नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ वैशाख ।
सरकारले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले भने संक्रमण बढेका १४ जिल्लामा बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरेको छ । मन्त्रालयले बिहीबार अपिल जारी गर्दै यस्तो आग्रह गरेको हो । सरकारले कुनै औपचारिक निर्णय नगर्ने तथा स्वास्थ्य मन्त्रालयले विद्यालय नजान आग्रह गर्दा विद्यार्थी र अभिभावक भने अन्योलमा परेका छन् ।
जोखिमको आकलन गरेर नै विद्यालय बन्द गर्न सिफारिस गरिएको, तर त्यसको सुुनुवाइ नभएपछि यस्तो अपिल गरिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । कोभिड– १९ को संक्रमण देशभरि बढेपछि मन्त्रालयले गत २५ चैतमा नै कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)मा तीन हप्ता शैक्षिक संस्था बन्द गर्न सिफारिस गरेको थियो । तर, मन्त्रालयले गरेको शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव सिसिएमसी र मन्त्रिपरिषद्ले अस्वीकार गरेको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि यसबारे छलफल भए पनि तत्काल विद्यालय बन्द नगर्ने निर्णय भएको थियो ।
सरकारले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि स्वास्थ्य मन्त्रालयले बिहीबार एक जरुरी अपिल जारी गर्दै कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्न अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा। समीर अधिकारीले अत्यन्त जरुरी अपिल गर्दै भनेका छन्, ‘भिडभाड हुने सबै क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलमा सहभागी नभइदिनुहोला ।’
स्वास्थ्यले विद्यालय नजान आग्रह गरे पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने यसबारे मौन छ । यसबारे स्थानीय तहसमेत अन्योलमा छन् । जोखिम हेरेर आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न सक्ने अधिकार स्थानीय तहलाई छ । केन्द्रीय सरकारजस्तै स्थानीय तह पनि विद्यालय बन्द गर्ने–नगर्ने अन्योलमै छ । विद्यालय सञ्चालकहरूले विद्यालय बन्द नगर्न सरकारलाई दबाब दिँदै आएका छन् ।
नेपालमा कोरोनाले आफ्नो स्वरूप परिवर्तन गरेपछि ८ चैतयता तीव्र रूपमा संक्रमण बढिरहेको छ । विश्वमा युके भेरियन्ट, ब्राजिलियन भेरियन्ट, अफ्रिकन भेरियन्ट र भारतको डबल म्युटेन्ट भेरियन्ट देखिएको छ । यसमध्ये नेपालमा भने हालसम्म युके भेरियन्ट र भारतको डबल म्युटेन्ट भेरियन्ट देखिएको छ । डबल म्युटेन्ट भेरियन्ट भनेको एकै भाइरस परिवर्तन भएर दुई फरक प्रकारको स्वरूप देखिनु हो ।