एलपी पौड्याल
काठमाडौं, १३ मंसिर ।
आलिया थाकेर कोठामा पुगी । क्याम्पसमा प्राक्टिकल क्लास भएकोले उसलाई आज कोठा फर्किन केही विलम्ब भएको थियो । क्यान्टिनमा खाएको एउटा समोसा र चनाले छोडिसकेको थियो । भोक र थकान दुबै लिएर कोठामा पुग्दा मेन ढोका नै भित्रबाट बन्द थियो । उसले डोर बेल थिची ।
एकैछिनमा ढोका खुल्यो । अपेक्षाविपरीत कञ्चन एकदमै प्रशन्न मुद्रामा देखापरी । भित्र छिर्दै आलियाले भनी “ओए कञ्चन, तँ त एकमदै ह्याप्पी मुडमा छेस् नि आज ! बिहान पेट दुख्यो भनेर क्याम्पस पनि गइनस् । ठीक भइसकिस् त ?”
“पिरियडको कारणले हो आलिया, अहिले ठीकै छु ।” आफ्नो खुसीलाई जबरजस्ती दबाउँदै बोली “जहाँसम्म ह्याप्पी मुडको कुरा छ, त्यो त मनको प्रतिबिम्ब हो ।”
केही कौतुहल भएझैँ, केही शङ्कालु भएझैँ भएर उसले सोधी “कस्तो प्रतिबिम्ब ? भन न ।”
“तँ पहिला ड्रेस चेञ्ज गरेर आइज । खाना चिसो भइसक्यो । खाना खाँदै कुरा गरौँला ।”
आलिया यति धेरै जिज्ञासु भइसकेकी थिई कि उसलाई पहिला खाना खानमा भन्दा कञ्चनका कुरा सुन्नमा केन्द्रित भई र भनी “भन्, तेरो बोलाइको ढङ्गमा कुनै रहस्य लुकेजस्तो लाग्यो । तेरो बडी ल्याङ्ग्वेज पनि तेस्तै छ । पहिला तेरो कुरा सुनौँ, अनि पछि खाउँला ।”
“…………………” कञ्चन कुनै जवाफ नदिई रहस्यमय ढङ्गले मुस्कुराई मात्र ।
“भन्न कञ्चन, तेरो रहस्यमय चरित्रले मलाई गर्मी भइसक्यो ।” उसले कञ्चनलाई मायालु पाराले तानेर पलङमा लगेर थेचार्दै भनी “छिटो भन् ।”
“तँलाई कसरी भनौँ साथी, नभनी बस्न पनि मन छैन ।” अनि आलियालाई अँगालो हाल्दै भनी “तँ त साथीबाट नन्द पो होलिस् जस्तो लाग्यो मेरी प्यारी आलिया ! सम्बन्ध परिवर्तन हुन कति समय लाग्दोरहेछ र ?”
आलिया पुरै तरङ्गित भई । उसको सम्पूर्ण जीऊ कामेजस्तै भयो । उसका दाइहरू नै छैनन्, कञ्चन कसरी भाउजू बन्न सक्छे ? फेरि आज अचानक यो प्रसङ्ग कसरी आयो ? कहीँ अजय…? आलियाको जीउ कामेझैँ भयो तर उसले कञ्चनलाई प्रश्न गर्ने हिम्मत गर्न सकिनँ । वाक्य नै फुटेन ।
आलियाले एसएलसी दिनु पूर्व नै अजयसँग प्रेम विवाह गरेकी थिई । अजयलाई रोजेवापत आलियाले माइतीतिरबाट निक्कै उपेक्षा सहनु परेको थियो । अजयका परिवारले भने उसलाई सहज रूपमा स्वीकार मात्र गरेन, उसको पढाइलाई पनि निरन्तरता दिइरह्यो । धेरैको सोचविपरीत उसले फष्ट डिभिजनमा एसएलसी पास गरी । सबैले उसलाई बधाई दिए । अजयको परिवारलाई उच्च शिक्षा पढाउन एक किसिमको मनोवैज्ञानिक दवाब पनि प¥यो । त्यसै पनि उसलाई बुहारीका रूपमा भन्दा छोरीकै रूपमा हेरेकाले पढाइलाई निरन्तरता दिन गाह्रो भएन । ऊ व्यवस्थापन विषय राखेर विर्तामोडको एउटा राम्रै निजी कलेजमा पढ्न थाली । उसको पढाइमा उसको परिवार सहयोगी बनेकोमा आफूलाई भाग्यमानी नै मानेकी थिई । नत्र गफका क्रममा जति आधुनिक कुरा गरे पनि बुहारीलाई पढाउने कुरामा नेपाली समाज अझै पनि त्यति उदार देखिँदैन । पढाउने सर्तमा विवाह गरे पनि पछि अनेक बहाना बनाएर पढाइ रोकिदिन्छन् । यो कुरा आलियालाई राम्रोसँग थाहा थियो । तर ऊ भाग्यमानीमध्येमा परी ।
उसले प्लस टु पनि फष्ट डिभिजनमा नै पास गरी । पढ्ने पढाउने सबै खुसी भए । कुरा खुसीकै पनि थियो । ‘पढ्ने बेलामा केटो खोजेर हिँडी, अब त्यो बिग्री’ भनेर कुरा काट्नेले पनि बौद्धिक जवाफ पाएका थिए । उसलाई उच्च शिक्षा पढ्ने धित मरेको थिएन । अब के होला ? भन्ने थियो । यसैबीच माइतीसँगको सम्बन्धमा पनि सुधार भएकोले उसले पढ्ने कुरामा सहयोग पुग्ला भन्ने ठानेकी थिई । आशावादी भई ।
अजयले प्लस टु गरेर जागिर खान थालेकोले उसको पढाइ प्लस टुमा नै सीमित बनेको थियो । अजय पढ्नमा भन्दा अरू कुरामा नै बढी रूचि देखाउने भएकोले उसलाई पढ्नलाई प्रेरित गर्नु सहज थिएन । छोरालाई प्लस टुमा नै सीमित राखेर बुहारीलाई ग्य्राजुएर गराउने सम्भावना पनि कम थियो । सासु–ससुराले चाहे पनि अरूले समेत यसो गर्न दिँदैनथे । यो पारिवारिक र सामाजिक मनोविज्ञानलाई उसले महसुस गरेकी थिई । अतः उसले दृढ संकल्प गरी; जसरी भए पनि ऊ अजयलाई पढ्न प्रेरित गर्ने छ । अजय पढ्न राजी भयो भने उसको पढाइले निरन्तरता पाउने छ ।
भाग्यले वा समयले वा परिस्थितिले केले गर्दा हो, उसले गरेको प्रयास सफल भयो । अर्थात् पढाइमा अल्छे अजय पनि पढ्न राजी भयो । उसले सोची, झापामा अजयका साथीहरू खराब छन् । उनीहरूको सङ्गतमा रहेर अजयलाई मान्छे बनाउन सजिलो हुने छैन । अतः उसले मनमनै निश्चय गरी– अब काठमाडौँ जानुपर्छ ।
नभन्दै समयले आलियालाई काठमाडौँसम्म पु(यायो । ऊ पहिले बाबा आमाको हात समातेर एक-दुई पटक त काठमाडौँ पुगेकी हो तर बस्ने नै गरेर पुगेको भने यो पहिलोपल्ट थियो । बस्ने गरी काठमाडौँ गएपछि मात्र उसले थाहा पाई– काठमाडौँमा जागिर पाउन बरू सजिलो रहेछ, कोठा पाउन त्यो भन्दा गाह्रो । उसले डिल्लीबजारस्थित एउटा निजी कलेजमा एडमिशन गरी तर बस्ने कोठा पाउन सकिन । गाउँमा बाख्रा पाल्न बनाइएको खोरजस्ता अँध्यारा कोठाको भाडा सुन्दा पनि उसलाई रिँगटा चल्थ्यो । जसोतसो काम चलाउ कोठा पाइहाले पनि टोइलेट र पानीको व्यवस्था राम्रो हुँदैनथ्यो । पैसा तिर्छु भन्दा पनि भनेजस्तो कोठा पाउन मुस्किल । वाह काठमाडौँ ! उसले काठमाडौँलाई आफ्नै ढङ्गले बुझ्दै थिई । उसलाई एउटा लय समात्न गाह्रो भइरहेको थियो ।
सिनामङ्गलको काम चलाउ कोठाबाटै आलिया र अजय कलेज धाउन थाले । कलेज जान थालेको केही दिनमा नै सहपाठी कञ्चनसँग आलियाको मित्रता भयो । कञ्चन मैतीदेवी बस्छु भन्थी । एकदिन कुरैकुरामा आलियाले कञ्चनलाई ‘भनेजस्तो कोठा नपाएर भोगिरहेको हण्डर’ का बारेमा आफ्नो व्यथा सुनार्ई । संयोग पनि कस्तो, त्यही दिन कञ्चन बसेसँगै रहेको अर्को कोठा खाली भएको रहेछ । आलिया खुसी भई । एउटा ठूलो कोठा । किचन कोठाचाहिँ कञ्चनसँग सेयर गर्नुपर्ने । पानी पनि आउने । सेपारेट टोइलेट । के चाहियो र ? आलिया दङ्ग परी । तर त्यहाँ एउटा समस्या रहेछ ।
“तर आलिया, घरबेटीले श्रीमान् श्रीमती वा केटाकेटी भएका परिवारलाई राख्दैनन् । विद्यार्थीहरूलाई वा जागिर गर्ने बिजोडीलाई मात्र राख्छन् ।” कञ्चनले सुनाएको सर्तले आलिया तरङ्गित भई । हातमा आएको माछा उम्कन लागेझँै भयो ।
घरबेटीको सर्त पनि अचम्मको थियो । अरूतिर त श्रीमान् श्रीमती भएकालाई प्राथमिकता दिन्थे, त्यहाँ त उल्टो रहेछ । बल्ल बल्ल पाएको कोठा उसलाई निल्नु न ओकल्नु भयो । ऊ रणभुल्लमा परेको बेला कञ्चनले सोधी “तिमीहरू कोको बस्ने आलिया ?”
“दाजु र म” अप्रत्यासित उसको मुखबाट निस्क्यो ।
आफ्नै जवाफ सुनेर आफैँ तर्सिएझैँ भई ऊ । अरे, यो के बोलेको उसले ? आफ्नैे मुखबाट किन यस्तो नसोचेको वाक्य निस्क्यो ? ऊ पुनः तरङ्गित भई ।
“त्यसो भए त सजिलै भयो । कोठा मन परे मिलेर बस्ता भइहाल्छ नि । हिँड कोठा हेर्न ।” आलियाको कुरा सुनेर कञ्चनले भनी ।
“ल हुन्छ, कलेजपछि जाऔँला ।” आलियालाई त्यति बेला के थाह कि उसले कोठा नपाएको झोँकमा बोलेको एउटा सानो झूटको मूल्य यति महङ्गो रूपमा तिर्नुपर्ला भनेर !
कलेजपछि दुबैजना कोठा हेर्न गएका थिए । मैतीदेवी मन्दिरनजिक बाटोसँगै जोडिएको घरको तेस्रो तला, सबै कुरा अनुकूल नै लाग्यो । कञ्चनले भनेझैँ दुई बेडरूम र एउटा किचेन कोठा । सेपारेट टोइलेट । एउटा बेडरूममा कञ्चन एक्लै बस्तिरहिछे । अर्को बेडरूमलाई उनीहरूले प्रयोग गरेर किचनलाई कमन रूपमा प्रयोग गर्दा हुने । जम्माजम्मी तीनजना, तीनैजना विद्यार्थी । सबै ठीकै लाग्यो। भाडा भने केही महङ्गो थियो तैपनि काम चल्ने । सिनामङ्गलको दिग्दरीलाग्दो जिन्दगीबाट वाक्क भएर उसले प्वाक्क बोलिदिई “ल, डन साथी ।”
त्यसको दोस्रो दिन उनीहरू सरे । अजय र कञ्चनको पहिले भेट भएको थिएन । आलियाले दाइ भनेर चिनारी गराएकोले शङ्काको गुञ्जाइस पनि थिएन । आलियाले अजयलाई दाजु कायम राख्न र लोकलाई देखाउन पलङ्को छेउमा एउटा सानो ओछ््रयान बनाउनुुबाहेक अरू केही कष्ट गर्नु परेको थिएन । दुबैले दुबैलाई नामबाट बोलाउने भएकोले सम्बोधनमा पनि समस्या थिएन ।
तीनै जनाको बिहानको कलेज । उसको र कञ्चनको एउटै कलेज भए पनि अजयको अर्कै थियो । ऊ र कञ्चन निस्केपछि अजय निस्कन्थ्यो । जीवन शैली सामान्यजस्तै बन्दै थियो । तर त्यसैबीच आज अचानक नयाँ विध्न आइपरेको थियो । … …
“आज अप्रत्यासित त्यस्तो भयो । कसरी भनौँ …?” कञ्चन अकमकिएजस्तै भई ।
“भन् न, के भयो ?” आलियाले हिम्मत जुटाएर सोधी ।
“बिहान पेट दुखेर सुतेकी थिएँ । तँ कलेज हिँडेको केहीपछि मलाई केही हलुकाजस्तो भयो र नुहाउन भनेर बाथरूम छिरेँ । नुहाइसकेर टाबेल मात्र बाँधेर कोठा छिरेकी थिएँ, खै के खोज्न हो, अजय मेरो कोठामा पसेका रहेछन् । आँखा जुधे, मन ठोक्कियो । त्यसै पनि म अजयको आकर्षक व्यक्तित्वबाट प्रभावित थिएँ, त्यसमाथि त्यस्तो अवस्थामा अचानक उनलाई देख्दा मेरो छातीबाट टाबेल खस्ला खस्ला जस्तै भयो । मनै त हो आलिया ! चुरोटमा मन्द विष हुन्छ भनेर जानेर पनि मान्छेले त्यसको सेवन गर्न छोडेको छ र ? अझ बट्टाको असी प्रतिशत भागमा चुरोटको सेवनबाट हुने विभत्स दृश्य राखिएको छ तैपनि चुरोट खाने मान्छे घटेका छैनन् । चुरोट बिक्न पनि छोडेको छैन । विगतका अनुभवबाट सचेत नहुनु मानिसको स्वभाव नै होला । म अफिमचीजस्तै भएकी थिएँ ।
अजयले पनि मलाई फ्रेस रूपमा देखेर लोभिएर हेरेको हेरै भए । स्याम्पोसँगै मिसिएको जवानीको सुगन्धबाट दुबै प्रभावित भयौँ । तैपनि म यौवनको ज्वालामुखीको मुख बन्द गरेर केही क्षण मुर्तिवत् उभिइरहेँ । म चाहन्थेँ– आरम्भ अजयले गरून् र आफूले चाहिँ नखरा देखाउँदै ‘नाइँ अजय, नाइँ’ भन्न पाऊँ । तर त्यसो भएन । दुबैको बोली पनि फुटेन र पाइला पनि चलेनन् । सायद हामी मौनतामैँ एक–अर्कोलाई आलिङ्गनका लागि आग्रह गरिरहेका थियौँ । अतृप्त यौन–चाहनाको भार थाम्न नसकेर मैले मेरा आँखा भुइँतिर झुकाएँ तर उनी चाहिँ एकोहोरो मलाई हेरिरहेका थिए । सायद उनका आँखाहरू मेरो बैँशालु शरीरका कोमल भागहरूको उत्खनन् गर्दै थिए । उनको हेराइले मलाई कता–कता काउकुती लागेझैँ भयो । अनि त म थाहै नपाई उसको नजिक पुगेँछु । आवेशमैँ मेरा हात अजयलाई अँगाल्न पुगेछन् । मुखले ‘अजय, तिमी आफ्नो कोठामा जाऊ, म लुगा फेर्छु’ भनिहेरेँ तर यथार्थमा त मैले उसलाई झन् दह्रो पो समाउन पुगेँछु । उनले पनि मलाई जोडले अँगाल्दै लामो टङ किस गरे । उनको समिपता र न्यानो स्पर्शले क्रमशः म पग्लिँदै गएँ । त्यसपछि त के थियो, मेरो छातीको टाबेल कति बेला खुस्कियो थाहै भएन । अनि अब के भनौँ आलिया तँलाई….। सबै कुरा अचानक भयो ।”
“… … … …. ….” आलियाको मुटु बेस्सरी चस्किए पनि बाध्यताबस् उसले टाउको झुकाएर सुनिरही ।
“म बहकिएँछु । काम भइरहेको बेला– ‘अजय आइ लभ यु’ पनि भन्न भ्याएँँ तर उनले केही उत्तर दिएनन् । केही क्षणपछि उनले मलाई पूर्ण सन्तुष्टि दिएर उठेर गए । म भावुक भएँ । मनले पखेटा हालेर अनन्त यात्रामा उडिरहेको बेला अजय कतिबेला कलेजतिर लागे, पत्तै पाइनँ । यो आवेश मात्र हो कि जीवनले नयाँ गोरेटो पाएको हो भनेर धेरैबेर टोलाएर बसिरहेँ । तँ भोकै आउने बेला भयो भन्ने चेतनाले मात्र खाना बनाएकी । म त दङ्ग छु । भन त आलिया… के हामी एउटा नयाँ सम्बन्ध बनाउनलाई यहाँ यसरी जम्मा भएका थियौँ ? के हाम्रो यस बसाइको अर्थ यही थियो वा यो समयको माग थियो ?”
“… … … … …”
“…अनि म कसरी तरङ्गित नहुनु त आलिया !”
आलियाको मुटुको गति अनियन्त्रित होला झैँ भयो । ‘जाबो एउटा कोठाको लागि यत्रो मूल्य चुकाउनु पर्ने ?’ उसले मनमनै सोची ‘अब के हुन्छ ? अजय र कञ्चनको सम्बन्धले कुनै आकार लियो भने ?’ उसलाई रिँगटा लाग्ला झैँ भयो । भोक र थकाइले भन्दा भविष्यको चिन्ताले सतायो । ऊ कञ्चनको पलङबाट उठेर आफ्नो कोठातिर गई र कलेज व्याग फ्यात्त फ्याँकेर पलङमा लडी । उसको परिवर्तित व्यवहार देखेर कञ्चनले सोची होला– ‘दाइसँगको सम्बन्धका बारेमा आलियाले सकारात्मक रूपमा लिइनँ’ भनेर । तर उसको बेदना अर्कै थियो, कसरी बताओस् ? ‘जाबो एउटा कोठाका लागि…’ किरिङमिरिङ किरिङमिरिङ गर्दै उसका दिमागमा धेरै तरङ्गहरू तरङ्गित भए । अन्ततः उसले यथाशीघ्र त्यो कोठा छोड्ने निर्णय गरेपछि केही राहत महसुस गरी ।
त्यो दिन अजय अलिक अबेर गरेर मात्र कोठा फर्कियोे । अजय आउनु केही क्षणअघि मात्र आलिया उठेर नुहाउन गएकी थिई । उसले सकेसम्म आफूलाई सामान्य बनाउने प्रयत्न गरी । उसले कञ्चनसँगको सम्बन्धका बारेमा अजयसँग कुनै कुरा उठाइन । सोची– यो कुरालाई उठाउनुभन्दा विकल्पका बारेमा सोच्नु नै बुद्धिमानी हुनेछ ।
त्यसपछि आलियालाई कञ्चनलाई देख्दा सौतेनी छायाँ देखेझैँ लाग्न थालेको थियो । कञ्चनले अजयलाई आफूबाट खोसिदेली भन्ने अदृष्य भयबाट आक्रान्त आलियाले आफूलाई जति सामान्य देखाउन खोजे पनि कतैनकतै व्यवहारमा परिवर्तन आइहाल्थ्योे । कञ्चनलाई पनि यस कुराको आभास भयो तर पनि मौन रही ।
काठमाडाैंलाई चुनावी माहौलले छपक्क छोपेको थियो । करिब बीस वर्षपछि हुन लागेको स्थानीय चुनावमा आम मानिसहरू उत्साहपूर्वक वैशाख ३१ गतेको पर्खाइमा थिए । सबै आफ्नो पाटीको जित सुनिश्चित भएको दावी प्रस्तुत गर्दै थिए तर आलिया भने चुनावको अघिल्लो दिन कोठा सर्ने तयारीमा थिई । उसले मैतीदेवी मन्दिरको नजिकै दुईवटा कोठा पाएकी थिई । उसलाई एउटै समस्या थियो– कञ्चनलाई के बहाना बनाएर कोठा सर्नुपर्ने कारणको औचित्य पुष्टि गर्ने ?
करिब दुई हप्तापछिको एकदिन ।
बुद्ध जयन्तीको कारणले क्याम्पस विदा थियो । अजय क्याम्पसले आयोजना गरेको टुरमा पोखरातिर गएको थियो र आइपुगेको थिएन । उसले सोची– कञ्चनलाई कोठा सर्ने कुरा आजै भन्नु उपयुक्त हुन्छ ।
बिहानको खाना खाई धन्धा सकेपछि आलिया कञ्चनको कोठामा पसी । उसको अनुहारमा सामान्य परिवर्तन आएकै थियो । कुरा आरम्भ कसरी गर्ने होला भनेर ऊ द्विविधामा थिई । ठीक त्यही बेला उल्टै कञ्चनले उसको एउटा हात समातेर पलङतिर तान्दै भनी ‘बस् आलिया, तँसँग आज एउटा गम्भीर वार्ता गर्नु छ ।’
‘ल, परेन त फसाद ! फेरि कञ्चनले के भन्न आँटी ? त्यो पनि गम्भीर मुद्रामा ।’ आलियाको मुटुको गति बढ्यो तर वाक्य फुटेन । आँखैबाट प्रश्न गरी– “कस्तोे कुरा कञ्चन ?”
“मेरो बुझाइमा हरेक व्यक्ति आफैँमा एउटा रहस्यमय पोको हो आलिया । शक्तिशाली ज्वालामुखीलाई आफ्नो छातीमा लुकाएर पनि शान्त देखिने पहाडजस्तै मानिस पनि जीवनका अनेकन रहस्य र भोगाइहरू लुकाएर सामान्य बन्ने प्रयास गर्छ । कतिलाई आफ्नै खालको बाध्यता होला तर धेरैजना भने आफ्नो अहम् बचाउने बहानामा यस्तो नाटक गर्न बाध्य छन् ।”
कञ्चनको अमूर्त र रहस्यमय अभिव्यक्तिले उसको छाती ढक्क फुलेर आयो । ‘के कञ्चनले उनीहरूबीचको रहस्य बुझी ? तर कसरी ? नत्र यस्तो अभिव्यक्ति अचानक आज… उसको सङ्केत कतातिर हो ?’
“आज अचानक तँलाई के भयो कञ्चन ? तँ किन यस्तो रहस्यमय कुरा गर्दैछेस् ?” आलियाले आफूलाई सामान्य बनाउँदै प्रकट रूपमा भनी ।
कञ्चनले एकछिन उसको मुखमा एकटकले हेर्दै भनी “आलिया तेरो हृदय कति विशाल छ । म त तँजस्तो महान् बन्न सक्दिनँ आलिया । कलेजबाट मात्र होइन, तँबाट पनि मैले धेरै सिक्न बाँकी रहेछ !”
कञ्चनको अभिव्यक्ति झन् रहस्यमय लाग्यो । ऊ भावुक बनी ।
आलिया अब के भन्ने भनेर सोच्दै थिई, कञ्चनले नै सजिलो बनाइदिई “आलिया, आज म मेरो जीवनको एउटा रहस्यको पोको खोल्दैछु । किनकिन तँलाई सुनाउन मन लागेको छ ।” ऊ केही भावुकझैँ बनी । सायद ऊ मानसिक तयारी गर्दै थिई ।
“सुन्” केही गम्भीर मुद्रामा भनाइलाई अगाडि बढाई– “प्लस टु सकेर म इलामबाट सपनाको शहर काठमाडौँका लागि प्रस्थान गरेँ । इलामबाट कहिलेकाहीँ झापाको विर्तामोडसम्मको मात्र यात्रा गरेकी मैले पहिलोपल्ट काठमाडौँमा पाइला राख्दा केही संकोच, केही रोमाञ्चकता तथा केही भयको मिश्रित अनुभव गरेकी थिएँ । काठमाडौँमा टिकेर केही गरेर देखाउनु मेरा लागि ठूलो चुनौती थियो । चुनौतीहरूलाई मनमनै स्वीकार गरेकी थिएँ ।”
“पश्चिम नेपालबाट आएकी एउटी साथीसँग मिलेर म अनामनगरको एउटा गल्लीमा डेरा गरी बस्न थालेँ । ठाउँ नयाँ, परिवेश नयाँ, समस्या नयाँ; सबै कुरा नयाँ । एउटी बैँसालु युवतीका लागि चुनौती स्वीकार गर्नु र समस्याको सामना गर्नु फरक कुरा हुँदारहेछन् । बाहिरबाट आएका र नयाँ केटी भन्ने बित्तिकै सबै लोग्नेमान्छेका आँखाहरूले युवतीको छाती नाप्न थालिहाल्दारहेछन् । कसैसँग कुनै सहयोग माग्यो कि अपेक्षा यौनकै गर्ने । कतिका आँखाबाट र कतिका दुषित भावनाबाट बच्ने ? काठमाडौँको जाडोमा गम्म लुगा लगाएर हिँड्दा पनि मान्छे यसरी हेर्थे मानौँ म नाङ्गै सडकमा हिँडिरहेकी छु । कुनै बेला त म आफैँलाई शङ्का लागेर आफ्नो शरीर हेर्थें, तर आफूलाई लुगामा नै पाउँथेँ । यस सभ्य शहरका असभ्य मान्छेहरूका भीडमा एउटा विश्वासिलो केटो साथीे आफ्नो पनि भइदिए यति असुरक्षित महसुस गर्नुपर्दैनथ्यो कि जस्तोे लाग्थ्यो । यिनै दिनहरूमा एउटा मान्छे मेरो निटक आयो । डराउँदा डराउँदै ऊ मेरो साथी बन्न पुग्यो । मलाई एउटा सहाराको प्रत्याभूति भयो । तर ऊ मेरो साथीमा मात्र सीमित भएन, ऊ क्रमशः मेरो अन्तरङ्ग साथी नै बन्न पुग्यो ।”
“निजी क्याम्पसको रमझम, ग्ल्यामर्स ड्रेस तथा त्यहाँ पढ्ने साथीहरूको चुरूफुरू देखेर मलाई पनि निजी क्याम्पसमा पढ्न पाए हुन्थ्योजस्तो लागेथ्यो तर मेरो पारिवारिक पृष्ठभूमिले मेरा रहरहरूलाई समर्थन गर्दैनथ्यो । काठमाडौँमा बसेर सरकारी क्याम्पस पढ्न पाउनु नै मेरा लागि ठूलो कुरा थियो । अतः म पिके क्याम्पसमा भर्ना भएँ । दिउँसो जागिर खाने मनसायले बिहानको शिफ्टमा पढ्न थालेँ । काठमाडौँमा टिक्न मलाई एउटा जागिरको खाँचो थियो । बायोडाटा बोकेर गयो, सबैका आँखा छाती घोच्न आइपुग्थे । कति त स्पष्ट सङ्केत नै गर्थे । म पानी पानी हुँदै बाहिरिन्थेँ । जागिरका लागि भौँतारिनुको विकल्प थिएन मसँग ।”
“जागिर खोज्ने क्रममा नै मेरो पवनसँग भेट भएको हो । ऊ काठमाडौँको नेवार परिवारको छोरो । हँसिलो र सहयोगी । विनयशील चरित्र । छिट्टै ऊ मेरो साथी बन्यो र उसैको माध्यमबाट एउटा मेनपावर कम्पनीमा जागिर पाएँ । तलब पनि राम्रै थियो । त्यसपछि राम्रो कलेजमा पढ्ने रहर पूरा गर्न टाइम्स कलेजमा भर्ना भएँ । जागिरले गर्दा कलेज नियमित हुन चाहिँ सक्तैनथ्यो । यसैक्रममा कलेजमा तँसँग भेट भएको थियो ।”
आलिया एउटा आज्ञाकारी बालकझैँ कञ्चनका कथा–व्यथा सुन्दैथिई ।
“पवन आर्थिक रूपमा सम्पन्न भएर पनि शोखले एउटा मिडियामा काम गथ्र्यो । ऊ मेरो क्याम्पस छुटेपछि मेनपावरसम्म पु¥याएर ऊ आफ्नो अफिस जान्थ्यो । छुट्टिमा कहिलेकाहीँ हामी घुम्न पनि निस्कन्थ्यौँ । कहिले ककनी, कहिले नगरकोट, कहिले कतै । म पवनको कृतज्ञताले थिचिएर होला, थाहैनपाई उसँग समर्पित हुन पुगेँछु । दिनहरू रमाइलोमा बित्तै थिए । रमाइलो क्षणमा समय बितेको पनि पत्तै नहुने । तर म एक्कैचोटी त्यतिबेला मात्र झल्याँस्स भएँ जब मेरो मिन्स रोकियो । आलिया, अनि मेरा असजिला दिनहरू आरम्भ भए ।”
“आफू पनि कमाउने भएपछि त्यसताका म नक्सालमा एउटा तीन कोठाको फ्ल्याट लिएर बस्न थालेकी थिएँ । पहिलेकी साथीलाई अनामनगरमा नै छोडिदिएँ । मलाई पवनको साथ थियो । ऊ प्रायः मकहाँ आइरहन्थ्यो । म उसकी अघोसित श्रीमतीजस्तै थिएँ । उसले चाहेको बेला म समर्पित भइदिन्थेँ, कहिले मेरो कारणले ऊ । ऊ मेरा सबै समस्याहरूको सम्बोधन गरिदिन्थ्यो । कुनै दिन यस सम्बन्धलाई औपचारिकता प्रदान गरिएला भन्ने आशामा म पनि रमाइलै मानिरहेकी थिएँ । उसले मप्रति देखाएको सद्भाव र समर्पित व्यवहार देखेर लाग्थ्यो– ऊ मेरै लागि जन्मेको हो ।”
“एकदिन अनुकूल वातावरण पाएर हिम्मत बढ्यो र उसलाई भनेँ– ‘पवन, हेर न, मेरो मिन्स रोकियो । मलाई त डर लागिरा’छ भन्या । मान्छेहरूलाई के जवाफ दिने होला ? लुकाउन पनि सम्भव छैन । हेर, तिमी बाबु बन्ने भयौ ।’
मेरो कुरा सुनेर उसले तर्सेझैँ गरेर पुलुक्क मेरो मुखमा हे¥यो, तर चुइँक्क पनि बोलेन । उसको अनुहारको रङ उडेको आभास भो मलाई । ‘म फेरि आउँछु’ भनेर पिउँदै गरेको कफी पनि छाडेर ऊ जुरूक्क उठ्यो र बाटो लाग्यो । हिँड्नुअघि उसले कुनै औपचारिक वाक्य बोलेन । म के भनौँ, के नभनौँ भएँ । रोक्न पनि सकिनँ । मैले त सोचेकी थिएँ– बाबु बन्न लागेकोमा ऊ खुसीले पुलकित हुने छ र यथाशीघ्र बिहेको प्रस्ताव गर्ने छ । तर अहँ, ऊ त झन् नेगेटिभ पो देखियो । उसले त मलाई केवल सेक्स–टोयका रूपमा प्रयोग मात्र गरिरहेको रहेछ । उसको यो चरित्र मेरो सोच र विश्वासको विपरीत थियो । तर पनि सहनै प-यो ।”
“त्यसपछि पवनको व्यवहारमा ठूलो परिवर्तन देखिन थाल्यो । ऊ मसँग हरेक कुरामा झर्किन थाल्यो र मलाई समय पनि कम दिन थाल्यो । मन घाइते भए पनि ठूलो प्रतिक्रिया नदेखाई मैले उसका गतिविधिहरू नियालीरहेँ । करिब एक महिनापछि ऊ केही फरक शैलीमा प्रस्तुत हुँदै मलाई फकाउन थाल्यो ‘कञ्चन, म तिमीलाई माया गर्छु, जीवन साथी नै बनाउन चाहन्छु तर अहिले मौसम अनुकूल छैन । मेरा केही बाध्यताहरू पनि छन् जुन कुरा म तिमीलाई भन्न सक्तिनँ, तिमी बालहठ गछ्र्यौ । केही समय धैर्य गर । म मेरो परिवारलाई पनि कन्विन्स गर्दैछु, सबै ठीक हुन्छ’, आदिआदि ।
“तर उसको कुरा र मेरो शरीरिक विकासका बीच तालमेल हुन सक्तैनथ्यो । उसका अपरिपक्व कुरा सुनेर म केही भावुक बन्थेँ । ‘महिला र पुरुष दुबै मिलेर समभोगको आनन्दचाहिँ लिने तर त्यस आनन्दको मूल्यचाहिँ महिलाले मात्र चुकाउनु पर्ने ?’ भन्ने लाग्थ्यो ।
तर के गर्ने ? त्यति बेलाको आनन्द समस्याका रूपमा उपस्थित भइसकेको थियो । म टोलाएको बेला उसले मलाई सम्झाउँदै भन्यो ‘हेर कञ्चन, मलाई विश्वास गर । अहिले तिम्रो करियर बनाउने बेला हो । बच्चाबच्चीको झण्झटमा फँस्यौ भने सबै कुरा बरबाद हुन्छ । तिमी हाउस–वाइफमा मात्र सीमित हुने नारी होइनौ ।’ मैले उसको अनुहारमा हरेँ, ऊ मलाई अबोर्सन गर्न मानसिक दवाब दिँदै छ जस्तो लाग्यो । मसँग अरू विकल्पहरू पनि थिएनन् । जन्मिने नयाँ शिशुको बाबु बन्न ऊ तयार देखिएन । त्यस अवस्थामा समाजलाई के जवाफ दिने ? म लाचार बनेँ । अनि, उसैको कुरालाई मञ्जुरी प्रदान गर्दै उसैको बाइकको पछाडि बसेर म सुरक्षित अबोर्सनका लागि ‘मेरो स्टोभ’ को ढोका ढकढक्यान पुगेँ ।”
“एबोर्सनपछिका निक्कै दिन म विमारीजस्तै भएँ । घरपरिवारलाई के भन्ने ? साथीभाइलाई के जवाफ दिने ? आफैँलाई के भनेर सम्झाउने ? म रणभुल्ल थिएँ । आफ्नै शरीर आफ्नोजस्तो लाग्दैनथ्यो । अनि, आफू आफ्नै आँखाबाट झरेझैँ भएकी थिएँ । ऊ पनि पहिलाको जस्तो नियमित रूपमा आउन छोड्यो । एबोर्सनपछि उसलाई काँडो झिकेझैँ भएको थियो । लोग्नेमान्छे भनेका महिलाको शरीरसँग खेल्न नपाउञ्जेलसम्म मात्र अनेक बाहना बनाएर भ्रमराझैँ महिलाका वरिपरि झुम्दा रहेछन् । सुन्दरीको शरीरसँग एकदुईपल्ट खेल्न पाएपछि उनीहरूलाई दानवीरबाट दानववीर बन्न समय लाग्दोरहेनछ । कमसेकम पवनजस्तो व्यक्तिबाट मैले त्यस्तो अपेक्षा गरेकी थिइनँ ।”
“तर, ऊ पनि अरू आम लोग्नेमान्छेभन्दा फरक निस्केन । अरूहरू त बरू मेरो शरीरसँग मात्र खेल्न चाहन्थे, उसले त मलाई शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि शोषण गरेको थियो । मलाई रङ्गिन सपना देखाएर ऊ आफू भने मेरो संसारबाट टाढा टाढा भाग्दै थियो । उसले स्पष्ट रूपमा मुखले केही नभने पनि उसले आफ्नो व्यवहारबाट उसको र मेरो बाटो, गन्तव्य र सपना अलग अलग भएको सङ्केत दिइसकेको थियो । मेरो स्वाभिमानले पनि उसँग जबरजस्ती टाँसिइरहन अनुमति दिएन । जागिरको आधार छँदै थियो, मैले पनि स्वतन्त्र भएर बाँच्ने निर्णय गरेँ र एकदिन उसलाई भनिदिएँ– ‘पवन, पवन भनेको हावा हो । हावालाई बाँधेर राख्न सकिन्न । तिमी मेरोतर्फबाट स्वतन्त्र छौ, आफूले चाहेको गन्तव्यतिर बहन सक्छौ । तिमीले दिएको पीडालाई कुनै दिन तिमीले लगाएको गुणको क्षतिपूर्ति ठानेर चित्त बुझाउने छु । मानसिक आकर्षण हराएपछि शरीरिक आकर्षणले मात्र टाँसिएर सिङ्गो जीवन बिताउन सकिन्न । तिमीले ममाथि लगाएको गुणको क्षतिपूर्ति स्वरूप अझै केही गर्न बाँकी भए भन, म तिमीबाट ऋणमुक्त हुन चाहन्छु ?”
“कञ्चन, तिमीलाई के भयो ?” उसले औपचारिकता पूरा ग-यो । मलाई उसले बोलेको वाक्य पनि एकदमै चिसो लाग्यो ।
“… … …” उसको आन्तरिक भावना बुझिसकेपछि मलाई केही जवाफ दिन मन लागेन ।
“‘तिमीले निर्णय नै गरिसक्यौ भने मेरो केही भन्नु छैन । बाई ।” यति भनेर ऊ हिँड्यो । सायद ऊ मेरै मुखबाट यसो भनाउन चाहन्थ्यो र यस कार्यमा ऊ सफल भएको थियो । मैले ठीक गरेँ कि बेठीक, त्यति बेला जे भन्न मन लाग्यो, भनिदिएँ । त्यसपछि म नितान्त एक्ली भएँ । अनि, पवनको याद आउने त्यो ठाउँ छोडेर यहाँ आएँ । यस फ्ल्याटको भाडा महङ्गो भएकोले एकजना साथीसँग एडजस्ट गरेकी थिएँ तर उसको जापानको भीसा लागेर गएपछि पुनः एक्लै बनेँ । जोसुकैलाई राख्न सजिलो थिएन, अतः म पर्ख र हेरको स्थितिमा भइरहँदा कुरैकुरामा तैँले कोठा चाहिएको प्रसङ्ग उठाइस् र हामी सँगै हुन पुग्यौँ ।”
कञ्चनले टिठलाग्दो आँखा ममाथि फ्याँकी र पुनः भनी “हामी सँगै भए पनि मैले पनि मेरो विषाक्त अतीत तिमीहरूलाई सुनाउन सकिनँ । तेसैले तिमीहरूबीचको दाजु–बहिनीको भेद खुले पनि मैले अनौठो रूपमा लिइनँ, किनभने त्योभन्दा ठूलो ज्वालामुखी मैले दबाएर राखेकी थिएँ । यत्ति मात्र सोचेँ, एउटा अस्थाई कोठाको लागि यसो नगरेको भए पनि हुन्थ्यो । त्यो दिनको दुर्घटना त्यसैको बाइप्रोडक्ट थियो ।”
कञ्चनले यसो भनिरहँदा आलिया आश्चर्यचकित भएर उसको मुखमा हेरिरहेकी थिई । उसको धडकनको गति तेज भएको थियो ।
“तैले कसरी…” उसले रोक्तारोक्तै मुखबाट निस्कियो ।
“पख, पख… आज म सबै भन्छु ।” उसले अगाडि भनी “हामी सँगै बस्न थाल्यौँ । तिमीहरूले ‘दाजुबहिनी’ भनेपछि मैले शङ्का गर्ने कुरै थिएन । तर अजयको आकर्षक व्यक्तित्वले कहिलेकाहीँ मेरो दिमागलाई घुमाउन थालेको थियो । पवनसँगको ब्रेक–अपपछि मेरो मन अड्याउने ठाउँ थिएन । पवनसँगको सहबासको बानीले म एक्लै हुँदा कहिलेकाहीँ त अजयले जबरजस्ती गरे पनि हुन्थ्योजस्तो लाग्थ्यो । ‘अब कुनै लोग्नेमान्छेसँग सम्बन्ध राख्दिनँ’ भन्थेँ तर मन बहकिन्थ्यो । माइन्ड नगर आलिया, आखिर परिस्थितिले जति पीडा दिए पनि समय अनुसारको भोक–तिर्खा त लागिहाल्दोरहेछ नि ! त्यो दिनको घटना त्यसैको परिणाम् थियो । मैले तँलाई सुनाउनु नहुने थियो, खै किन हो, हतार हतार सुनाएँ । तेरो अनुहारमा नकारात्मक रेखाहरू कोरिए । तँ प्रतिक्रियाविहीन भएर खाना पनि नखाई आफ्नो कोठामा गएर सुतिस् । त्यसपछि म पनि गम्भीर भएँ । तेरो अवस्था देखेर आफैँलाई नराम्रो लागेर आयो ।”
“अजयको मामा आएको बेलाको कुरा हो । मामालाई कोठामा छोडेर तिमीहरू कतै गएका थियौ । त्यो दिन म अफिसबाट केही चाँडै आएकी थिएँ । मामा एक्लै रहेछन् । मैले चिया पकाएर ख्वाएँ, मैले पनि खाएँ । चिया खाने क्रममा मामाले भने ‘था’छ कञ्चन नानी, हाम्रा भाञ्जा अजयको पढाइमा त्यति रूचि छैन । काठमाडौँमा राखेर पढाउने कुरा त दिदीले बुहारी आलियाको कुरा काट्न नसकेर मात्र हो । उनको त पढाइ पनि राम्रो छ । झापामा अझ बिग्रेलान् भनेर दिदीले दुबैलाई काठमाडौँमा राखेकी हुन् । नत्र झापामा पनि राम्रा कलेजहरू नभएका होइनन् ।’
मामाका कुरा सुनेर म छाँगाबाट झरेझैँ भएँ । तिमीहरूलाई केन्द्रमा राखेर मामासँग अरू पनि धेरै कुरा भए तर मेरो दिमागमा त्यो दिनको कुरा मात्र घुमिरह्यो । तैँले कसरी आफ्नो हस्बैन्डसँग शारीरिक सम्पर्क भएको कुरा धैर्यपूर्वक सुन्न सकिस् भनेर म अहिले पनि चकित छु । मैले त्यो सम्बन्ध राख्दा उनी तेरो ‘दाजु’ मात्र थिए । सेक्स–पार्टनर कसैको दाजु, कसैको भाइ त भइहाल्छ नि भनेर मैले सामान्य रूपमा लिएको त्यो घटना अजय तेरो हस्बैन्ड रहेछ भन्ने सत्यबोध भएपछि मैले तँलाई एउटी महान् हृदय भएकी केटीका रूपमा लिएँ । त्यसैले अघि मैले तँलाई ‘महान्’ भनेकी हुँ । आफ्नो हस्बैन्डसँग सेक्स सम्बन्ध राखेको कुरा धैर्यतापूर्वक को सुन्न सक्छ र यार ? सायद, तेरो ठाउँमा म भएको भए उत्तेजनामा आएर के के भन्थेँ, के के गर्थेँ… अहिले अनुमान पनि गर्न सक्तिनँ । तँ साँच्चै महान् होस् ।” कञ्चनले आलियालाई धेरै बेर अँगालो हालेर हार्दिकता जाहेर गरिरही । सायद आलिया पनि भावुक बनी, उसका मौन आँखाहरू रसाएर बगे ।
“एउटा कुरा भनौँ आलिया…” उसले कुनै अर्को रहस्य उद्घाटन गर्ने शैलीमा भनी “वास्तवमा मलाई अलिअलि सपना देखाउने काम अजयको बाबाले पनि गर्नुभएको थियो । थाह छ कसरी ? उहाँ पहिलोपल्ट हाम्रो फ्ल्याटमा छिर्दा तँ र म दुबै सँगै थियौँ । उहाँले मलाई राम्ररी दियाल्नु भयो र कोसेलीको झोला तेरो हातमा दिँदै भन्नुभयो ‘यो मेरो कान्छी बुहारीका लागि… ।’ तिमीहरू त दाजु–बहिनी भइहाल्यौ । शङ्का गर्ने कुरै भएन । उहाँले सङ्केत गर्नुभएको ‘कान्छी बुहारी’ म आफैँ हुँ जस्तो लागेर केही लजाएँ, केही शर्माएँ र भित्रभित्रै केही रोमाञ्चित पनि बनेँ । मेरो बारेमा बाबाले निर्णय गरिसक्नुभएछ भन्ने पनि लाग्यो । उहाँ यहाँ बसुञ्जेल मैले आफ्नै बाबालाई नै जस्तो व्यवहार गरेँ । मैले उहाँले ममाथि दर्शाएको सद्भावलाई आफ्नै अनुकूल अथ्र्याएँ र अजयप्रति थप आकर्षित भएँ । त्यो दिनको घटना घट्नुमा ‘कान्छी बुहारी’ को मनोवैज्ञानिक प्रभाव पनि ममा प¥यो होला, सायद । त्यसैले त त्यो दिन अजयलाई म आफैँले सजिलो बनाइदिएकी थिएँ । तर, मामाका मुखबाट सत्य उद्घाटन भए पछि म छाँगाबाट खसेझैँ भएँ । मलाई हिनताबोध मात्र भएन, मेरो मन फेरि पनि टुक्रा टुक्रा भयो । पवनले लगाएको घाउको पाप्रा पुनः उप्कियो । हेर साथी, मैले यो पीडा तँसँग पनि सेयर गर्न सकिनँ, बरू कोठामा एक्लै बसेर रोएँ । त्यसपछि तँलाई देख्ता अपराधबोध भइरहन्थ्यो, सायद तँचाहिँ मलाई सौताको रूपमा हेर्थिस् होला । तैँले मलाई कुन रूपमा मूल्याङ्कन गरिस् होला भनेर म भित्रभित्रै पीडित बनिरहन्थेँ । त्यसैले पनि आज तँलाई आफ्ना कुरा राख्न जरूरी ठानेँ ।”
“त्यस घटनापछि तँ बढी मौन रहन थालिस् । अनि, लफडामा फँस्नुभन्दा कोठा खोजेर अर्कोतिर सर्नु ठीक होला भन्ने ठानेर मसँग लुकेर अर्को कोठा खोज्न थालिस् । मैले थाहा नपाएजस्तो गरेँ… । (कञ्चनले यसो भनिरहँदा उसको चतु¥याइँ देखेर छक्क पर्दै आलियाले उसको मुखमा हेरी । कञ्चन भावशून्य मुद्रामा अगाडि कुनै चित्र हेरेर भनेझैँ गरी क्रमशः विगतका घटनाक्रमहरू बताउँदै थिई । आलियाले आफ्ना आँखा झारी ।) …तर मलाई सबै कुरा थाहा थियो । म आफैँ पनि अब हामी सँगै बस्नु हुन्न भन्ने निष्कर्षमा पुगेकी थिएँ । तँ भोलिको विदालाई कोठा सर्न सदुदयोग गर्न खोज्दैछेस्, र सर पनि । सर्न म पनि सघाउँला । अब म पनि लामो समयसम्म काठमाडौँ बस्तिनँ ।”
“तँलाई सबै कुरा थाहा थियो र पनि चुप थिइस्…” बोल्न नचाहँदा नचाहँदै पनि आलियाको मुखबाट निस्कियो “तँ काठमाडौँ नबसेर कहाँ जान्छेस् त ?”
“विदेश !”
कञ्चनको जवाफ सुनेर आलियाले आश्चर्य मान्दैै उसको मुखमा हेरी ।
“हो आलिया, म निराशाको कुरा गरेर, पवनले मेरो विश्वासलाई घात ग¥यो भनेर, आफूले आफैँलाई धिक्कार्दै यहाँ बस्न चाहन्न । पवनले मसँग कुनै जबरजस्ती गरेको थिएन । मलाई पनि यौवनको भोक लागेको थियो, सायद त्यसैले म विवेकशून्य भएँ हुँला । लोग्नेमान्छेको मनोविज्ञानबाट म पूर्ण रूपमा अनभिज्ञ थिइनँ । मन दुखाइ यत्ति मात्र हो, उसले मलाई सपना देखाउने काम नगरेको भए हुन्थ्यो । उसैले सपनाको महल बनायो र आफैले भत्कायो । भत्काओस्, म पनि सम्भावनाको खोजी गर्ने छु । हिजो इलामबाट झर्दाकी गाउँले सोझी केटी कञ्चन र अहिले घात प्रतिघात सहेर परिपक्व हुँदै गरेकी कञ्चनमा धेरै फरक आइसकेको छ । परिवर्तन आउनु पनि पर्छ । तँलाई मैले कोरियन भाषा परीक्षामा असफल भएपछि एउटा सपना भताभुङ्ग भएकोे कुरा त सुनाएकी थिएँ । त्यसपछि जापान भए पनि जान्छु भनेर जापान ट्राई गरेकी थिएँ, त्यो भन्न बाँकी थियो । र, भाग्यबस् त्यो प्रयास सफल भयो । म चाँडै जापान उड्दै छु । त्यहाँ जति दुःख आइपरे पनि सामना गर्दै सफल भएर देखाउँछु । पवनलाई नै देखाउन भए पनि मैले सफल हुनुपर्छ ।” (यसो भन्दै गर्दा आलियाले कञ्चनको अनुहार आत्मविश्वासले उज्यालिएको देखी । सम्भावना पनि देखी, होला झैँ लाग्यो उसलाई । र, उसले कञ्चनलाई त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा विदाइ गर्न गएको कल्पना पनि गरी ।)
केही क्षण रोकिएर कञ्चनले भनी “हेर आलिया, मबाट जे भयो, त्यो भूलबस् भयो । तेरो दाइका रूपमा अजयसँग खेल्दा जति रमाइलो महसुस भएको थियो, ऊ तेरो हस्बैण्ड हो भन्ने थाहापाएपछि त्यति नै पीडा बोध भयो । अहिले पनि म लज्जित छु आलिया । मलाई माफ गर । जीवनका कुनै मोडमा मैले तँलाई पनि केही सहयोग गरेर तेरो मन पुनः जित्न पाए हुन्थ्यो भन्ने लागेको छ । (कञ्चनले केही क्षण आलियालाई अँगाली ।) तँ कोठा सर्ने तयारी गर । म पनि सहयोग गर्छु । केही दिन म यहीँ बसेर जापान उड्छु । मैले मेरो अफिसमा जागिर छोड्ने सङ्केत दिइसकेँ । अरू कुरा त त्यस्तै हो तर मेरो ग्य्राजुएट गर्ने सपना भने अधुरै रहने भयो ।”
आलियाले लामो सास फेरी । सोची– ‘कुनै मान्छेलाई बाहिरी रूपमा गरिने मूल्याङ्कन र उसको वास्तविक भोगाइका बीच कति ठूलो अन्तर हुँदोरहेछ ! हरेक मान्छे छातीभित्र ज्वालामुखी दबाएर पनि शान्त रहेको अभिनय गर्न विवश छ । तैपनि मान्छेहरू कसैलाई कति सहजै आफ्नो अनुकूल परिभाषित गरिदिन्छन्– अन्धाहरूले हात्तीका विभिन्न अङ्ग छोएर लगाएकोे अर्थजस्तै ।’
आलियाले कञ्चनप्रति बनाएको धारणामा क्रमशः परिवर्तन आउँदै थियो । ऊ विस्मित अवस्थमा कञ्चनका कुरा सुन्दै थिई । ठीक त्यही बेला कञ्चनको मोबाइलको रिङटोन बज्यो । कञ्चनले नम्बर हेरी, अज्ञात थियो । दुबैले एकअर्कोको मुखामुख गरे । आलियाले कञ्चनलाई फोन उठाउन इसारा गरी ।
“हेल्लो”
“हेल्लो, को…? कञ्चन नानी हो ?” एउटा अधबैँसे पुरुष स्वर थियो ।
“हो, हजुर को बोल्नुभयो ?”
“ए, म पवनको बाबा बोलेको नानी, गङ्गालाल अस्पतालबाट ।” कञ्चनको अनुहारको रङ्ग उड्यो । आश्चर्यले आँखा ठूला भए । ‘पवनको बाबाले गङ्गालाल अस्पतालबाट ? आश्चय !’
“दर्शन बाबा, कसलाई के भयो र ?” उसले शिष्टाचार पूरा गरी ।
बूढाले लामो सास फेरे । अनि, आद्र स्वरमा भने– “नानी, पवन सानैदेखि हार्टको पेसेन्ट हो । हामीले दिल्ली लगेर पनि उपचार गरायौँ तर निको भएन । डाक्टरहरूले कुनै पनि बेला केही हुनसक्छ भनेका थिए । त्यसैले उसलाई हामीले स्वतन्त्र रूपमा छोडेका थियौँ । ऊ शोखले मात्र जागिर खान्थ्यो । त्यसैबीच तिमीसँग नजिक हुन पुगेछ । हामीले थाहा पाएपछि ‘गल्ती गरिस्’ पनि भन्यौँ । उसको जीवनको कुनै भर थिएन, त्यसैले ऊ तिमीबाट टाढा भयो । ऊ तिमीलाई उसको पीडाबाट टाढा राख्न चाहन्थ्यो । तिमीबाट टाढा भएजस्तो भए पनि ऊ तिम्रा बारेमा कुरा गरिरहन्थ्यो । तिमीलाई थाहा नहुन सक्न नानी, तिमीलाई जापानको भीसा लगाउनमा पनि उसैको हात छ । ऊ तिम्रो करियर राम्रो होस् भन्ने चाहन्थ्यो तर अप्रत्यक्ष रूपमा । तिमीले पीर गर्छ्र्यौ भनेर उसले आफ्नो रोगका बारेमा केही पनि बताउन सकेन अरे ।” बोल्दाबोल्दै बूढाको बोली अबरूद्ध भयो ।
मोबाइललाई ह्याण्ड्स फ्री गरेर कञ्चन र आलिया दुबै बूढाको कुरा सुन्दै थिए । दुबै गम्भीर भए । अचानक वातावरण स्तब्ध बन्यो ।
“केहीदिन अगाडि पुनः उसको स्वास्थ्यमा गडबडी देखियो, हामीले गङ्गालाल अस्पताल ल्यायौँ । उपचारको क्रम जारी छ तर डाक्टरहरू स्वयम् पनि निराश छन् । हामी ईश्वरको प्रार्थना गरेर कति दिनदेखि अस्पतालमा नै बसिरहेका छौँ । होश आएका बेला केही क्षण सुस्तरी कुरा गर्छ । आज अचानक तिम्रो नाम लिएर तिमीलाई खोजेपछि हामीहरू भावविह्वल बन्यौँ । हामी स–परिवार उसका वरिपरि हुँदा पनि उसले तिमीलाई खोज्यो, यसले तिमीप्रतिको उसको मानसिक सम्बन्धलाई झल्काउथ्यो । अनि, हामीले उसको अन्तिम इच्छा पूरागरिदिने सोच बनायौँ र म तिमीलाई फोन गर्दैछु । सम्भवतः अब उसको जीवन लम्बिनेवाला छैन । अनुकूल हुन्छ भने उसलाई अन्तिमपल्ट भेट्न …. ।” बूढाले वाक्य पूरा गर्न सकेनन् । फोन काटियो ।
कञ्चन र आलिया दुबै भावशून्य भएर रसाए । कञ्चनलाई अचानक रिँगटा लागे जस्तै भयो । उसले पवनका बारेमा जे निष्कर्ष निकालेकी थिई, त्यो कति गलत रहेछ भन्ने कुराको तथ्यबोध भएपछि आफ्नो सोचाइप्रति उसलाई लघुताभाष महसुस भयो । ऊ आफैँभित्र लजाई । कञ्चनमा एकाएक पवनप्रति अपार श्रद्धाभाव जागेर आयो । उसले पवनको त्यागप्रति गर्व महसुस गरी तर उसको नाजुक अवस्थाले भने मुटुमा सुई रोपेझैँ भयो । उसले धेरै केही सोच्न सकिन । ऊ हतास मनस्थितिमा नै बसेको ठाउँबाट जुरूक्क उठी ।
“के निर्णय गरिस् कञ्चन ?” आलियाले सोधी ।
“म यथाशीघ्र गंगालाल अस्पताल जान्छु आलिया । अहिले पवनलाई मेरो सामिप्यताको खाँचो छ ।”
“म पनि तँसँगै जान्छु नि त ।”
“होइन आलिया, कतिपय गन्तव्यमा व्यक्ति स्वयम्ले एक्लो यात्रा गर्नुपर्छ । आज मलाई एक्लै जान दे, यो मेरो निजी यात्रा हो ।”
ड्ड
२०७४ भाद्र २ गते ।