एलपी पौड्याल
काठमाडौं, ११ पुस ।
कोरोना कहरका कारण काठमाडौंमा गुड्ने सवारी साधनमा जोरविजोर प्रणाली लागु भएको थियो । म कलेज जान भनेर सार्वजनिक गाडीको प्रतीक्षा गर्दै चोकमा उभिइरहेको थिएँ । कलेजमा क्लास नभए पनि हाजिर हुनलाई मौखिक सर्कुलर गरिएको थियो । गन्तव्यमा पुग्नका लागि कुनै हतार नभए पनि चाँडै गाडी पाएहुन्थ्यो भन्ने लागिरहेको थियो । भीडभाड भएका मिनी बसहरूमा चड्ने आँट आएको थिएन । ठीक त्यही समयमा एउटा सेतो रङको आकर्षक कार मेरा अगाडिबाट गुज्रियो तर केही अगाडि पुगेर टक्क अडियो । अनि पछि सर्दै मेरै अगाडि आएर रोकियो ।
त्यस कारको सौन्दर्यले मेरो मन आकर्षित भए पनि कारतिर खास्सै ध्यान दिएको थिइनँ । त्यत्तिकैमा कार चालकले हरियो शीशाको झ्याल खोल्यो । कार चलाइरहेको व्यक्ति त्यस्तै २५-२६ वर्षको युवा हुनुपर्छ । आँखामा कालो चश्मा र मुखमा माक्स लगाएको आकर्षक व्यक्तित्व देखने त्यस युवाले जोसिलो पाराले तर सम्मानपूर्वक भन्यो– ‘नमस्ते सर !’
मैले पछि फर्केर हेरेँ, मेरापछि कोही पनि थिएन । त्यस युवाले अभिवादन कसलाई गरेको हो भनेर म अलमलिएको अनुमान गरेर मेरो नामै लिएर भन्यो– ‘हरि सर, मैले हजुरलाई नै अभिवादन गरेको हो । चिन्नु भएन ? म प्रदीप ।’ अनि उसले मुखको माक्स र कालो चश्मा खोल्यो ।
‘अरे प्रदीप भाइ, तिमी यस रूपमा ? कसरी चिन्नु त ?!’
‘सर हजुुर कहाँसम्म जानु हुने ? म ड्रप गरिदिन्छु । बाटोमा गफ पनि हुन्छ ।’
‘मियाका दौड मस्जिद तक; कहाँ जानु र ? कलेजतिर त हो नि भाइ ! आज बिजोर नम्बर परेकोले बाइक निकाल्न पाइएन । म त बस कुरेर बसिरहेको थिएँ ….।’
प्रदीपले कारको अगाडिको ढोका खोलिदियो ।
प्रदीप बिहानको समय कुनै दैनिक पत्रिकाको कार्यालयमा साइकल ब्वाईका रूपमा काम गर्दै दिउँसो कलेज धाउँथ्यो । आर्थिक रूपले विपन्न भए पनि ऊ मिलनसार र हँसमुख थियो । पढाइ मध्यम खालको । उसको दयनीय आर्थिक अवस्था र मेहनती स्वभाव देखेर मैले उसलाई अर्को मिडियामा मार्केटिङमा काम गर्न सिफारिस गरेको थिएँ । दिउँसो मार्केटिङमा काम गर्न थालेपछि ऊ कलेज आउन छोडेको थियो । मेरो सिफारिसले मार्केटिङमा काम पाएको खुसीमा बिहान बिहान ऊ मेरो आँगनमा एउटा पत्रिका फ्याँकिदिन्थ्यो । बिहानै नयाँ नयाँ समाचार पढ्न पाउँदा मलाई पनि रमाइलै भएको थियो । पत्रिकाको पैसा तिर्न खोज्दा अनेक बाहना पारेर टारिदिन्थ्यो । पछि ऊ अचानक हरायो । एकदिन उसको ठाउँमा काम गर्ने अर्को साइकल ब्वाईलाई प्रदीपका बारेमा सोधेको थिएँ । उसले मिडियाको जागिर छाडेर जग्गा दलालीको काम सुरु गरेको जानकारी गराएको थियो तर लामो समयदेखि उसँग भेट भएको थिएन । आज अचानक….
‘सर हजुर त उस्तै हुनुहुँदोरहेछ । माक्स लगाएको अवस्थामा पनि चिन्न गाह्रो भएन ।’ प्रदीपको बोलीले मेरो तन्द्रा भङ्ग भयो ।
‘प्रदीप बाबु, तिमीलाई यस रूपमा देखेर म त सरप्राइज नै भएँ ।’
‘हो नि सर, हजुरसँग कलेजमा भेट हुँदाको अवस्था र अहिलेको अवस्थामा आकाश–जमिनको फरक छ । समय बलवान हुन्छ भन्थे, हो रहेछ ।’
‘यति छोटो समयमा नै यत्रो परिवर्तन…?’
प्रदीप केहीबेर बोलेन । गाडी चलाउदै ऊ मुसुक्क मुस्कुरायो । केही क्षणको मौनतापछि बोल्यो– सर हजुरले मलाई त्यस प्रकाशन गृहको मार्केटिङ विभागमा सिफरिस गरेपछि मेरो काठमाडौंको बसाई केही सहज भएको थियो । दुर्भाग्यबस् कलेजको पढाइलाई भने निरन्तरता दिन सकिनँ । मार्केटिङमा काम गर्न थालेपछि भने मेरो सम्पर्कको दायरा केही फराकिलो भयो । ठूला साना धेरैसँग परिचय बढ्यो । सबैले राम्रै मान्थे । यसैक्रममा केही रियल स्टेट संचालकहरूसँग पनि मैले नजिकिने मौका पाएँ ।
एकदिन एकजना रियल स्टेटका संचालकले कफी खान बोलाएर विना भूमिका भने ‘हेर प्रदीप, ईश्वरले हरेक मानिसलाई कुनै न कुनै प्रतिभा दिएको हुन्छ र त्यसलाई प्रमाणित गर्ने अवसर पनि दिएको हुन्छ । व्यक्तिले त्यसलाई चिन्न र प्रमाणित गर्न पनि सक्नुपर्छ । तिमीसँग बोल्ने कला छ । मिलाएर बोल्न सक्छौ । तिमी आफ्नो यस प्रतिभाको सदुपयोग गर । तिमीसँग धेरै पैसा कमाउन सक्ने सम्भावना छ, कोसिस गरी हेर ।’
म छक्क परेँ । जग्गाको कारोबार गरेर ती व्यक्तिले धेरै पैसा कमाएको मलाई थाहा थियो तर म त ठण्डाराम थिएँ । हो, मलाई पनि पैसा कमाउनु थियो तर लगानी नगरी कसरी कमाउन सकिएला र भन्ने लाग्थ्यो । उनले मलाई पैसावाल नै सम्झेका होलान् भन्ने लाग्यो र केहीबेर जिल्लिएँ पनि । म के भन्नु वा के नभन्नुझैं बनेँ ।
‘किन नबोलेको प्रदीप ?’ उनको प्रश्नले म झस्किएँ ।
‘लगानी नगरी पैसा कमाउन सकिन्न होला । मसँग पैसा छैन । अनि के बोल्नु र सर ? रहरले मात्र नहोला ।’ नचाहेर पनि जे होला भनेर प्वाक्क भनिदिएँ ।
‘तिमी इच्छा मात्र देखाऊ, योजना म बनाउँछु । तिमीले खट्नु चाहिँ पर्छ तर खास्सै पैसा निकाल्नु पर्दैन ।’ उनले थप सदाशय देखाए ।
उनका कुरा सुनेर मेरो छाती फुलेर आयो । लगानी नै नगरी पैसा कमाउन सकिने भए किन नगर्ने ? खट्ने कुरामा मलाई चिन्ता थिएन । भनिदिएँ– ‘लगानी नगरी पैसा कमाउन सकिने भए म जे काम गर्न पनि तयार छु सर ! खट्नुपर्ने कुरामा चिन्ता छैन ।’
‘हेर प्रदीप, हामी सस्तो दरमा ठूलो परिमाणमा जग्गा किन्छौं । त्यसलाई प्लटिङ गरेर बाटो, पानी, बिजुली र ढलको व्यवस्थापन गरेर राम्रो मूल्यमा बेच्छौं । तिमीले ग्राहक खोजेर ल्याउनुपर्छ । तिम्रो कारणले जति जग्गा बिक्री हुन्छ, त्यसको ५ देखि ७ प्रतिशतसम्म तिमीलाई कमिशनवापत दिन्छौं । तिमीले राम्ररी खट्न सक्यौ भने पैसा कमाउन गाह्रो हुनेछैन । ल भन, गछौ ? तिम्रो लगनशीलता र इमानदारीलाई देखेर यो प्रस्ताव राखेको हुँ । जीवनमा यस्तो अवसर बारम्बार आउँदैन ।’
लाखौं रुपैयाको ५–७ प्रतिशत भनेको धेरै हुन्थ्यो, त्यो पनि लगानी नगरी । मलाई आइडिया गज्जबको लाग्यो र यो अवसर गुमाउनु हुन्न भन्ने लाग्यो । अनि धेरै नसोची ‘हुन्छ, गर्छु’ भनिदिएँ । सुरुमा जिल्लातिरका परिचित धनाड्यहरूसँग सम्पर्क गरेर ‘राजधानीमा एउटा घर चाहिन्छ’ भनेर जग्गा किन्न उक्साएँ । धेरैले किने पनि । पछि आफूले काम गर्ने पत्रिकामार्फत् विज्ञापन गरेँ । यसबाट पनि राम्रै परिणाम् आयो । एकप्रकारले भाग्यले साथ दियो भनौं । अनि, मिडियाको जागिर छोडेर पूरै समय यसैमा लगाएँ । सम्पर्क बढ्दै गयो र कारोकार पनि बढ्दै गयो । जग्गा कारोबारमा लागेको ४-५ वर्षमा नै काठमाडौंमा एउटा घर र एउटा गाडी किनेर सेटल हुने वातावरण बन्यो ।
समयको कुरा हो सर, सुरुका दिनहरूमा मलाई होच्याएर ‘जग्गा दलाल’ पनि भनियो । मैले हरेस खाइनँ र उद्देश्यबाट विचलित पनि भइनँ । हिजो मलाई हेयका दृष्टिले हेर्नेहरू नै आजभोलि ‘प्रदीप बाबू’ भनेर सम्मान गर्न थालेका छन् । उनीहरूले आयोजना गर्ने हरेक पार्टी–समारोहमा उपस्थित हुन आग्रह गर्छन् । अहिले त आफैंले एउटा रियल स्टेट दर्ता गरेर विधिवत् रूपमा काम पनि सुरु गरेको छु । स्टाफहरू छन् । कोरोनाले गर्दा अहिले जग्गाको किनबेच अलिक मन्दी छ तर विस्तारै सुधार होला भन्ने आशा छ । सेयर बजारमा पनि अलिकति लगानी गरेको छु । उचित समयमा सही निर्णय गर्न सकियो भने परिणाम् पनि राम्रै आउँदोरहेछ सर, मलाई समयले सिकाएको पाठ यही हो ।
मलाई हिजो कसैले ‘जग्गा दलाल’ भनेर होच्याउन वा गिज्याउन खोज्दा मन दुखाएर त्यस कामबाट पलायन भएको भए पक्कै पनि आज मेरो यो अवस्था हुने थिएन । हिजो मलाई होच्याउन खोज्नेहरू आज पनि कुरा काटेरै दिन बिताइरहेका छन्, उनीहरूको अवस्थामा आज पनि कुनै सुधार आएको छैन । कुरा त यहाँ जसले जसको पनि काट्दारहेछन् तर आफूलाई ठीक लागेको कुरामा निरन्तर लागिरहनु पर्ने रहेछ । आफ्नो क्षमता र अनुभवका आधारमा लगनशील भएर कुनै काम गर्ने हो भने असम्भव केही नहुनेरहेछ सर । मलाई यस्तै लाग्यो । जस्तोसुकै मान्छेमा केही न केही क्षमता पक्कै हुन्छ । कुनै व्यक्तिभित्रको क्षमताको पहिचान गरी दिशानिर्देश गरिदिने मान्छे पाउनु पनि ठूलो कुरा रहेछ । भाग्यबस् मैले पाएँ । त्यसैको परिणामस्वरूप आज म यस अवस्थामा छु । मेरो कहानी यही हो सर !’
‘तिमी साँच्चै भाग्यमानी रहेछौ भाइ ! छोटै समयमा राम्रो सफलता प्राप्त गर्न सकेछौ ।’
‘सर, म हजुरलाई सफल देख्छु, हजुरले मलाई देख्नुभयो । सफलताको निश्चित मापदण्ड केही पनि रहेनछ । समयले हजुरलाई मुलुककै वैभवशाली व्यक्ति पनि बनाउन सक्छ तर सबै वैभवशाली व्यक्तिहरू हजुरजस्तै प्राज्ञ बन्न सक्तैनन् । पैसाले किताब किन्न सकिएला तर ज्ञान किन्न सकिँदैन नि सर ! तर म मेरो उपलब्धिबाट सन्तुष्ट चाहिँ अवश्य छु ।’
‘………………’
‘हजुरले पहिला बसेको डेरा त छोड्नुभयो होला, घर कहाँ किन्नुभयो सर ?’
प्रदीपको सफलताको कहानीले केही गर्व र केही ईर्ष्या लागिरहेको बेला उसैको पछिल्लो वाक्यले भने मलाई निक्कै हिनताबोध र निराश बनाइदियो । हिजो आफैंले सिफारिस गरेर सामान्य जागिर लगाइदिएको व्यक्तिले गरेको प्रगतिको कथा सुनिसकेपछि ‘म त अझै डेराको जीवनबाट माथि उठ्न सकेको छैन भाइ’ भनेर भन्न पनि सकिनँ र झुट बोल्ने आँट पनि आएन । बरू प्रसङ्ग बदलेँ– ‘बिहे कहाँ गर्यौ भाइ ?’
‘बिहे गरेको छैन सर ! काठमाडौंमा बल्ल सेटल भइयो, अब चाँडै गर्छु । प्रस्तावहरू प्रशस्त आएका छन् । हजुरको मोबाइल नम्बर पुरानै हो नि ?’
‘पुरानै हो प्रदीप भाइ ।’
‘सर, अर्को कुरा । पेशागत रूपमा हजुरलाई केही असजिलो पर्यो भने म अब केही सहयोग गर्न सक्ने भएको छु । भन्न असजिलो नमान्नु होला । अहिलेका शिक्षामन्त्री र अर्थमन्त्रीसँग मेरो बस–उठ राम्रै छ । जग्गा व्यवसायमा त लिङ्क धेरैैतिर जोडिँदोरहेछ सर !’
अब भने मेरो बोल्ती बन्द भयो । ‘राजनीतिक लाइन नमिलेका कारण लामो समयदेखि म करारमा नै सेवारत छु र करारबाट नै चाँडै सेवा निवृत्त हुन लाग्दैछु; सक्छौ भने शिक्षामन्त्रीसमक्ष मेरो अप्ठ्यारो सुनाइदेऊ न त’ भनेर भन्न पनि सकिनँ । भोट हाल्ने बाकस फरक भएका कारण आफ्नै मान्छे देशको शक्तिशाली पदमा पुग्दा समेत केही नगरेर मसँग बदला लिएको पीडाले छाती भत्भती पोलिरहेको बेला मैले प्रदीपलाई शिक्षामन्त्रीसमक्ष एकपल्ट मेरो विन्तिपत्र हालिदेऊ भनेर कुन मुखले भन्नु र ? बरू मुसुक्क हाँस्तै मैले लामो सार फेरेँ । मेरो बडी ल्याङ्वेज देखेर उनले के बुझे, थाहा भएन ।
‘सर, हामी आइपुग्यौं ।’ कार रोकियो ।
हो, पत्तै नपाई कलेजको गेट आइपुगेछ । मैले कारबाट ओर्लने तर्खर गर्दै भनेँ– प्रदीप भाइ, धेरै प्रगति गरेछौ, खुसी लाग्यो । हामी त बत्ती जस्तै हौं, आफू अँध्यारोमा रहेर पनि अरूलाई उज्यालो दिन पाउँदा गौरवको अनुभूति गर्छैं । भेटघाटचाहिँ हुँदै गरोस् है भाइ !’
‘सर, हजुरहरूकै ज्ञान र प्रेरणाको आलोकले यो सम्भव भएको हो । एकदिन हजुरले नै भन्नुभएको थियो– घडीमा तीनवटा काँटा हुन्छन् र ती तीनवटै काँटाहरूको गति फरक फरक हुन्छ । त्यही फरकपनमा घडीको अस्तित्व रहेको हुन्छ; र, सेकेण्ड, मिनेट र घण्टाको महत्व पनि रहेको हुन्छ । समाजको सौन्दर्य पनि त्यस्तैमा होला । होइन र सर ?’
प्रदीप राम्रै तर्क गर्न सक्ने पनि भएछन् भन्ने लाग्यो मलाई ।
उनीबाट छुटेर कलेजको गेटबाट भित्र छिर्दैगर्दा सोचेँ– अरूलाई प्रेरणा दिनभन्दा आफूले आफैंलाई प्रेरित गर्न साह्रै गाह्रो कुरा रहेछ ! जागिरबाट रिटायर्ड हुनै लाग्दा प्रदीपले एउटा सूत्र पढाएर गयो– जीवनमा यदि परिवर्तन चाहने हो भने उचित समयमा सही निर्णय लिन सक्नुपर्छ । अन्यथा…..
२०७७-०९-१०