नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ पुस ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले हालै एकल गायनमा विश्व रेकर्ड कायम गरेका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरू गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्ड सयम गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् । गायनका क्रममा उनले ५९ वटा गीत गाएका थिए । राज्यमन्त्री मानन्धरले वल्डस् बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका हुन् । कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरू गाएका थिए ।
नवकान्तिपुरसँगको कुराकानीमा मानन्धरले नेपालको कला र संगीत विश्वलाई चिनाउने प्रयास गरेको बताए । साथै मानन्धरले नेकपाको पछिल्लो विवाद र संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई बाध्यात्मक अवस्थाको रूपमा बुझ्न पनि आग्रह गरे । प्रधानमन्त्रीबाट काम गर्ने वातावरण भएन, अब जनादेश लिन्छु भन्नुलाई असंवैधानिक कदम भन्न नमिल्ने उनले बताए । साथै कुराकानीको क्रममा मानन्धरले नेकपाको अध्यक्ष र महासचिव दुबैजना ओली पक्षमा रहेकोले ओली पक्षले नै नेकपाको नाम र सूर्य चुनाव चिन्ह पाउने दाबीसमेत गरे । प्रस्तुत छ उनीसँग नवकान्तिपुर डटकमको लागि राजु लामिछानेले गरको कुराकानीको सम्पादित अंशः
मन्त्रीज्यू, यहाँलाई बधाई छ ! गीत गाएरै विश्व रेकर्ड कायम गर्नुभएछ । राजनीतिक खिचातानी र स्वयं तपाईंकै पार्टीभित्रको आन्तरिक खिचातानीका बीच विश्व रेकर्ड राख्ने सोच कसरी आयो ?
हजुर, यो एउटा नेपालले गर्व गर्नलायक काम भएको छ । यो विश्व रेकर्डसँग धेरै कुराहरू जोडिएको छ जस्तो मलाई लाग्छ । नेपाल सगरमाथाको देश हो, बुद्धको जन्म यहाँ भएको थियो भन्ने मात्र होइन, यो देश सांगीतिक धरोहर पनि हो भन्ने विषय यो रेकर्डले विश्वसामु देखाएको छ । म मन्त्री भएको १३ महिना पूरा भयो । यसबीचमा मैले वल्र्ड रेकर्डको इतिहास हेर्दा मन्त्रीहरूले गायन क्षेत्रमा रेकर्डको प्रयास नै गरेका रहेनछन् । कोही कसैले गाउने नाच्ने प्रयास त गरे होलान् तर विश्व रेकर्डको प्रयास भने भएको रहेनछ ।
म बिहान बिहान रियाज पनि गर्छु । रियाजकै कारण गीत गाउन मलाई अप्ठ्यारो लाग्दैन । स्वर खुलिहाल्छ । तर ४–५ घण्टा लगातार गाउन सक्छु या सक्दिन भन्ने दुबिधा त थियो । तर मैले ४ घण्टा ५ मिनेट लगातार गीत गाएको रेकर्ड कायम गर्न सफल भएँ । यसले नेपालको गीत सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरेको छ ।
यसको तयारी कहिलेदेखि गर्नुभएको थियो ?
म मन्त्री भएदेखि नै यो सोच आएको थियो । तर २ महिना अगाडिबाट तयारीमा लागेको हुँ । निवेदन दिएको २ महिनाभित्र सबै तयारी पूरा गरी रेकर्ड कायम भैसकेको छ । मैले जो जति गायक गायिकाहरूको गीत गाएँ, वहाँहरू सबैलाई रोयल्टी तिरेर नै गाएँ । यो रेकर्डसँगै नेपालका कलाकर्मीहरूलाई रोयल्टीसम्बन्धी पनि थप सचेत गराउने काम भएको छ ।
अलिकति पछिल्लो राजनीतिक अवस्थाको बारेमा पनि कुराकानी गरौं । हालै सरकारले संसद् विघटन गरेपछि त्यसको चर्को विरोध भैरहेको छ । संसद् विघटनलाई लिएर तपाईको धारण के हो ?
म राज्यको मन्त्रीको रूपमा रहिरहेको छु । यो पदमा रहेर कुरा गर्नुपर्दा संसद् विघटन संविधान विपरीत हो भने हामीहरू प्नि संविधान विपरीत हुनु पर्यो । संविधानको धारा ७६ को उपधारा ५ र ६ मा संसद् विघटनको विषय स्पष्टसँगै लेखिएको छ । त्यहाँ यदि प्रधानमन्त्रीले संसद् भङ्ग गर्न चाहेमा मन्त्रिपरिषद्बाट पारित गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने कुरा संविधानमै उल्लेख छ । संविधानमा धेरै व्याख्या लेखिएको हुँदैन । व्याख्या गर्ने तरिका आ–आफ्नो हुन सक्छन् । त्यसकारण यो असंवैधानिक भन्दा पनि यसै विषयलाई उचालेर राजनीतिक अभीष्ट पूरा गर्ने प्रयास भैरहेको छ ।
तर पनि संसद् भंग गर्नु त जनअपेक्षा विपरीतको काम त भयो नि । जनताले त पाँच वर्षको लागि भनेर प्रतिनिधि छानेका थिए । होइन र ?
चुनावको मिति तय भैसकेको अवस्थामा हामी फेरि जनतामा नै जान्छौं भनेका हौं । जनतामा जानु नै जनताको भावनाको कदर गर्नु हो । स्थायी सरकार बनाउँछु भन्यौं, जनताले मत दिए । तर पनि सरकारलाई अस्थिर बनाउने प्रयास भए । हामी फेरि जनतामा जाने निष्कर्षमा पुग्यौं । यसलाई जनचाहना विपरीत भन्न मिल्दैन । २००७ सालदेखि आजसम्म आउँदा एउटै प्रधानमन्त्री पाँच वर्षसम्म रहेको हामीले पाएका थिएनौं । यसपटक पाँच वर्ष नै सरकारले काम गर्ने वातावरण बनेको थियो तर नेकपाभित्रकै साथीहरूले त्यसलाई अस्थिर बनाउने प्रयास गरे । अन्ततः फेरि जनतामै जानुको विकल्प भएन ।
संसद् विघटन र नेकपा फुटाउनुमा वैदेशिक हस्तक्षेपले पनि काम गरेको छ भनिन्छ । तपाईलाई त्यस्तो लाग्दैन ?
हामीले राष्ट्रियताको सवालमा जुन कुरा उठायौं, नयाँ नक्शा जारी गयौं, विकास निर्माणमा आक्रमक रूपमा लाग्यौं, यी सवै कुरा मुलुकलाई अस्थिरतामा लैजान चाहनेहरूको लागि मन परेको थिएन । यो मुलुकमा केका आधारमा राजनीति शास्त्रीहरू चलिरहेका छन् भन्ने कुरा तपाई हामी सबैलाई थाहै छ । त्यसकारण हामी आफैं आफ्नो घरमा मिलेर बस्न नसकेको परिप्रेक्षमा म अरूलाई आरोप लगाएर पार्टी फुटको दोष अरूलाई दिन चाहन्न । आशंका गर्ने ठाउँ त प्रसस्तै छन् तर आशंकाकै भरमा पार्टी फुटाउन यसकै हात छ भनिहल्न सकिँदैन ।
नेकपाको दुई समूहमध्ये नाम र निर्वाचन चिन्ह सूर्य कसले पाउँछ होला ? तपाईलाई के लाग्छ ?
निर्वाचन आयोगले अध्यक्ष र महासचिवको हस्ताक्षर भएको समूहलाई नै संस्थापन पक्ष मान्छ र उसैलाई नाम र चुनाव चिन्ह प्रदान गर्छ भन्ने बुझेको छु मैले । त्यसैले नेकपा नाम र सूर्य चुनावचिन्ह ओली पक्षले नै पाउँछ । प्रचण्ड नेपाल पक्षले फेरि दल दर्ता गर्नुपर्ने हुन सक्छ ।
वैशाख १७ र २७ को लागि निर्वाचनको मिति तोकिएको छ । के निर्धारित समयमा नै निर्वाचन होला ?
वैशाखसम्म कोरोनाको असर पनि सकिन्छ भन्ने आशा हामीले गरेका छौं । कोरोना रहिरहेमा पनि अन्य देशहरूले पनि निर्वाचन गरेका छन् । त्यसैले हामीहरू पनि सावधानीपूर्वक निर्वाचन गर्न सक्दछौं । कोरोनाको प्रभावकै बीचमा भारत र अमेरिकालगायतका देशमा निर्वाचन सम्पन्न भए । त्यसकारण कोरोनाकै कारण हाम्रो देशमा चुनाव हुन सक्दैन भन्ने त मलाई लाग्दैन ।
एउटा तपाई आफैं पनि मुछिएको प्रकरणको कुरा जोड्न चाहेँ । बालाजु वाईपास सडक विस्तारको क्रममा बास खोसियो भनेर आन्दोलन भैरहेको छ । सडक विस्तार पीडितलाई सरकारले किन बेवास्ता गरेको हो ?
बलाजु बाइपास सडक म मन्त्री भएपछि भएको काम होइन । आज सडक विस्तापित भन्नेहरूले नै हिजो घर भत्काउन स्वीकृत दिएर र नै सडक विस्तार भएको हो । २०७० सालमा नै वहाँहरूले सडक विस्तारको लागि स्वीकृति दिनुभएको छ । वहाँहरू आफंैले हाम्रो घर भत्काइदिनुस् भनेर निवेदन दिनुभएको छ । त्रिशुली हाइवे को ३० मिटरमा लालपुर्ज नभएको स्थानमा त सरकरले जुनसुकै वेलामा सडक विस्तार गर्न सक्छ ।
अर्को कुरा, वहाँहरूले मुअब्जा नलिएको भए र लालपुर्ज भएको भए यस्तै खालको मात्र आन्दोलन हुन्थ्यो होला र ? वहाँहरूले झुटको खेती गरेर जुन किसिमले मलाई व्याक्तिगत लाञ्छाना लगाउने प्रयास गर्नुभएको छ, यो सरासर गलत छ । भक्तपुर, ललितपुर खोकनाका मान्छेहरू ल्याएर यहाँ विरोध गर्न लगाइएको छ । वहाँहरूलाई यहाँको वास्तविकता थाहा नै छैन ।
वाईपास विवादको वास्तविकता के हो ?
यो ३० मिटरको हाइवे हो । हाइवेमा वहाँहरूले अतिक्रमण गरेर बसेको हो । वहाँहरूकै भनाइलाई मान्ने हो भने वहाँहरू ००८ सालदेखि बस्नुभएको हो भने यहाँ ०१७ सालमा हाइवे बनेको हो । हाइवे बनेपछि पनि अतिक्रमण गरेर बसिएको हो । म त के भन्न चाहन्छु भने यहाँ पीडित भनेर अन्दोलन गर्ने कसले मुअब्जा पाएको छैन ? कसको घर छैन ? वहाँहरूलाई म आफैं क्ष्तिपूर्ति दिन तयार छु । मेरो यो सिनेमा हल र घर ७ रोपनीमा बनेको छ । आन्दोलनरत कसको घर छैन म जमिन दिन तयार छु । आन्दोलनकारीहरूले आधिकारिक कुरा ल्याउनुभयो भने म उहाँहरूको मिचिएको-हराएको भनिएको जग्गा उपलब्ध गराउन तयार छु ।
तर उहाँहरूले नेवारलाई सिध्याउने नाममा आन्दोलन चलाइइरहनुभएको छ भने त्यसमा म के गर्न सक्छु र ? उहाँहरू मलाई मन्त्री पदबाट हटाउन सकिन्छ कि भनेर आन्दोलन गरिरहनुभएको छ । नैतिकता र इमान्दारी दुई चिज भएको मान्छे हुँ म । २०४९, ०५४, ०७०, ०७४ को निर्वाचन जित्दै आज मन्त्री पदमा छु । त्यसै त यहाँसम्म आइएको होइन नि ! जनताको मन मनमा छु म । म जनताको आदेश पालना गर्छु । पूर्वाग्रही भएर आन्दोलन गर्नेहरूले मलाई कुनै असर पुर्याउन सक्तैनन् ।