एलपी पौड्याल
काठमाडौं, ९ असार ।
बाल्यकाल तथा सङ्घर्षको कथा :
हिटलरको पूरा नाम एडोल्फ डिटलर हो । यिनको जन्म २० अप्रिल १८८९ मा जर्मनीको सीमानजिक पर्ने अस्ट्रिया–हङ्गेरी साम्राज्यअन्तर्गत्को एउटा सानो गाउँ ब्रुनो एम इनमा भएको थियो । यिनका बाबुको नाम एलोइस हिटलर र आमाको नाम क्लारा पोल्जल थियो । यिनका बाबु अस्ट्रियाका अनुशासित कर्मचारी थिए र यिनी आफ्नो छारो पनि त्यस्तै अनुशासित सरकारी कर्मचारी बनोस् भन्ने चाहन्थे । अतः एलोइस आफ्नो छोरालाई अनुशासनमा राख्ने बहानामा खुब पिट्ने गर्थे । हिटलर स्वयम् भने सानामा चर्चको पादरी वा आर्टिष्ट बन्ने चाहना राख्दथे । हिटलरकी आमा भने नरम स्वभावकी थिइन् र हिटलरलाई असाध्य माया गर्थिन । त्यही भएर होला, हिटलर जहाँ गए पनि आमाको तस्वीर सँगै लिएर हिँड्ने गर्थे र मर्ने बेलासम्म पनि आमाको फोटो उनको साथमा थियो भन्ने गरिन्छ ।
हिटलरको शिक्षा आरम्भ अस्ट्रियाको लिन्जबाट भएको थियो । यो एउटा धार्मिक स्कुल थियो । हिटलरमा सानैदेखि धार्मिक प्रवृत्ति देखिन्थ्यो । गीत गाउन र विभिन्न कार्यक्रमहरूमा भाग लिन यिनको रुचि थियो । आर्थिक कारणले सम्भावनाको खोजी गर्दै धेरै ठाउँमा सर्ने क्रममा उनले धेरैवटा स्कुलमा पढ्नुपर्ने अवस्था आयो । उनी पढाइमा जेहेन्दार थिए र आफूभन्दा ठूलाहरूबाट प्रशंसित हुन्थे । उनी भाइसँग मिल्थे र विभिन्न खेल खेल्ने गर्थे । तर भाइको आकस्मिक रूपमा भएको निधनले उनलाई गहिरो चोट पुर्यायो । केही समयपछि आफ्ना बाबुको मृत्यु भयो, तत्पश्चात् हिटलर भियाना गए । उनी आर्ट (पेन्टिङ) पढ्न चाहन्थे तर पटक पटकको प्रयास गर्दा पनि उनले एकेडेमी स्कुल अफ पेन्टिङमा भर्ना पाउन सकेनन् । यस घटनाले उनलाई खिन्न बनायो ।
भाइ र बुबा गुमाएका हिटलरले केही समयपछि दयालु आमा पनि गुमाउन पुग्छन् । ब्रेष्ट क्यान्सरका कारण आमाको पनि निधन भएपछि उनी विक्षिप्तजस्तै बन्छन् । उनी यत्रतत्र भौंतारिन थाल्छन् । उनका बाबाले दिएको सम्पत्ति क्रमशः सकिँदै जान्छ । आय आर्जनको अर्को माध्यम नभएपछि उनी सडकछापजस्तै बन्न पुग्छन् । सङ्कटको बेला भीख मागेर जीवन धान्नुपर्ने अवस्था पनि आउँछ । खाने र बस्नेको ठेगान रहँदैन । पेन्टिङ बेचेर भए पनि जीवन–यात्रा अगाडि बढाउँदै जान्छन् तैपनि उनी निराश हुँदैनन् र परिस्थिति जस्तो आए पनि सङ्घर्ष गर्न छोड्दैनन् । सन् १९०९ को डिसेम्बरमहिनातिर उनको अवस्था थप नाजुक बन्छ र केही समय उनी यहुदीहरूले सञ्चालन गरेको आश्रममा शरण लिएर बस्छन् । यसै समयदेखि हिटलरमा यहुदीविरोधी भावनाको विकास भयो भनिन्छ ।
प्रथम विश्वयुद्धमा सहभागी :
२८ जुलाई १९१४ देखि ११ नोभम्बर १९१९ सम्म प्रथम विश्वयुद्ध भएको थियो । प्रथम विश्वयुद्धमा हिटलर जर्मनी सेनामा स्वयमसेवीका रूपमा भर्ना भएका हुन्छन् । उनले सैनिक तालिम लिएका थिएनन् । उनी छिटो दौडन सक्थे, त्यसैले उनलाई सेनाभित्र सन्देशबाहकको भूमिका दिइयो । उनी एक क्याम्पको सन्देश शीघ्र दौडेर अर्को क्याम्पसम्म पुर्याउँथे । यसैक्रममा उनलाई गोली पनि लाग्यो तर ठूलो नोक्सानी हुन पाएन । उनको वीरता देखेर जर्मन सरकारले उनलाई उनलाई आइरन क्रसको सम्मान पनि दिइयो । जर्मनीमा आइरन क्रसको सम्मान पाउनु ठूलो कुरा हुन्थ्यो । यसले उनको परिचयलाई फराकिलो बनाउन ठूलो मद्दत गर्यो ।
प्रथम विश्वयुद्ध जारी थियो । सन् १९१८ अगष्टमा विशालु ग्यासको विस्फोटनमा परी हिटलरले केही समय आफ्नो आँखाको ज्योति गुमाउन पुग्छन् । उनी अस्पतालमा नै रहेको बेला जर्मनले विश्वयुद्ध हार्छ र जर्मनी सेना आत्मसमर्पण गर्न पुग्छन् । जर्मनीको हारसँगै प्रथम विश्वयुद्धको त्रासदी पनि समाप्त हुन्छ ।
सन् १९१९ मा भर्साइलको सन्धि हुन्छ । यस सन्धिले पराजित जर्मनलाई संसारले नै युद्धको दोषी मानिन्छ र ठूलो मात्रामा क्षतिपूर्ति तिराउने निर्णय गरिन्छ । जर्मनले आफूले जितेको ठूलो भूभाग पनि गुमाउनु पर्छ । हिटलरले यस्तो दयनीय अवस्थाबाट गुज्रिरहेको जर्मनीको संवेगसँग खेल्ने मौका पाउँछन् । त्यसको फाइदा उठाउँदै हिटलरले हारको दोष जर्मनका अल्पसङ्ख्यक यहुदीलाई लगाउँछन् । यहुदीहरू अल्पसङ्ख्यक भए पनि राम्रो पदमा थिए । उनीहरू नै देशका सम्भ्रान्त वर्गमा पर्दथे । हिटलरलाई अल्पसङ्ख्यक यहुदीहरूले बहुसङ्ख्यक जर्मनीहरूलाई शासन गरिरहेको मन परेको थिएन । आम जर्मनेली जनताको आवाजलाई हिटलरले मुखरित गरिदिए ।
हिटलर कुशल वक्ता थिए । उनको यस विशेषताले उनलाई विशेष पहिचान दिलायो । उनको यसै कलाको सम्मान गर्दै राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टीले उनलाई आफ्नो पार्टीमा स्वागत गर्न आमन्त्रण गर्यो । सन् १९१९ मा उनी यस पार्टीमा प्रवेश गर्दा यो नाम मात्रको पार्टी थियो । प्रथम विश्वयुद्धमा हार्दाको आक्रोस र जर्मनविरुद्ध लडेका देशहरूमाथि जर्मन नागरिकहरूको रिस थियो । हिटलरले पार्टीभित्रबाट यस विरोधी भावनालाई संस्थागत गर्ने प्रयास गरे । उनले आफ्नो जादुुमय भाषणका माध्यमबाट भर्साइल्स सन्धिको विरोध, माक्र्सको सिद्धान्त र कम्युनिष्टहरूको आलोचना तथा यहुदीको भूमिकाका बारेमा प्रश्न उठाए । यहुदीकै कारण जर्मनीले दुर्दशा भोग्नु परेको आरोप लगाए । उनी भाषणमा त्यही कुरा मात्र बोल्थे, जुन उपस्थित आम नागरिक सुन्न चाहन्थे । उपस्थित भीडको मनोदशाका आधारमा बोल्ने सिपका कारण उनी लोकप्रिय बन्दै गए ।
हिटलरले राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टीको नाम परिवर्तन गरी नाजी पार्टी र चिन्ह स्वस्तिक राखे । स्वस्तिक चिन्ह आर्यको पनि पवित्र चिन्ह थियो । उनी आर्यहरूलाई सर्वश्रेष्ठ मानिस ठान्थे र यहुदीबाहेकका जर्मनी जनतालाई उनी आर्य मान्थे । २९ जुलाई १९२१ मा उनी त्यस पार्टीका नेता बने । उनको नेतृत्वलाई स्वीकार गर्दै धेरै जर्मनेली जनताहरू हिटलरको पार्टीमा जोडिँदै गए । रणनीतिक रूपमा उनले विशेष गरी भूपू सेनाहरूलाई प्राथमिकताका साथ पार्टीमा समावेश गराए ।
हिटलरलाई शक्ति कब्जा गरेर पनि सत्तामा पुग्न सकिन्छ भन्ने कुरामा विश्वास थियो । यही विश्वासका आधारमा सन् १९२३ मा जर्मनीको सत्ता कू गरेर शक्ति हत्याउने प्रयास गरेका थिए तर उनको यो प्रयास असफल भइदिन्छ । उनलाई देशद्रोहको आरोप लगाइन्छ र २० फेब्रुअरी १९२४ मा जेल हालिन्छ । उनी लगभग १३ महिना जेलमा रहन्छन् । जेलमा नै रहेको बेला उनी ‘मेरो सङ्घर्ष’ शीर्षकको एउटा किताब लेख्छन् । यस कृतिलाई हिटलरको आत्मकथा भनिए पनि यसमा नाजी पार्टीको सिद्धान्तको व्याख्या गरिएको मात्र छैन, यस कृतिमार्फत उनले जर्मनेली जनतालाई आर्य भन्दै आर्यहरू सर्वश्रेष्ठ हुने विचार राख्दछन् र यहुदीहरूलाई सबैभन्दा खराब मान्छे मान्दछन् । भर्सेल्स सन्धिमा जर्मनको गुमेको भूभाग फिर्ता ल्याउनुपर्ने तथा सेनाको पुनःसंरचना गरी विस्तार गर्नुपर्ने आदि कुराहरू पनि कृतिमा समावेश गर्छन् । यस कृतिमार्फत राखिएका राष्ट्रवादी विचारका कारण हिटलर रातारात प्रख्यात बन्छन् । उनका फोटाहरू पत्रपत्रिकामा छापिन थाल्छन् । उनी एकाएक सेलिब्रेटीजस्तै लोकप्रिय हुन पुग्छन् ।
जर्मनको शक्तिकेन्द्रमा हिटलर :
उनी जेलबाट रिहा हुने बित्तिकै नाजी पार्टीलाई पुनः आफ्नो पकडमा लिन्छन् । जर्मनको मुक्ति अब उनको हातबाट हुने र जिजसले पूरा गर्न नसकेका कामहरू आफूले पूरा गर्ने भाषण गर्छन् । समय उनको पक्षमा भएकोले उनले जे भने पनि जर्मनेली जनताहरू विश्वास गर्न थाल्छन् । यही मौका पारेर भोक र बेरोजगार बढेका बेला आफू सत्ता र शक्तिमा आउनासाथ सबैलाई काम र माम दिने घोषणा गर्दछन् । सन् १९३२ मा नाजी पार्टी दोस्रो ठूलो पार्टी हुन्छ र हिटलर जर्मनको सत्तामा पुग्छन् ।
सन् १९३३ मा हिटलर सरकारको माथिल्लो पद चान्सलर बन्छन् । सन् १९३४ मा राष्ट्रपति हिण्डनबर्गको मृत्यु हुन्छ । त्यसपछि हिटलर राष्ट्रपति र चान्सलर दुबै बन्छन् र सबै शक्ति आफूमा निहित गर्छन् । चुनावबाटै सत्तामा पुगे पनि उनी चुनावको बेवास्ता गर्दछन् । संसदबाट आपतकालीन शक्ति हासिल गर्छन् र संविधान नै स्थगित (निलम्बित) गरिदिन्छन् । मानवअधिकारको पनि निलम्बन गर्दछन् र कसैलाई कुनै आरोप नलगाई नै हिरासतमा राख्न लिन सक्ने घोषणा गर्दछन् । त्यति मात्र होइन, नाजी पार्टीबाहेक कम्युनिष्टलगायत अरू पार्टीलाई प्रतिबन्ध लगाउँछन् ।
त्यसपछि हिटलर जर्मनका सर्वेसर्वा र तानाशाही शासक बन्दछन् । उनी आफ्ना अधिकांश विरोधीहरूलाई ग्यास च्याम्बरमा हालेर मारिदिन्छन् भने केहीलाई जेलमा पनि कोचिदिन्छन् । अब जर्मनमा को बाँच्ने वा को मर्ने भन्ने निर्णयकर्ता हिटलर बन्दछन् । हिटलरको अनुकम्पा सकिएको दिन जर्मनमा कोही पनि जीवित नरहने स्थिति बन्दछ ।
हिटलरले ठूलो निशाना यहुदीलाई बनाए । सन् १९३५ मा नाजी जर्मनले एउटा नयाँ कानुन बनायो, जसअनुसार कुनै जर्मनेली नागरिकले यहुदीसँग बिहे गर्न नपाउने भए । यहुदीबाट नागरिकता र नागरिक अधिकार पनि खोसियो । यहुदीले गर्ने व्यवसाय तथा व्यापारिक प्रतिष्ठानहरूमा आगजनी गराइयो तथा अनेक बहानामा धेरै यहुदीहरूलाई मारियो । भनिन्छ– हिटलरद्वारा सन् १९३३ देखि १९३८ का बीच लाखौं यहुदीहरू मारिए । बाँचेका यहुदीहरू पनि जर्मनमा सुरक्षित रहने अवस्था नभएपछि आफ्नो जीवन रक्षाका लागि जर्मन छोडेरै भाग्न बाध्य भए ।
नेतृत्वमा आएपछि हिटलरले जर्मनको आर्थिक सुधार गरे । भर्साइल्स सन्धिका विपरीत सैनिक सङ्ख्या बढाउने, नयाँ हातहतियारको बन्दोबस्ती मिलाउने, ट्याङ्क र हवाइजहाज बनाउने आदि कार्य पनि तीव्रताका साथ अगाडि बढाए । आर्थिक रूपमा र सामरिक रूपमा सबल हुँदै गएपछि हिटलर सन् १९३८ मा छिमेकी मुलुक अस्ट्रियालाई आत्मसमर्णणका लागि दवाव दिए । हिटलरको बढ्दो शक्ति र लोकप्रियता देखेर अस्ट्रियाले सजिलै आत्मसमर्पण गर्दछ । अस्ट्रिया हिटलर जन्मेको ठाउँ पनि थियो । अस्ट्रियाको आत्मसमर्पण गरेपछि उनी अस्ट्रिया भ्रमणमा गएका बेला त्यहाँ उनको भव्य स्वागत हुन्छ ।
अस्ट्रियामा जर्मनको विजयलाई कतैबाट पनि अवरोध नभएपछि हिटलरको आत्मविश्वास बढ्छ र सन् १९३८ मा नै धेरै जर्मनी भाषा बोल्ने चेकोस्लोभाकियामा कब्जा गर्छन् । यस कार्यलाई पनि अब उप्रान्त कहीं कतै त्यस्तो नगर्ने सर्तमा बेलायत र फ्रान्सले जर्मनीको उक्त कार्यलाई पनि स्वीकृति प्रदान गर्दछन् । तर हिटलरमा राज्यविस्तारको नशा चढिसकेको हुन्छ, उनी त्यतिमा मात्र सीमित हुन चाहँदैनन् । उनको यही महत्वाकाङ्क्षा नै दोस्रो विश्वयुद्धको कारक बन्दछ ।
दोस्रो विश्वयुद्धको आरम्भ :
विनाशकारी दोस्रो विश्वयुद्ध सेप्टेम्बर १, १९३९ देखि १९४५ सम्म चलेको थियो । यसमा संसारका ७० देशका जल, थल र बायु सेनाहरूको सहभागिता रहेको थियो । युद्धअवधिमा करिब ६ करोड मानिसहरूको ज्यान गएको थियो भनिन्छ । युद्धको पृष्ठभूमि यस्तो थियो–
सन् १९३९ अगष्टमा जर्मन र सोभियत संघबीच एक भद्र सहमति भएको हुन्छ । सहमतिअनुसार जर्मन र सोभियत संघ एकआपसमा नलड्ने र पोल्याण्डलाई आपसमा बाँड्ने भन्ने हुन्छ । बेलायतले भने पोल्याण्डसँग पोल्याण्डमा कसैले हमला गरे सहयोग गर्ने सन्धि गरेको हुन्छ । सेप्टेम्बर १, १९३९ का दिन जर्मनले पोल्याण्डमा हमला गर्छ । त्यसको २ दिनपछि अमेरिका, बेलायत र फ्रान्स मिलेर जर्मनविरुद्ध युद्धको घोषणा गर्छन् । यसरी दोस्रो विश्वयुद्धको औपचारिक आरम्भ हुन्छ ।
पोल्याण्डमा हमला गरेको ६ हप्तापछि जर्मनले पोल्याण्ड कब्जा गर्दछ । सन् १९४० अप्रिलमा जर्मनसमक्ष डेनमार्कले आत्मसमर्पण गर्दछ । जर्मनले बेल्जियम र फ्रान्समाथि पनि विजय प्राप्त गर्दछ । यसरी हिटलरले युरोपका प्रायः सबै भाग कब्जा गर्न सफल हुन्छन् । जर्मनमा हिटलरको ठूलो तारिफ र प्रशंसा हुन्छ । उनलाई नेशनल हिरोको दर्जा दिइन्छ । यसरी हिटलर पहिलो विश्वयुद्धमा जर्मनमाथि लागेको कलङ्क मेटाउन सफल हुन्छन् र जर्मनविरुद्ध लागेका देशहरूसँग बदला लिने घोषणा पनि गर्दछन् ।
हिटलरको पतन आरम्भ :
बेलायतसँग जर्मनको लडाइँ चलिरहेको थियो । यस लडाइँमा दुबै देशका थुप्रै सर्वसाधारणहरू मारिएका थिए । तैपनि हिटलरलाई लाग्छ, अब बेलायत त्यति खतरापूर्ण छैन । अनि, आफ्नो ध्यान रसियातर्फ लैजान्छन् र सन् १९४१ मा रसियामाथि हमला गर्छन् । आरम्भका दिनहरूमा हिटलर जित्तै पनि जान्छन् । रसिया ज्यादै ठूलो देश भएको र धेरै चिसो पनि भएकोले जर्मन सेनालाई रसियातिर अगाडि बढ्न गाह्रो हुन्छ । धेरै जर्मन सेना त चिसोले कठ्याङ्ग्रिएरै मर्दछन् । पेट्रोलबाट चल्ने जर्मनका सवारी साधनहरू पनि जाडोका कारणले राम्ररी चल्न छोड्छन् । रसियनसँग ठूलो सङ्ख्यामा सेना र डिजेल गाडी भएकोले उनीहरूले जर्मनलाई पेल्दै जान सफल हुन्छन् । यसरी विस्तारै जर्मन सेनाहरू खुम्चिँदै जान बाध्य हुन्छन् र जर्मन पराजित हुन थाल्छ ।
हिटलरको अन्त्य :
सन् १९४५ मा रसियन सेनाले बर्लिनलाई घेर्छन् । आफ्नो सुरक्षाका लागि हिटलर जमिनभन्दा ५० फिट गहिरो बंकरमा लुकेर बसेका हुन्छन् त्यहींबाट नै उनी काम–कारवाही गरिरहेका हुन्छन् । जीवन मरणको त्रासका बीच २९ अप्रिल १९४५ का दिन बंकरमा आफैंसँग रहेकी प्रेमिका इभा ब्राउनसँग सीमित मानिसहरूको उपस्थितिमा बिहे गर्छन् । विरोधीहरूले उनलाई भेटेर अपमानपूर्वक मार्ने भयले इभासँग बिहेभएको भोलिपल्ट अर्थात् ३० अप्रिल १९४५ का दिन हिटलर श्रीमती इभा ब्राउनलाई बिहेको उपहारस्वरूप क्याल्सियम साइनाइटको गोली दिन्छन् र आफूले आफैंलाई गोली हानी बंकरभित्रै आत्महत्या गर्छन् । श्रीमती इभा ब्राउन पनि क्याल्सियम साइनाइटको गोली खाएर हिटलरसँगै आत्महत्या गर्दछिन् । मे १, १९४५ का दिन जर्मन रेडियोबाट पहिलोपल्ट हिटलर मारिएको समाचार प्रसारण हुन्छ । यसरी जर्मनलाई विशाल साम्राज्य बनाउने सपना बोकेर अनन्त आकाशमा उडेका हिटलर आफ्ना असीमित महत्वाकाङ्क्षाका कारण पखेटा काटिएर एकैचोटी जमिनमा खस्न पुग्छन् र लज्जा, त्रास र हिनताबोधका कारण आफूले आफैंलाई समाप्त पार्न बाध्य हुन्छन् । उनकै महत्वाकाङ्क्षाका कारण दोस्रो विश्वयुद्ध आरम्भ भएको थियो र उनको अवसानसँगै दोस्रो विश्वयुद्ध पनि समाप्त भएको थियो ।
हिटलरको विवादित यौनजीवन :
भनिन्छ– हिटलरका जीवनमा धेरै युवतीहरू थिए । नयाँ नयाँ युवतीहरूसँग रमाउनु हरेक निरङ्कुश तानाशाहको चरित्र नै हुन्छ, हिटलर पनि अपवाद थिएनन् । हिटलरको नाम आफ्नै भतिजी अंगेला मारिया गेलीदेखि थुप्रैसँग जोडिए पनि अन्त्यसम्म साथ दिनेमा इभा ब्राउन रहिन् र हिटलरसँगै आत्महत्या गरेर आफ्नो प्रेमलाई अमर बनाइन् । तर भाषणमा भने हिटलर यस्ता कुरालाई निषेध गर्दै उनको एकमात्र प्रेमिका जर्मनी रहेको र त्योभन्दा नजिक अरू कोही नभएको देखाउने प्रयास गर्दथे ।
(एन.विकिपेडिया डट ओआरजी, जीवनी डट ओआरजी, बीबीसी डटकम, जागरन डटकम, जागरनजोस डटकम, युट्युब डटकम, न्युजट्वान्टीफोरनेपाल डटटीभी, फेसबुक डटकमआदि सामाजिक सत्तजालको सहयोगमा निर्मित सामग्री)