भारततिर बढ्यो इन्धनको चोरी तस्करी

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा नेपालबाट पेट्रोलियम पदार्थ भारततिर चोरी तस्करीको श्रृङ्खला बढेको नेपाल आयल निगमले जनाएको छ । अहिले भारतमा भन्दा नेपालमा पेट्रोल प्रति लिटर ३३.४२ रुपैयाँ र डिजेल प्रति लिटर ३९.६१ रुपैयाँ सस्तो रहेको छ ।

नेपाल भारत सीमा खुला रहेका कारण भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो हुँदा अवैध रूपमा नेपालबाट पेट्रोलियम पदार्थ भारततिर तस्करी हुने गरेको जानकारहरू बताउँछन् । यसरी पेट्रोलियम पदार्थको अवैध कारोबार हुने गरेको जानकारी पाएपछि नेपाल आयल निगमले केही समयअगाडि आफ्ना प्रादेशिक कार्यालयहरूलाई पेट्रोलियम पदार्थका चोरी निकासी रोक्न कडा निर्देशन पनि जारी गर्नुपरेको थियो ।



मूल्य वृद्धिको यथार्थ
नेपाल आयल निगमले पछिल्लोपटक गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको चर्को आलोचना भइरहँदा निगमले भने स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन नगरिएको जनाएको छ । निगमका अनुसार स्वचालित मूल्य प्रणालीअनुसार मूल्य वृद्धि गरेको भए अहिले पेट्रोलको मूल्य प्रति लिटर १२७ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १०७ रुपैयाँ र प्रति सिलिण्डर एलपी ग्यासको मूल्य १७ सय ६७ रुपैयाँ हुने थियो ।

पेट्रोलियम पदार्थको मूल्य बढ्ने वित्तिकै त्यसको प्रत्यक्ष प्रभाव बजारमा पर्ने भएकोले सर्वसाधारण उपभोक्ताको हितलाई ध्यानमा राखी न्यूनतम् रूपमा मात्र मूल्य समायोजन गरिएको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेल बताउँछन् । सर्वसाधारणको हितलाई ध्यानमा राखी निगमले घाटाको व्यापार गरिरहँदासमेत यथार्थ नबुझी निगमलाई गाली गरिरहँदा भने उनी दुखेसो व्यक्त गर्छन् ।

प्रबन्ध निर्देशक पौडेलका अनुसार साउदी अरबका तेलका भण्डारणहरूमा आक्रमण भएका कारण कच्चा तेलको मूल्यमा वृद्धि भई त्यसको प्रभाव नेपाली उपभोक्ताहरूमा पनि परेको हो । यमनका हुथी विद्रोहीका आक्रमणले निरन्तरता पाइरहेको अवस्थामा विश्वबजारमा कच्चा तेलको मूल्य अझै बढ्न सक्ने सङ्केत पनि पौडेलले दिए ।

निगमका प्रबन्ध निर्देशक पौडेलका मतमा पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा सरकारको मात्र नियन्त्रण हुँदैन । यसलाई प्रभाव पार्ने फ्याक्टरहरूमा अमेरिकी डलरको रेट, कच्चा तेलको मूल्यमा हुने वृद्धि तथा तथा निगमको आन्तरिक व्यवस्थापन आदि पनि हुन् । पहिले डलरको मूल्य बढेर १२० भन्दा माथि पुग्दा पनि इन्धनको मूल्य वृद्धि गरिएको थिएन, यसपटक भने कच्चा तेलको मूल्य बढेका कारण मूल्य समायोजन गर्नु परेको हो ।

मूल्य वृद्धिको बाहनामा भाडा वृद्धिको तयारी
डिजेलमा न्यूनतम रूपमा मूल्य वृद्धि भएको बाहनामा सार्वजानिक यातायातका सवारी साधनहरूमा ठूलो मात्रामा भाडा वृद्धि गर्न लागिएको कुरा बाहिरिएको छ । यातायात व्यवसायीहरूको प्रभावमा परेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने गरी सरकारले भाडा वृद्धिको लागि ग्रिन सिग्नल दिएको स्रोतले दावी गरेको छ ।

 

 

सम्बन्धित समाचार