प्रत्येक मान्छेको आफ्नै कथा ‘मर्फिन’

२०७७ सालमा प्रकाशित भएका कृतिहरूमा कथाकार लक्ष्मण अधिकारीको पहिलो कथा सङ्ग्रह मर्फिन बजारमा आएको छ र आउनासाथ यसले राम्रो चर्चा पनि पाएको छ । चर्चायोग्य पुस्तक भएकैले पुस्तक पढ्ने पाठक समीक्षकहरूले यसको राम्रो प्रशंसा गरेका छन् । एक्काईसवटा कथाहरू सङ्गृहीत मर्फिन मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो ।

लेखकको पहिलो कृतिभन्दा हामीलाई सामान्यतः सिक्दै गरेका कथाहरू होलान् भन्ने लाग्नसक्छ । तर मर्फिनका कथाहरू कुनै सिद्धहस्त कथाकारले लेखेका कथाहरूभन्दा कम उम्दा छैनन् । खारिएका, स्तरीय, रोचक र कुतूहलहरूले भरिएका कथाहरूको सङ्ग्रह हो मर्फिन ।



कथासङ्ग्रह भन्नासाथ हाम्रो मनमष्तिष्कमा एउटा चित्र बन्छ, सामाजिक विषयवस्तुहरू, यौन, प्रेम, राजनीति, गरिबी, संघर्षलगायतका विविध विषयहरू मिश्रित कथाहरूको सङ्ग्रह । मर्फिनको कुरा अलि बेग्लै छ । यो त्यसरी समाजका विविध विषयहरू समेटेर लेखिने परम्परागत कथासङ्ग्रहभन्दा भिन्न विशेषताहरू बोकेर आएको छ । सबै कथाहरू एउटै विषयमा केन्द्रित छन्, ‘स्वास्थ्य ।’

एउटा मात्र विषयका कथाहरू समेटिएको सिङ्गै कृति प्रकाशन भएको नेपाली साहित्यमा निकै कम छ । अपराध कथा, यौन कथा भनेर फाट्टफुट्ट कृति निस्किएका छन् । डा. रवीन्द्र समीरको ‘ईश्वरका कथा’ त्यस्तै एउटा नौलो लघुकथासङ्ग्रह छ । र, यो एउटा त्यस्तै नौलो कृति कथा साहित्यको भण्डारमा थपिएको छ ।

सबै एक्काईस कथा सन्तानहरू एउटै आमाको गर्भबाट जन्मिएका छन् । एउटै आमाको गर्भबाट जन्मिएका छोराछोरीका फरकफरक विशेषता भएजस्तै प्रत्येक कथाका विशेषता, चरित्र भने फरकफरक छन् । एउटै परिवारका दाजुभाइ दिदीबहिनी हुन् तर बेग्लाबेग्लै अनुहारका, बेग्लाबेग्लै क्षमता र गुण भएका । प्रत्येक कथाका कथानक बिल्कुल भिनभिन्न । कथाका घटना र चरित्रहरू भिन्न छन् । अझ भनौँ न, एक्काईस रोपनी जमिनका प्रत्येक रोपनीमा फरकफरक एक्काईसथरिका फसल लगाए जस्तै । फरक फरक उपयोगिता र स्वादका उत्पादनहरू जस्तै ।
स्वास्थ्य क्षेत्रका अनेकौँ घटना, परिघटनाहरू यस सङ्ग्रहमा सङ्कलित छन् । कथाहरू डाक्टर, नर्स, अस्पताल, विरामी र स्वास्थ्यसँग साइनो गाँसिएका विभिन्न विषयहरू वरिपरिे परिक्रमा गरिरहन्छन् । ती क्षेत्रभित्रका प्रेम, वियोग, मनोविज्ञान, विकृति, विसङ्गति, कमजोरी, शंका, रहस्य, भ्रम, यथार्थ, नैतिकता, अनैतिकता, सेवा, पाखण्ड आदि अनेक गुण अवगुण र विशेषताहरूलाई कथाहरूले रोचक शैलीमा उजागर गरेका छन् । स्वास्थ्य विज्ञानका उपलब्धि, आविस्कार र यसको भविष्यको लेखाजोखा पनि कथाहरूले गरेका छन् ।

मर्फिनभित्र कुनै पेसा–व्यवसायमा रातदिन व्यस्त रहेका बाबुआमाले छोराछोरीलाई समय दिन नसक्दा छोराछोरीमा परेको दुष्प्रभावको कथा छ । डाक्टरी पेसा यसै पनि व्यस्त हुने पेसा, त्यसमा पनि बाबुआमा दुवै त्यही पेसामा हुनु र बच्चाले बाबुआमाको अनुहार पनि राम्ररी देख्न नपाउनुको परिणाम के हुन्छ ? मर्फिनभित्रका कथा पढ्नुपर्छ थाहा पाइन्छ । मान्छेलाई वनको बाघभन्दा मनको बाघले कसरी खाएर सिध्याउँछ, मर्फिनका कथा पढेपछि त्यो छर्लङग थाहा पाइन्छ । विकृति जहाँसुकै छ, अस्पतालमा छ, औषधी बेच्ने ठाउँमा छ, औषधी बनाउने ठाउँमा छ, बिरामीमा छ, बिरामीका आफन्तहरूमा छ, नीति बनाउनेहरूमा छ, नीति लागु गर्नेहरूमा छ, अनुगमन गर्नेहरूमा छ र मानिसहरूले भगवान ठान्ने डाक्टरहरूमा पनि छ । यो यथार्थलाई पनि मर्फिनका कथाहरूले बताउँछन् । पैसाका लागि मान्छेले आफ्नै पत्नीको किड्नी बेचेको कथा यहाँ छ । किड्नीका के कुरा, पैसाका लागि आफ्नै छोरी बेच्ने हाम्रो समाजमा चिकित्सा क्षेत्रका विकृतिको वयान गरेर साध्य छैन । माफियाले चलाएका अस्पतालहरू छन् । डाक्टरको नक्कली प्रमणपत्र बेच्ने कारखानाहरू छन् । यी पङ्तिहरू लेखिँदै गर्दा मुलुकका विभिन्न स्थानबाट दर्जन लगभग नक्कली डाक्टरहरू पक्राउ परेका छन् । कति त्यस्ता डाक्टरहरू अहिले पनि बिरामीहरूका मुटु कलेजाहरूमा कैँची चलाइरहेका होलान् ।

स्वस्थ्यजस्तो संवदनशील क्षेत्रमा कति लापरबाही र विकृतिहरू छन्, तिनको पर्दाफास गरिएको छ मर्फिनमा । यौन पिपासु बाबुले आफ्नै छोरीको बलात्कार गरेका समाजका सत्य घटनालाई कथाको कलेबरमा प्रस्तुत गरिएको छ । पेसा–व्यवसायीबाटै हुने यौन शोषण र उत्पीडनका कथा, अङ्ग चोरीका कथा, अङ्ग प्रत्यारोपणका कथा, डाक्टरको भगवान स्वरूप र डाक्टरको राक्षसस्वरूपका कथा । यस्ता धेरै विषयहरू यस सङ्ग्रहभित्र छन् । चिकित्सा विज्ञानले विकास गरिसकेका मात्र होइन, भविष्यमा विकास हुने सम्भावनाका कथा पनि छन् । ती पढ्दा कल्पना जस्तो लाग्दैन, अवश्यम्भावी लाग्छन् । विज्ञानको विकासक्रमको अध्ययन गरेर कथाकारले ती कल्पना गरेका छन् । कथाकारले स्वास्थ्य जगत्का दुर्वल पक्ष मात्र नभई सबल पक्षहरूलाई पनि उत्तिकै महत्वका साथ प्रस्तुत गरेका छन् ।

सामान्यतः हामीले पढ्ने गरेका कथाहरूले कुनै न कुनै वर्ग, क्षेत्र, लिङ्ग, उमेर, विषय, घटना, पेसाहरूको प्रतिनिधित्व गरेका हुन्छन् । त्यस्ता कथाहरूले तत्तत् क्षेत्रमा सम्वन्धित पाठकलाई छुन्छन् । तिनीहरूका लागि ती कथाहरू रूचिका विषय हुन्छन् । तर मान्छे आमाको गर्भमा आएका दिनदेखि जन्मेर, बढेर मृत्युको मुखसम्मै पुगुन्जेल निरन्तर मान्छेका साथमा रहने स्वास्थ्य विषयका मात्रै समेटेर लेखिएको यो कृति सम्पूर्ण मानवमात्रका लागि उपयोगी छन् । यी कथा संसारभरिका हरेक मान्छेसँग जोडिएका कथा हुन् । रोग, औषधी, डाक्टर, नर्स, अस्पताल । यसको सेरोफेरोमा नपुग्ने मान्छे को होला र ! त्यसैले भन्न सकिन्छ ‘मर्फिन’ प्रत्येक मान्छेको आफ्नै कथा हो ।

समीक्षक लक्ष्मण गाम्नागे

हाम्रै वरिपरिका साधारण र कतिपय असाधारण विषयहरू समेटेर कथाकार अधिकारीले रोचक कथाहरू सिर्जना गरेका छन् । कथाहरू यथार्थ घटनाहरूमा आधारित भएको अनुभूति हुन्छ । हामीले दैनन्दिन सुन्दै भौग्दै आएका अनेक घटनाहरूलाई मर्फिनमा कथाको रूप दिइएको छ । कथा यति रोचक ढङ्गले प्रस्तुत गरिएको छ, पढ्न थालेपछि छाड्न मन लाग्दैन । कथा शुरू गर्ना साथ ‘ओहो अब के होला’, ‘अब के होला’ भन्ने जिज्ञासाले पाठकलाई बेस्सरी अँठ्याउँछ । कतिपय कथाको अन्त्य अकल्पनीय ढङ्गबाट भएका छन् । कतिपय कथाहरूमा काल्पनिकता र कतिमा अलि बढी नाटकीयता पनि पाइन्छ । केही कथाहरू व्यङ्ग्यात्मक शैलीमा पनि आएका छन् । समग्रमा कथाहरू पठनीय छन् ।

कथाहरूले समस्या मात्रै उछालेर पाठकलाई रणभुल्लमा पार्दैनन् । समस्या समाधानका अनेकौँ विधि र उपायहरू पनि बताउँछन् । स्वस्थ्य मानिसलाई स्वस्थ्य रहिरहन र रोगी मानिसलाई रोगसँग लड्न पे्ररित गर्छन्, रोगीहरूको मनोबल बढाउँछन् । स्वास्थ्यजगत्का विकृति, विसङ्गति, अनैतिकता र बदमासीहरूको पर्दाफास गरेर हामीलाई सचेत पनि बनाउँछन् । त्यसैले यी कथा प्रत्येक बिरामीले, सम्भावित बिरामीले, प्रत्येक स्वास्थ्यकर्मीले, प्रत्येक स्वास्थ्य व्यवसायीले र आम सर्वसाधारणले पनि पढ्नैपर्ने खालका छन् । अर्थात् हामी प्रत्येकले यी कथा पढ्नैपर्छ । अझ यी कथाहरूलाई अन्य भाषामा अनुवाद गरेर देशविदेशका पाठकमाझ पनि पुर्याउन सके कति राम्रो हुन्थ्यो । यसतर्फ लेखकको ध्यान जाला भन्ने अपेक्षा गरिन्छ ।

मर्फिनका कथाहरू कोठामा बसेर कल्पना गरेर लेखिएका होइनन् । लामो समय स्वास्थ्य क्षेत्रकै अनुसन्धानमूलक पत्रकारितामा बिताएका कथाकारले गहिरो अनुसन्धान गरेर नजिकबाट देखेका, भोगेका, तथ्य प्रमाणहरूसहित लेखिएका कथा हुन् । लेखकले पत्रकारिता पेसामै पनि स्वास्थ्य क्षेत्रका विकृतिहरूको भण्डाफोर गरेर पटकपटक सनसनी सिर्जना गरेका हुन् । उनका कति समाचारले राष्ट्रिय तरङ्गहरू सिर्जना गरेका हुन् । त्यसैले पनि पहिलो कृति भनिए पनि मर्फिन स्थापित कथाकारहरूका राम्रा कथाहरूसँग पौंठेजोरी खेल्न सक्षम छन् । पौँंठेजोरी किन खेल्नु छ र, काँधमा काँध मिलाउन सक्षम छन् । आगामी दिनमा अझै तिखारिएर आऊन् लक्ष्मणजीका कथा; शुभकामना !

सम्बन्धित समाचार