मर्फिन : यथार्थ र कल्पनाको सन्तुलित सम्मिश्रण

विषय प्रवेश :
राम्रो आख्यानमा भावना र चेतनाको मात्र होइन, यथार्थ र कल्पनाको पनि सन्तुलित सम्मिश्रण हुनुपर्छ । जसरी हाइड्रोजन र अक्सिजनको एउटा निश्चित मात्रा मिलेपछि पानीको अणु बन्छ, त्यसरी नै भावना र चेतनाको अथवा कल्पना र यथार्थको सन्तुलित सम्मिश्रणबाट एउटा सुन्दर आख्यान जन्मन्छ । स्रष्टा सामाजिक प्राणी भएकोले समाजका सङ्गति, विसङ्गति, बेथिति र कुरीतिहरू नै आख्यानका विषयवस्तु बन्ने गर्दछन् । पछिल्लो समयमा नेपाली आख्यानको बजारमा देखिएको लक्ष्मण अधिकारीको पहिलो आख्यानात्मक कृति ‘मर्फिन’ ले पनि आफ्नै शैली, शिल्प र विशेषताहरूका कारण नेपाली साहित्यकाशमा एउटा चम्किालो तारा भएर उदाएको आभास दिलाएको छ ।

कथाकारको सङ्क्षिप्त परिचय :
२०२१ साल चैत्र १५ गते ओखलढुङ्गाको माधवपुरमा जन्मिएर काठमाडौंलाई आफ्नो कर्मक्षेत्र बनाएका कथाकार लक्ष्मण अधिकारी लामो समयदेखि कामना प्रकाशन गृहसँग आबद्ध छन् । करिब २५ वर्षदेखि साधना स्वास्थ्य मासिकको सम्पादक भई स्वास्थ्य क्षेत्रको पत्रकारको रूपमा उनले आफ्नो पहिचान बनाइसकेका छन् र उनले पत्रकारका रूपमा धेरै शब्दहरू लेखिसकेका छन् । स्वास्थ्य पत्रकारिताकै क्रममा उनको डाक्टर, नर्स, स्वास्थ्यकर्मी आदिसँग नजिकको सम्बन्ध बन्न पुगेको र अस्पतालहरूको भित्री रहस्य र अवस्थाका बारेमा पनि जानकारी प्राप्त गर्न सकेको आभास पाइन्छ । यिनै सम्बन्धहरू र स्वास्थ्य संस्थाहरूसँग नजिकिने क्रममा प्राप्त अनुभवहरूले साहित्यिक रूप ग्रहण गर्दा मर्फिनले एउटा आकार प्राप्त गर्न सकेको देखिन्छ । यसरी पत्रकारितामा लामो समयसम्म कलम चलाएर स्वास्थ्य पत्रकारको परिचय बनाइसकेको भए पनि ‘मर्फिन’ कथासङ्ग्रह उनको पहिलो साहित्यिक कृति बन्न पुग्यो र उनी नवोदित साहित्यकारको नयाँ पहिचान बनाउन सफल भए ।



‘मर्फिन’बारे :
मर्फिन कथासङ्ग्रहमा जम्माजम्मी २१ वटा कथाहरू सङ्गृहीत छन् । प्रत्येक कथाले दिने स्वाद बेग्लाबेग्लै रहेको छ । सबै कथाहरू चिकित्साशास्त्र र औषधि विज्ञानसँग जोडिएका भए पनि पृथक पृथक स्वादका छन् । जसरी पेडा, जेरी र सरवरी सबै गुलिया प्रकृतिका मिठाइ भएर पनि सबैको गुलियोपन एउटै खालको हुँदैन, त्यसैगरी मर्फिनमा सङ्गृहीत कथाहरूका स्वाद पनि एउटै खालको छैन । अनि, जसरी रसवरी नखाएको व्यक्तिलाई शब्दको सहायताबाट मात्र रसवरीको स्वाद अनुभूत गराउन सकिन्न, त्यसरी नै आख्यानको पनि रसस्वादन नगरी त्यसको मिठासको व्याख्या गरेर मात्र कसैलाई त्यसको वास्तविक स्वादको अनुभूति दिलाउन सकिन्न । अनुमानको भरमा मात्र निष्कर्ष निकाल्नु अन्धाहरूले हात्तीका विभिन्न भाग छोएर सिङ्गो हात्तीको अर्थ लगाएको जस्तै भ्रमपूर्ण मात्र हुनसक्छ ।

साहित्यिक विधाहरूलाई विश्लेषण गर्ने वा मूल्याङ्कन गर्ने आ–आफ्नै तरीका, शैली वा ढाँचाहरू हुनसक्छन् । सामान्यतः आख्यानलाई विषयवस्तु, पात्र वा चरित्र, परिवेश, भाषा वा संवाद, उद्देश्य, दृष्टिबिन्दु, प्रतीक वा बिम्ब, गति तथा शीर्षकको सार्थकता आदिका आधारमा साहित्यिक कृतिको समीक्षा गर्ने प्रचलन रहेको छ । यी सबै मानकहरूका आधारमा हेर्दा पनि विवेच्य कृति खरो रूपमा उत्रिएको छ ।

समाजमा घटेका वा घट्न सक्ने विषयहरूले कथासङ्ग्रहमा यथोचित स्थान पाएका छन् । कतिपय कथाहरूमा मनोविज्ञानको स्वाद पनि अनुभव गर्न सकिन्छ । आदि, मध्य र अन्त्यको श्रृङ्खलामा आबद्ध सबै कथाहरूमा कार्यकारणहरूको सुन्दर संयोजन पाइन्छ । कथालेखनमा उनले प्रथम तथा तृतीय दृष्टिबिन्दुको प्रयोग गरेका छन् ।
सङ्क्षिप्त विषयवस्तुका आधारमा मर्फिन…

थुना परेका राजा : बाबुआमा दुबै डाक्टर हुँदा र आवश्यकताभन्दा बढी स्वास्थ्य सचेतना अपनाउँदा घरका अन्य सदस्यहरूलाई पर्नसक्ने मानसिक प्रभावलाई विषयवस्तु बनाइएको यस कथामा पात्र आयुषका माध्यमबाट ‘ठूलो डाक्टर हुनभन्दा असल बुबा बन्न कठिन हो’ भन्ने दृष्टान्त प्रस्तुत गर्न कथाकारले निक्कै मेहनत गरेको देखिन्छ । स्वास्थ्य क्षेत्रसँगसम्बन्धित यो एउटा सामाजिक कथा हो ।

मान्छेको आयु : आत्मबल आफैंमा ठूलो औषधि हो भन्ने सन्देश दिने पात्र केशरी र आत्मबल गुमाउँदाको परिणाम् भोग्न बाध्य पात्र आमोदको चरित्रका माधयमबाट कलात्मकता पाएको यस कथाले पाठकलाई एउटा मीठो सन्देश प्रवाह गर्दछ ।

मी टु : यस कथाले अस्पतालभित्रको विकृति र कतिपय अधम स्वास्थ्यकर्मीहरूको कारण बदनाम हुनपुगेको स्वास्थ्य क्षेत्रका विविध पक्षको चिरफार गरेको छ । कथान्त्यतिर आमा मेघा र छोरी नितुको संवादले मानव वेदनालाई स्पर्श गर्दछ । केही समयअगाडि सामाजिक सञ्जालहरूमा भाइरल बनेको ‘मी टु’ आन्दोलन र यस कथाको अन्तर्वस्तुले त्यही आन्दोलनलाई स्मरण गराउँछ ।

मिगौला चोर: विश्वेश्वरप्रसाद कोइरालाको कथा दोषी चश्माको फ्लेबर रहेको यस कथाको पटाक्षेप हुनु पूर्वसम्म मिगौला चोर को होला भन्ने अड्कलबाजीमा कथा कौतुहलपूर्ण बनेको छ । आर्थिक प्रलोभनमा परेर आफ्नै मान्छेबाट हुने धोका वा विश्वासघातलाई यस कथाले उजागार मात्र गरेको छैन, पैसाका लागि मान्छे कतिसम्म गिर्न सक्दछन् भन्ने पनि देखाइएको छ ।

जेनिफर : यो कथा जेनिफर र डा. अर्जितको प्रेम कथा हो । अर्जित दाँतको डाक्टर हो भने जेनिफर टेलिभिजन प्रस्तोता । दाँत मिलाउन आउँदा भेट भएका यी दुईबीचको प्रेमले झाँगिने र मौलाउने अवसर पाउँदै गर्दा सङ्कटको बीजारोपण हुन्छ । डा. अर्जितले या त जेनिफरलाई स्वीकार गर्न काम गरिरहेको अस्पताल छोड्नुपर्ने हुन्छ या त जागिर बचाउन प्रेयसीलाई । उसले प्रेमलाई जिताउन जागिर छोड्छ तर पनि जेनिफरकी आमाको माध्यबाट धर्म भिलेन बनेर अगाडि आउँदा कथाले उत्कर्षता प्राप्त गर्दछ ।

पुरुषत्व: आमा बन्न नसक्ता एउटी विवाहिता नारीमा हुने छटपटी र बाबु बन्न नसकेको लोग्नेमान्छेको व्यथा र तनावलाई कलात्मकता प्रदान गरिएको यस कथामा शङ्काले लङ्का जलाएपछि कथाको पटाक्षेप हुन्छ । डाक्टरको रिपोर्टले जयन्तलाई बाबु बन्न नसक्ने ठोकुवा गरिरहँदा पनि ऊ कसरी बाबु बन्न पुग्छ ? समाजले भोग्न सक्ने एउटा तीतो यथार्थलाई यस कथामा विषयवस्तु बनाइएको छ ।

विखण्डन: बढेका र पढेका छोराछोरीहरू विदेशको मोहमा परेर टाढिएपछि एउटा पूर्ण परिवार भएर पनि विखण्डनको पीडा भोगिरहेका वृद्ध आमाबाबुको कथा हो विखण्डन । यस कथामा आधुनिक समाजले भोगिरहेको यथार्थ विषयलाई कलात्मकता प्रदान गरिएको छ । विशेष गरी शहरी क्षेत्रमा बसोबास गर्ने मध्यम वर्गीय परिवारले भोगिरहेको यो एउटा प्रतिनिधिमूलक कथा हो ।

मुख्यमन्त्रीको मगज : ‘कहिलेकाहीं मिस्टेकलाई पनि एसेप्ट गर्नुपर्छ’ भन्ने चिन्तनसहित विज्ञान र प्रविधिको क्षेत्रमा भएको प्रगतिले मान्छेको दिमाग नै परिवर्तन गरेर भएपछि विमारीलाई बचाउन सकिने दृष्टान्त प्रस्तुत गरेको छ । यसरी यस कथाले चिकित्साविज्ञानको प्रगतिलाई आत्मसात् मात्र गरेको छैन, अपरेशनपछि मुख्यमन्त्रीमा आएको परिवर्तित व्यवहारद्वारा सामाजिक व्यङ्ग्य पनि गरिएको छ । राजनीतिका रङ्गहरूले रङ्गिएको यो पनि एउटा नेपाली समाजकै कथा हो ।

समानुभूति : राग, अनुराग र विरागका पृष्ठभूमिमा अस्पतालभित्रका डाक्टरहरूको पीडा, विमारी र डाक्टरबीचको भावनात्मक सम्बन्ध र केही विकृतिहको सम्मिश्रण हो समानुभूति । ‘अस्पताल बिमारी निको पार्ने ठाउँ मात्र होइन, मृत्युलाई सहज बनाउने ठाउँ पनि हो’ भनाएर कथाकारले आम मानिसहरूले अस्पतालका बारेमा सोच्ने तरीकाभन्दा भिन्न दृष्टिकोण प्रस्तुत गरेका छन् ।

भिनाजुको नाइटी: पोषण पाण्डेको कथा ‘भिनाजुको स्वीटर’ सँग मिल्दोजुल्दो शीर्षकको यो कथाले नौलो स्वाद पस्कने प्रयास गरेको छ । ‘भिनाजुको नाइटी’ यस कथाकी पात्र निकीको टर्निङ प्वइनट हो । निकीको माध्यमबाट सौन्दर्यको अभिमानका कारण भोग्नुपरेको दुष्परिणाम, क्यासिनोको नाममा हुने छलकपट, सबै कुरा भएर पनि निःसन्तान हुनुपर्दाको पीडा, त्यागका विभिन्न रूपहरू आदिलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको यस कथाले सामाजिक र मनोवैज्ञानिक दुबै खाले स्वाद दिनेछ ।

तीतो प्रेम, मीठो माया: यो निलु र उकेशबीचको वियोगान्त प्रेमकथा भएर पनि नर्सको आदर्शलाई एउटा उचाइ प्रदान गरिएकोे छ । सूर्य अस्ताउँदैमा उज्यालो सकिने होइन, यो त पुनः उज्यालो हुनका लागि गर्भाधानको तयारी पनि हो । जीवनसँग निराश भएर आत्महत्या गर्ने सोचमा पुगेकी निलुमा आएको सकारात्मक परिवर्तन देखाएर कथाकारले जीवन सम्भावनाहरूको भण्डार हो भन्ने सन्देश दिन लिइएको विषयवस्तु प्रेरणादायी पनि छ ।

दोषी मन : यौनविना जीवन अर्थहीन छ । श्रीमान्ले यौनाङ्ग नै गुमाउनु परेपछि श्रीमतीले भोगेको पीडा र सल्यक्रियाका माध्यमबाट अरूको यौनाङ्ग प्रत्यारोपण गरेपछि श्रीमतीका मनमा उत्पन्न अन्तद्र्वन्द्वले कलात्मकता पाएको यस कथाले नारीमनको स्पन्दनलाई स्पर्श गरेको छ । कतिपय वैज्ञानिक उपलब्धिहरू र मान्छेका परम्परागत धारणाका बीच मेल नखाँदा भोग्न बाध्य हुनुपर्ने दुष्परिणामलाई कथाले विषयवस्तु बनाएको छ ।

सुसाइड नोट: यो कथा डा. मिराज र डा. निरूबीचको प्रेमकहानी त हुँदै हो, त्यसका अतिरिक्त सेतो कोट लगाएर काँधमा स्केथोस्कोप भिरेर हिँड्ने डाक्टरहरूलाई देखेर आम मानिसहरूले बनाउने विशेष धारणा र उनीहरूका वास्तविक भोगाइ बीचकोे अन्तरलाई चिरफार गर्ने उद्देश्यले त्यही अनुसारको विषयवस्तु लिइएको छ । कसरी एउटा चर्चित डाक्टर सुसाइड गर्न बाध्य हुन्छ अनि सुसाइड केशलाई किन ‘हार्ट अट्याक’ बनाइन्छ ? आदि जिज्ञासाको मार्मिक उद्घाटनसहित मेडिकल माफियाको एउटा पाटो उदाङ्गो पार्ने यस कथाले नेपालकै कतिपय अस्पतालहरूको नियतलाई नङ्ग्याउने प्रयास गरेको छ ।

शङ्कालु लोग्ने : नवजात शिशुको अनुहार हेरेर प्याट्ट बोलिदिने छिमेकीहरूका कारण उब्जेको शङ्काका कारण उत्पन्न तनाव समयमा व्यवस्थापन हुन नसक्ता श्रीमतीले भोग्नुपरेको मानसिक दवावलाई मुख्य विषयवस्तु बनाइएको यो कथा शिशुको डिएनएको परीक्षण गराएपछि मात्र पटाक्षेप भएको छ । अविश्वास नै वास्तवमा द्वन्द्वको मूल कारण हो । कथामा श्रीमतीको चरित्रमाथि विश्वास गर्न नसक्ताको मानसिक तनावलाई सुन्दर र मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

दोषी को ? : डाक्टर ज्वाइँ नक्कली सर्टिफिकेटका कारण प्रहरी नियन्त्रणमा पुगेपछि डाक्टर ज्वाइँले दिएको औषधिका कारण आफ्नो स्वास्थ्यमा केही गडबडी होला कि भनेर भयभीत ससुरो शङ्करप्रसादको मनोलोकको विश्लेषण गर्न केन्द्रित विषयवस्तुले शङ्करप्रसादले आफ्नै ज्वाइँको किड्नी मागेपछि कथाले उत्कर्षता प्राप्त गर्दछ । नक्कली सर्टिफिकेटको जालोको पर्दाफास गर्ने यो कथा नेपाली समाजको एउटा प्रतिनिधि कथा हो ।

उपचार : ५५ वर्षे रिक्साचालक शिवरामका माध्यमद्वारा वर्गीय समाजको विदीर्ण रूप देखाउने क्रममा सीमान्तकृत वर्गले सामान्य विमारी हुँदासमेत उपचार खर्च जुटाउन नसकेर परिवारको बाँच्ने आधारका रूपमा रहेको रिक्सासमेत बेच्नुपर्ने अवस्था देखाएर कथाकारले सामाजिक व्यङ्ग्य गरेका छन् ।

गर्भको रहस्य: समाजको एउटा कुरूप पक्षको चित्रण गर्ने क्रममा नेपाली समाजमा पछिल्लो समय देखिएको विकृतिलाई कथाकारले यस कथाका माध्यमबाट शब्दचित्रमा उतार्ने प्रयास गरेका छन् । कथामा घरेलु हिंसा तथा उत्पीडनलाई अन्यत्र मोड्ने प्रयास गरिएको भए पनि मेनुकाले आत्महत्या गर्नुको कारण र उसको गर्भको रहस्य खुल्दा सबैलाई स्तब्ध बनाउँछ । यो नेपाली समाजमा मौलाउँदै गएको एउटा कारूणिक कथा हो ।

इन्गेजमेन्ट : इन्गेजमेन्ट भइसकेर बिहेको तयारीमा जुटेकी केटीलाई केटाले भेटेर अब उनीहरूबीच बिहे हुन नसक्ने, ऊ आफ्नै अफिसकी बोससँग प्रेममा परेको र उनीहरूबीच छिट्टै बिहे हुन लागेको जानकारी गराउँदा इन्गेजमेन्ट भइसकेकी युवतीमा उब्जेका छटपटीलाई विषयवस्तु बनाइएको विवेच्य कथामा खास प्रकारको रोगलाई कारकका रूपमा प्रस्तुत गर्दा पाठकलाई यथार्थ पत्याउनै गाह्रो हुन्छ ।

भेन्टिलेटर जिन्दगी : मेडिकल माफियाको चक्रव्युहमा कसरी सर्वसाधारण मान्छेहरूलाई फसाइन्छ भन्ने कुरालाई मुख्य विषयवस्तु बनाइएको यस कथामा कथाकारले अस्पतालहरूले मरिसकेको मान्छेलाई पनि भ्यान्टिलेटरमा राखेर कसरी पैसा लुटिरहेछन् भन्ने सन्दर्भलाई कलात्मकता प्रदान गरेका छन् । एउटी नर्सको भोगाइमा आधारित भएर गतिशील यस कथाले नेपालका निजी अस्पतालहरूको नियतिलाई उद्घाटन गरेको छ ।

बनावटी सौन्दर्य : कृत्रिमतामा रमाउँदै गरेको हाम्रो समाजको एउटा कुरूप चित्र हो बनावटी सौन्दर्य । अरूभन्दा राम्री देखिने होडबाजीमा आफ्नो स्तनमा सिलिकन भरेर आकर्षक बनाउने क्रममा विपरीत परिणाम् निस्किएपछि बिहेकै दिन देह त्याग गर्न बाध्य बनेकी पारुललाई यस वर्गकी प्रतिनिधि पात्र बनाइएको छ । कथालाई रोचक र सस्पेन्स् बनाउन मिलाइएको अन्य प्रपञ्चहरू पनि रोमाञ्चकारी नै छन् । हिन्दी धारावाहिक सिआइडी हेर्ने दर्शकहरूले यस कथामा त्यस धारावाहिकको स्वाद पनि पाउनसक्छन् ।

अतृप्त मुटु : ‘स्वास्नी राम्री भई भने पोइल जाली भन्ने डर, लोग्ने राम्रो भए सौता ल्याउला कि भन्न पीर’ भन्ने नेपाली भनाइ छ । विवेच्य कथाले यस भनाइलाई चरितार्थ गर्न खोजेको भए पनि मुख्य विषयवस्तु भने निक्कै भावुक र गम्भीर बनाउने खालको छ । चिकित्सा विज्ञानको प्रगतिले एउटाको मुटु अर्को व्यक्तिमा (शैलीको प्रेमीको मुटु आरोनमा) सजिलै प्रत्यारोपण गरिन्छ । शैली आफ्नो प्रेमी मरे पनि आफ्नो प्रेमीको मुटु लिएर बाँचिरहेको युवक आरोनलाई भेट्छे, घुम्छे र आफ्नो मरिसकेको प्रेमी आफ्नै नजिक भएको अनुभूत गर्छे । मुटुलाई प्रेमको स्रोत मान्ने हो भने जसको मुटु लिएर जो बाँचिरहेको हुन्छ, त्यस मान्छेमा प्रत्यारोपण गरिएको मुटुले केही प्रभाव पार्छ कि पार्दैन होला त ? सम्भवतः यो अझ सूक्ष्म शोधको विषय होला । तर यस्तो गहन विषयलाई आधार बनाएर रचना गरिएको यस कथामा भने शैलीले आरोनलाई पठाएको मेल पढ्दा पाठकचाहिँ करुण रसको नजिक पुगेर भावुक बन्छन् ।

यसरी सबै कथाहरू कुनै न कुनै रूपमा समाजिक यथार्थसँग नजिकिएका छन् भने स्वैरकल्पनाको प्रयोग न्यून रूपमा मात्र अनुभव गर्न सकिन्छ । दृश्यात्मक गतिपद्दति र सङ्क्षेप गतिपद्दतिलाई विवेकपूर्ण ढङ्गले प्रयोग गरिएको छ । कथावस्तु गतिशील बन्दै जाँदा प्रत्येक कथाहरू स्वास्थ्य विज्ञानसँग ठोकिन पुग्छन्; यो यस सङ्ग्रहको उल्लेखनीय पक्ष पनि हो ।

अन्य पक्ष :
अपवादलाई छोडेर कथाका सबै पात्रहरू पढेलेखेका र सम्भ्रान्त परिवारसँग सम्बन्धित छन् । कथाकारले दिएको भूमिकामा सबै पात्रहरू खरो रूपमा उत्रिएका छन् र जीवन्त देखिएका छन् । एक-दुई कथालाई छाडेर सबै पात्रहरू नेपाली समाजबाटै लिइएका छन् । उनीहरूले गर्ने कार्यव्यापार पनि उनीहरूलाई सुम्पिएको भूमिका र स्तरअनुसार स्वाभाविक नै देखिन्छ ।

एक्काईसवटै कथाको साझा सन्दर्भ भनेको सबै कथाहरू स्वास्थ्य विज्ञानसँग सम्बन्धित हुनु हो । सम्भवतः नेपाली साहित्यमा यो एउटा नौलो प्रयोग पनि हो । अधिकांश कथाका प्रमुख पात्रहरू नै डाक्टर, नर्स वा स्वास्थ्यकर्मी छन् भने कतिपय कथाका पात्रहरू स्वास्थ्यकर्मी वा स्वास्थ्य सेवासँग जोडिन पुग्छन् । नेपालका अस्पताल वा क्लिनिकहरूको अवस्था र परिवेशको चित्रण जीवन्त रूपमा गरिएको छ ।

सरल र सरस भाषाशैलीमा प्रस्तुतीकरणको आकर्षण यस सङ्ग्रहको अर्को उल्लेखनीय पक्ष हो । क्लिष्ट साहित्यमात्र विशिष्ट बन्छ भन्नेहरूका लागि यो कृति एउटा चुनौती हो । कतै कतै पत्रकारिताको भाषा प्रयोग भए पनि आख्यान बरालिएको छैन । मझौला आयमका कथाहरू, मझौलै खालका वाक्यहरू, खँदिलो, परिस्कृत र अनुभवले खारिएको भाषाशैली तथा सूत्रात्मक अभिव्यक्तिले आख्यानलाई पठनीय मात्र बनाएको छैन, संवेदनशील पनि बनाएको छ । स्वाभाविक रूपमा आएका आगन्तुक शब्दहरू (सुसाइट नोट, मर्फिन क्लब, काउन्सिलिङ जस्ता) बाहेक तत्सम, तद्भव र ठेट नेपाली शब्दहरूको प्रयोग भएको छ । कतिपय कथाहरूमा प्रतीक र बिम्बको प्रयोग अत्यन्त सचेत रूपमा गरिएको छ ।

मर्फिन एउटा औषधिविशेषको नाम हो । योे औषधि विमारीको असैह्य पीडा कम गर्न दिइन्छ । कथासङ्ग्रहमा सङ्गृहीत नवौं कथा समानुभूतिमा मर्फिन क्लबको प्रसङ्ग उल्लेख छ । कथाका पात्रहरू उक्त क्लबमा रमाइलो गर्न, कुराहरू÷विचारहरू विनिमय गर्न र आनन्दानुभूतिको अनुभव गर्दै व्यवहारिक पीडा कम गर्न जाने गर्दछन् । साहित्यले पनि मर्फिनले जस्तै मनको विरेचन गर्ने काम गर्दछ । त्यस अर्थमा साङ्केतिक रूपमा कथासङ्ग्रहको नामलाई सार्थक मान्न सकिन्छ । बरू पत्रकारिताको प्रत्यक्ष प्रभाव भने कथा शीर्षकको चयनमा परेको अनुभव हुन्छ । उदारहणका रूपमा तीतो प्रेम मीठो माया, समानुभूति, भेण्टिलेटर जिन्दगी, उपचार, बनावटी सौन्दर्य आदिलाई लिन सकिन्छ ।

कथाले दिने सन्देश त्यसको उद्देश्य हो । उद्देश्यका हिसाबले पनि सबै कथाहरू सन्देशमूलक लाग्दछन् । विशेषतः स्वास्थ्य संस्थाभित्रका संगति, विङ्गति र बेथितिहरू केलाउँदै ती संस्थाहरूसँग प्रत्यक्ष वा रूपमा जोडिएका डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा संचालकहरूको नियत, पीडा, भोगाइ र भत्कोसहरूको पर्दाफास गर्नु नै अधिकारीका कथाहरूको उद्देश्य देखिन्छ । आम मानिसहरूले डाक्टरहरूलाई समाजका सम्मानित पात्रका रूपमा र उनीहरूको पेशालाई आदर्शका रूपमा हेरेका हुन्छन् तर मर्फिनभित्रका कथाहरूले त्यो भ्रम हटाइदिएका छन् । सम्भवतः मान्छे जस्तो देखिन्छ, त्यस्तो हुँदैन र जस्तो हुन्छ, त्यस्तो देखिँदैन भन्ने मनोविज्ञानको एउटा मान्यतालाई कथाकार अधिकारीले कथासाहित्यका माध्यमद्वारा अभिव्यक्ति दिने प्रयास गरेका हुन् । यदि त्यसै हो भने पनि उनी सफल देखिन्छन् । यथार्थ र कला (कल्पना) को सन्तुलित सम्मिश्रणबाट मर्फिनका कथाहरू जीवन्त बनेका छन् । कथाहरू आस्वादन गर्दै जाँदा सबै कथाहरूले पाठकको मनलाई मात्र होइन, मस्तिष्कलाई पनि प्रभावित बनाउँछन् ।
पुस्तकको नाम : मर्फिन
कथाकार : लक्ष्मण अधिकारी
विधा : कथा
प्रकाशक : मञ्जरी पब्लिकेसन
पृष्ठ संख्या : १०+२१०
मूल्य : रु ३५०/–

 

सम्बन्धित समाचार