राजु लामिछाने
काठमाडौं, २७ माघ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि कोभिड १९ विरूद्ध दोस्रो चरणको खोप अभियान सुरू गरेको छ र सरकारले कोरोना विरूद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्तिमा काम गर्ने पत्रकारलाई पनि निःशुल्क लगाउने नीति लिएको छ । भारत सरकारबाट अनुदानमा उपलब्ध गराएको खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि दोस्रो चरणमा पत्रकारलाई प्राथमिकतामा राखिएको हो । यद्दपि प्रत्रकार प्रथमिकतामा परेकोमा भने मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । केही पत्रकारहरूले नै पत्रकारलाई प्राथमिकतामा राख्नुपर्ने अवस्था नरहेको भन्दै खोप लगाउन इन्कार गरिरहेका छन् ।
रिपोर्टिङ क्षेत्र राजधानी रहनु र दिनहुँजस्तो भिडभाडजन्य कार्यक्रम भैरहने भएकोले कोरोनाको खोप लगाउने निर्णयमा मचाहिँ पुगेँ । रिपोटिङकै क्रममा ‘कोभिशिल्ड’ खोप लगाएका चिकित्सकहरूको प्रतिक्रिया लिइरहेकै थिएँ । खोप लगाएपछि सामान्य ज्वरो खाउने, टाउको दुख्ने र थकाइ महसुस हुने जस्ता सामान्य लक्षणहरू देखा पर्ने चिकित्सकहरूले बताएका थिए । केही पत्रकार साथीहरू यसको प्रभावकारितामा विश्वस्त हुन सकिरहेका थिएनन् तर म भने पहिलो दिन नै खोप लगाउन तयार भएर निजामति कर्मचारी अस्पताल पुगेको थिएँ ।
दिउँसो १ बजेतिर त्यहाँ पुग्दा केही पत्रकार साथीहरू खोप लगाइसकेका थिए भने केही खोप लगाउने लाइनमा थिए । म पनि लाइनमै बसेँ र खोप लगाएँ । खोप लगाउन विभिन्न उमेरसमूहका पत्रकार उपस्थित थिए । खोप लगाएपछि हुने असरका बारेमा पत्रकारपिच्छे फरक फरक धारणा र प्रतिक्रियाहरू आइरहेका थिए । एक जना उमेरले ७० काटेको बताउने पत्रकार भने आफ्ना ३ सन्तान डाक्टर रहेको र उनीहरूले खोप लगाउनुपर्ने बताएपछि खोप लगाउन आएको बताइरहेका थिए । उनले खोप लगाइसकेपछि सिटामोल खानुपर्छ भन्दै अन्यलाई सुझाव दिइरहेका थिए । खोप लगाइसकेकाहरूले भने डब्लुएचओले मान्यता दिएकोले खोप लगाउन डराउन नहुने प्रतिक्रिया दिइरहेका थिए ।
खोप लगाएपछि आधा घण्टा रेस्ट गरेपछि म मोटरसाइकलमैं घर फर्किएँ । हल्का हात झम झम हुनुबाहेक कुनै असर ममा देखिएको थिएन । खोप लगाएको ७ घण्टासम्म पनि कुनै असर नगरेपछि मैले फेसबुकमा स्टाटस नै लेखेर कुनै असर नगरेको बताएँ । रातको १० बजेसम्म खोपले कुनै असर गरेको थिएन ।
एकाध घण्टामै कामज्वरो
१० बजेबाट निदाउने प्रयास गरे पनि निद्रा भने परिरहेको थिएन । छटपटी भैरहेको थियो । हल्का शरीर तातिरहेको थियो । हेर्दा हेर्दै खोपले असर गर्ने लक्षण देखिन थाल्यो । रातको १ बजे त कामज्वरो नै छुट्यो । कामज्वरो आएपछि तर्कभन्दा पनि कुतर्क मात्र मनमा आउँछ । खोपबारे अनेक आशंका उब्जियो मनमा । मनमनै मोदीलाई गाली गर्न थालेँ । नेपाललाई प्रयोगशाला नै बनाउने भए भन्ने आशंका मनमा खेलिरह्यो तर करिब २ घण्टाजति कामज्वरो आएपछि विस्तारै कम भयो । हल्का ज्वरो भने आइरहेको थियो ।
रातभरि नियमित १० मिनेट निदाउन सकिरहेको थिइनँ । जिऊ करकर दुखिरहने छटपटिमै रात बित्यो तर बिहानपख भने टाउको भारी हुनुबाहेक कुनै असर देखिएन । खोप लगाएर ठीकै गरेँछु भन्ने मनमा पर्न थाल्यो । नकारात्मक असर गर्छ कि भनेर खोप नै नलगाउने सोच आएका साथीहरूलाई खोप लगाउन प्रेरणा मिलोस् । र, कुनै पेशा वा व्यवसाय नछुट्याई सबै नेपालीलाई नै समयमा कोरोनाविरूद्धको निःशुल्क खोप लगाउने कार्यमा सरकारलाई सफलता मिलोस् भन्ने कामना गर्दछु ।