियो । भ्यान्टिलेटर र आइसीयुमा राखेका धेरै व्यक्तिहरूको मृत्युको समाचारले सिरियस विमारीहरूमा आतङ्क मच्चिएको थियो । त्यसैले अस्पताल जानु वा लगिनु पर्ने अवस्था धेरैका लागि त्रासदीको विषय बनेको थियो । सामान्य अवस्थामा सामाजिक सञ्जालमार्फत् अरूलाई अर्ति उपदेश दिनेहरू पनि अस्पतालै जानुपर्ने अवस्था आएपछि आत्तिएको अनुभूति दिन्थे । अंकितलाई पनि त्यस्तै भएको थियो । निरन्तर ज्वरो आइरहेको र अक्सिजनको लेभल पनि घटेकोले ऊ पनि आत्तिएको थियो । एम्बुलेन्स चड्नुअघि अनामिकालाई दिएको आश्वासनमा ऊ स्वयम् पनि आश्वस्त भने थिएन । त्यसैले एम्बुलेन्स घरबाट जतिजति टाढा हुँदै जाँदै थियो, फेरि फर्केर आइएला कि नआइएला भन्ने कुरामा ऊ स्वयम्मा द्विविधा पनि बढ्दै थियो ।
कोरोना पोजेटिभ त अनामिकालाई पनि देखिएको थियो । तर शुरुका दिनमा सामान्य ज्वरो आउनुबाहेक उसलाई अरू केही लक्षणहरू देखिएका थिएनन् । अहिले पनि अंकितको स्वास्थ्यको चिन्ताबाहेक अनामिकालाई खास्सै केही भएको थिएन । संक्रमण फैलिने डरले एउटी भएकी छोरीलाई पनि मावलमा लगेर छोडेकोले अब त्यो सिङ्गो घरमा अनामिका एक्लै भएकी थिई । मन अशान्त भएपछि भव्य महल पनि भूत–बङ्लाजस्तै लाग्दोरहेछ । अंकित एम्बुलेनसमा चढेर हिँडेपछि ऊ रुँदै शोफामा लडेकी थिई, कतिबेला निदाइ, उसैलाई थाहा भएन । व्युँझँँदा मध्यरात भएको हुँदो हो ।
ऊ उडेर आफ्नो बेड रूममा गएर पुनः पल्टी । निद्रा लाग्ने कुरै थिएन । ऊ कहिले अंकितलाई र कहिले आफ्नै विगतलाई सम्झन लागी । उसका मानसपटलमा अंकितसँगको भेटदेखि दाम्पत्यजीवनमा बाँधिएका क्षणहरू सिनेमको पर्दामा झैं नाच्न थाले ।
—
त्यसदिन अनामिकालाई दिक्क लागेको महसुस भएको थियो । किन ? उसैलाई थाहा थिएन । कहिलेकाहीं आफूलाई स्पष्ठ रूपमा थाहा नभएका कुराहरूको पनि कत्ति ठूलो प्रभाव परिहेको हुन्छ जीवनमा । शब्दबाट अभिव्यक्त हुँदैन, तैपनि केही भइरहेकै हुन्छ । अनामिकालाई पनि यस्तै केही भएको हुनुपर्छ त्यसदिन ।
ऊ विना पूर्व योजना आरआर क्याम्पसको क्लासबाट निस्केर एक्लै भृकुटीमण्डपतिर लागी । ऊ आउँदा–जाँदा उसका पछि लाग्ने थुप्रै बैंशालु आँखाहरू हुने गर्छन् । सामान्यतः थाहा नपाएजस्तो गरी हिड्नु उसको दैनिकी हो । त्यसदिन पनि उसै गरी उसले ।
जति आँखाहरूले पच्छ्याए पनि सबै आँखाहरूलाई बेवास्ता गर्दै ऊ भृकुटीमण्डप प्रदर्शनी हलको पछाडिपट्टि रहेको चौरमा गएर बसी, विना कुनै उद्देश्य । उसलाई केही समयअगाडि नेपाली सरले उसैलाई नै लक्ष्य गरेझैं गरेर भनेको ‘मान्छे जस्तो देखिन्छ, त्यस्तो हुँदैन र जस्तो हुन्छ, त्यस्तो देखिँदैन’ भनेको कुराले मुटुमा च्वास्स छोएको थियो । हुन त यो कुरा मनोविज्ञानसँग सम्बन्धित कुरा थियो तर सरले उसैलाई लक्ष्य गरेर चाहिँ किन भन्नुभयो ? के त्यो नितान्त संयोग मात्र थियो वा सरले उसको विगतलाई लक्ष्य गरेर….. अहँ, यो हुनै सक्तैन । सर अन्तर्यामी त पक्कै होइन होला; उसले यतै सोची ।
ऊ केही क्षण विगतको अँध्यारोमा हराउन पुगी ।
गाउँमा उसको सौन्दर्यको चर्चा निक्कै हुनेगथ्र्यो । सबैले ‘अनामिका साँच्चै राम्री छे’ भनेको सुन्दा ऊ ऐना अगाडि उभिएर घण्टौंसम्म आफूलाई निहार्ने गर्थी । उसलाई पनि आफू राम्रै भएको महसुस हुन थालेको थियो । प्लस टुको परीक्षा दिने बेलासम्ममा गाउँघरमा मात्र होइन, स्कुल कलेजमा पनि उसको रूपको चर्चा हुन थालेको थियो । प्रत्यक्ष परोक्ष रूपमा उसलाई थुप्रै प्रेम प्रस्ताव र बिहेका प्रस्तावहरू पनि नआएका होइनन् तर यस्ता प्रस्तावमा अल्मलिँदा पढाइ बिग्रने कुरामा ऊ सचेत थिई र सबै प्रस्तावहरूलाई बेवास्ता गरिदिन्थी । आफ्नो करिअर नबनाई माया–प्रेमका चक्करमा लाग्नुहुन्न भन्ने लाग्थ्यो उसलाई ।
‘अनु, एकछिन यता आऊ त ।’ एकदिन स्कुलबाट फर्किनेबित्तिकै बाबाले बोलाउनुभयो । ‘किन बाबा, भोक लागेको छ, केही खाएर आउँदा हुन्न ?’ उसले प्रतिप्रश्न गरी । बाबाको अनुमति पाएपछि खाजा खाएर ऊ बाबाको कोठामा पुगी ।
‘ल नानी, यो फोटो हेर त, तिमीलाई कस्तो लाग्छ ?’
अनामिकाले बाबाले दिएको फोटो हातमा लिएर नियाली । फोटोमा मुस्कुराइरहेको एउटा युवकको फोटो देखी । ठीकै लाग्यो तर उसले कतै देखे–चिनेजस्तो लागेन । उसले सामान्य रूपमा प्रतिक्रिया दिई ‘फोटो त सामान्य नै छ । मैले त चिनिनँ नि बाबा । हाम्रो कोही हो ?’
‘कोही त होइन छोरी तर हुन सक्छ । यो तिम्रो मावली गाउँतिरको केटा हो । दुबइमा काम गर्दोरहेछ । अहिले नेपाल आएको छ अरे । बिहे गर्न केटी खोज्दै रहेछन् । कसैले तिम्रोे नाम लिएछन् । केटो ठीकै छ रे । के छ तिम्रो विचार ?’
अनामिका पानी पर्सेकी खसीजस्तै भई ।
बाबाको मुखबाट सोझै बिहेको प्रस्ताव सुनेपछि ऊ स्तब्ध भई । ‘बिए पास नगरी छोरीको बिहे गर्नुहुन्न’ भनेर गाउँघरमा भन्दै हिँड्ने आफ्नै बाबाबाट अचानक बिहेको दवावपूर्ण प्रस्ताव आएपछि ऊ स्तब्ध हुने नै भई । उसलाई बाबाको अघिल्तिरबाट कसरी भागौंजस्तो भयो । ‘मेरो अहिले बिहे गर्ने बेला भएको छैन र मन पनि छैन’ भनेर ऊ त्यहाँबाट दौडेर आफ्नो कोठातिर गई ।
‘छोरी नराम्री हुँदा बिकाउन गाह्रो, राम्री हुँदा बचाउन गाह्रो’ भन्छन् । सायद अनामिकाको सौन्दर्यको चर्चाले उसका बाबालाई पनि त्यस्तै अनुभूति भएको हुनुपर्छ । त्यसैले मध्यम वर्गीय परिवारका अनामिकाका बाबा चाहन्थे– गाउँमा छोरीको विषयमा अनावश्यक हल्ला चल्नु अगाडि नै छोरीलाई विधिवत रूपमा कुनै राम्रो कुटुम्बकोे जिम्मा लगाउन पाइयोस् । यस्तै सोचिरहेको बेला आएको प्रस्ताव उनलाई ठीकै लागेको हुनुपर्छ । अनामिकाको असाधरण सुन्दरता नै कमजोरी ठहरियो ।
बाबाबाट आमा, दाजु हुँदै मामाबाट पनि दवाव आएपछि विचरा अनामिकाको पनि केही लागेन । बिहेपछि पनि उसको पढाइले निरन्तरता पाउने सर्तमा उसले एउटा अन्जान युवकसँग बिहेबन्धनमा बाँधिनुपर्ने भयो । यसरी अनामिकाले नचाहेरै पनि एउटा नवागन्तुकसँग उसको बिहे भएको थियो ।
बिहे सामान्य रूपमा नै सम्पन्न भएको थियो । बिहे भएको लगभग दुईमहिनापछि अनामिकाको श्रीमान् श्रीधर पुनः दुबई गयो । यसरी पहिले कहिल्यै नदेखेको, नभेटेको र नबुझेको केटो श्रीमान् भयो र उसका बारेमा थप बुझ्नै नपार्ई पुनः विदेशियो ।
श्रीधर विदेशिएको केही समय त ठीकठाक नै रह्यो तर केही समयपछिदेखि घर पहिलेजस्तो रहेन । घरपरिवारबाट उसलाई गर्ने व्यवहारमा केही परिवर्तन देखिन थाल्योे । उसले आफन्तलाई फोन गर्दा, कुनै साथीभाइ घर आउँदा वा सपिङका लागि बाहिर जाँदा शंकाको नजरले हेर्न थाले । उसका सासु र नन्दले कुरा काटेर बस्नै नसक्ने बनाउन थाले । कहिलेकाहीं त नन्दले उसले थाहा नपाउने गरी उसको मोबाइल पनि चेक गर्न थालिन् । आखिर किन यस्तो हुँदैछ भन्ने उसलाई केही थाहा थिएन ।
त्यतिले मात्र नपुगेर फोन गरेर श्रीधरलाई पनि उसका अनावश्यक र नराम्रा कुरा मात्र सुनाउन थाले । श्रीधरलार्ई उसको चरित्रमाथि नै लाञ्छना लगाउँदै कुरा सुनाउन थाले ।
अति हुन थालेपछि एकदिन हिम्मत गरेर उसले ससुरालाई उसलाई गर्न थालिएकोे फरक व्यवहारका बारेमा सोधी । ससुराले ढुलमुले उत्तर दिएर टारे । पढाउने कुरालाई भने उनले सीधै अस्वीकार गर्दै भने– ‘छोरो विदेशमा तातो घाममा काम गर्ने, बुहारीलाई चाहिँ केटाहरूसँग जिस्किन क्याम्पस पठाउने काम मबाट हुन सक्तैन । क्याम्पस पढ्ने भए माइतै गए भयो ।’
अनामिकाको विश्वासको सगरमाथा भासियो । ससुराको जवाफबाट उसले २ वटा कुरा स्पष्ठ बुझी । पहिलो, कुनै हालतमा क्याम्पस नपठाउने र दोस्रो, उसको चरित्रमाथि अवाञ्छित लाञ्छना ।
पहिलो कुरालाई त ऊ घरमा नै पढेर भए पनि परीक्षा दिन सक्थी तर जब उसको चरित्रमाथि नै प्रश्न उठाइयो, उसले सहन सकिन । भोलिपल्ट नै ऊ माइत गई र बाबाआमा दुबैलाई सँगै राखेर सबै कुरा सविस्तार सुनाई । त्यस्तो होला भनेर बाबाले एक मनले पनि सोचेका थिएनन् । दुबै छाँगाबाट खसेझैं भए । छोरीसँग आँखा मिलाउने हिम्मत गर्न पनि सकेनन् । दुबै आफ्नो निर्णयमा नतमस्तक भए ।
‘जहाँ मेरो चरित्रमाथि शंका गरिन्छ, म त्यो घरमा जान्न बाबा । यहाँ बस्ता पनि म बोझिलो हुन्छु भने बरू अर्को विकल्प गर्छु तर त्यो घर जान्न । म पनि त केही भाग्य त लिएरै जन्मिएकी हुँला नि, गरेर देखाउँछु’ अनामिकाले आफ्नो निर्णय सुनाई । छोरीको इच्छाविरूद्ध विवाह गरिदिएका अनामिकाका बाबा दिनानाथ नाजवाफ भए ।
प्रतिकूल परिस्थितिका बीच पनि आशाको सानो झिल्को लिएर एकदिन दिनानाथ सम्धी भेट्न गए । सम्धी घरमा उनलाई सामान्य सम्मान पनि गरिएन । बिहे अघिका सम्धी पूरै परिवर्तित भएका रहेछन् । त्यस घरको व्यवहार देखेर आफूले हतारमा गरेको निर्णयप्रति पछुताउँदै घर फर्के । उनले राम्रै होला भनेर जोडेको सम्बन्ध दुई वर्ष पनि टिक्न सकेन । यस्तो स्थिति आउला भन्ने थाहा पाएका भए आफ्नी फूलजस्ती छोरी त्यस्तो घरमा किन पठाउँथे र ? उनलाई केटाका बारेमा जेजति सूचना दिएका थिए, सबै गलत रहेछन् ।
घर फर्किने क्रममा दिनानाथले जानकारी पाए कि दुबइमा रहँदै श्रीधर रेष्टुरेण्टमा काम गर्ने कुनै केटीसँग लागेर बिग्रेको रहेछ । एक÷दुईपल्ट प्रहरी केशमा पनि परिसकेको रहेछ । तैपनि सप्रिन्छ कि भनेर बाबुले श्रीधरलाई नेपाल बोलाएर राम्री केटीसँग बिहे गरिदिएका रहेछन् । तर न छोरो राम्री स्वास्नी पाएर मख्ख परेर घरैमा बस्न सक्यो न दिनानाथबाट सम्धी रामेश्वर अधिकारीले पनि सोचेजति सम्पत्ति पाउन सके । उता नयाँ काममा जान्छु भनेर दुबइ उडेको श्रीधर खै के काण्डमा हो पुनः प्रहरी केशमा परेपछि अधिकारी परिवार बिच्किएका रहेछन् । छोरो घरमा नभएको मौकामा राम्री बुहारी अन्तै पो लाग्छे कि भन्ने भयबाट ग्रसित अधिकारी परिवारले छोरो बिग्रिएको झोंक बुहारीलाई देखाएका रहेछन् । यी सबै कुरा बुझेपछि दिनानाथले मनमनै निर्णय गरे– अब छोरी त्यो घर पठाउन्न । जति पढ्न सक्छे पढाएर अर्कै व्यवस्था गरिदिन्छु ।
घरमा आएर दिनानाथले छोरीलाई पढ्न प्रेरित गरे । अनामिकाको पढ्ने इच्छा पूरा हुने भयो । उसले पीके कलेजमा बिकमको अध्ययन आरम्भ गरी । तर त्यहाँ श्रीधरसँगको सम्बन्ध थाहा पाउने धेरै थिए । केटीहरू जति बेला पनि उसको वैवाहिक सम्बन्धका बारेमा केके सोधेर डिस्टर्ब गरिरहन्थे । केटी बिग्रिएपछि केटाभन्दा खराब हुँदारहेछन् । अनामिकाले सोची– यसरी त न उसले पढाइलाई राम्रो गर्न सक्छे, न नयाँ जीवन सुरुआत गर्ने आधार बन्छ । त्यसपछि उसले पीके छोडेर सुटुक्क आरआर कलेजमा आर्टस् पढ्न भर्ना भई र आफूलाई सरू नामले चिनाई । उसको रजिष्टर्ड नाम अनामिका शर्मा भए पनि उसलाई साथीभाइले सरू भनेर चिन्न थाले । आरआरमा उसको विगतका बारेमा जान्ने कोही थिएनन् । ऊ ढुक्क भई । सामान्य रूपमा पढाइ जारी रह्यो ।
कमर्शको ब्याकग्राउण्डबाट आर्टस्तिर आउँदा केही समय त केही असजिलो भएजस्तो पनि भयो । तर इच्छाशक्तिका अगाडि सबै अवरोधहरू पराजित भए । साहित्यका क्लासमा भने ऊ केही संंकोची जस्ती बन्थी । साहित्य पढ्न त रमाइलो नै लाग्थ्यो उसलाई तर कहिलेकाहीँ आफ्नै जीवन भोगाइमा मेल खाँदा भने ऊ झसङ्ग हुन्थी । फेरि सोच्थी– यो त साहित्य पो हो त । कसै न कसैको जीवनमा मेल खाने भएर नै त साहित्यले स्वाद दिने हो । मानव भोगाइभन्दा फरक साहित्य भयो भने त्यो नीरस हुन्छ । यसरी आफैं चित्त बुझाउँथी । बानी पनि पर्दै गयो ।
मनमा पीर, बेदना र संकल्पका पहाड लुकाएर पनि ऊ सामान्य विद्यार्थी बन्ने प्रयास गर्थी । उसको सौन्दर्य भने कहिलेकाहीं अभिषाप बनिदिन्थ्यो । पीकेमा पढ्दा केटीबाटै भाग्नुपथ्र्यो, आरआरमा केटाहरूबाट । केटाहरू अनेक बाहना बनाएर उसको पछि पर्ने गर्थे । भाग्दाभाग्दै पनि कति केटाहरू त बाटो छेक्न आइपुग्थे । शारीरिक सौन्दर्यको मोहमा लठ्ठीएका भ्रमराको भुनभुनबाट विमोहित हुँदै लक्ष्य प्राप्तिको बाटोमा क्रियाशील हुन सजिलो थिएन अनामिकालाई । कहिले आफ्नै आदर्शसँग र कहिले बाहिरी वातावरणसँग संघर्ष गर्दै थिई ऊ तर बाहिरी रूप मात्र देख्नेहरूका लागि भने कामिनी !
‘हेल्लो…!’
कुनै पुरुषको आवाजले उसलाई झस्काइदियो । उसको तन्द्रा भङ्ग भयो । अनामिकाले उभन्दा केही पर उसैलाई हेरेर उभिइरहेको कुनै सुन्दर युवकलाई देखी । कहिले कतै देखेको हुनसक्ने तर याद नगरिएको त्यो अनुहार उसलाई नै हेरेर मुस्कुराइरहेको थियो । कतै यो मान्छे श्रीधरको अर्को रूप त होइन ? केही झस्केझै, केही लजाएझैं गरी उसले जवाफ दिई– ‘हाई !’
‘अन्यथा नमाने हुन्छ । तिमीले मलाई राम्ररी नचिने पनि म तिमीलाई राम्ररी नै चिन्छु ।’
‘…..राम्ररी नै ?’ उसले आफ्ना ठूला ठूला आँखा युवकतिर फ्याँकी ।
‘हो, राम्ररी नै ।’ युवकले सामान्य उत्तर दियो ।
अनामिका के भन्नु के नभन्नुको स्थितिमा पुगी । उसले मनमनै दोहो¥याई ‘राम्ररी नै’ । उसको मनमा द्विविधा बढ्दै जाँदा युवकले भन्यो ‘के म यहाँ बस्ने अनुमति पाउन सक्छु ?’ अनामिकाले केही संकोचमान्दै भनेकी थिई– ‘हुन्छ ।’
युवक अनामिका बसेभन्दा केही पर तर मुखामुख हुने गरी बस्यो । बस्ताबस्तै उसले भन्यो ‘धन्यवाद ।’ अनि थप्यो– ‘म अंकित बराल । तिम्रो नाम के हो सरू ?’
‘मेरै नाम लिएर मलाई नै नाम सोद्धैछौं, यो कस्तो प्रश्न हो ?’ केही आश्चर्य मान्दै आफ्ना ठूलाठूला आँखाले युवकलाई हेर्दै अनामिकाले प्रतिप्रश्न गरी ।
केही विनोदी शैलीमा युवकले भन्यो ‘हैन, तिमीलाई सरू भनेको मनपर्छ कि अनामिका भनेको भनेर सोधेको नि !’
अनामिका छक्क परी । उसको सिङ्गो विगतको भारी बोकेर आउने यो युवक को हो ? उसलाई दिक्क लागेर क्याम्पसको क्लास छोडेर एकान्तमा आएर बसेकी थिई । उसको एकान्तलाई भङ्ग गर्न आउने यो मान्छे को हो र कुन प्रयोजनका लागि आयो होला ? के त्यो मान्छे पहिलेदेखि नै उसलाई पछ्याउँदै थियो ? ऊ अलमलमा परेजस्तै भई ।
‘धेरै प्रश्नहरू उमारेर दिमागलाई बोझ नबनाऊ अनामिका । धेरै असजिलो पनि नमान । तिमीले याद नगरे पनि विगत दुई वर्षदेखि तिमीलाई याद गर्ने प्राणी हुँ म । तिम्रो शुभचिन्तक । म तिम्रो शारीरिक सौन्दर्यलाई मात्र होइन, तिम्रो भावना र संकल्पलाई पनि सम्मान गर्ने व्यक्ति हुँ । तिमीले मलाई भेट्नु आकस्मिकजस्तै भए पनि मैले तिमीलाई भेट्नु कुनै आकस्मिकता होइन ।’
ऊ पुनः आश्चर्यचकित परेकी थिई । पहिलोपल्ट भेटिएको मान्छे भन्दै थियो– दुईवर्ष अगाडिदेखि चिन्छु भनेर । मेरो भावना र संकल्पसमेत बुझ्छु भन्ने को हो यो मान्छे ? चिटचिट पसिना आएझैं, मुख पनि सुकेझैं भयो उसलाई । उसले हिम्मत जुटाएर भनी ‘भन, तिमी को हौ ? कसरी यहाँ आयौ र भन मलाई कसरी चिन्छौं ? म को हुँ ?’
अंकित केही मुस्कुरायो अनि शान्त भावमा भन्यो ‘धैर्य गर अनु । म तिम्रा हरेक प्रश्नको उत्तर दिनेछु, कुनै आज, कुनै पछि । हेर अनु, हरेक व्यक्ति परिचित हुनुअगाडि अपरिचित नै हुन्छ । त्यही अपरिचित मान्छे परिचय भएपछि साथी बन्छ, कहिलेकाहीँ त जीवनसाथी नै बन्छ । संसारको नियम यही हो । अब तिम्रा प्रश्नहरूको जवाफ सुन । पहिलो, मैले मेरो नाम भनिहालेँ, घर झापा । म तिम्रै क्याम्पसको छिमेकी ल क्याम्पसमा पढ्छु । बिहान ल पढ्न आउँछु, दिउँसो माइतीघरको एउटा ल च्याम्बरमा काम पनि गर्छु । दोस्रो, भृकटीमण्डप हाम्रो चिया खाने साथीभाइ जम्मा भएर गफ लाउने अखडा हो । आज एउटा क्लास नभएर अलिक चाँडो यता आएर टहलिँदै थिएँ, तिमीलाई एक्लै बसिरहेको देखेर हिम्मत जुटाएर यहाँ आएँ । तेस्रो, कस्तुरीको सुगन्ध फैलिएझैं तिम्रो सौन्दर्यको चर्चा सबैतिर फैलिएको छ । तिम्रा बारेमा आरआरका मात्र होइनन्, ल क्याम्पसका केटाहरू पनि कुरा गर्छन् । त्यसैले तिमीले नचिने पनि म तिमीलाई चिन्छु भनेको हुँ । जहाँसम्म चौथो प्रश्न छ ‘तिमी को हौ’ भन्ने, त्यो चाहिँ पछि भनुँला ।’
अनामिका पानी पानी भई । अझै उसलाई अंकितले भनिरहेका कुरामाथि शंका थियो । उसले सोधी : ‘मेरो नाम अनामिका भनेर कसरी थाहा पायौ ?’
‘कति सजिलो प्रश्न, क्याम्पसको रेकर्डबाट नि ।’ अकिंतले ठट्यौली पारामा भन्यो ‘अरू केही ?’
अनामिकाले सोची– धन्न अंकितलाई उसको विगतका बारेमा कुनै जानकारी रहेन छ । उसले लामो सास फेरी । अंकितसँग बोल्न केही सहज लाग्यो उसलाई । अंकितको हँसिलो अनुहार, शान्त र सरलपनले उसको मनभित्र एउटा स्थान बनाउँदै थियो । अनुकूल वातावरण पाएर अंकितले प्रश्न ग¥यो ‘अनु, मेरो अन्तर्वार्ता कस्तो रह्यो ? के अब म तिम्रो साथी बन्न सक्छु ?’
‘क्रेजी व्वाई’ अनामिकाले मुस्कुराउँदै जवाफ दिएकी थिई । त्यो क्षणको स्मरणमा असामान्य परिस्थितिका बीच पनि उसको मन केही रोमाञ्चित बन्यो ?
चेतनमनले निषेधाज्ञा लागु गर्दागर्दै पनि त्यसदिनदेखि अंकित र अनामिका नजिक हुँदै गएका थिए । भृकुटीमण्डप नै उनीहरूको मिटिङ पइन्ट बन्यो । उनीहरू चियाकफीमा नियमित रूपमा सरिक हुन थाले । कारणबस् एउटा क्याम्पस नआउँदा अर्कोलाई छटपटी लाग्न थाल्यो । उनीहरूबीचको सम्बन्ध आरआर र ल क्याम्पसमा चर्चाको विषय बन्न थालेको थियो । यस विषयमा दुबैले जानकारी पाए तैपनि उनीहरूको सम्बन्ध र भेटघाट पातलिएन ।
समय बित्तै गयो ।
तेस्रो वर्षको पढाइ सकिएर परीक्षाको तयारीका लागि क्याम्पसले विदाको सूचना निकाल्न लागेको थियो । त्यसपछि औपारिक रूपमा क्याम्पस आउने दिन सकिँदै थियो । अनामिकालाई लाग्यो त्त्यसपछि अंकितसँगको भेटघाटको बाहना पनि सकिने छ अनि फेरि शुरु हुने छन् पट्यारलाग्दा दिनहरू । अंकितसँगको हार्दिकतापूर्ण सम्पर्कपछि मात्र उसले माया के हो र मायामा हुने छटपटी कस्तो हुन्छ भन्ने बुझेकी थिई । छटपटी पनि रहरलाग्दो !
अनामिकालाई एउटा भयले भने सधैं सताउने गथ्र्यो । त्यो हो, उसको अँध्यारो विगत । उसको अंकितसँगको सम्बन्ध यति अगाडि बढिसकेको थियो कि फर्किने त कल्पना पनि गर्न सक्तिनथी । बेला बेला ऊ आतङ्कित बन्थी– के अंकितले उसको विगतलाई स्वीकार गर्ला त ? यदि उसले स्वीकार गरेन भने ? उसँगको यो लामो मित्रतामा उसले मेरो विगतका बारेमा कहिल्यै कुरा गर्न चाहेन । कहिल्यै प्रसङ्ग पनि निकालेन । के ऊ कमलको फूलमा मात्र आकर्षित भएर तलाऊको हिलोपानीको बेवास्ता गरेको हो ? तर होइन । उजस्तो असल मान्छेले अरू राम्रा घरानाका केटीहरू सजिलै पाउन सक्थ्यो । उप्रति आकर्षित हुनु उसको भाग्य हो तर यो सम्बन्धलाई कसरी बचाएर राख्ने ? कि नभन्ने ? अहँ, यो त हुनै सक्तैन ।
अनामिकाले ठानी परिणाम जे होस्, यो कुरा उसले अंकितलाई भन्नै पर्छ । उसले थाहा पायो भने के होला भन्ने कुराको बोझ बोकेर जिन्दगी बाँच्न सकिन्न । कमजोर धरातलमा निर्माण गरेको संरचना कुनै पनि बेला ढल्न सक्छ । त्यसैले भनिन्छ– जति अग्लो संरचना बनाउनु छ, त्यति नै गहिरो जग खन्नुपर्छ । सम्बन्ध पनि त्यस्तै हो । कमजोर जगकै कारण उसले जुन नियति भोगिसकेकी थिई, ऊ चाहन्थी त्यस्तो नियति फेरि नदोहोरियोस् ।
यस्तै सोच्दै ऊ क्याम्पसको क्लासबाट निस्कँदै थिई, उसको मोबाइलको रिङटोनले झस्की । हेरी, अंकितकै फोन रहेछ ।
‘हेल्लो ।’
‘तिमी कता छौं अनु ?’
‘म कलेजको गेटमा छु ।’
‘भृकुटीमण्डपमा आऊ न त, म कफीको लागि पर्खिरहेको छु ।’
‘आज त्यहाँ होइन, लोकेशन चेन्ज गरौं ।’
‘कता जाने त ? तिमी नै भन ।’
‘आज ड्रिम गार्डेन जाने । हुन्छ ?’
‘हाउ स्वीट ! किन नहुने नि ! ल तिमी भृकुटीमण्डपको गेटमा आऊ, म बाइक लिएर तयारी हुन्छु ।’
केशरमहलस्थित ड्रिम गार्डेन पुग्दा बिहानको १०ः३० बजेको हुँदो हो, त्यसैले गार्डेनमा मानिसको खास्सै चहलपहल थिएन । अनामिका र अंकितले मौकाको फाइदा लिंदै २÷४ वटा सेल्फी लिए र एकान्त स्थानमा रहेको फलामको बेञ्चमा गएर बसे ।
‘अंकित, आज तिमीसँग एउटा गम्भीर कुरा गर्नु छ । हुन सक्छ, आजको मेरो कुरा सुनिसकेपछि हामी एउटा खोलाका दुई किनारजस्तै पनि बन्न सक्छौं । हाम्रो यो मित्रताको डोरी यहीं चुँडिन सक्छ । अर्थात् भृकुटीमण्डपको चौरमा अचानक आरम्भ भएको मित्रताको डोरी ड्रिम गार्डेनमा आएर सधैंका लागि टुङ्गिन पनि सक्छ ।’ अनामिकाले अंकितको कुममा टाउको अड्याएर भावुक हुँदै प्रश्न गरी ‘त्यसो भयो भने के तिमी मलाई भुल्न सक्छौं अंकित ?’
अनामिकालाई आज पनि स्पष्ठ थाहा छ, उसले वातावरणलाई जति भावुक बनाउन खोजे पनि अंकितले त्यसरी लिएको थिएन । उसले रमाइलो पाराले भनेको थियोे ‘अनु, मैले थाहा नपाएको त्यस्तो कुन रहस्यको उत्खनन् गर्न खोज्दैछ्यौ ?’
‘ओ क्रेजी ब्वाई, तिमीले धेरै कुरा थाहा पाउन बाँकी छ । म सिरियस छु, तिमी रमाइलो मान्दै छौ ।’
‘अनु, तिमीले खोल्न नसकेको रहस्यको पोकोको बारेमा मलाई पहिला नै जानकारी रहेछ भनें…!’
‘असम्भव अंकित । यदि तिमीले थाहा पाएको भए पक्कै पनि दुईवर्षदेखि मेरो पिछा गर्ने थिएनौ ।’ अनामिकाले भेद खोल्न खोजी तर सकिन । उसको मनमा पहिरो खस्तै थियो, त्यस पहिरोले दुबैलाई बगाएर कहाँ पु¥याउँछ होला भनेर चिन्तित थिई ऊ ।
‘अनु, तिमी यति सिरियस भएर श्रीधर अधिकारीसँग जोडिडएको घटना सुनाउन खोज्दैछ्यौ, हैन ?’
अंकितको मुखबाट श्रीधरको नाम सुन्नेबित्तिकै अनामिकालाई विद्युतको झड्का लागेझैं भयो । ऊ अंकितको कुमबाट टाउको उठाएर आश्चर्य मुद्रामा उसको अनुहारमा हेरी । उसको अनुहारमा कुनै तरङ्ग थिएन । ऊ शान्त र शालीन मुद्रामा नै देखिन्थ्यो । अनामिकाले अंकितको अनुहार अझ मायालु भएको पाएकी थिई ।
‘हो अनु, मलाई तिम्रा बारेमा सबै त भन्दिनँ तर धेरै कुरा थाहा छ । अहिले तिमी जुन रहस्य भन्न सकिरहेकी छैनौ, त्यो कुरा मलाई झण्डै एक–डेढ वर्षअगाडिदेखि नै जानकारीमा थियो । सबै कुरा थाहा पाएर नै म तिम्रो पछि लागेको हुँ । पछि लागेको मात्र होइन अनु, तिमीलाई जीवनसाथी बनाउने पनि प्रण गरेको हुँ ।’
रोक्तारोक्तै अनामिकाको आँखाबाट आँशुका थोपा तपतप झर्न थाले । शरीर सँभाल्न गाह्रो भएझैं भयो । ऊ लल्यालुलुक भई । अंकितले उसको आँशु पुछिदिँदै आफ्नो हातको भरले अनामिकालाई सँभाल्यो । भन्यो– ‘अनु, आँशु मेरो कमजोरी हो । म शत्रुको आँशु त देख्न सक्तिन भनें आफूले माया गरेको मान्छेको आँशु कसरी हेर्न सकौंला र ! प्लिज नरोऊ । म छु नि !’
अनामिका भावावेगमा आई र अंकितलाई अँगालेर उसको ओठमा जोडले चुम्बन गरी । निक्कैबेर उसलाई हक गरेपछि ऊ पुनः बेञ्चमा बसी । केहीबेर लामो सास लिई अनि फेरि अंकितको कुममा ढल्केर आफ्नो जिज्ञासा राखी ‘तर अंकित, कसरी मेरो बारेमा यति धेरै ….’
अनामिकाको कुरा रोक्तै अंकितले भन्यो– ‘अब केही बेर मेरा कुरा सुन अनु ।’ केही भूमिकासहित उसले कुरा आरम्भ ग-यो ‘जीवनयात्रा सरल हुँदोरहेछ । मेरो जीवनमा पनि धेरै उतारचढावहरू आए । जब जब मलाई आफू अन्यौलताको भुमरीमा होमिएको अनुभव हुन्थ्यो, म तिमीहरूलाई नेपाली पढाउँने लामिछाने सरसँग मेरा पीडाहरू सेयर गर्थें । उहाँ मभन्दा धेरै सिनियर भएर पनि उहाँसँग मेरो साथीजस्तो सम्बन्ध छ । उहाँ मलाई सल्लाह मात्र होइन, आत्मबल पनि दिनुहुन्छ । हामी बेला बेला भेटेर चियाकफी खाएर विदा हुन्छौं । यत्तिकैमा एक दिन तिम्रो बारेमा कुरा चल्यो । यो लगभग डेढ–दुई वर्ष अगाडिको कुरा होला ।’
अनि पुलुक्क अनुको मुखमा हेरेर भन्यो ‘सरको एकजना पुष्पा काम गरेकी चेली पीके कलेजमा पढ्दिरहिछन् । संयोगले तिनी तिम्रो पनि मिल्ने साथी रहिछन् । तिमीले पीके छोडेर आरआर पढ्न थालेपछि पुष्पाले तिमीले भोगेका र उनले बुझेका सबै कुराहरू सरलाई राख्तै तिमीलाई फेरि अर्को धोका नहोस् भनेर अप्रत्यक्ष रूपमा तिम्रो निगरानी गरिदिन र गलत संगतमा परे सम्झाइदिन आग्रह गरेकी रहिछन् । उनको आग्रहपछि लामिछाने सरले तिमीलाई विशेष निगरानी गर्नुहुन्थ्यो रे । तिम्रै हितका लागि सरले गरेको निगरानीलाई तिमीले अन्यथा रूपमा लिएकी पनि हुन सक्छ्यौ होला भनेर सरले नै टिप्पणी गर्नुभएको थियो ।’
अंकितले लामिछाने सरको प्रसङ्ग उठाउँदा अनामिकाले लामिछाने सरले देखाउने गरेको विशेष चासो र निगरानीलाई सम्झी । साहित्यको क्लासमा उसको जीवनसँग मेल खाने प्रसङ्ग आउँदा सरले उसलाई हेर्ने गरेको, बेलाबेला प्रश्नहरू गर्ने गरेको र अरूलाईभन्दा बढी उसलाई प्राथमिकता दिने गरेको ठानेर सरसँग ऊ केही असहज पनि मान्ने गर्थी । अंकितको कुराले उसको विश्वासको जगलाई हल्लाइदियो । जसले उसको भलो चिताउँथ्यो, उसैलाई उसले नकारात्मक रूपमा लिनपुगिछ । अनामिका आफैंभित्र केही लजाएजस्तो भई । लामिछाने सरप्रति उसको श्रद्धाभाव जागेर आयो ।
अंकित भन्दै गयो– ‘सरले नै तिम्रा बारेमा सबै कुरा, सबै घटना र अवस्थाका बारेमा भन्नुभएको थियो । त्यस दिनदेखि म तिमीलाई खास चासोको साथ हेर्न थालेको थिएँ । क्याम्पस आएको, क्लासमा बसे नबसेको, संगत गरेको र साथीभाइसँग गर्ने गरेको व्यवहार आदि मेरा निगरानीका विषय हुन्थे । तिमीले आफ्नो पुरानो परिचय बदलेर अनामिकाबाट सरू भएको पनि सरले नै भन्नुभएको थियो । परिस्थितिले धोका दिए पनि तिमी असल छ्यौ भनेर सरले भनेपछि म तिमीप्रति सकारात्मक बन्दै गएँ । मेरो पनि एक जीवनसाथीका बारेमा धारणा बनाउनुपर्ने बेला भएको थियो । त्यही मेसोमा तिम्रो निगरानी गर्दागर्दै कहिलेदेखि तिमीलाई विशेष देख्न थालें, आफैंलाई थाहा छैन ।’
ऊ भावुक बनेर अंकितका कुरा सुन्दै थिई । अंकित भन्दै गयो ‘सबैका नजरमा तिमी राम्री थियौ । निःसन्देह मलाई पनि तिमी राम्री नै लागेको हो । तर म तिमीप्रति आकर्षित हुनु तिम्रो सौन्दर्य मात्र कारण थिएन । राम्रा मान्छेको नराम्रो व्यवहार मैले भोगिसकेको थिएँ । चेतनाको प्वाँख नउम्री तिमीले पाएको ठक्कर, तिम्रो केही गरेर देखाउने आत्मबल, लक्ष्य प्राप्तिका लागि पीके छोडेर आरआर आउनु तथा तिम्रा बारेमा लामिछाने सरले गरेको सकारात्मक टिप्पणी आदि कुराहरूले पनि मलाई तिमीप्रति नवीन धारणा बनाउन मद्दत गरे । मैले तिम्रा बारेमा बुझ्ने थप प्रयास पनि गरेँ । अधिकारी परिवारसँग सम्बन्ध बिग्रनुमा तिम्रो कुनै दोष थिएन । श्रीधर नै खराब व्यक्ति थियो भन्ने निचोडमा म पुगेपछि तिमीसँग भेट्न र साथी हुन म आतुर हुँदै गर्दा पहिलोपल्ट भृकुटीमण्डपमा तिमीसँग सरप्राइज भेट गरेको थिएँ ।’
अगाडि थप्यो, ‘तिमीसँग यी कुरा गरिरहँदा अहिले पनि केही केटीहरू मेरापछि लागेका छन् । आर्थिक र भौतिक रूपमा सम्पन्न पनि होलान् तर तिनीहरूसँग मेरो जीवन गाडी कहाँसम्म तानिएला भन्न सकिन्न, जुन विषयले जीवनसाथीका रूपमा विशेष महत्व राख्दछ । यसकारण पनि मैले तिमीलाई रोजें । मलाई लाग्यो– अब तिमीबाट मलाई धोका हुने छैन । जीवनले तिमीलाई गतिलो शिक्षा दिइसकेको छ । तिम्रो विगतसँग मेरो कुनै दिनुलिनु छैन अनु तर तिमीले पनि विगतलाई चटक्कै बिर्सन सक्नुपर्छ । म मेरो परिवारलाई कन्विन्स गर्छु, तिमी मलाई बलियो साथ देऊ ।’
अनामिकाको नजरमा अंकितको स्थान विशिष्ट बन्दै गयो । सबै लोग्नेमान्छेहरू उस्तै हुँदारहेनछन् । उसलाई लाग्यो– अंकितलाई अँगालो हालेर आजसम्म उसले भोगेका कुण्ठाहरू सबै बग्ने गरी आँशु पो झारेर क्वाँक्वाँ गरेर रोइदिउँ कि, सबैका सामुन्ने हक गरेर घण्टौंसम्म चुमिदिउँ कि वा उसको खुट्टा स्पर्श गर्दै मेरो मनले खोजेको मान्छे तिमी नै हौ भनौं कि आदिआदि । सबै कुरा जानेर, बुझेर पनि एउटा लोग्ने मान्छे यति त्याग गर्न सक्छ र ? उसलाई मैनझैं पग्लिएर अंकितमै हराउन मन लाग्यो । अनि उसले मनमनै सोची– हो, किताबको बाहिरी गाता हेरेर त्यसभित्रको ज्ञान वा रहस्य थाहा पाउन सकिन्न भनेको हो रहेछ ।
अंकितको भावपूर्ण कुरा सुनेर अनामिकालाई के भनौं, के भनौं लाग्दै थियो, अंकितले आफ्ना कुरा जारी राख्यो– ‘यो त मेरो तिमीप्रतिको निजी धारणा रह्यो अनु, तिम्रा कुरा त सुन्नै बाँकी छ । मेरो विचार र धारणाले मात्र सहयात्राको रथ अगाडि बढ्न सक्तैन । यदि तिम्रो धारणा अलग भए भन । फेरि म कुनै आर्थिक र भौतिक रूपमा सम्पन्न मान्छे पनि होइन । गाउँमा मेरो बाबा अहिले पनि हलो कोदालोकोे काम गर्दै हुनुहुन्छ । म तिमीलाई भौतिक सुख–सुविधाले भरिपूर्ण गराउँछु भनेर झुटा सपना देखाउन पनि चाहन्न तर म निश्चित रूपमा यतिचाहिँ भन्न सक्छु कि मायाले भने म तिमीलाई भरिपूर्ण पारिदिन सक्छु । एउटा आत्मसम्मानसहितको सन्तोषको जीवन चाहिँ अवश्य दिन सक्नेछु । जहाँसम्म भौतिक वस्तुको कुरा छ, तिमी र म मिलेपछि भोलिका दिन अवश्य जोड्न सकौंला । ल भन अनु, के तिमी मसँग सहयात्राको लागि मनैबाट तयार छ्यौ ? वा कोहीसँग सहमति लिनुपर्छ ?’
अंकितको सरलपन र उसको प्रस्तावले त्यो दिन अनामिकाको छाति गर्वले फुलेको आभास भएको थियो । मध्यरातमा सूर्य उधाएझैं भएको थियो उसलाई । ऊ भावविभोर भएकी थिई । भनी– ‘म त देवालयमा लगेर राख्ने कुनै एउटा निर्जीव ढुङ्गा खोज्दै थिएँ तर मैले त साक्षात भगवान नै पाएँ । हाम्रो सहयात्रामा मैले बाटो बिराएँ भने हजुरले मलाई लक्ष्यबाट विचलित नहुन दिशानिर्देश गर्नुहोला, म पनि हजुरलाई लज्जित बनाउने कुनै कार्य गर्ने छैन । कसैले काम नलाग्ने ठानेर तिरस्कार गरेर फ्याँकेको वस्तुलाई जसले आफ्नो हृदयमा स्थान र सम्मान दिन्छ, त्यो मान्छे सामान्य मान्छेमात्र हुन सक्तैन । म हजुरप्रति सदैव आभारी रहनेछु ।’
‘तिमीबाट एकैचोटि हजुर….!’
‘साइनो र सम्बोधन फेरिन कति समय लाग्दोरहेछ र !’
—
यसरी अनामिकाको जीवनमा अंकित ईश्वरका स्वरूपमा आएको थियो । मेहनत र लगनशीलताले राम्रै पनि भएको थियो । उसले नसोचेको सुख, सुविधा र सम्मान पनि पाएकी थिई । आज उसको ईश्वर स्वयम् कोरोना सङ्क्रमित भएर अस्पताल लगिएको छ । यदि उसको ईश्वरलाई केही भइहाल्यो भने ? अहँँ, उसलाई केही हुँदैन । ऊ निर्मम कुरा सोच्नै सक्तिनँँ । ऊ अंकितविनाको संसार कल्पना गर्न पनि चाहन्न । त्यसैले व्यग्र मनले उसले आफ्ना आराध्यदेव पशुपतिनाथसँग प्रार्थना गरी– ‘हे भगवान, वषौंदेखि निरन्तर रूपमा तिम्रो आराधना गर्दै आएँ तर केही मागिनँ, माग्न आवश्यक नै परेन । तर आज म तिमीसँग केवल अंकितको जीवन रक्षाको भिख माग्दैछु । ऊ फर्केर आए म तिम्रो सत्ता र मेरो आराधनामा पूर्ण विश्वास गर्नेछु नत्र मलाई पनि लाग्ने छ– ईश्वरीय सत्ता एउटा भ्रम मात्र हो । तर भगवान, म तिम्रो सत्तामाथि पनि अविश्वास गर्न चाहन्न । अंकितको अभावमा यो भौतिक उपलब्धिको केही अर्थ छैन । त्यसैले पनि मेरो अंकितलाई स्वस्थ बनाएर पठाइदेऊ, बाँकी जीवनमा तिमीसँग अरू केही माग्ने छैन ।’