नब्वे रुपैयाँ बिजुलीको बिल तिर्न १२ सय खर्च

बैतडीको दोगडाकेदार गाउँपालिकाको सित्तड गाउँमा तीन वर्षअघि बिजुली पुग्यो । गाउँ झलमल्ल भयो । बिजुलीले गाउँ उज्यालो भए पनि यहाँका बासिन्दाको मुहारमा भने अझै उज्यालो छाएको छैन । महिना दिन बिजुली बाल्दा ९० रुपैयाँ बिल उठ्छ । तर त्यो ९० रुपैयाँ बिल तिर्न एक हजारदेखि १२ सय रुपैयाँसम्म खर्च गरेर स्थानीयहरुलाई सदरमुकाम नै धाउनुपर्ने बाध्यता छ ।

दार्चुला जाने मुख्य सडकबाट दुई घण्टा लाग्छ गाडीमा सित्तड गाउँ जान । यो गाउँमा जाने सार्वजनिक गाडी छैन । भर्खरै खनेको बाटो छ । यो बाटोमा रिजर्भका गाडीहरु फाट्टफुट्ट चल्छन् । गाउँबाट खोचलेक या सिल्लेगाडा बजारसम्म पुग्न गाडीवालाले मागेजति रकम दिनुपर्छ ।



‘रुट परमिट पनि नभएको बाटोमा हामीले जोखिम मोलेर गाडी चलाउनुपर्छ भन्छन् गुरुजीले,’ स्थानीय सुशीला मडै भन्छिन्, ‘९० रुपैयाँ बिजुलीको बिल तिर्न हामी जाँदा मात्र ४ सय रुपैयाँ भाडा तिरेर जान्छौं ।’

गाउँमा प्रायः को घरको टिभी छैन । धेरैजसोले बत्ति मात्र बाल्छन् । बिजुली धेरै उठ्ने कुनै उपकरण पनि चलाउँदैनन् । ‘एउटा बत्ति मात्र बालेमा पनि महिनाको ९० रुपैयाँ अनिवार्य बुझाउनुपर्छ, त्यही ९० रुपैयाँ बुझाउनका लागि भए पनि हामी सदरमुकाम नै धाउनुपर्छ,’ सुशिला भन्छिन् । बिजुलीको बिलभन्दा बिजुली तिर्नको लागि ओहोरदोहोर गर्दा खर्च बढी हुन्छ यहाँका बासिन्दाको ।

गाउँबाट सदरमुकामसम्म पुग्न र फर्कन झण्डै ९ सय रुपैयाँ त गाडीभाडा नै लाग्छ । कहिलेकाहीँ गाउँबाट सदरमुकाम पुग्न गाडीको समस्या हुन्छ । भनेको बेला गाडी पाइएन भने बिल तिरेर एक दिनमै फर्कन सकिंदैन ।

समयमा काम सकिएन भने बिजुलीको बिल तिर्न गएको मानिस सदरमुकाममै होटलमा समेत बस्नुपर्छ । यी सबै खर्च जोड्दा ९० रुपैयाँको बिजुलीको बिल तिर्न सामान्यतया पनि एक हजारदेखि १२ सय रुपैयाँसम्म खर्च हुन्छ । ‘होटल पनि सामान्य र सस्तो पाए त हो नत्र त महंगोमा बस्नु पर्यो भने त खर्चको के हिसाब र,’ सुशीला सुनाउछिन्, ‘गाउँमा बिजुली आउँदा सुविस्ता त भयो तर हामीलाई महंगो परेको छ ।’

उठेको बिजुलीको बिलभन्दा बिल तिर्न धाउँदा लाग्ने खर्चले हैरान भए पनि टुकीमा रात कटाउनुभन्दा झिलीमिली उज्यालोमै बस्न पाइयो भनेर चित्त बुझाउँछन् स्थानीय । ‘पहिले पहिले हाम्रा पुर्खाले अँध्यारोमै रात बिताउनु पर्यो अहिले उज्यालो आयो, हामी त्यही सम्झेर पनि चित्त बुझाउँछौं,’ उनी भन्छिन् ।

सम्बन्धित समाचार