आयल निगमले विज्ञप्तिमार्फत् गर्यो मूल्य वृद्धिको औचित्य पुष्टि

नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति प्रकाशन गरी हालै गरिएको पेट्रोलियम पदार्थको मूल्य समायोजनको औचितयलाई पुष्टि गर्ने प्रयास गरेको छ । मूल्य समायोजनपछि पनि निगमलाई अर्धमासिक रूपमा १३२ करोड घाटा नै रहने उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– निगमले पछिल्लो समय पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य समायोजन गर्दै आएको व्यहोरा सबैमा अवगत भएकै विषय हो । निगमले इण्डियन आयल कर्पोरेशनबाट १६ फेब्रुअरी २०२१ मा प्राप्त मूल्य अनुसार २०७७÷११÷०४ मा पेट्रोल, डिजेल÷मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडानतर्फ) साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर क्रमशः २ ले वृद्धि गरी पेट्रोलको ११४, डिजेल÷मट्टितेलको ९७ प्रति लिटर र हवाई इन्धन (आन्तरिक उडानतर्फ) ६७ कायम गरेको थियो । सो मूल्य समायोजनपश्चात पनि निगमलाई अर्धमासिक रूपमा ८६.७८ करोड घाटा नै रहेको अवस्था थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य क्रमिक रूपमा वृद्धि हुँदै गएको कारणले हाल १ मार्च २०२१ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य १६ फेब्ु्रअरी २०२१ को तुलनामा वृद्धि भएर आएको र सो अनुसार मूल्य समायोजन नगर्दा निगमलाई अर्धमासिक रुपमा करिब रू १५४.०६ करोड घाटा हुने अवस्था रहेको देखिन्छ ।



निगमको २०७७ फाल्गुण १७ को निर्णय तथा स्वचालिक मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ठ गरे अनुसार २०७७ फाल्गुण १७ को राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल तथा डिजेल÷मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर २ ले वृद्धि गरी काठमाडौं (निगमको डिपो क्षेत्रको १५ किमि परिसरभित्र) को लागि पेट्रोल तथा डिजेल÷मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११६ रुपैंया तथा ९९ रुपैंया कायम गरेको छ । साथै हवाई इन्धन (आन्तरिक उडानतर्फ) को साविकको प्रति लिटर बिक्री मूल्यमा ५ रुपैंया प्रति लिटरले वृद्धि गरी ७२ रुपैंया प्रति लिटर तथा हवाई इन्धन (अन्तर्राष्ट्रिय उडानतर्फ) मा साविकको प्रति किलो लिटर बिक्री मूल्यमा अमेरिकी डलर २५ वृद्धि गरी अमेरिकी डलर ८९३ प्रति किलि कायम गरिएको छ भने एलपी ग्यासको खुद्रा बिक्री मूल्यलाई यथावत नै कायम राखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता ई. विनीतमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा भनिएको छ– यस मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८.४२ रुपैंया, डिजेलमा प्रति लिटर ६.५६ रुपैंया तथा एलपी ग्याँसमा प्रति सिलिण्डर ३९२.८२ रुपैंया घाटा रही अर्धमासिक रूपमा करिब १३२२ करोड घाटा नै रहने र सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने व्यहोरा जानकारी गराइन्छ ।

 

सम्बन्धित समाचार