दलित समुदायबाट प्रतिनिधित्व गर्नेलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको रहेनछ : डोबाटे विश्वकर्मा

गण्डकी प्रदेशमा मन्त्रीको शपथ खान शुक्रबार गृह जिल्ला तनहुँबाट हतारिँदै पोखरा गएका डोबाटे विश्वकर्माको नाम अन्तिम अवस्थामा काटियो । उनको स्थानमा कास्कीका विन्दुकुमार थापा मन्त्री बनेर सपथ लिए । मन्त्रीको सपथ लिन गएका डोबाटेबीच बाटोमै छोडिए । डोबाटेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका बुबा गोवर्धन पोखरेलले राजनीतिमा ल्याए थिए । २०३६ साल यता सक्रिय राजनीतिमा लागेका डोबाटे विभिन्न राजनीतिक घटनाक्रमका साक्षी बसे । एकले अर्कालाई खुइल्याउने राजनीतिको साँक्षी बसेका डोबाटे गत शुक्रबार आफैं पनि त्यसको सिकार बने । राजनीतिक वृत्तमा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा डोबाटेलाई मन्त्री नबनाइएको चर्चा छ । रामचन्द्र पौडेल गुटकै भएको कारण उनी मन्त्री बन्न पाएनन् । उनै डोबाटेसँग पत्रकार अशोक विश्वकर्माले पछिल्लो घटनाक्रमको विषयलाई लिएर गरेको कुराकानीको सम्पादित अंश ।

गण्डकी प्रदेश सरकारले मन्त्री परिषद् विस्तार गरेको शुक्रबारको क्षणलाई कसरी सम्झनु भएको छ ?
यो क्षण मेरो लागि निकै दुःखद रह्यो । शुक्रबार जे भयो, मेरो लागि मात्र भन्दा पनि यो सिङ्गो दलित समुदायमाथि गरिएको उपेक्षामा रूपमा लिनुपर्दछ । एउटा न्यून वर्ग र समुदायबाट निरन्तर रूपमा पार्टीमा त्याग सर्मपण गरिंदा अवसर पाउने बेलामा विमुख बनाउनुलाई अझै पनि मेरो समुदाय र यो समुदायबाट प्रतिनिधित्व गर्नेहरूलाई कसरी हेरिँदो रहेछ भन्ने राम्रोसँग अनुभूत गरेको छु । झण्डै ४२ वर्षसम्म राजनीतिक रूपमा सक्रिय भइरहँदा यो पल निकै पीडादायी र अन्यायपूर्ण रहेको ठान्दछु ।



पार्टी र सहकर्मीबाट अन्यायमा पर्नुभएको हो तपाईं ?

मैले भनिसकेँ नि, म एउटा व्यक्तिलाई गरिएको छल मात्र हैन, यो समुदायमाथिको अन्याय हो भनेर । मलाई त के नै हुन्थ्यो होला र ? केही दिन गाडीमा झण्डा हल्लाएर हिँडेको देख्नु हुन्थ्यो तर समुदाय र यो प्रदेशका विकासको पक्षमा मैले गर्न सक्ने योगदानबाट अलग्याउने काम त अन्याय नै हो नि ! यो घटना समीक्षा गर्नुपर्ने विषय पनि हो जस्तो लाग्छ ।

पुर्वनिश्चित मन्त्रीहरूकै लिस्टबाट आफ्नो नाम अन्तिम समयमा किन काटियो जस्तो लाग्छ ?
यो विषयमा त्यति धेरै बोल्नुपर्छ जस्तो मलाई लाग्दैन । सवैलाई थाहा भैसक्यो । यसबीचमा जति पनि जानकार र मिडियाले सबै कुरा बाहिर ल्याइसकेका छन् । प्रमुख विषय ममाथि पूर्वाग्रह राख्ने साथीहरू र पार्टीभित्र मौलाएको गुट उपगुटको असर हुनसक्छ ।

शुक्रबार भएको घटनालाई पार्टीभित्र नै रामचन्द्र पौडेल पक्षलाई कमजोर देखाउन खेलिएको खेल हो भन्नेहरू पनि छन् नि ? यो विषयमा तपाईको धारणा के छ ?

पार्टीमा राचन्द्र पौडेलको जुन किसिमका छवि छ त्यसका विरूद्ध लाग्नु त पार्टीका लागि निकै घातक हुन्छ भन्ने मैले बुझेको छु । किन त्यस्तो अस्वस्थ खेल खेल्नुपर्याे ? यो जरूरी पनि थिएन । म त पार्टीमा आफ्नो योगदानलाई सम्मान गरिएको भन्नेमा ढुक्क थिएँ । यसरी खेल खेल्नु नै थियो भने त मलाई कुनै जानकारी नै नदिएको भए हुने थियो । मेरो स्वभावले पनि यो सब हुन दिँदैन्थ्यो । म जहिले पनि शान्तिको पक्षमा रहेँ, रिजर्भ नै बसेँ । छक्कापञ्जा गर्न पनि कहिल्यै जानिएन ।

निष्ठाको राजनीति गर्नेहरूलाई समुदाय र आर्थिक पक्षले पनि असर पर्दाे रहेछ राजनीतिमा भनेर बुझ्न सकिन्छ ?

त्यस्तो हुनुहुँदैन तर यस्तो भएको छ भनेर सहजै अनुमान लगाउन सकिन्छ । निष्ठाको राजनिति गरेँ । पार्टीले योगदानको सम्मान गरेन तर एकदिन यो विषयले पार्टी पङ्क्तिमा स्थान पाउँछ । बलजफ्ती गर्ने र अर्थले सम्पन्न हुनेहरू पार्टीमा हावी हुने हो भने हाम्रो पार्टी नेपाली कांग्रेसमात्र होइन, कुनै पनि पार्टीमा लगनशील भएर लाग्ने नेता कार्यकर्ताको अभाव हुनेछ । अन्ततः पार्टीको भविष्य रहँदैन । अब मेरै कुरा गर्ने हो भने पनि न्यून वर्गीय समुदायबाट राजनीतिमा लागेको । त्यस्तो सम्पन्न परिवारबाट पनि हैन । फेरि चरित्र पनि बलमिच्याइँ गर्ने स्वभाव ममा छैन । र, यो पक्ष राजनीतिका लागि नकरात्मक हो भन्ने पनि मलाई लाग्दैन ।

राजनीतिमा बेला बखत हुने यस्ता घटनाले भविष्यमा कस्तो प्रभाव पार्छ ?
पार्टीमा सच्चा कार्यकर्ताको अभाव हुने अवस्था यस्ता घटनाले निम्त्याउने हो । पार्टी सञ्चालनका लागि सवैखाले स्वभाव चरित्र भएका नेता कार्यकर्ता हुनुपर्दछ तर नेतृत्वमा पार्टीको साख जोगाउनका लागि उचित निर्णय गर्नसक्ने क्षमता हुनुपर्दछ । यसरी एउटा पक्षले पार्टी र राजनीतिमा प्रभाव देखाउने वा पार्ने विषयले हामी जस्ता कार्यकर्ता तहमा नैराश्यताबाहेक के हुन सक्छ ?

राजनीतिमा अवसर खोसिएको एक पात्र तपाई, अबको दिनमा सरकार र पार्टीमा तपाईको भूमिका कस्तो रहन्छ ?

पार्टीभित्र देखिएको यस किसिको क्रियाकलाको अन्तर विरोध गर्नुपर्ने आवश्यकता छ । त्यस्तो सार्वजनिक रूपमा विरोधका भाषा र कार्यक्रमहरू गर्नु एक कार्यकर्ताका लागि उचित होइन । पार्टीले जुन तरिकाले बोलेको छ, सोही कुरालाई व्यवहारमा देखाउनु जरूरी छ । दलितको पक्षमा, महिलाको पक्षमा र यो विषम परिस्थितिलाई टार्न प्रदेश सरकार जे बोलेको छ, त्यो हुनुपर्दछ । यो विषयमा म एक पार्टीको सदस्य तथा प्रदेश सभा सदस्य भएको नाताले बोलिएका कुरा र पार्टीको सिद्धान्तविपरीत भएका कार्यहरूका सदनबाटै पनि विरोध हुन्छ ।

तपाईप्रति शुभेच्छा राख्ने शुभेच्छुकहरूलाई अन्तिममा के भन्न चाहनुहुन्छ ?

खास त्यस्तो भन्नुपर्ने केही छैन, तर शुक्रबारको घटना पछि मप्रति देखाउनुभएको चासो, चिन्ता र शुभेच्छाले मलाई ऊर्जा मिलेको छ । यति लामो राजनीतिक यात्रामा मैले त्यस्तो खास प्रभाव नपारेको हुँला, अहिले मेरो पक्षमा जनभावना सकरात्मक रहेको पाएँ । मप्रति देखाउनु भएको चासोको लागि तपाईहरूसहित विशेष गरी मिडियालाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।

सम्बन्धित समाचार