एलपी पौड्याल
काठमाडौं, २७ मंसिर ।
तीर्थाटनको सिलसिलामा म चितवनस्थित सुप्रसिद्ध तीर्थस्थल देवधाट पुगेको थिएँ । त्यहाँ एउटा महायज्ञको आयोजना गरिएको थियो । आत्मशान्तिका लागि म पनि त्यस महायज्ञमा सहभागी हुन त्यहाँ पुगेको थिएँ । त्यहाँको बसाइका क्रममा एकदिन बिहानै मैले पूर्व परिचतझैँ लाग्ने एक भिक्षुणीलाई त्रिवेणी नदीमा नुहाएर फर्कँदै गरेको अवस्थामा देखेँ । कहीँ देखेजस्तो लाग्ने, कहीँ चिनेजस्तो लाग्ने त्यो चित्ताकर्षक व्यक्तित्वलाई केही क्षण नियालेपछि मलाई त्यो अनुहार भावनाजीको हो भनेर ठम्याउन गाह्रो भएन । हो, उनी भावनाजी अथवा भावनादिज्यू नै थिइन् । सबै भौतिक साधनले सुसम्पन्न भएर पनि सधैँ अभाव र दयाको भरमा बाँच्न विवश एउटी कठपुतली पात्र !
भावनाजी भिक्षुणी… !?
मलाई मेरो स्मृतिले केही क्षण विगततिर फर्काइदियो ।
प्रसङ्गवस् हामी त्यस घरमा पुगेका थियौँ । समिता पनि मेरो साथमा थिइन् । समिताका अनुसार काठमाडौँको रमणीय त्यस स्थानमा भावनादिज्यूको घर थियो । समिताले भावनादिज्यूको सौन्दर्य र उनको भोगाइका बारेमा धेरै कुरा भनेकी थिइन् । सुन्दा भावनादिज्यूको जीवन–कहानी कुनै साहित्यकारको काव्यभन्दा कम लागेको थिएन मलाई । म सामाजिक विषयवस्तुमा आधारित एउटा कथा लेख्न राम्रो प्लटको खाजीमा थिएँ । समिताको मुखबाट भावनादिज्यूको बारेमा सुनेपछि त्यो विषय–सन्दर्भ एउटा सामाजिक कथाको लागि राम्रो पृष्ठभूमि बन्न सक्छ भन्ने ठानेको थिएँ र त्यही सिलसिलामा हामी त्यहाँ पुगेका थियौँ ।
कम्पाउण्ड गेटबाट भित्र प्रवेश गर्ने वित्तिकै समिताले मूल ढोकाको नजिक रहेको कलिङ्ग–बेलको स्वीच दबाइन् । विद्युत घण्टीको सुमधुर आवाजले त्यहाँको शून्यतालाई भङ्ग ग¥यो । एकैछिनमा मूल ढोका विस्तारै उघ्रियो । ढोका खुल्नासाथ कालो बादल चिरेर चन्दमाले चिहाएझैँ ३०–३२ वर्षकी एक भद्र महिला देखापरिन् । मलाई उनी समिताले बयान गरेकी भावनादिज्यू नै हुन् भनेर चिन्न गाह्रो भएन । भावनादिज्यूलाई देख्ने बित्तिकै समिताले अभिवादन गरिन् । मैले पनि शिष्टाचारबस् दुबै हात जोडेँ ।
“अरे समिता आज कताबाट बाटो बिरायौ ?” समितालाई ढोका बाहिर देख्नासाथ भावनादिज्यूले आश्चर्य व्यक्त गरिन् र समिताको उत्तरको प्रतीक्षा नगरी मतिर सङ्केत गर्दै भनिन् “उहाँलाई त चिन्न सकिनँ नि ?” मैले आफ्नो परिचय दिनुपूर्व नै समिताले मलाई उछिनेर भनिन् “उहाँ मेरो मामा हुनुहुन्छ । उहाँ नेपाली साहित्यका एक उदयीमान प्रतिभा पनि हुनुहुन्छ तर आफूलाई त्यसरी चिनाउन चाहनुहुन्न । वहाँ अलिक बढी अन्तर्मुखी स्वभावको पनि हुनुहुन्छ ।”
“विद्वान र स्वाभिमानी व्यक्तिहरू प्रायः अन्तर्मुखी नै हुन्छन् समिता, खहरेपन त अल्पज्ञानको परिचय हो ।” भावनादिज्यूले मतिर हेरेर थपिन् “आज अचानक यहाँ जस्तो व्यक्तित्वसँग साक्षात्कार हुने अवसर प्राप्त भयो; यो मेरो सौभाग्य नै हो । भित्रै गएर बसौँ न ।” भावनादिज्यू झट्ट हेर्दा जति सुन्दर देखिन्थिन् उनको बोल्ने तरीका पनि त्यतिकै आकर्षक र बौद्धिक रहेछ । समिता र म भावनादिज्यूको पछिपछि घरभित्र प्रवेश ग-यौँ ।
हामी अत्यन्त सुसज्जित कोठामा लगियौँ । कोठा धेरै ठूलो त होइन तर त्यस कोठालाई सजाउन कुनै कसर बाँकी राखेको देखिँदैनथ्यो । अत्यन्त व्यवस्थित ढङ्गले तथा अत्याधुनिक सामग्रीहरूले सजाइएको त्यस कोठाको आकर्षणको केन्द्रविन्दु भनेको त्यहाँ राखिएको एउटा ठूलो अक्वेरियम र त्यसभित्र नाचिरहेका रङ्गीविरङ्गी माछाहरू थिए । म त त्यस कोठाको सजावट देखेर टोलाएँछु । भावनादिज्यू र समिता म टोलाएको हेरिरहेका रहेछन् । त्यो थाहा पाएर म केही हत्प्रद भएँ ।
“कोठा साह्रै सुन्दर रहेछ” मैले आफूलाई सामान्य बनाउदै भनेँ ।
“सुन्दर कोठा होइन साहित्यकारज्यू, तपाईको हेर्ने दृष्टिकोण सुन्दर हो । संसारका हरेक चिज सुन्दर लाग्छन् यदि मनमा आनन्द र हेराइ सकारात्मक छ भने ।” भावनादिज्यूले सटीक जवाफ दिइन् । उनको बौद्धिक जवाफमा केही गम्भीर पीडाले अभिव्यक्ति पाएको आभास भयो मलाई ।
भावनादिज्यू र म शोफामा आम्नेसाम्ने भएर बसेका थियौँ । समिता भावनादिज्यूको नजिकै बसेकी थिइन् । हल्का सेतो पृष्ठभूमिमा हरियो–नीलो रङ्गका फूलहरू देखिने साडी, त्यसैमा मिल्ने रङ्गको ब्लाउज, लामो कालो कपाल, ठूलाठूला आँखाहरू, सुन्तलाको केस्राजस्ता ओठहरू, मिलेका दन्तलहर, उज्यालो र हँसिलो अनुहार देवकोटाले आफ्नो महाकाव्यमा वर्णन गरेकी सकुन्तलाभन्दा पनि सुन्दर देखिने भावनादिज्यूको व्यक्तित्वले म धेरै नै प्रभावित भएँ । ३०–३२ वर्षको उमेरमा त भावनादिज्यूको व्यक्तित्व कुनै पनि लोग्नेमान्छेको चित्त विचलित गराउन प¥याप्त देखिन्छ भने १६–१८ को उमेरमा उनी कस्ती थिइन् होला ! कल्पना मात्रले पनि म रोमाञ्चित बनेँ ।
“साहित्यकारज्यू फेरि कता हराउने भयो ?” भावनादिज्यूको कोकिल कण्ठले मेरो तन्द्रा भङ्ग भयो । “म त तिम्रो सौन्दर्य–सागरमा डुबेर बेपत्ता भएँछु सुन्दरी !” भन्न चाहेको थिएँ तर चेतनाले मनले सोचेको कुरा भन्ने अनुमति दिएन । एउटा मिठो र रहस्यमय मुस्कानले सबै कुरा छोपिदिएँ । त्यसपछि विविध गफहरू आरम्भ भए ।
समितासँग भावनादिज्यूको परिचय पुरानो थियो । समिताको कारणले मेरो र भावनादिज्यूबीचको भावनात्मक दुरी छोटियो । बसाइको छोटै अवधिमा हामीबीच हार्दिकतापूर्ण धेरै कुराहरूको आदान–प्रदान भयो । भावनादिज्यूको पारिवारिक पृष्ठभूमि, बाल्यकाल, जवानी, विवाह र दाम्पत्य जीवनको आरम्भ, विवाहपछिका भोगाइहरू आदि हाम्रा गफका विषय बने । केही बेरको गफगाफपछि चियाको लागि भावनादिज्यू र समिता किचनतर्फ लागे ।
भावनादिज्यूले बताएअनुसार उनको जीवनकहानीको सारसङ्क्षेप यस्तो थियो–
साथीसङ्गीले सानैदेखि उनको रूपको खुलेर प्रशंसा गर्ने गर्थे तर भावनादिज्यूलाई आफू साथीसङ्गीले भनेझैँ सुन्दरी भएको जस्तो लाग्दैनथ्यो । सबैसँग राम्ररी बोल्ने, राम्रो व्यवहार गर्ने तथा हाँसेर कुराकानी गर्ने उनको स्वभाव थियो । उनको शालीन व्यवहारको गलत फाइदा उठाउने कोसिस पनि बेलामौकामा हुनेगथ्र्यो, तर उनी त्यस्ता कुरालाई कहिल्यै प्राथमिकता दिन्नथिइन् । उनको पढाइको स्तर ठीकै थियो तर उनको सरल व्यवहार र सुन्दरतालाई देखेर स्कुलका सरहरूले पनि खुब माया गर्थे । उनको घर–स्कुलको क्षेत्रमा उनको उमेरसँगै उनका प्रशंसकहरूको सङ्ख्या पनि बढ्दै थियो । उनको रूपका प्रशंसकहरू घरबाट स्कुलतिर जाँदा र स्कुलबाट घर फर्किँदा बाटो ढुकेर जिस्क्याउने पनि गर्थे, तर यस्ता साना मसिना कुरालाई उनले कहिल्यै गम्भीर रूपमा लिइनन् । उनलाई लाग्थ्यो– ‘अशिक्षित गाउँ–घरमा यस्तै हुन्छ होला ।’ उनलाई आफ्नो लक्ष्यमा पुग्नु थियो, यसैमा उनी केन्द्रित हुन्थिन् । तर यसैबीच उनको जीवनमा एउटा यस्तो मोड आयो जसले उनको जीवन–यात्रा नै नयाँ दिशातिर मोडिदियो ।
त्यसदिन घरको दैनिकी सकेर स्कुल जान उनलाई केही बिलम्ब भएको थियो । आफ्ना साथीसङ्गीले उनलाई छोडेर गइसकेका थिए । स्कुलको समय ढिलो भइसकेकोले उनीे एक्लै हतारहतार स्कुलतिर जाँदै थिइन् । यत्तिकैमा एउटा जीप गाडी उनकै नजिक आएर घ्याच्च रोकियो । जीप चालकले आफूतिरको कालो शिशा खोल्दा मात्र उनले चिनिन्, चालक उनकै छिमेकी गाउँका प्रेम दाइ रहेछन् । प्रेम दाइ कहिलेकाहीँ उनका घरमा पनि आउने जाने गर्थे । गाउँले दाइका रूपमा प्रेम दाइसँग उनको सामान्य परिचय पनि थियो । तिनै प्रेम दाइले उनलाई स्कुलसम्म पु¥याइदिने भन्दै आफ्नो गाडीमा चड्न आग्रह गरे । हतार भएकोले उनी पनि दायाँ–बायाँ केही नसोची मोटरमा चढिन् । कालो शिशायुक्त उक्त गाडी अगाडि बढ्यो तर स्कुलतिर नगई अन्तै मोडियो ।
त्यसै क्षणदेखि उनको जीवनमा नयाँ मोड आरम्भ भयो । प्रेम दाइले उनलाई आफ्ना घरमा लगे र सदाका लागि आफ्नो कोठामा बन्द गरे । उनले अनेक अनुनय विनय गरिन् तर पनि उनको केही चलेन । गरिब र असहायको पुकार कसले पो सुन्छ र ? प्रेम दाइका घरका अन्य सदस्यहरूले पनि प्रेम दाइले गरेको काममा असहमति जनाउन सकेनन् । भावनादिज्यूका आमा–बाबाले पनि उनको अवस्था थाहापाएपछि छोरीलाई छोडिदिन धेरै आग्रह–विनय गरे रे तर पनि भावनादिज्यूको भनाइ अनुसार गरिबको पुकार सुनिदिने त्यहाँ कोही भएनन् । उल्टै एउटी विपन्न केटीले त्यस्तो सम्पन्न केटा पाउनु ठूलो भाग्य हो भनेछन् । यसरी सम्पन्नताका अगाडि विपन्नता नतमस्तक भयो, लाचार बन्यो । अन्ततः नचाहेरै पनि प्रेम दाइ उनका पतिका रूपमा रूपान्तरित भए ।
यसरी आकस्मिक रूपमा भावनादिज्यूको जीवन सुनको पिँजडामा बन्द हुनपुग्यो र साथीसङ्गीले प्रशंसा गर्ने त्यही रूप उनका लागि अभिषाप सिद्ध हुन पुग्यो । भावनादिज्यूकै मतमा दन्त्य कथाकी राजकुमारीलाई साहसी राजकुमारले उडाएर लगेसरी उनी पनि उडाइइन् । यसरी अत्यन्त नवीन ढङ्गले उनको दाम्पत्य जीवनको शुरूआत भयो । आरम्भका केही वर्षहरू राम्रै रहे पनि समय बित्तै जाँदा उनको जीवनमा अनपेक्षित उतार–चढावहरू आए ।
प्रेम दाइ अर्थात भावनादिज्यूका श्रीमान् अत्यन्तै शङ्कालु स्वभावका व्यक्ति परेछन् । आफ्नी श्रीमती अत्यन्त सुन्दरी भएकी र सुन्दरताका हिसाबले आफू उनको योग्य नभएको ठानी प्रेम दाइ भावनादिज्यूसँग बोल्ने हरेक पुरूष पात्रमाथि शङ्काका दृष्टिले हेर्दारहेछन् । आफ्नी श्रीमती कुनै पनि बेला पोइल जाली भन्ने आशङ्काले उनी आफैँ पनि भित्रभित्रै जल्दारहेछन् । यस कुराका बारेमा प्रेम दाइ न कसैसँग खुलेर कुरा गर्न सक्तारहेछन् न आफ्नी श्रीमतीलाई विश्वास गर्न नै । आफैँले जन्माएको मनोवैज्ञानिक ज्वालामा हरहमेशा जलिरहने हुँदा आफ्नै परिवारको कुनै पनि पुरुष पात्रमाथि पनि उनको सकारात्मक धारणा बनेन छ । भावनादिज्यूका अनुसार उनलाई कुनै पनि पुरूष पात्रसँग खुलेर हाँस्न र बोल्न अघोषित रूपमा प्रतिबन्ध नै लाग्यो ।
त्यति मात्रले पनि प्रेम दाइको चित्त बुझेन । विस्तारै उनले भावनादिज्यूलाई अरूहरूले स्पर्श गर्नसक्ने सम्भावना भएका सार्वजनिक बस चड्न, मेला बजार जान तथा त्यस्तै प्रकृतिका उत्सव समारोहमा सरिक हुनसमेत रोक लगाइयो । उनलाई चाहिने हर चिज घरमा नै आउँथे । उनलाई कुनै पनि चिजको अभावको महसुस हुन दिइएन । एक प्रकारले प्रेम दाइले उनलाई सुनको पिँजडामा कैद गरेर राखे । ‘शुरूका दिनमा त यस्तो व्यवहारलाई लोग्नेमान्छेको शङ्कालु दृष्टिकोणका रूपमा लिएँ र विस्तारै सामान्य हुँदै जाला भन्ने ठानेकी थिएँ तर दुई सन्तानकी आमा भइसक्ता पनि उहाँको शङ्कालु दृष्टिकोणमा कुनै परिवर्तन नआएको देख्ताचाहिँ मैले उहाँलाई संसारकै नमूना लोग्नेमान्छेको रूपमा हेर्न बाध्य भएँ ।’ भावनादिज्यूले आफ्ना श्रीमान्प्रति शिष्ट व्यङ्ग्य गरेकी थिइन् ।
भावनादिज्यू राम्री त थिइन् नै, उनका बोलाइमा पनि जादु थियो । जब उनी बोल्न थाल्थिन् म एक टकले उनको मुखमण्डलमा हेरिरहन्थेँ । दश कक्षामा पढ्दापढ्दै रावणले हरण गरेर लगिएकी भए पनि उनको भाषाशैली धेरै बौद्धिक थियो । उनको प्रस्तुति शिष्ट, भद्र र शालीन् थियो । मनभरि ज्वालामुखी दबाएर पनि उनी शान्त मुद्रामा देखिन्थन् । उनकोे शालीन् व्यक्तित्वबाट म थप प्रभावित हुँदै गएँ । उनीभित्रका रहस्यहरू उत्खनन् गर्ने मेरो जिज्ञासाहरू अझ प्रबल बन्दै गए ।
केही बेरका लागि त्यस सुन्दर कोठामा म एक्लै भएँ । मेरो मन एकैछिन फेरि अक्वेरियमले खिच्यो । म अक्वेरियम भएको नजिकै गएर त्यसभित्रको रमणीय दृश्यको सुरूचिपूर्ण अवलोकन गर्न थालेँ । विदेशबाट धेरै खर्च गरी झिकाइएका विभिन्न जात र आकारका रङ्गीन माछाहरू तथा उनीहरूको चित्ताकर्षक विचरण, जति हेरे पनि मन नअघाउने खालको थियो । टेबलको अर्को छेउमा ती माछाहरूलाई ख्वाउन विदेशबाट झिकाइएका आहारा राखिएको थियो । मैले सोचेँ– यी यस्ता भाग्यमानी माछाहरू हुन् जो नेपालमा बसेर पनि युरोप–अमेरिकाको आहारा खान पाउँछन् । मलाई यी महङ्गो आहारा खान पाउने माछाहरूको भाग्य देखेर किञ्चित ईष्र्या पनि लागेर आयो । फेरि सम्झेँ– मान्छेले आफ्नो शोख पूरा गर्न र आफूलाई अरूहरूभन्दा विशिष्ट देखाउने होडबाजीमा यी सब कार्यहरू भएका हुन् । यी माछाहरूको जीवन यस्तै मान्छेहरूको स्वार्थबाट भिजेको छ । यस्तै विलासी मान्छेहरूको इच्छाअनुसार यी माछाहरूले नाच्नु पर्छ र बाँच्नु पनि पर्छ । झट्ट हेर्दा बढो सुखी देखिने यस्ता माछाहरूको आफ्नो मौलिकता भन्ने केही हुँदैन । प्रकृतिको अथाह जलराशिमा स्वतन्त्र रूपमा विचरण गर्न रुचाउने यी माछाहरू सानो परिवेशभित्र खटाएर दिएको विदेशी आहारा खाएर कति रमाइरहेका होलान् त ? त्यसो भए जीवन भोगाइका हिसाबले भावनादिज्यू र यी कैदी माछाहरूका बीच कति अन्तर होला….?
भावनादिज्यू र समिता चियाको स्ट्रे लिएर कोठाभित्र प्रवेश गर्नासाथ मेरो तन्द्रा भङ्ग भयो । चियाको साथ नास्ताको प्रबन्ध पनि रहेछ । चियानास्ताका क्रममा मैले सोधेँ “भावनादिज्यू, यति ठूलो घरमा एक्लै बस्नुपर्दा बोर हुँदैन ? प्रेमजी त व्यवसायको सिलसिलामा प्रायः बाहिर गहिरहनुपर्दोरहेछ । छोराछोरी होस्टलमा…”
“तपाईँले भावनादिज्यू भनेको मन परेन साहित्यकारज्यू । म भावनाजी मात्र भनेको सुन्न चाहन्छु ।” उनले आफ्नो सरलता प्रकट गरिन् ।
“……… ……… ” म निरूत्तरितझैँ भएँ ।
“लाखौँ ताराहरूबीच पनि चन्द्रमा एक्लै भए जस्तै मान्छेमान्छेका सागरबीच पनि कहिलेकाहिँ मान्छे एक्लो र असहाय महसुस गर्दोरहेछ । शुरूका दिनहरूमा मलाई धेरै कठिनाइ भएको हो तर पछि क्रमशः बानी लाग्दै गयो । मेरो दाम्पत्य जीवन नै अनौठो तरीकाले आरम्भ भयो र अनौठै ढङ्गले नै विकसित हुँदै गयो । अब त मलाई लाग्छ, यसको अन्त्य पनि अनौठो तरीकाले नै हुन्छ होला ।” उनी भन्दै गइन् “बोर्डस् गरेर राखेका छोराछोरी स्कुल छुट्टी भएर आएको दुईचार दिनबाहेक अन्य दिनहरू यसरी नै बित्छन् र बिताउन बाध्य पनि हुनुपर्दोरहेछ ।” थपिन्् “अन्धाले पनि सपना देख्छ भन्छन्, मैले त आफ्ना बारेमा सपना देख्नु अघि नै दाम्पत्य जीवनमा बाँधिन पुगेँ । बाहिरबाट झट्ट हेर्दा सबै मलाई सुखी, सम्पन्न र खुसी देख्छन् तर म कुन आगोमा जलिरहेकी छु त्यो कोही देख्दैनन् । र, म स्वयम् पनि पर्दाभित्रको त्यो रहस्य देखाउन चाहन्न । आर्थिक र भौतिक रूपमा सम्पन्न देखिँदैमा कोही सुखी हुन सक्तैन । मैले यस्तै बोध गरेँ ।”
नचाहँदा–नचाहँदै भावनाजीका आँखाबाट मोतीका दाना झरे । समिताले नदेखेझैँ गरिन् । मलाई चाहिँ नरमाइलो लागेर आयो । सायद वषौँपछि आज उनले आफ्ना वेदना पोख्ने अवसर पाएकी थिइन् । उनले मलाई त्यो योग्य सम्झेकोमा सन्तोष पनि लाग्यो । उनले आध्र्र्र स्वरमा थपिन् “दाम्पत्य जीवन आरम्भ भएको १६ औँ वसन्त समाप्त भइसक्ता पनि श्रीमतीले पटकपटक अग्निपरीक्षा दिइरहनुपर्ने अवस्थाको सिर्जना हुन्छ भने त्यस्तो जिन्दगीलाई के भन्ने ?”
भावनाको अभिव्यक्तिबाट दाम्पत्य जीवन–भोगाइको तीतोपना साङ्केतिक रूपमा बाहिर निस्क्यो । मलाई लाग्यो– मानिसको जीवन सम्झौतामय छ । मान्छेले बाँच्ने लोभमा हरेक परिस्थितिसँग सम्झौता गर्नुपर्दोरहेछ र छातीभरि ज्वालामुखी दबाएर पनि मुखमा कृत्रिम हाँसो देखाउनुपर्दोरहेछ । सुनको नै सही, पिँजडा त आखिर पिँजडा नै त हो !
भावनाजीको पीडापूर्ण अभिव्यक्तिले केही क्षण मौनता छायो । समिता पनि स्तब्ध देखिइन् । त्यसैबीच मौनतालार्ई भङ्ग गर्दै मैले अर्को जिज्ञासा राखेँँ “छोराछोरी पनि अब त बुझ्ने भइसके होलान् । अब त उनीहरूले पनि आफ्नो बाबालाई सम्झाउनु पर्ने.. ।”
भावनाजीले लामो सास छोडिन् । केही क्षणपछि भनिन् “हो, शुरूमा त मैले पनि त्यस्तै सोचेकी थिएँ तर त्यस्तो पनि भएन । सानैदेखि छोराछोरीलाई बोर्डस् गरेर राखियो, कहिलेकाहीँ विदामा घर आएको बेला उनीहरूले घर–व्यवहारका यस्तो कुराहरू नै बुझेनन् । फेरि उनीहरू घर आएको बेला घुमाउन लैजाने, उनीहरूका सानामसिना आवश्यकताहरू पूरा गरिदिने कार्य बाबाबाटै हुने भएपछि उनीहरूको सहानुभूति पनि बाबातिरै बढी हुनेभयो । मेरा बाबा–आमा बित्नु भएको पनि धेरै भइसक्यो । बाबाआमाको अभावमा माइती पनि नाम मात्रको बन्दोरहेछ । यसरी अहिले मैले आफूलाई पूर्णरूपमा एक्लो भएको महसुस गरेकी छु । म सागरबीचमा रहेर पनि प्यासै छु भन्दा पनि अन्यथा नहुने अवस्थामा बाँचेकी छु । केवल यौन–खेलौनाका रूपमा ! यस्तो मुर्दा बचाइको के अर्थ हुन्छ र ?” भावनाजीका वेदनायुक्त कुरा सुन्दैगर्दा लाग्यो बाहिरबाट हेर्दा सुखी, सम्पन्न र सभ्यजस्तो देखिने मानिसहरू आन्तरिक रूपले कति पीडित, कति दुःखी र कति निरीह जीवन बाँचिरहेका हुँदारहेछन् !
“तपाईसँग आज म केही बढी नै बहकिएँ, किन हो मलाई नै थाहा छैन । समिताले तपाईका बारेमा धेरै कुरा गरेको कारणले गर्दा मात्र मैले तपाईसँग यति धेरै कुरा गर्न सकेकी हुँ । तपाई साहित्यिक व्यक्ति हुनुभएको नाताले मेरो जीवन–भोगाइको मर्मलाई राम्ररी बुझ्न सक्नुहोला भनेर पनि मैले यति कुरा गरेकी हुँला, यसलाई अन्यथा रूपमा नलिइदिनहुन पनि मेरो विनम्र आग्रह छ ।”
“भावनाजी, तपाईले मलाई त्यो योग्य सम्झनु भयो, मेरा लागि त्यही धन्य हो । यसमा अन्यथा मान्नु पर्ने नै के छ र ? तपाईको जीवन भोगाइ कुनै दुःखान्त नाटक, उपन्यास वा सिनेमाको कहानीभन्दा कम लागेन । तर मैले प्रेमजीको साइडबाट विचार गर्दा के भन्न मन लाग्यो भने प्रेमजीबाट आफूले औधि मन पराएकी मायालुलाई अरूको विषालु नजरबाट बचाउने प्रयास स्वरूप ती सब कार्यहरू गरिए होलान् । उनको यस प्रकारको व्यवहारले उनकी प्राणभन्दा प्यारी मायालुको आत्मसम्मान बँच्यो कि बँचेन भन्नेतिर भने उनको ध्यान पुग्न सकेको देखिएन । आत्मसम्मानका केही कुरालाई बिर्सने हो भने प्रेमजीको एकलौटि माया त पाउनुभएकै हो नि !”
उनले लामो सास फरिन् । केही टोलाएजस्तै बनेर भनिन् “पहिला त मलाई पनि त्यस्तै लाग्दथ्यो र एक प्रकारले सन्तोष गर्ने बाटो पनि पाउँथेँ । तर, पछि थाहा भयो यो पनि मेरो भ्रम मात्र रहेछ ।”
“अर्थात्……।”
“हो, त्यो विश्वासले पनि मलाई धोका नै दियो । एकदिन उहाँको कोटको खल्तीमा पट्याएर राखेको अवस्थामा एउटा चिठी पाएँ । पहिले त खास्सै याद गरिनँ, तर केही क्षणपछि मलाई कसले लेखेको चिठी रहेछ भनेर पढ्न मन लाग्यो । चिठी चम्पा भन्ने केटीले लेखेकी रहेछ । त्यो केटी भाञ्जीको साइनो लगाएर हाम्रोे घरमा आइरहने र कहिलेकाहीँ काम पनि सघाएजस्तो गर्थी । चिठीमा ती दुईबीचको गोप्य सम्बन्ध र भावी योजनासमेत लेखिएको थियो । चिठी पढिसक्ता म चकित मात्र भइनँ, मेरो विश्वासको सगरमाथा एकैचोटी धरासयीसमेत भयो । मेरो चारैतिर कालो बादल मडारिन थाल्यो । घरमा एक्लै थिएँ, मलाई चिच्याउनु कि कराउनुजस्तो भयो । मेरै घरमा आएर मेरैविरूद्धमा जाल बुन्ने चम्पालाई चिथोरेर मार्न मन लाग्यो । मेरो मनमा आँधीहुरी चल्यो । तर विस्तारै आफैँ संयमित हुँदै सोचेँ– लोग्नेमान्छेले ल्याउन चाह्यो र आइमाईले जान चाही भने कुनै शक्तिले अलग्याउन सक्तैन । फेरि यस कार्यका चम्पाको एकपक्षीय दोष मात्र थिएन । आफ्नै मान्छे आफ्नो हुन नसकेपछि यस्तै हुन्छ भन्ने ठानी मैले एउटा योजना बनाएँ ।”
“योजना ?” लामो सास लिदै जिज्ञासा राखेँ ।
“उहाँ बाहिर गएको मौका पारेर एकदिन चम्पालाई घरमा बोलाएँ । ऊ पनि मलाई उनीहरूबीचको सम्बन्धका बारेमा केही जानकारी छैन भन्ने ठानेर घरमा आई । ‘माइजू हजुरले अचानक बोलाउँदा त आश्चर्य पनि लाग्यो । हजुरलाई सञ्चो नभएर त होइन नि ! मामा घरमा हुनुहुन्न ?’ कोठामा प्रवेश गर्ने वित्तिकै उसले आफूलाई स्वाभाविक देखाउने प्रयास गरी । मलाई उसले प्रयोग गरेका ‘मामा’, ‘माइजू’ जस्ता शब्दहरूले भित्रभित्रै डसिरहेका थिए, तैपनि धैर्यतापूर्वक उसलाई कोठामा लगेर बसाएँ । सामान्य औपचारिकता पूरा गरिसकेपछि चम्पालाई उसले लेखेको चिठी देखाउँदै सोधेँ “चम्पा यो चिठी तिमीले नै लेखेकी हौ ?”
चिठी देख्नासाथ चम्पा निली–काली भई । उसको अनुहार मरेजस्तै भयो । ऊसँग बचाउका लागि केही विकल्प थिएन । ऊ डरले कामी र आफू बसेको ठाउँबाट जुरूक्क उठी र मेरो खुट्टामा घोप्टो परेर रून लागी । म के गरौँ वा के नगरौँ भन्ने अलमल्लमा परेँ ।
केही बेर घोप्टो परेपछि बर्बराउन थाली ‘माइजू, यसमा मेरो केही दोष छैन । मामाको जिद्दी र दबाबका कारण मात्र म लाचार बन्न पुगेकी हुँ । मलाई यस सुन्दर घरमा आगो लगाउने रहर थिएन र छैन पनि । म त सधैँ यस घरकी भाञ्जी नै भएर रहन चाहन्थेँँ तर मामाको जिद्दी र धम्कीका अगाडि नतमस्तक भएकी मात्र हुँ । मामाले भनेको नमाने मेरो बद्नाम गर्ने कुरा गर्नु भयो । म डराएँ र मामाले भने अनुसार गर्न बाध्य भएँ । मामाले ममाथि गर्ने लगानी र कच्चा उमेरले गर्दा अलिकति बहकिएँ पनि सायद । तर, म मामाको प्रेम–प्रस्ताव स्वीकार गर्न सक्तिनँ माइजू । बरू हजुरले नै मलाई उपयुक्त निकास दिनुभए म आभारी हुने थिएँ….’ आदिआदि । चम्पाका बिलाप सुनेर मभित्र अलिकति करूणा पलायो पनि । मैले उसले गरेको गल्तिलाई क्षमादान दिएँ । सोचेँ– ‘चम्पाको त बहकिने उमेर नै थियो । रक्षक नै भक्षक भएपछि उसलाई मात्र के दोष दिनु ? बरू बैँशालु युवतीको यौवनबाट प्रभावित भई आफूलाई विवेक–शून्य बनाउने पुरूष–पात्रहरूदेखि नै घीन लागेर आयो । सबै पुरूष त्यसै वर्गमा त नपर्लान् तर मेरो जीवन–भोगाइले त्यस्तै अभिव्यक्ति दिन बाध्य गरायो ।”
“त्यस घटनाको करिब ६ महिनापछि चम्पाको अन्यन्त्र नै विवाह भयो तर पनि उहाँमा आशा गरिएअनुसार रचनात्मक र सकारात्मक परिवर्तन आउन सकेन । सुनेकी थिएँ– ‘लोग्नेमान्छेले घरैमा असाध्य धेरै माया पायो भने ऊ मायाको अर्को विकल्प खोज्दै बहकिएर बाहिर हिड्दैन रे’ भनेर । तर मेरा श्रीमान्को हकमा त त्यो सूत्र पनि फेल भयो । सजिलै प्राप्त भएका वस्तुको मूल्य पनि न्यून हुँदो हो सायद । त्यस बेलादेखि उहाँले मप्रति देखाएको माया कति कृत्रिम रहेछ भनेर बुझ्न गाह्रो भएन । माया प्रेम भन्ने कुरा प्राप्तिमा मात्र सीमित हुँदोरहेछ । यति कुरा बुझेर पनि मैले उहाँसँग चम्पाको विषय कहिल्यै उठाइनँ, किनकि यसको कुनै औचित्य होला जस्तो लागेन । तर आज आएर सोच्दा चम्पालाई उहाँको जीवनबाट हटाएर कुनै ठूलो काम गरेँजस्तो पनि लागेन ।”
“किन र ? फेरि केही भयो ?” योे जिज्ञासा समिताको थियो ।
“शुरूमा मैले चम्पालाई उहाँको जीवनबाट अलग्याउन सकेँ भनेर त्यस बेला मानेको खुसी त एउटा संयोग मात्र रहेछ । जबसम्म व्यक्तिको मानसिक स्तरमा नै परिवर्तन आउदैन तबसम्म सबै समाधानका विकल्पहरू अस्थाई साधन मात्र बन्दारहेछन् । उहाँ आज–भोलि आफ्नै छोरीकी साथीका पछि लाग्नुभएको छ अरे । अब यस अवस्थामा मेरो भन्नु पनि केही छैन ।”
भावना जतिजति आफ्नो अन्र्तमनका व्यथालाई कलात्मक ढङ्गले पोख्तैजान्थिन् उनीप्रतिको मेरो श्रद्धा त्यतित्यति नै बढ्दै जान्थ्यो । छातीभरि ज्वालामुखी दबाएर पनि उनी शान्त सागरझैँ देखिन्थिन् । मैले उनीप्रति देखाएको सद्भावले मात्र समस्याको समाधान हुनेवाला थिएन ।
“भावनाजी, बाँकी जीवनका बारेमा कस्तो सोच बनाउनुभएको छ ?” मैले निर्ममतापूर्वक पुनः अर्को प्रश्न राखेँ ।
मेरो प्रश्न त्यति सहज थिएन सायद । भावनाजीका आँखा पुनः रसाएका देखिए तैपनि शान्त, शालीन् तर केही सुस्त ढङ्गले भनिन् “दुई सन्तानकी आमाले यो अवस्थामा आएर आफ्नो बाँकी जीवनका बारेमा सोच्न के नै सक्छे र ? तैपनि …………………..।”
भावनाजीका कुरा सुनेर म जिल्ल परेँ । भावनाजीको भोगाइ व्यक्तिगत हो कि सामाजिक हो भनेर छुट्याउन मलाई सजिलो थिएन । उनको यो कहालीलाग्दो जीवनमा केही योगदान गर्न पाए हुन्थ्योझैँ लाग्यो तर मेरा पनि सीमाहरू थिए । भावनाजीको भावनालाई प्रेमजीले बुझ्नु पथ्र्यो तर त्यो सम्भव देखिँदैनथ्यो । सँगै बसेर मात्र कसैको भावना बुझिन्छ भन्ने कुरा होइनरहेछ । मनको दूरी लम्बिएपछि शारीरिक निकटताले मात्र सम्बन्ध सुमधुर नबन्दोरहेछ ।
मैले सामाजिक कथाको एउटा प्लट त पाएको थिएँ तर घर फर्किँदा मेरो मनमा भावनाजीको पीडाको बोझ पनि थपिएकोे थियो । भावनाजीको भोगाई केवल एउटा कथा हो कि हाम्रो समाजको रूघ्ण वास्तविकता ? म आफैं पनि अलमलमा परेझैं भएँ ।
भावनाजी मेरो एकदमै समिपमा आइपुगेकी थिइन् । मैले शिष्टाचारपूर्वक दुई हात जोडेँ । उनले पनि मलाई तुरून्तै चिनिन् र एउटा मीठो मुस्कानसहित उनले मेरो अभिवादनको प्रत्युत्तर दिइन् ।
“फेरि पनि हाम्रो भेट होला भन्ने ठानेकी थिइनँ ।” उनले चिनेको आभास दिलाइन् ।
“ईश्वरको निगाह भए असम्भव केही रहेनछ” मैले भनेँ ।
पीताम्वर वस्त्र तथा गलामा लामो रूद्राक्षको माला धारणा गरेकी उनको व्यक्तित्व पहिलेको भन्दा पनि उज्यालो र चम्किलो देखिन्थ्यो । उनको अनुहारमा कुनै पनि प्रकारका चिन्ता र पीडाका रेखाहरू देखिदैनथ्यो । मनभित्र ज्वालामुखी दबाएको भए पनि अहिले उनी सुनको पिँजडा तोडेर जङ्गलमा पुगेको स्वतन्त्र पक्षीझैँ देखिन्थिन् । उनको यो माता–व्यक्तित्व पनि कम आकर्षक भने थिएन ।
भावनाजी ‘भावना माता’ का रूपमा रूपान्तरित भइसकेकी रहिछन् । उनले आफ्नो विगत जीवनका बारेमा धेरे बोल्न चाहिनन् र मैले त्यो प्रसङ्गलाई लम्ब्याउनु पनि उपयुक्त ठानिनँ । हाम्रो छोटो कुराकानीमा उनले आफ्नो जीवनको मुल्याङ्कन यसरी गरिन् “यहाँ आएर मैले अथाह शान्ति पाएकी छु । अहिले मलाई मेरो अतीत एउटा नराम्रो सपना देखेर ब्युँझदाको झझल्को जस्तो मात्र बनेको छ र अब म मेरो विगतलाइे स्मरण गर्न पनि चाहन्न । अहिले मलाई यहाँ मेरो पुनर्जन्म भएकोजस्तो महसुस भइरहेछ ।” मैले त्यसभन्दा बढी प्रश्न गर्न असान्दर्भिक ठानेर श्रद्धापूर्वक पुनः अभिवादन गरेर त्यहाँबाट प्रस्थान गरेँ ।
भावना–माताबाट म जतिजति टाढिँदै थिएँ त्यतित्यति नै मलाई एउटा जिज्ञासाले पछ्याइह्यो– आखिर मान्छेका मनको आनन्द कहाँ छ त ? प्रेमजीको भोगाइमा कि भावना–माताको रोजाइमा ?