नारदप्रसाद भण्डारी
काठमाडौं, ६ माघ ।
पेट्रोलियम पदार्थ आधुनिक विश्वका लागि सबैभन्दा महत्वपूर्ण ऊर्जाको श्रोतहरूमध्ये एक मानिन्छ । पेट्रोलियम पदार्थको उत्पादनबाट विश्वका केही मुलुकले आफूलाई अति विकसित र समृद्धशाली राष्ट्रको रूपमा स्थापित गरेका छन् । त्यस्तै अन्य केही राष्ट्रहरूले पेट्रोलियम पदार्थको प्रयोगबाट आफुलाई विश्वका सबैभन्दा विकसित, समृद्धशालीका अतिरिक्त आधुनिक विकासका विविध क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएका छन् ।
नेपालमा पेट्रोलियम पदार्थको प्रचलन विश्वका अन्य मुलुकहरूको तुलनामा झण्डै आधा शताब्दी पछाडिदेखि मात्र भएको देखिन्छ । त्यसमा पनि नेपालमा पेट्रोलियम पदार्थको कारोबार कहिलेदेखि, कसरी र कसबाट भयो भन्ने स्पष्ट अभिलेख पत्ता नलागे पनि जुनबेलादेखि उपत्यकामा सवारी साधनका नाममा मोटरहरू भित्रिए, त्यसै बेलादेखि भएको मान्न सकिन्छ । त्यस क्रममा नेपालमा सबैभन्दा पहिले मोटर चढ्ने व्यक्ति राणा प्रधानमन्त्री श्री ३ वीरशमशेर थिए । त्यसैले पनि के भन्न सकिन्छ भने उनकै समयदेखि नेपालमा पेट्रोलियम पदार्थको व्यवसायिक कारोबार सानै रूपमा भए पनि आरम्भ भयो । अझ त्यसलाई हामी कारोबार नभनेर प्रवेशका रूपमा लिन सक्छौं । त्यसरी नै तराई क्षेत्रका सम्बन्धमा कहिले र कसले शुरू भयोे भन्ने कुरा स्पष्ट छैन तर यस सम्बन्धमा जानकारहरूले बताए अनुसार जनकपुरबाट त्यसताका महावीर शाह नामका एक जना ब्यापारीले भारतको कलकत्ता, हल्दिया, बरौनी आदि बजारबाट पेट्रोलको आयात गर्दथे । त्यसरी आयात गर्ने साधनमा गोरू वा राँगा गाडी थिए, जसद्वारा आयत गर्दा ती स्थानहरूबाट नेपाल भित्रिन हप्तौंसम्म लाग्ने गर्दथ्यो । त्यसपछि क्रमशः विराटनगर, विर्तामोड, भारदह, वीरगंज, नेपालगंज आदि बजारमा पेट्रोल व्यवसाय विस्तार हुन थालेको देखिन्छ ।
पेट्रोलियम पदार्थको व्यवसायिक कारोबार ईसं १९३३–३४ देखि भएको कुरा पेट्रोलियम व्यवसायको क्षेत्रमा लामो अनुभव संगाल्नु भएका व्यक्तिहरूले बताउनु हुन्छ । उहाँहरूका अनुसार शुरूमा यस पदार्थको कारोबार अहिलेको तुलनामा ज्यादै भिन्न प्रकारको थियो ।
पेट्रोलियम पदार्थको व्यवसायिक कारोबार शुरुवातका केही वर्षसम्म टिनमा यसको ओसार पसार हुने गर्दथ्यो । नौ लिटर बराबरको टिनको डिब्बामा प्याक गरिएको त्यस डिब्बालाई दुई ग्यालेन मानिन्थ्यो । ती टिनहरू नेपालको सीमासँग नजिक रहेका भारतीय विभिन्न बजारहरूबाट गोरु गाडी वा राँगा गाडीमा राखेर नेपालको तराईका बजारहरू जस्तै जनकपुर, वीरगंज आदि स्थानमा ल्याइन्थ्यो । त्यसपछि ती टिनहरू भरियाद्वारा बोकाएर काठमाडौं उपत्यकामा भित्र्याइन्थ्यो । सो अवधिसम्म मट्टितेलको व्यवसाय पनि सामान्य रहेको थियो । मट्टितेलको व्यवसाय नेपालमा विसं १९९० सालतिर तेजसिद्धि गुभाजुले शुरू गरेका थिए भनिन्छ । त्यस समयमा मट्टितेलको प्रयोग गर्ने जनतालाई आकर्षित गर्न ‘जनता कुक’ नामको एक थान स्टोभसमेत मट्टितेल किन्ने ग्राहकलाई सित्तैमा दिइने गरिन्थ्यो ।
त्यही क्रममा केही समयपछि काठमाडांै उपत्यकामा २०० लिटर बरबारमा ड्रमहरू भित्रिन थाले । ती ड्रमहरू भने मकवानपुर जिल्लाको धुरसिंहस्थित रोप–वे (रञ्जुमार्ग) बाट आउने गर्दथ्यो । त्यसभन्दा अगाडि ती ड्रमहरू पनि राँगा वा गोरू गाडा तथा सामान्य अन्य पेट्रोलियम गाडीहरूले पनि ओसार्न थालेका थिए ।
नेपालमा पेट्रोलियम पदार्थको प्रचलनका सम्बन्धमा त्यस बेलासम्मका जानकारहरूले बताउनुहुन्छ ‘त्यसबेला यसको प्रयोग एकदमै कम हुन्थ्यो ।’ उहाँहरूका अनुसार त्यस समयमा उपत्यकामा ४०–४५ वटा जति मात्र पेट्रोलबाट चल्ने गाडीहरू थिए । ती सबै गाडीहरू राणा परिवारका र ३–४ वटा भने राजदरबारका थिए । त्यसैले पनि त्यसबेला अहिले जस्तो पेट्रोल पम्प वा पसल राखेर बसेकै भरमा त्यसको बिक्री हुँदैनथ्यो । गाडीवालाहरूको माग र आवश्यकताअनुसार समय–समयमा भरियालाई बोकाएर पेट्रोल सबैका घर–घरमा पु¥याइदिनु पर्दथ्यो । विसं २०११ सालमा त्रिभुवन राजपथको निर्माण भएपछि उपत्यकामा सर्वसाधारणहरूले पनि गाडी राख्न थाले । त्यसै समयदेखि १० हजार लिटर बराबरको टैंकीबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न थालियो । त्यसबेलासम्म अधिकांश पेट्रोल भारतको रक्सौल र मोतीहारीबाट झिकाइन्थ्यो । त्यस क्रममा इण्डियन आयल निगमको डिलरको रूपमा बर्मा सेल कम्पनी र सो कम्पनीअन्तर्गत रहेर रामबहादुर बिहारीलाल, मायाराम भोलाराम, चुनीलाल हरिनारयण र नेपाल आयल स्टोर आदिले यस सम्बन्धी कारोबार गर्दै आएका थिए ।
त्यसरी नै पेट्रोलियम पदार्थको व्यवसाय शुरू गर्नुृ हुनेहरूमा त्यसै समयताका रामबहादुर माली, लोकनाथ जोशी, बिहारीलाल खेतान, हरिसिद्धी गुभाजु, गोविन्द जाजोदिया, पियुसराज पाण्डे आदि प्रमुख हुनुहुन्थ्यो र त्यस समयसम्म अर्थात् विसं २०२०–२५ सालसम्म पनि अहिलेको जस्तो पेट्रोल पम्पको मापन यन्त्र थिएन । त्यसबेला घडी जस्तो अर्कै प्रकारको यन्त्रले पेट्रोलको माप लिइन्थ्यो । विसं २०२८–२९ सालदेखि मात्र लिटर प्रणालीबाट पेट्रोलियम पदार्थको बिक्री वितरण शुरू भएको मानिन्छ । मिति २०२६ पौष २६ गते तत्कालीन सरकारले पेट्रोलियम पदार्थको कारोबारलाई संस्थागत गर्न नेशनल ट्रेडिङ्गको कार्यालयमा थप कार्यालय रहने गरी नेपाल आयल निगम लिमिटेडको स्थापना ग-यो ।
नेपाल आयल निगम लिमिटेडको स्थापनासँगै यसको स्थापना हुनुभन्दा अगाडिदेखि नै पेट्रोलियम पदार्थको कारोबार गर्ने इण्डियाका विभिन्न पेट्रोलियम कम्पनीहरूको बिक्रेताको रूपमा पेट्रोल पम्प स्थापना गरेर कारोबार गरी रहेकामध्ये विराटनगरमा संचालित पेट्रोल पम्पहरू पूर्वाञ्चल पेट्रोलियम सेन्टर, शंकर अटोमोबाइल्स र नेपाल पेट्रो कम्पनी, धरानको हिमालय स्टोर, सप्तरीमा अनुपदास भुसाइ दास र दास एण्ड ब्रदर्श, जनकपुरमा जनक आयल स्टोर, वीरगंजमा सुरेश आयल डिष्ट्रिब्युटर्स, रौतहटको गौरमा भगवती आयल स्टोर, नारायणघाटमा संचालित सिद्धि आयल स्टोर, काठमाडौंमा संचालनमा रहेका चुनिलाल हरिनारायण आयल स्टोर, मायाराम भोलाराम आयल स्टोर, माली आयल स्टोर, महालक्ष्मी तेल भण्डार, नेपाल आयल सप्लायर्स, पोखरामा संचालित हिमालय पेट्रोलियम कम्पनी, भैरहवामा व्यापार कर्पोरेसन, नेपाल पेट्रोल कम्पनी, सीताराम बिहारीलाल स्टोर, सेरचन आयल स्टोर, बुटवलमा रहेको ब्रस ब्रदर्श, व्यापार मोटर्स स्टेशन र नेपालगंजमा रहेका आदर्श वर्क प्रा.लि.लाई नेपाल आयल निगम लिमिटेडले विसं २०३० सालबाट पेट्रोलियम पदार्थको कारोबार गर्न एकाधिकार पाएपछि उल्लेखित निगम स्थापना हुनुभन्दा अगाडिका सबै बिक्रेताहरूलाई निगमको बिक्रेतामा रूपान्तरण गरेर संचालन अनुमती प्रदान गरिएको हो ।
निगमको तर्फबाट विसं २०३५ सालमा पहिलो पटक बिक्रेता नियमावली तयार गरेको तर त्यस नियमावलीमा पेट्रोलियम पदार्थको कारोबार गर्न चाहनेले निवेदनसँग फर्मको कागजात र स्थान निश्चित गरिएको (जग्गाको क्षेत्रफल खुलाउनु नपर्ने) कागजात मात्र पेश गर्नु पर्ने र आफूलाई आवश्यक पर्ने भौतिक संरचना तयार गर्ने व्यवस्था थियो भने निगमले पहिलो पटक विसं २०५३ सालमा नयाँ बिक्रेता विनियमावली तयार गरी पेट्रोल पम्पको न्यूनतम पूर्वाधार र जग्गाको क्षेत्रफलसमेत किटानी गरिएको हुनु पर्ने व्यवस्था गरेको थियो । त्यसपछि विसं २०७३ सालमा पुनः नयाँ विनियमावली बनाई बिक्रेताको बिक्री स्थलको पूर्वाधार सम्बन्धी विशेष व्यवस्था गरेको पाइन्छ । उक्त विनियमावलीलाई सातौंपटकसम्म संशोधन गरेर विभिन्न व्यवस्था थप गरिसके पछि पुनः विसं २०७५ सालमा नमूना पम्पसहितको नयाँ बिक्रेता विनियमावलीअनुसार पेट्रोल पम्प स्थापना गर्नुृपर्ने व्यवस्था लागु भयो ।
हाल मुलुकभरिमा जम्मा १,५६१ पेट्रोल पम्पहरू (नमूना, साधारण र प्याक्ट गरी) संचालनमा रहेका छन् भने आव ०७६-०७७ मा २ खर्ब ५ अर्ब ७५ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ (पेट्रोल, डिजल, मट्टितेल, एभिएशन फ्यूल र ग्याँस) खपत भएको छ, जसमध्ये पेट्रोल ५,०७,७८६ किलोलिटर, डिजल १४,५३,५९२ किलोलिटर र ग्याँस ४,४९,०६३ मेट्रिकटन रहेको छ ।
कोरोनाको प्रभावका कारण यो वर्षको खपत गत वर्षको तुलनामा पेट्रोल ९.७८% र डिजल १४.६२% ले ह्रास आएको छ । यो वास्तवमै महामारीको डरलाग्दो प्रभाव हो । किनकि विगत वर्षहरूमा जस्तैः ०७४÷७५ को भन्दा ०७५÷७६ मा पेट्रोलियम पदार्थको खपत पेट्रोलमा १६.११%ले, डिजलमा ६.५५% ले र ग्यँसमा १५.९४% ले वृद्धि भएको थियो । कोरोना प्रभावकै समयमा पनि गत आव ०७६÷७७ मा पेट्रोल र डिजलको खपतमा ठूलो परिमाणमा ह्रास आए पनि ग्यासको खपत भने गत वर्षको जस्तो दोहोरो अंकको वृद्धि नभई ४.५३% ले वृद्धि भएको देखिन्छ ।
यसरी १३३ वर्ष अगाडि राणा परिवारहरूबाट शोखका रूपमा शुरू भएको पेट्रोलियम पदार्थको कारोबार आज व्यवसायिक रूपमा १,५६१ नमूना, साधारण तथा प्याक्ट बिक्रेताहरू संचालनमा छन् । पेट्रोलियम पदार्थको ढुवानी क्षेत्रमा १,८९३ टैंकलरीहरू संचालन भइरहेका छन् भने पेट्रोलियम पदार्थको कारोबारमा २८,६०० भन्दा बढी ब्यक्तिहरूले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।
(लेखक विगत २९ वर्षदेखि नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनसँग आबद्ध हुनुहन्छ ।)