बाल्यकालमा म लडाकु स्वभावकी थिएँ : कमला मुस्कान

आफूलाई कमला मुस्कानको नामबाट परिचित गराउन चाहने ‘मुस्कान’ साहित्य र संगीतको क्षेत्रमा आफूलाई स्थापित गराउन क्रियाशील छिन् । ‘जुधे आँखा’ उनको पछिल्लो साङ्गीतिक कोसेली हो । आरम्भमा मुस्कानका अधिकांश रचनाहरू बाम राजनीतिबाट प्रभावित भए पनि पछिल्लो समयमा भने प्रेम–विनोद र स्वच्छन्द शैलीका रचनाहरू पनि पढ्न, सुन्न र हेर्न पाइन्छ । ग्रामीण विकासमा स्नातकोत्तर तह पूरा गरेकी मुस्कान हाल आरआर क्याम्पसमा संगीत विषयमा स्नातक गर्दैछिन् । कक्षा ९ मा पढ्दैगर्दा जुनियर रेडक्रस सर्कलको अध्यक्ष भएपछि सामुहिक कार्यको नेतृत्वको थालनी भएको र त्यसपछि क्रमशः विभिन्न क्षेत्रमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँछिन् । यिनै युवा प्रतिभाले नवकान्तिपुर डटकमसँग व्यक्तिगत र विधागत रूपमा गरेका कुराकानीहरूलाई सामान्य सम्पादन गरी प्रस्तुत गरिएको छ ।

जन्म र बाल्यकालको अवस्था :
मेरो जन्म झापा जिल्लाको माइधार भन्ने ठाउँमा भएको हो । बाल्यकालमा लडाकु स्वभावकी थिएँ । मेरो हातबाट धेरैले कुटाई खाएका छन् । स्कुले जीवनमा सरहरूले कक्षाका साथीहरूलाई ‘ल रूल गर’ भन्दै धेरै पटक मनिटरको जिम्मा दिनुभएको थियो । म नाचगानमा सिपालु नै थिएँ र झापामा रहुन्जेल स्कुलमा गीत गाएर र नाचेर धेरैमाझ चिनिएकी थिएँ । कक्षागत गीत गाउन र लयमा कविता वाचन गर्न खप्पिस म कुनै न कुनै बाहनामा सधैं कक्षाको अगाडि उभिएकी हुन्थेँ । तीन कक्षासम्मको मेरो पढाइ झापामा भयो भने चार कक्षादेखि भक्तपुरमा भयो । वादविवाद, वक्तृत्वकला, गायन, नृत्य, कवितालेखन र वाचनमा मेरो प्रतिभा राम्रै थियो । मैले आफू पढ्ने स्कुलमा राम्रै प्रभाव दिन सकेकीले कुनै दिन स्कुल जान नसक्दा मेरो अनुपस्थितिमा हुन लागेका प्रतियोगिताहरू पनि रद्द हुने अवस्था आउँथ्यो । आज सम्झिँदा पनि गर्व महसुस हुन्छ ।



साहित्य लेखन :
समय, अवस्था, सन्दर्भ र आफ्नो परिस्थितिले के–कस्तो लेख्न खोज्छ, त्यस्तै लेखनमा ढालिन चाहने मेरो स्वभाव हो । यस्तो र उस्तो भनेर क्षेत्र तोक्नु साहित्यकारको हातमा हत्कडी बाँधेझैँ लाग्छ मलाई । त्यसर्थ स्वतन्त्र लेखन साहित्यकारको लागि प्रस्फुटत हुने आधार हो भन्ने मलाई लाग्छ । मेरा अधिकांश कथाहरू वास्तविक जीवनमा आधारित छन् । यौन र जीवनभित्र रहेर मेरा कथाहरू सिर्जित हुन्छन् भने लैङ्गिक समानता, राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा रहेर समय सान्दर्भिक साहित्य लेखनमा मेरो अभिरुचि छ । मेरो विचारमा प्रेम जीवन हो भने विश्वास आत्मियता हो र यौन प्राकृतिक आवश्यकता ।
कविता लेखनको यात्रा मैले चार कक्षाबाट सुरू गरेकी हुँ । मेरो पहिलो कविता ‘म’ शीर्षकको थियो । म छ कक्षामा पढ्दा नेपाली पढाउने मिठो स्वरकी धनी मेरी निकटकी गुरुमा सविता बरालले एकपटक ‘कमला तिमीलाई त आँशु कवि भन्न पो मन लाग्यो त’ भन्नुभएको कुरा आज पनि मेरो मानसपटलमा ताजै छ । प्रायः प्रतियोगिताहरूमा प्रथमबाहेक दोस्रो हुनै नजानेकी मैले एसएलसी पनि प्रथम श्रेणीमा नै उतीर्ण गरेँ । एसएलसी दिएपछि तीनमहिनासम्म पढाइ गर्नु नपर्ने भएको हुँदा सो समयलाई साहित्यलेखनमा उपयोग गरी बीसको हाराहारीमा कथा, चारवटा उपन्यास र धेरै कविताहरू लेखेँ । आज पनि ती कतिपय रचनाहरूका पाण्डुलिपीका रूपमा मसँगै सुरक्षित छन् । कति त हराएर गए ।

मन पर्ने साहित्यकार र गायकहरू :
मलाई मन पर्ने गायक गायिकाहरूमा कोइली देवी, अरूणा लामा, तारा देवी, नारायण गोपाल, गोपाल योञ्जन, नातिकाजी आदि हुन् भने साहित्यकारहरूमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, झमककुमारी घिमिरे, कृष्ण धराबासी, मबिबि शाह र पारिजात आदि हुन् । जीवन र मृत्युबीचको यथार्थ चित्रण गरी गाउने वा लेख्ने कार्यमा अब्बल हुनु भएकोले मलाई उहाँहरू प्रिय लाग्नुहुन्छ ।

जागिरे जीवन :
एसएसीपश्चात मासिक १५०० तलब दिने पस्मिना कारखानामा मैले जागिरे जीवनको सुरूवात गरेकी थिएँ । बिहान क्याम्पस र दिउँसो जागिरमा व्यस्त हुनुपथ्र्यो । त्यसताका शनिबार पनि जागिरमा जानुपर्ने बाध्यता थियो । त्यसपछि देखि विभिन्न संघ–संस्था र सञ्चारमाध्यमहरूमा जागिरको सिलसिला आरम्भ भयो । हाल पनि एउटा सरकारी प्रोजेक्टमा सेवारत छु ।

अतिरिक्त क्रियाकलाप :
म सानैदेखि कागजका फूलहरू र कागज तथा छ्वालीका आकर्षक घरहरू बनाएर मान्छेलाई चकित बनाउने गर्थें । एकप्रकारले म चित्रकलामा पनि अब्बल नै थिएँ भन्दा हुन्छ । किताबका चित्रहरू हुबहु उतार्ने मेरो कलाले गर्दा मैले धेरै प्रतियोगिताहरू जितेकी छु ।

साङ्गीतिक यात्राको सुरूवात र प्रेरणा :
मैले जुन बेलादेखि जानेँ र बुझेँ, त्यो बेलादेखि नै गायन यात्रा सुरूवात गरेकी भए पनि जब मैले चर्चित गायक रामकृष्ण ढकालको ‘ओरालो लागेको हरिणको चाल भो’ बोलको गीत सुने; त्यसपछि देखि अझ बढी गायन यात्रामा लाग्ने प्रेरणा प्राप्त भयो ।
म सात कक्षामा पढ्दैगर्दा भक्तपुर प्याब्सनको जिल्ला कमिटीले संचालन गरेको गीत प्रतियोगितामा हाम्रो स्कुलले दोस्रो स्थान प्राप्त गर्यो । ‘फेवा हाम्रो छाती’ नामक गीतमा पहिलो लिडिङ् रोल मेरो थियो भने गुरुमा सविता बरालको संगीत थियो । यसरी सात कक्षादेखि औपचारिक रूपमा गीत गाउन थाले तापनि विभिन्न कार्यक्रमहरूमा भने सानै उमेरदेखि गीत गाउने गर्थें । एघार कक्षा पढ्दा पढ्दै मेरो गायन यात्रा पहिलो पटक रेकर्डिङ स्टुडियोभित्र छिर्यो । त्यसबेला ‘डेङ्गु रोग’ सम्बन्धी एउटा जनचेतनामूलक विज्ञापनमा स्वर दिने मौका पाएकी थिएँ । त्यो विज्ञापन आज पनि रेडियो नेपालमा बजिरहेको सुन्दा ज्यादै खुसी लाग्छ ।

बाह्र कक्षामा पढ्न थाल्दा मेरा संगीत गुरु पर्वत श्रेष्ठको शब्द र संगीतमा एउटा युगल गीत रेकर्डिङ गर्ने अवसर प्राप्त भयो । यसमा स्वर मेरो र हिमाल श्रेष्ठको थियो । अर्को पूर्वेली भाकाको युगल गीत फेरि पर्वत श्रेष्ठको शब्द र संगीतमा पर्वत श्रेष्ठसँगै गाउने अवसर प्राप्त भयो । यो गीत धेरै समयसम्म ताप्लेजुङ्गको तमोर एफएममा बज्यो । यसले पनि मलाई धेरै स्रोताहरूमाझ परिचित गरायो ।

कामको अनुभव :
काम गर्ने क्रममा टिभी, एफएम, पत्रिका र रेडियो नेपालमा गरी मैले छ वर्ष पत्रकारिता गरेँ । रेडियो नेपालका धेरै विज्ञापन र नाटकहरूमा स्वर दिने अवसर पनि पाएकी छु ।

साहित्य प्रकाशन :
एउटा कथा सङ्ग्रह तत्कालै प्रकाशनको तयारीमा छ भने एउटा युगल गीत पनि प्रकाशनको अन्तिम अवस्थामा छ । हालसम्ममा मेरा पाँचवटा गीतहरू यु–ट्युवबाट प्रकाशित भइसकेका छन् । फुटकर साहित्यका रूपमा मेरा कथा र कविताहरू धेरै पत्रपत्रिकाहरू र अनलाइन मिडियाहरूमा प्रकाशित भएका छन् । म आफैँले ती रचनाहरू समेटेर पुस्तकको रूपमा पाठक समक्ष ल्याउन नचाहेको होइन तर आर्थिक कठिनाइका कारण केही ढिलाइ भएको महशुस भएको छ । आशा गर्छु, निकट भविष्यमा यी प्रकाशित हुनेछन् ।

 

सम्बन्धित समाचार