नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।
भारतीय अगरबत्तीले नेपालको घर–मन्दिरमा एकछत्र राज गरिरहेको अवस्थामा करिब दुई दशकअधि अर्थात् विसं २०५५ सालमा काठमाडौंमा गायत्री अगरबत्ती उद्योगको स्थापना भएको थियो । थुप्रै चुनौतीहरूका बीच आरम्भ भएको यस उद्योगले शुरुका दिनहरूमा एउटा मात्र ब्राण्ड ‘सावित्री कंचनजंगा’ अगरबत्ती बजारमा ल्याएको थियो भने आजका दिनसम्म आइपुग्दा यस उद्योगले धेरै गुणस्तरीय ब्राण्डहरू बजारमा ल्याउन सफल भइसकेको छ ।
नेपाल प्रवेश गर्नुपूर्व यस उद्योगले भारतको कोलकत्ता र बैंगलोरमा आफूलाई स्थापित गरिरकेको थियो । गायत्री अगरबत्ती उद्योग नेपालमा प्रवेश गर्दा नेपालमा करिब २०० जति अगरबत्ती उद्योगहरू सञ्चालनमा थिए तर गुणस्तर र लोकप्रियताका हिसाबले उनीहरूको नाम नगन्य रूपमा मात्र थियो । बजारको यही अवस्थालाई विश्लेषण गरेर गायत्री अगरबत्ती उद्योगले आफूलाई काठमाडौंमा स्थापित गर्ने निर्णय गरेको थियो ।
गायत्री अगरबत्ती उद्योगका प्रबन्ध निर्देशक मनीष मुन्द्रा विगतलाई स्मरण गर्दै भन्छन् ‘२०० जति उद्योग सञ्चालनमा भइरहेको अवस्थामा चुनौती लिएर हामीले काठमाडौंमा अगरबत्ती उद्योग आरम्भ गरेका थियौं । उत्पादन शुरु भएपछि यसको गुणस्तर र सुगन्ध धेरैले मनपराइदिनु भयो । बट्टामा ‘नेपालमा बनेको’ लेखाएकोमा कतिपय साथीभाइले नेपालमा बनेको भन्दा बजारले राम्रो नमान्न पनि सक्छ, यसको गुणस्तर बैंगलोरको जस्तै स्तरीय भएकोले ‘बैंगलोरमा बनेको’ भनेर लेख्नोस् भनेर सुझाएका थिए तर हामीले त्यसो गरेनौं ।’ उनले थपे ‘हामी आफैं पसल पसलमा गएर धुप बालेर अनुभव गर्न लगायौं । पछि क्रमशः हाम्रो उत्पादनको माग बढेर गयो ।’
यस उद्योगका विभिन्न ब्राण्डका अगरबत्तीहरू अहिले नेपालमा मात्र सीमित छैनन् । नेपालपछिको मुख्य गन्तव्य चीन बनेको छ । जापान, हङकङ, थाइल्याण्ड तथा भियतनाममा पनि यस उद्योगका अगरबत्ती निर्यात हुन थालेको छ ।
सावित्री अगरबत्ती उद्योगमा अहिले २०० भन्दा बढीले रोजगारी पाइरहेका छन् । रोजगारीमा महिलालाई प्राथमिकता दिइएको छ । उद्योगसँग आबद्ध ६५ वटा डिलरहरू छन् भने २१ सेल्सपर्सन र १० वटा गाडीका माध्यमबाट उत्पादित सामग्रीहरू नेपालभरि बिक्री वितरण भइरहेको छ । अहिले कंचनजंगाबाहेक ड्रिम्स, वण्डर फुल, फेवा, जुही, रोज, सेण्डल, सिजन्स, रोयल रोज, यती, ओके, ब्लिस्आदि ब्राण्डका अगरबत्ती उत्पादन भइरहेका छन् । एउटै वट्टामा सात फ्लेवरका अगरबत्ती रहनु यस उद्योगको विशेषता बनेको छ ।
अगरबत्तीमा प्रयोग हुने कच्चा पदार्थ उच्च स्तरको हुने र अगरबत्तीमा प्रयोग हुने फ्लेवर (केमिकल) पनि आफैं बनाउने गरेकोले आफ्नो गुणस्तर र लोकप्रियतालाई बचाउन सकेको प्रबन्ध निर्देशक मुन्द्रा बताउँछन् । उद्योगको सफलतामा संलग्न कामदारको ठूलो भूमिका रहेको उनी स्वीकार गर्दछन् ।
सामाजिक सेवामा संलग्नता
शिवरात्रि र तीजजस्ता पर्वहरूमा सावित्री अगरबत्ती उद्योगको संलग्नता हुने गरेको छ । यस्ता पर्वहरूमा पशुपति क्षेत्रमा स्वागत गेट बनाउने, निःशुल्क पानी खाने व्यवस्था मिलाउने, स्वयम्सेवकका रूपमा खटेर सेवा प्रदान गर्नेे, माक्स तथा क्यापहरू वितरण गर्ने, रक्तदान गर्ने आदि कार्यहरू नियमित रूपमा उद्योगले गर्दै आएको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला भलिबलको मुख्य आयोजक हुनेदेखि महिलाप्रधान हुने अन्य विविध गतिविधिमा उद्योगले आफूलाई संलग्न गर्दै आएको छ र भविष्यमा सेवाको क्षेत्र अझ व्यापक हुनेमा विश्वास गर्न सकिन्छ ।