आमा (कविता)

मिरमिरे उज्यालो हुँदो हो,
भाले बासेको समय
थर्रथर्र काँपेको बुढो शरीर
अनि ती नङग्रे हातका औँलाहरूले
अति पुरानो घरको भित्ता छाम्दै
एक घुट्को
तातो पानी प्युन
लालाहित आत्माको
प्यास बोकेर,
पुस–माघको मुटु काम्ने
कठ्याङ्ग्रिदो जाडोमा
चिसो शरीर,
त्यही जीर्ण
अनि धरापजस्तै घरको
माथिल्लो तलाबाट
मक्किएर भाँचिन लागेको
भ¥याङ्गलाई सहयोगी पात्र बनाउँदै
भुइँ तलाको अँगेनामा
आगो झोस्न हतारिएकी
कठै मेरी आमा, आज
एक्ली केवल एक्ली देखिएकी छिन् ।

कहिले…………
त्यो सेतो कपाल
कालो रङ्गको लेदोमा
डुबुल्की मार्न
त कहिले सुगन्धित सेम्पुको
सफा चमकमा रमाउन खोज्दो हो ।
कुनै दिन…….
च्यातिएको धोतीको
ठूलो भ्वाङ्ग
नयाँ अनि सुकिलो मुकिलो
साडीभित्र लाज ढाक्दै
गुट्मुटिएर लुक्न खोज्दो हो ।



दाँत झरेर डोब मात्र देखिने
ती थोते गिजा
कति चिलाउँदा हुन्…
अनि चाडवाडको मुखमा
दुई चोक्टा मासु तिथोर्ने
झिनो आशाको पर्खाइमा
रुमलिएकी
कठै…मेरी आमाको
आशै आशमा
त्यो बुढो आत्मा बिथोलिँदो हो ।

आफू श्रृङ्गारिएर
बेहुली हुँदाको
त्यो समय स्मरण हुँदो हो,
बलियो खाँबा, भर्खर चिरेको काठे फलेक
मोटा मोटा ती दलिनहरू
अनि भर्खर हालेको खरको छानोले
सजिएको घर
अँगालो भरिको दरो
अनि अति मायालु लोग्नेसँग
जोडिएको सुमधुर सम्बन्ध,
वर्षेनी जन्मिदै गरेका
ती लाला–बाला
अनि सुन्दर घरगृहस्ती,
खै कता गयो त्यो दिन…
कता गए सन्तान र
भरोसाका किरण उनका श्रीमान्
आज पनि त्यो बुढो आत्माले
चाहँदो हो, खोज्दो हो र जोड्दो हो
हिजोको सामिप्यता ।

यी कुरा सम्झन्छु
अनि लाग्छ
कठै…ति मेरी वृद्घ आमाको
सुनौलो जिन्दगी हराएको छ ।
चिम्रिएका आँखाकाहरू
रसाइरहेका छन्
अनि परेलीहरू विगतका
कहालीलाग्दा दिनहरू
सपनाझैँ परेलीमा
हरदम नाचिहरहेका छन् ।

सम्बन्धित समाचार