प्रकाश पौड्याल
काठमाडौं, २ जेठ ।
खड्गप्रसाद ओली अर्थात् केपी शर्मा ओलीले नेपालको ४२औं प्रधानमन्त्रीका रूपमा शुक्रबार सपथ लिएका छन् र उनी तीनपल्ट प्रधानमन्त्री हुन पाउन थोरै भाग्यमानी नेपालीहरूमध्ये पनि परेका छन् । तर नेपाली जनताले उनलाई तीनपल्ट प्रधानमन्त्री हुने व्यक्तिको रूपमा होइन, देशमा ऐतिहासिक काम गर्न सफल, साहसिक, भविष्यद्रष्टा तथा विकासप्रेमी प्रधानमन्त्रीका रूपमा स्मरण गर्न चाहेका छन् । प्रधानमन्त्रीका रूपमा ओलीलाई आफूलाई प्रमाणित गर्ने एक सुवर्ण अवसर पनि पुनः प्राप्त भएको छ ।
अरूलाई कटाक्ष गरेकै भरमा र टुक्काबाजी गरेकै भरमा देशमा समृद्धि आउँदैन भन्ने कुरा ओलीले पनि राम्ररी नै बुझेको हुनुपर्छ । नत्र यो तीन वर्षमा उनले के के गरिसक्थे । न कसैले हावादारी प्रशंसा गरेकै भरमा देश समृद्धशाली बन्छ । देशलाई समृद्ध बनाउन त विशिष्ट योजना, योजनाअनुसारको कार्यक्रम, आर्थिक स्रोत, दक्ष र इमानदार जनशक्ति, निदाउन नदिने सपना र त्यो सपना पूरा गर्ने दृढ इच्छाशक्ति आदिको आवश्यकता पर्छ । योजनाअनुसारको टिम भएन भने भनेर-बोलेर मात्र केही हुँदैन । खसीले दाइँ हुँदैन भनेर त्यसै भनिएको होइन ।
देशमा अहिले अनेकन समस्याहरू छन् । सबैलाई थाहा छ, ती सबै समस्याहरू जादूको लौरो घुमाएजसरी सजिलै समाधान पनि हुँदैनन् तर ती समस्याहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गरिनुपर्छ । आज कोरोनाको कहरबाट मुलुक आक्रान्त बनेको छ । नागरिकहरूको अकालमा नै ज्यान गइरहेको छ । त्यसैले अहिलेको सर्वाधिक चासो, चिन्ता र प्राथमिकता भनेको कोरोनाको प्रकोपबाट देश र जनतालाई बचाउनु हो । त्यसका लागि राज्यको सम्पूर्ण सामथ्र्य लगाएर भए पनि आफ्ना नागरिकलाई अकालमा मर्नबाट बचाउनु प्रधानमन्त्रीको तत्कालको दायित्व हो । अक्सिजनको अभावमा अकालमै मृत्युवरण गर्नबाट आफ्ना नागरिकलाई बचाउन प्रधानमन्त्रीबाट देशले दृढ अठोट र अठोटअनुसारको योजना चाहेको छ ।
प्रधानमन्त्रीका रूपमा ओलीले सच्याउनुपर्ने एउटा व्यवहार भनेको अरूका पनि कुरा सुन्ने धर्यताको विकास गर्नु हो । अहिलेसम्म जो–जसका कुरा सुनेर प्रधानमन्त्री गतिशील हुनुभयो; कहाँ पुग्नु भयो त ? आफ्नै प्रतिबद्धता अनुसारका काम पनि गर्न सक्नुभएन । ‘राष्ट्रपिता’ हुने अवसर गुमाएर केही स्वार्थी व्यक्तिहरूको ‘बा’ मा सीमित हुन पुग्नुभयो । राज्य ढुकुटीको दुरुपयोग गरेर चोक गल्लीमा फोटो टाँस्नुभयो तर राम्रो र ऐतिहासिक काम गरेर जनजनको हृदयमा फोटो सजाउने अवसरबाट चुक्नु भयो । अब तपाई आफैं भन्नोस् प्रधानमन्त्रीज्यू, इतिहासले तपाईलाई कसरी र किन सम्झने ?
मिडियाहरू, बुद्धिजीवीहरू, नागरिक समाजका अगुवाहरू तपाईका दुस्मन होइनन् र तपाईको कुर्सीका प्रतिस्पर्धी पनि होइनन् । उनीहरूले बोलेका कुराबाट तपाई किन विचलित भएर आफ्नो पदीय गरिमा नै बिर्सेर तथानाम भन्नुहुन्छ ? ती तिनै व्यक्तिहरू होइनन्, जसले तपाईले दोस्रो कार्यकालको बागडोर सम्हाल्दै गर्दा तपाईका पक्षमा खुलेर प्रशंसा गरेका थिए र सुन्दर नेपालको सपना देखेका थिए ? ती तिनै मिडियाहरू होइनन्, जसले तपाईबाट देशले अब विकासको खाका र नयाँ बिहानी पाउने छ भन्दै ब्यानर न्युज र सम्पादकीय लेखेका थिए ? तिनेै जनता थिएनन् जसले तपाई प्रधानमन्त्री नियुक्त भएको साँझ दीपावली गरेका थिए ? तिनीहरूलाई निराश पार्ने काम तपाईबाटै भएको होइन र ? उनीहरूले तपाईका आँखाबाट देखेको सपनालाई मेटाउने काम तपाई आफैंबाटै भएको होइन र ?
माया गर्नेले गाली पनि गर्छ । जोबाट अलिक बढी आशा गरिएको हुन्छ, त्यसबाट आशा गरिएअनुसारको व्यवहार नहुँदा दुःख लाग्नु स्वाभाविकै पनि हो । आफ्नै विश्वासमा चोट लाग्दा निस्केका पीडायुक्त स्वरहरूमा कहीँ कतै व्याकरण मिलेन पनि होला तर त्यसको अर्थ प्रधानमन्त्रीले गरेका राम्रो कामको विरोध गरे भनेर बुझ्नु बुझाइकै कमजोरी होइन र ? अरू प्रम हुँदा गर्न नसकेको र तपाईको सामथ्र्यले मात्र गरेर देखाएको काम नै के थियो र तपाईको जय गान नै गर्नलाई ? तपाई त आत्मप्रशंसामा नै रमाउनु भयो र मुलुकको संविधान र पार्टीको विधानलाई लत्याउँदै आफूलाई सर्वेसर्वा ठान्नुभयो । के लोकतन्त्रमा यस्तै हुन्छ ? भोलि अर्को व्यक्ति त्यस पदमा पुगेर अराजक भयो भने तपाई गाली गर्नुहुन्छ कि स्याबासी दिनुहुन्छ ? भोलिका लागि अलिकति पनि ठाउँ नराख्ने प्रधानमन्त्रीज्यू ?
तेस्रो कार्यकालको सपथ लिइरहँदा पनि तपाईले अर्को नाटक गरेर लोक हँसाउनुभयो । सम्माननीय राष्ट्रपतिले उच्चारण गरेको वाक्यांश ‘त्यो पर्दैन’ भनेर तपाईले बहादुरी देखाउनु भयो कि कायरता प्रदर्शन गर्नुभयो ? यसले विधि र पद्धति स्थापित हुन्छ कि विधि र पद्धतिको उपहास हुन्छ ? अरूलाई सधैं नैतिकताको पाठ सिकाउनेले आफैं त्यो धरातल बिर्सन मिल्छ ? आफैंले टेकेको रूखको हाँगाको फेदतिर काट्ने सबै व्यक्ति कालीदास हुन सक्तैनन् । यस घटनाले तपाईको कद उठाउने छैन र समय सधैं तपाईकै पक्षमा नरहन पनि सक्छ ।
प्रधानमन्त्रीज्यू, तपाईमाथि थुप्रै गम्भीर आरोपहरू पनि छन् । राष्ट्रियताको विषयदेखि लिएर अन्य जिउँदा–जाग्दा सवालहरू पनि उठेका छन् । तपाईले प्रचण्ड–नेपाललाई र प्रचण्ड–नेपालहरूले तपाईलाई लगाएका सङ्गिन आरोपहरू पनि विभिन्न सञ्चारमाध्यमहरू र सामाजिक सञ्जालहरूमा छताछुल्ल भएकै हुन् । कति आरोपलाई इतिहासले मूल्याङ्कन गर्ला कति आरोपहरूलाई जनताले । तर ती तपाईलाई लगाइएका सबै आरोपहरू मिथ्या थिए भनेर प्रमाणित गर्ने अवसर तपाईले पाउनुभएको छ । ‘सबै ठीक छ, सरकार !’ भन्दै राजाको स्तुतिगान गर्नेहरूका कारण पञ्चायती व्यवस्था ढल्यो । चाकडीको भाषा बोल्नेहरूको झुण्डबाट बाहिर निस्केर मुलुकको हितलाई ध्यानमा राखेर साहसिक निर्णय गर्नुहोस्, एउटै महान् कार्यले तपाईका थुप्रै सानामसिना दोषहरूलाई मेटाइदिन सक्नेछ ।
तपाई एउटा राजनैतिक व्यक्ति हो । तपाईको निष्ठामाथि प्रश्न उठाएको होइन तर व्यवहारले आदर्शलाई पुष्टि गर्न सकेन । राजनैतिक व्यक्तित्वको स्मरण त उसले देश, समाज र जनताका लागि गरेको त्याग, बलिदान र योगदानका कारणले मात्र गरिने हो । इतिहासले पनि गुणहरूकै वर्णन गर्ने हो । तपाईका दुबै कार्यकाल विवाद मुक्त हुन सकेनन् र तेस्रो कार्यकालमा पनि सपथ ग्रहण कार्यक्रमबाटै विवादित हुनुभयो । यो नहुनु पथ्र्यो । भविष्यले पनि यस शैलीको जवाफ मागिरहने छ ।
प्रधानमन्त्रीज्यू, एउटा सानो स्वार्थ समूहकोे वृत्तमा रहेर रमाउने तपाईको प्रवृत्तिको अब क्रम भङ्ग गरिदिनुहोस् । देशभित्र र बाहिर रहेका सबै नेपालीहरू तपाईकै शुभचिन्तक हुन् । तपाईबाट देशले अझै धेरै कुराको अपेक्षा गरेको छ । आफ्नोे सामथ्र्यलाई देश र जनताको हित रक्षा र कोरोनाबाट नागरिकको जीवन रक्षाका लागि उपयोग गर्नुहोस् । अझै पनि आफ्नो अमूल्य समयलाई अरूलाई कटाक्ष गर्न र भजनमण्डलीको स्तुति गान सुन्नमा नै बिताउनु भयो भने देशले अपूरणीय क्षति व्यहार्नुुपर्ने हुन सक्छ । कुर्सी प्राप्त गर्न तपाईले देखाएको चतु¥याइँ त्यस कुर्सीको गरिमा बढाउनमा पनि प्रयोग भएको देखियोस् । हरेक व्यक्तिलाई जीवनमा एकपल्ट आफूलाई ‘महान्’ बनाउने अवसर प्राप्त हुन्छ तर त्यो अवसर बारम्बार दोहोरिएर आउँदैन । प्रधानमन्त्रीज्यूबाट आम नेपालीले त्यही अपेक्षा गरेका छन् ।
हिजोका कमीकमजोरीलाई सच्याउँदै जनजनको मुखबाट ‘ओली वास्तवमा राजनेता नै हुन्’ भन्ने भनाउन सफल हुनुहोस्; प्रधानमन्त्रीज्यू, तेस्रो कार्यकालको शुभकामना !