मानव समाजलाई प्रकृतिको गतिलो पाठ

पृथ्वीमा मानव जीवनको मूल आधार जल र जंगललाई हाम्रा पुर्खाहरूले विषेश महत्व दिँदै आएको रहस्यभित्र जीवन र भविष्य अन्तर्निहित रहेका छन् भन्ने कुराको हेक्का सबैले राख्न जरूरी छ । रूख जल हो, जल अन्न हो र अन्न जीवन हो भन्ने कुरालाई पुष्टि गरिरहनु नपर्ला । हजारौं वर्ष पहिलेका ती विचार आज पनि त्यति नै वैज्ञानिक र अकाट्य छन् । युगौंयुगदेखि मानव र प्रकृति बीचको अन्योन्याश्रित सम्बन्ध रही आएको छ । जसरी रूख बिरूवाले फालेको अक्सिजन मनिसले लिने गर्दछन्, त्यसरी नै मानिसले फालेको कार्बन डाइअक्साईड रूख बिरूवाले लिने गर्दछन् । प्राणी र वनस्पतिबीच प्राणवायु लिने–दिने प्रक्रिया एक अर्काको जीवन पद्धतिसँग अन्तर–सम्बन्धित छन् अथवा एक अर्काका पूरक मानिन्छन् ।

प्रकृतिले हामी मानवलाई बस्नलाई भूमि, खानलाई अन्न, पिउनलाई स्वच्छ पानी, प्रकाश, उर्जा, शीतलता, सुगन्ध तथा सौन्दर्य आदि सबै निःस्वार्थरूपमा प्रदान गर्दै आएको कुरा सर्वबिद्दितै छन् । अर्को हिसाबले भन्नु पर्दा प्रकृति र मानवबीच आमा र सन्तानबीचको जस्तै माया र बात्सल्यता रहेको हुन्छ । पृथ्वीमा प्रकृतिले हामीलाई बिना भेदभाव सम्पूर्ण उपभोग्य वस्तु निःशर्तरूपमा उपलब्ध गराइरहँदा हामी मानव जातिचाहिँ निहित स्वार्थपूर्ति गर्न निरन्तर प्रकृति विनाश गरी आफ्नो वर्तमान जीवन र सन्ततिको भविष्यलाई थप उजाड तथा ध्वस्त बनाउन उद्यत देखिन्छौ । पृथ्वीमा मानव मात्र नभई अन्य करोडौं जीवजन्तु , वनस्पतिहरूलाई पनि बाँच्न र हुर्कन उतिकै हक अधिकार छ, जति मानवजातिलाई छ भन्ने कुरालाई बिर्सनु हुँदैन । आजको शिक्षित र विकसित समाजमा पनि क्षणिक सुख र बिलासी जीवनका खातिर हुर्कंदो कुसंस्कार अत्यन्तै दुःखद् र निन्दनीय छन् । मानवीय क्रियाकलापले कार्बन उत्सर्जन तीव्र गतिले बढेको छ, जसका कारण तापक्रम वृद्धिसँगै जलवायुजन्य विपद्हरू उब्जिन थालेका छन् । आजको आधुनिक विकासलाई बेलाबखतमा प्रकृतिद्वारा मचाइने विनाशलीलाले भौतिकवादका पछाडि दौडिरहेका मानिसहरूलाई आफ्नो साइजमा रहन गतिलो पाठ भने सिकाएको छ ।



के हो विपद् ?
ऋतुअनुसार अनायास रूपमा आइपर्ने खतरा जसले मानवीय, भौतिक तथा पर्यावरणीय नोक्सानी गर्छ, त्यसलाई विपद् भनिन्छ । सामान्यतः मानव र प्रकृतिबीच विपद्को पुरानो र स्वाभाविक सम्बन्ध रहेता पनि जनसंख्या वृद्धि, वन विनास, बढ्दो गरिबी, बेरोजगारी र प्रदुषणले प्रकृतिमाथि हस्तक्षेप बढाउन थालेपछि, सोही अनुपातमा प्रकृतिले पनि आफ्नो स्वरूप र आकारमा परिवर्तन गरेर विकराल रूप प्रस्तुत गर्दा त्यसले मानवजाति र मानवीय संरचनामा अपूरणीय क्षति पुर्याएको छ । पृथ्वीमा स्वाभाभिकभन्दा तीव्रगतिले प्राकृतिक प्रकोपहरू बढिरहँदा र विकसित राष्ट्रहरूले ध्यानाकर्षण गराइरहँदा न त हाम्रो सरकारको चेत खुल्न सकेको छ, न त हाम्रा आँखा नै खुलेका छन् । जबकि प्राकृतिक प्रकोपले मानिसको जीवनभरिको कमाईबाट आर्जन गरेको घर, उद्योग व्यवसाय, सम्पत्तिको अतिरिक्त हजारौंं वर्ष लगाएर बनाएको सुन्दर मानव सभ्यता र संरचना, आधुनिक समाजले गर्व गर्न लायक प्रगति आदिलाई भूकम्प, सुनामी, तुफान वा बाढीजस्ता प्राकृतिक विपद्ले क्षणभरमै धरासायी बनाइदिएको छ । यसरी बेला बेला विज्ञानको बुई चढेर प्रकृतिमाथि शासन गर्ने धृष्टता नगर्न मानव जातिलाई प्रकृतिले गतिलो पाठ सिकाएको छ । आउँदा दिनहरूमा प्राकृतिक विपद् विश्वका लागि ठूलो टाउको दुखाइको विषय हुने पक्का छ । विशेषगरी सार्क राष्ट्रहरूमा भारत, पाकिस्तान, चीन, नेपाल, श्रीलंका, भुटान र मालदिभ्स जस्ता मुलुकहरू अति जोखिम क्षेत्रमा भए पनि जोखिम न्यूनीकरणको दिशामा खासै चासो नदेखाउँदा वर्षेनी मानवीय र भौतिक संरचना गरी अरबाैं डलरको आर्थिक नोक्सानी झेल्दै आइरहनु परेको छ ।

सामान्यतः विपद् दुई प्रकारका मानिन्छन् । एउटा प्राकृतिक र अर्को मानवजन्य । मानव समाजले भोग्नुपर्ने विपद्का केही उदाहरणहरू यहाँ प्रस्तुत गरिएको छ ।

बाढी पहिरो :
हरेक वर्ष बङ्गालको खाडीबाट आउने मनसुन वायु प्रवेशसँगै नेपाली किसान हर्षित हुनुपर्नेमा उल्टै चिन्ताले पिरोलिन थाल्छन् । यसपटक मनसुनमा प्रारम्भदेखि नै वर्षा र बाढीका कारण हेलम्बु र मेलम्ची बजारमा पटक पटकको बितण्डा मच्चाएको छ । सप्तकोशीको उच्च बहाव, कमला, बागमती, नारायणी, तिनाउ, भेरी, सेती, मेची, कालिगण्डकी, महाकाली आदि नदीमा आएको उर्लदो बाढीले राजमार्गदेखि दक्षिण तराईका ठाउँ ठाउँमा भारतले बनाएको उच्च बाँधका कारण धेरैजसो भाग डुबानमा पर्दा धेरैको घरबार उजाडिएकोदेखि रोपिएको धान, तरकारी, फलफूल आदि भारीमात्रामा नोक्सानी पुर्याएको छ ।

उता पहाडी जिल्लाहरूमा गएको पहिरो र बाढीले मानवीय क्षति, घर, खेतबारी, वस्तुभाउ बगाएर सर्वसाधारण किसानलाई आर्थिक नोक्सानीले थिलथिलो बनाएको छ । बाजुराको हिमाली गाउँ पालिकामा बाटो खन्दा १३७ घर भासिएर बिचल्लीमा परेका पीडित परिवार अझै पनि जङ्गलमा कन्दमुल खाएर बाँचिरहेका छन् । यसरी बाढी पहिरोका कारण वर्षायाममा बहुसंख्यक जनता घरको न घाटको भएर त्रिपालमुनि भोको पेट रात काट्न विवश छन् । यसका अतिरिक्त सडक, सरकारी कार्यालय ,हाइड्रो पावर, टेलीफोन टावर, विद्युत गृह, राजमार्ग र सहायक मार्गका पक्की पुलहरू बगाएको र धेरै पुलहरू राज्यको गैरजिम्मेवारीपनका कारण अझै भासिने क्रममा छन् । सरकार भने अझै पनि बेखबर जस्तो देखिन्छ । वर्षापूर्वका सतर्कता र वर्षापश्चात्को उद्धार, उपचार र सहयोगको अभावमा पीडितहरू आजसम्म आफ्नै भाग्यलाई कोसेर बाँच्न विवश रहेका छन् ।

भूकम्प :
मानवजातिले भोग्नुपर्ने डरलाग्दा विपद्हरूमध्ये भूकम्प पनि एक हो । विक्रसम्बत १२८० देखि आजसम्म साना ठूला हजारौं हजार भूकम्प गए पनि १९९०, २०४५ र २०७२ सालका भूकम्पहरू विनाशकारी सावित भए । जीवनभरि पसिना बगाएर आर्जन गरेको धन सम्पत्ति दुईचार सेकेन्डको भूकम्पको झट्काले तासको घरझैं क्षण भरमैं स्वाहा पारिदिन्छ । २०७२ सालको भूकम्पलाई अझै भूल्न सकेका छैनौं । अफै पनि बारम्बार गइरहने पराकम्पनले भयभीत बनाइरहेको छ ।

आगलागी-डढेलो :
वास्तवमा यो एउटा मानवीय लापरबाही तथा षड्यन्त्रबाट हुने घटना हो । २०३० सालको सिंहदरबार आगलागी, २०७७ मा जुम्लाको तिलगङ्गा गाउँ पालिका र कालिकोटको पातालाका ६६ घर जलेर खरानी भए, फिदिम बजार, सुर्खेतको सिस्नरी, दाङको लहमी र तराईमा हुने आगलागी, चुरेक्षेत्रको सागरनाथ क्षेत्र, बर्दिबासको सरस्वती सामुदायिक वनलगायत म्याग्दी, तनहूँ, डोटी, बैतडी आदि क्षेत्रहरूमा प्रायः लाग्ने डढेलोले बर्सेनी करोडौंको क्षति गर्नुको साथै वनमा आश्रित जीवजन्तु, पशुपन्छी, बहुमूल्य जडीबुटी, वनस्पति तथा जैविक विविधता सम्पूर्ण स्वाहा भईरहेका छन्, जसको भर्पाइ चाहेर पनि गर्न सकिन्न ।

चट्याङ :
वर्षासँगै बादलको घर्षणबाट विद्युत उत्पन्न भई पृथ्वीमा झर्ने प्रक्रियालाई चट्याङ भनिन्छ । विगतको अनुपातमा चट्याङ पर्ने अवस्थामा वृद्धि भइरहेछ । चट्याङ पर्ने मुलुकहरूमा नेपालको तेस्रो स्थानमा पर्दछ, यो तथ्याङ्क आफैंमा डरलाग्दो छ । त्यसमा झन मकवानपुर, मोरङ र उदयपुर जिल्ला अति जोखिम क्षेत्र मानिन्छन् । तराई र उत्तर पश्चिम नेपालका जिल्लाहरू पनि खतरामुक्त छैनन् । गत वर्ष भाद्र महिनामा जाजरकोटको कुशु गाउँ पालिका र जुम्लाको तिला गाउँ पालिका गरी चट्याङले ४७५ भेडाहरू ठहरै भएका थिए । यसरी हरेक वर्ष चट्याङ्ले पनि घरपालुवा वस्तुभाउदेखि मानवीय क्षति बढाइरहेको छ ।

स्मरणयोग्य अन्तर्राष्ट्रिय घटनाहरू :
११ मार्च २०११ मा जापानको अटामीमा भूकम्पका कारण आएको सुनामीको छालले क्षणभरमा शहर बजार एयरपोर्ट तथा विकासका सम्पूर्ण संरचनाहरू समुन्द्रमा विलय हुनपुग्यो । यो एउटा कहालीलाग्दो र मानव जातिले बिर्सन नसक्ने घटना थियो । यस्तै २२ दिसम्बर २०१८ मा इन्डोनेशियाको क्राकटाउ, सुलावेशी द्वीपमा ज्वालामुखी बिस्फोटका कारण निस्केको लाभाको लेदो, आगो र सामुन्द्रिक छालले आसपासको पर्यटकीय क्षेत्र तहस नहस पार्यो । यो पनि धार्मिक शास्त्रमा वर्णन गरिएझैं प्रलयकारी र भयङ्कर थियो । १६ जुन २०१३ मा भारतको उत्तराख्ण्डको केदारनाथको माथिल्लो क्षेत्रमा अविरल वर्षाका कारण लेदो माटो र ढुङ्गासहितको मन्दाग्नी नदीले केदारनाथ मन्दिर परिसरका बजार, होटल, लज आदि बगाउँदाको हृदयविदारक दृश्यलाई बिर्सन सकिने कुरै भएन । उक्त घटनामा थुप्रै भारतीय र नेपाली तीर्थयात्रीहरूले मृत्युवरण गर्नु पर्यो भने कति हराएको हरायै भए । गत जुलाईको दोश्रो साता अमेरिकाको एरिजोना, जर्मनको रईनल्याण्डर अहरबेली राज्यहरूमा जस्तै बेल्जियम, नेदरल्यान्ड, बेलायत, इटली, क्यानाडा आदि देशहरूमा सयवर्ष पछिको उर्लदो बाढी र सामुन्द्रिक तुफानले अकल्पनीय किसिमले मानवीय र भौतिक क्षति पुर्यायो ।

तुफान (टोरनाडो) :
जब समुन्द्रको पानी तातिएर २६ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्छ, तब हावाको कम दबाबको कारण तातो हावा माथि जान्छ तब उक्त रिक्त स्थानमा हावाको उच्च दबाबका कारण वायु तेस्रो बनेर ठूलो रूपमा फनफनी घुम्न थाल्छ र यो घुमेको हावाको झोंका जताजता पुग्छ, त्यता त्यता बितण्डा मचाउँछ । यसलाई तुफान भनिन्छ । तुफान पनि एउटा विपद् नै हो । अमेरिकाको कोलोराडोमा २०१६ मा इएफ–२ नामक साइक्लोनले घरको छानो, रूख, टेलिफोन टावर लगायत सम्पूर्ण संरचना ध्वस्त पारी बिरानो बनाएको थियो ।
त्यस्तै भारतको उडिसा राज्यमा मे २०१९ मा आएको तुफानको बबण्डरले पुर्याएको अपार धन जनको नोक्सानीलाई बिर्सन सकिँदैन । यस प्रकारको तुफानलाई ठाँउअनुसार बेग्लाबेग्लै नामले चिन्ने गरिन्छ । मेक्सिको खाडीमा टोरनाडो, चीन सागरमा ताइफोन, अष्ट्रेलियामा भिलिभिज र हिन्दमहासागर क्षेत्रमा चक्रबात प्रचलित नामहरू हुन् । तुफानलाई ठाउँ अनुसार २१ नामाकरण गरिएको पाइन्छ ।

आगलागीे मानवीय लापरवाहीका कारण हुने घटना मानव इतिहासमा अत्यन्तै दुःखदायी मानिन्छन् । डिसेम्बर २०१९ मा अष्ट्रेलियाको न्यू साउथ वेल्स र विक्टोरिया राज्यको जङ्गलमा चार महिनादेखि लागेको भीषण आगलागी निभाउन सरकारले आफ्ना सम्पूर्ण संयन्त्र प्रयोग गर्दा पनि आगो नियन्त्रणमा आउन नसक्दा आसपासका शहर, बहुमूल्य जडिबुटी र राष्ट्रिय जीव कंगारू, क्वालालगायत लाखौ लाख जीव जन्तुहरू जलेका हृदयबिदारक घटना अझै पनि ताजै छन् । यस्तै इथोपियामा आएको अनिकालको कारण करिब २५ लाख व्यक्तिले भोकमरीका कारण ज्यान गुमाएका थिए । यसबाहेक अत्याधिक चिसो र गर्मी, असिना तथा कोरोना जस्ता रोग ब्याधीहरूको प्रकोप पनि उतिकै छन् । प्राकृतिक र मानव निर्मित विपद्हरूको लामो श्रृङ्खला र कहालीलाग्दा घटनाहरूको इतिहासमा कथा र व्यथा तमाम छन् ।

कारकतत्वहरू :
तीव्र गतिमा भइरहेको औद्योगिककरण, वन विनाश, अव्यवस्थित र बढदो शहरीकरण, सुरूङमार्ग, डाँडाकाँडामा खोलिएका सडक (डोजर आतङ्क), उच्च बाँध र पुल निर्माण, सिँचाइ नहर र हाइड्रोपावर निर्माण, हाइटेन्सन टावरजस्ता गम्भीर असर पुर्याउने आयोजना आदिले हाम्रा जङ्गल र पहाडहरू क्रमशः ध्वस्त पार्दै लगेका छन् भने त्यसमा झन बारम्बार आउने भूकम्को धक्का र अविरल वर्षाले कमजोर बनाएको पहाडी संरचना, प्राकृतिक श्रोत साधनहरूको चरम दोहन, बढ्दो गरिबी, जनसंख्या वृद्धि, प्रदूषण, कार्बन उत्सर्जन, सरकारी फितिलो नीति, दूरदर्शिताको अभाव र अकर्मण्यता आदि विपद्का प्रमुख कारकतत्वहरू हुन् । मानवीय लापरवाहीले गर्दा पृथ्वी, जल, वायु र आकाशमा आश्रति सम्पूर्ण प्राणीजगत्मा समेत प्रदूषण, अशान्ति र कोलाहल बढेर त्राहिमाम् त्राहिमाम्को स्थिति पैदा भएकोले यसको न्यूनीकरणका लागि मानव जातिले आफ्नो आचरण सुधार गर्नु जरूरी छ ।

न्यूनीकरणका उपायहरू :
सर्वप्रथम राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको काँधमा आएको जिम्मेवारीलाई गम्भीरतापूवर्क लिन सक्नु पर्दछ । यो केवल मनसुनको मौसममा सक्रिय भएर अरू बेला निष्क्रिय भएर बस्न मिल्दैन । प्राकृतिक प्रकोप बाह्रैमास आफ्नो स्वभावअनुरूप निरन्तर चलिरहने प्रक्रिया भएको हुँदा विपद्को घडीमा प्राधिकरणले चुनौतीको गर्न सक्ने ल्याकत र तदारूकता भने देखाउन सक्नु पर्दछ । प्राकृतिक प्रकोप न्यूनीकरणमा सहजीकरणको लागि सरकारले तत्कालीन र दीर्घकालीन नीति तथा कार्यक्रमको प्रष्ट खाका जनसमक्ष ल्याउनु पर्छ र केन्द्रदेखि स्थानीय निकायसम्म समन्वयमा जोड दिनुपर्छ । वातावरण असन्तुलन हटाउन प्राकृतिक श्रोतहरूको संरक्षण र सम्बद्र्धनमा कठोर कानुनी प्रावधान लागु गर्न विलम्ब गर्नु हुँदैन । कुनै पनि विकास निर्माणका ठूलाठूला आयोजना प्रारम्भ गर्नु पूर्व विज्ञहरूको सुझावबाट त्यसको दुरगामी असर र प्रभावको उच्च मुल्याङ्कन र समीक्षाको आधारमा मात्र स्वीकृत प्रदान गर्नुपर्छ । निश्चित मापदण्ड विनाको अव्यवस्थित र जोखिमयुक्त किसिमका बस्ती, बजार तथा शहरीकरण रोक्न आवश्यक पहल गर्नुपर्दछ । औद्योगिक क्षेत्रबाट हुने कार्बन उत्सर्जनमा नियन्त्रण गर्दै विद्युतीय साधनहरूलाई प्रोत्साहन दिनुपर्छ ।

प्रकोपबाट हुने हानी नोक्सानी न्यूनीकरणको लागि आवश्यक स्थानहरूमा सूचना संयन्त्र जडानगरी विपद्को समयमा सतर्ककता अपनाउन पूर्व खबरदारी गर्ने प्रणालीको विकास गर्नुपर्दछ । सम्भावित विपद् व्यवस्थापनको पूर्व तयारी गर्नुपर्दछ । दीर्घकालीन रूपमा भने प्राथमिक कक्षादेखि माथिल्लो कक्षासम्म प्राकृतिक प्रकोपका विषयवस्तुलाई पाठ्यक्रममा समावेश गराउन सकेको खण्डमा विपद् न्यूनीकरण गर्दै मानव जीवन र मानव निर्मित संरचनालाई सम्भावित विपद्बाट जोगाउन सकिन्छ ।

हिन्दु धर्ममा प्रकृतिको स्थान :
सनातन धर्ममा प्रकृति पूजालाई प्रकृति संरक्षणको रूपमा हेर्दै आइएको छ । नेपाल प्राचीन कालदेखि देवी देवता तथा ऋषिमुनिहरूको तपोभूमि रहिआएको छ । विशेषगरी नदी, वायु, अग्नि, रूख र नक्षत्रसँग मानव जीवनको बढी घनिष्ठता थियो । सायद त्यसैले होला, हाम्रा शस्त्रहरूले रूखको तुलना सन्तानसँग, नदीलाई आमा र सूर्य, वायु, पहाड, ग्रह र नक्षेत्र आदिलाई देवरूप मान्दै आएको छ । देवी देउता, ऋषिमुनिहरूको वासस्थान पहाडको टाकुरो, गुफा र घना जङ्गलमा रहनुले स्वस्थ जीवन शैली र प्रकृतिप्रतिको प्रेमलाई सङ्केत गर्दथ्यो । अझै पनि कतिपय छरिएर रहेका हाम्रा आदिवासीहरू प्रकृति पुजक मानिन्छन् । अहिलेसम्म हाम्रो धर्म, संस्कृती, मूल्य र मान्यताको आधारमा गाई, कुकुर, काग, तुलसी पिपल, सूर्य आदिको पूजा गर्ने र देवी देउताहरूको भाग छुट्याउने परम्परा जीवितै छ ।

पुराणमा पनि भनिएको छ, जुन मनुष्यले वृक्षारोपण गर्छ, त्यो व्यक्ति स्वर्गमा त्यति नै वर्ष सुख भोग्दछ, जति वर्षसम्म त्यस वृक्षले फलफूल दिइरहन्छ । यसैगरी मत्स्य पुराणमा पनि सय पुत्र बराबर एउटा रूख हुने भनेर रुखको महत्वलाई झल्काइएको छ । वेद मन्त्रमा उच्चारित हुने स्वच्छ पर्यावरण, प्राणी कल्याण र पृथ्वी शान्ति, अन्तरिक्ष शान्तिका ध्वनिहरू पनि आजको परिपेक्ष्यमा उतिकै सान्दर्भिक र वैज्ञानिक देखिन्छन् । वैदिक धर्मले यस सृष्टि जगत्बाट मनुष्य जातिले उपभोग गर्ने यावत विषयवस्तु हाम्रा जीवन हुन् र जीवन प्रदान गर्ने (पृथ्वी, जल, आकाश, वायु, अग्नि आदि) आवश्यक तत्वहरूको सम्मान र आदरस्वरूप गरिने पूजा–अर्चना, स्तुति र वन्दनाको आशय सृष्टिशक्ति अर्थात् यस जगत्को पालनकर्ताको रूपमा हाम्रा मूल्य र मान्यताहरू आज पनि उतिकै दुरदर्शी तथा जीवनोपयोगी रहिआएको हुँदा सनातन धर्ममा प्रकृति पूजाको विशिष्ट स्थानलाई रहँदै आएको छ ।

प्राकृतिक प्रकोपका घटनाहरूले गरिब मुलुकहरू मात्र होइन, विकसित राष्ट्रहरूसमेत चिन्तित छन् । विकसित राष्ट्रहरूका उद्योग, कलकारखानाबाट उत्सर्जन हुने कार्बन र अल्पविकसित देशहरूले गर्ने प्राकृतिक दोहन दुबै वातावरण असन्तुलनका सहायक तत्व हुन् । विपद् एउटा साझा र गम्भीर मुद्दा भएको र यो जीवन र जगतसँग गाँसिएको हुनाले यसको समाधान पनि साझा र संयुक्त प्रयासबाट खोजिनु आवश्यक छ ।

अतः मानिसले मानिसमाथि अपराध गर्दा हुने दण्ड सजायजस्तै प्रकृति विनाश गर्नेहरूप्रति प्रत्येक मुलुकमा कडा कानुनी प्रावधान हुनु पर्दछ । मानिसद्वारा प्रकृतिमाथि हुने सामुहिक बलात्कारका सम्बन्धमा कठोर सजायको व्यवस्था हुनु प्रकृति संरक्षणका क्षेत्रमा महत्वपूर्ण कदम हुनेछ । प्रकृति हामी सबैको साझा घर हो । यसको दोहन गर्नेहरूप्रति निर्ममतापूर्वक राज्य पेश हुने हो भने अहिले देखिएका कतिपय प्रकृतिजन्य समस्या समाधानमा सघाउ पुग्ने देखिन्छ ।

सम्बन्धित समाचार