नवकान्तिपुर संवाददाता
काठमाडौं
आमचोक गाउँपालिका–४, बालंखा, भोजपुरमा जन्मिएका रामु राई पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय व्यक्ति हुन् । उनी २०४३ सालमा सम्पन्न तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्य पदको प्रत्यासी बनेका थिए । उनी २०४४ सालमा जिल्ला पञ्चायत सदस्यमा निर्वाचित भए । राई पञ्चायतको विघटनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) मा आबद्ध हुन पुगे र २०४८ सालको निर्वाचनमा राप्रपा (थापा) बाट भोजपुरको तत्कालीन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी बने । त्यसैगरी उनी २०५६ सालको निर्वाचनमा पनि राप्रपाबाटै पुनः भोजपुरको क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको सदस्यमा प्रत्यासी बने ।
२०६२-६३ परिवर्तनपछि राप्रपा नेपालको केन्द्रीय सदस्य भएका राई दोस्रो संविधानसभाको निर्वाचनपछि राप्रपा नेपालको नेतृत्वबाट असन्तुष्ट भई उनी स्वर्गीय पदमसुन्दर लावतीको अध्यक्षतामा गठित राप्रपा नेपाल समानान्तरको केन्द्रीय महामन्त्री हुँदै राप्रपा राष्ट्रवादीको केन्द्रीय सदस्य र राप्रपा प्रजातान्त्रिकको केन्द्रीय महामन्त्री बनेका राई हाल भने केशरबहादुर विष्ट अध्यक्ष रहेको राष्ट्रिय शक्ति नेपालको केन्द्रीय सचिवालय प्रमुख छन् । पञ्चायतकालदेखि नै नेपालको राजनीतिलाई नजिकबाट नियालेका राई प्रखर वक्तासमेत हुन् । राई २०७२ को संविधान र संविधानले व्यवस्था गरेको संघीयता, गणतन्त्र र धर्म निरपेक्षता नेपाल र नेपालीको हितमा नरहेकोले यसको अन्त्य हुनुपर्ने स्पष्ठ धारणा राख्दछन् । उनै राईसँग नवकान्तिपुर डटकमका लागि सम्पादक एलपी पौड्यालले नेपालको समसामयिक राजनीतिक अवस्थाका बारेमा गरिएको कुराकानी :
राष्ट्रिय शक्ति नेपालले नेपालको पछिल्लो राजनैतिक अवस्थालाई कसरी मूल्याङ्कन गरिरहेको छ ?
नेपालको वर्तमान राजनीतिक अवस्थाका बारेमा भन्नुपर्दा हामीलाई लाग्छ अहिले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डतामाथि प्रहार हुँदै गइरहेको छ । किनकि यसका संचालक राजनैतिक नेताहरू नेपाल र नेपालीहरूको लागि चिन्तित भएको अवस्था छैन । बरू कुनै दृश्य अदृश्य बाह्य शक्तिलाई कसरी खुशीपार्न सकिन्छ भन्ने नाउँमा नेपालको स्वतन्त्रता, स्वाभिमान र देशको पहिचानलाई समाप्त पार्ने काममा सक्रिय भइरहेको कुरा राष्ट्रिय शक्ति नेपालले बुझिरहेको छ ।
यसका विरूद्धमा राष्ट्रिय शक्ति नेपालले देशका ७७ वटै जिल्लाहरूमा आफ्नो संगठनहरू विस्तार गर्दै छ । एउटा दलको मात्र होइन, तीन करोड नेपाली जनताको निष्पक्ष र साझा राष्ट्रिय अभिभावक हुने संवैधानिक राजसंस्था र आदि–अनादिकालदेखि राष्ट्रिय पहिचानको रूपमा रहिआएको वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्दै राष्ट्रिय अखण्डता र अर्थतन्त्रलाई कमजोर पार्ने संघीयताको खारेजीको मुद्दालाई व्यापक रूपमा जनचेतना जगाउने काम गरिरहेका छौं । त्यसैको निरन्तरता स्वरूप गत श्रावण ४ गते राष्ट्रिय शक्ति नेपालले काठमाडौँको वसन्तपुर डबलीमा एउटा विशाल आमसभा सम्पन्न गरेको कुरा त यहाँहरूलाई जानकारी भएकै हुनुपर्दछ ।
झण्डै दुई तिहाइ नजिकको जनमत प्राप्त शक्तिशाली सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनलाई कसरी लिनुहुन्छ ? नेपालका शीर्ष नेताहरूमा नेतृत्व गर्ने क्षमतामा ह्रास भएको हो वा यो संघीय व्यवस्थाकै कमजोरी हो ?
फरक फरक स्कुलिङबाट विकसित पार्टीहरू राष्ट्रिय स्वार्थमा त के आफ्नै पार्टीको स्वार्थ र एजेण्डामा पनि एक ढिक्का हुन सकेनन् । पार्टीभित्र पनि विभिन्न गुट र गुटभित्रका नेताहरूको व्यक्तिगत स्वार्थपूर्तिको अभिलाषा बोकेर बनेको झण्डै दुई तिहाइको सरकार त्यसै पनि कमजोर थियो । उनीहरूसँग निहित स्वार्थको खेलभन्दा बलियो देश विकासको कुनै मार्गचित्र वा एजेण्डा थिएन । आ–आफ्नो स्वार्थको दुनो सोझ्याउने होडबाजीमा एकले अर्कोलाई खुइल्याउन केही बाँकी राखेनन् । निहित स्वार्थको लागि भएको आन्तरिक शक्ति संघर्षको परिणामले ओलीको लागि बहिर्गमनको ढोका खोलिदियो जुन स्वाभाविक थियो ।
राष्ट्र–प्रेमबाट अनुप्राणित भई देश र जनताको व्यापक हितका लागि क्रियाशील हुनुपर्ने नेताहरू जब अरू कसैको इसाराबाट सञ्चालित हुन थाल्छन्, त्यसपछि राष्ट्रिय स्वार्थ गौण बन्दोरहेछ । अनि मैले माथि भनेजस्तै बाह्य अदृष्य शक्तिहरूसँगको मिलेमतो वा साँठगाँठमा व्यक्तिगत स्वार्थ–सिद्धिका निमित्त अनुबन्धित भई परिचालित हुने नेताहरूमा मौलिकता, स्वाभिमान, नैतिकता तथा राजनैतिक क्षमताको आवश्यकता नै रहेन । त्यसमाथि १२ बुँदे दिल्ली सम्झौताको जगमा बनेको संविधान र त्यो संविधानले निर्माण गरेको व्यवस्था नै नेपालीको हितमा छैन । त्यसैले जो आए गए पनि यो संविधान रहुन्जेल राजनैतिक अस्थिरता भइरहन्छ । त्यसैले यसको उपयुक्त राजनैतिक उपचार भनेकै यो संविधान खारेज गरी मैले माथि उल्लेख गरेको व्यवस्था नगरी सुख छैन ।
राष्ट्रिय शक्ति नेपालले संघीयताका बारेमा बनाएको धारणा र नेताहरूको चरित्र मिलेको हो ? अथवा यो नेताविशेषको कमजोरी हो वा व्यवस्थाको ?
राष्ट्रिय शक्ति नेपालको धारणा विल्कुल नेपालको यथार्थ धरातलीय आधारमा निर्माण गरिएको छ जुन धारणा आयतित नभई नेपाल र नेपालीको आत्मा छुने मौलिक धारणा हो । त्यसैले बुझ नपचाई हेर्ने हो भने राष्ट्रिय शक्ति नेपालको धारणासँग असहमति राख्नुपर्ने कुनै पनि दल र नेतालाई जरूरी छैन । तर बुझ पचाएर परिचालित आखाँले हेरुन्जेल र यो गणतन्त्र व्यवस्था रहुन्जेल नेपालको वास्तविक अवस्थासँग मेल खाँदैन, भेट हुनै सक्दैन ।
यस पृष्ठभूमिमा राष्ट्रिय शक्ति नेपालको भूमिका के रहन्छ र के गर्दै हुनुहुन्छ ? पार्टी दर्ता गरेरै जनताको घरदैलोमा जाने कुरालाई कसरी हेर्दै हुनुहुन्छ ?
राष्ट्रिय शक्ति नेपालको भूमिका के हुन्छ भन्ने कुरा पहिलो प्रश्नमा नै उल्लेख गरिसकेको छु । जहाँसम्म पार्टी दर्ता गरेर जनताको घरदैलोमा जाने कुरा छ, घरदैलोमा त हामी यसै पनि गइरहेका छौं । तर संघीयता, धर्म निरपेक्षता र गणतान्त्रिक संविधानलाई मानेर पार्टी दर्ता गर्ने कुरा हामीले हाललाई सम्झेका पनि छैनौं । किनभने निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने नाउँमा संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रलाई स्वीकार गर्ने अनि बाहिर आएर संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दू अधिराज्य र संघीयताको खारेजीको कुरा गर्नु हामीलाई नैतिकताले छुट दिने कुरा होइन । त्यसैले हामी सर्वप्रथमतः हाम्रो मान्यता स्थापित गर्नको निमित्त राष्ट्रव्यापी रूपमा जनमत तयार गर्न विभिन्न प्रचार प्रक्रियाहरू अवलम्बन गर्ने छांै, गरिरहेका छौं पनि ।
पछिल्लो समयमा रवीन्द्र मिश्रले उठाएको बहसलाई राष्ट्रिय शक्ति नेपालले कसरी हेरिरहेको छ ? मिश्रले उठाएको आवाजमा कति दम छ ?
जुन व्यक्ति नेपालको भूगोल र इतिहासको राम्रो जानकारी राख्दछ र जुन व्यक्ति बाह्य दृष्य अदृष्य शक्तिहरूसँग अनुबन्धित नभई स्वतन्त्र भएर नेपाल र नेपालीको अवस्थालाई हेर्न, बुझ्न चाहन्छ भने ऊ ढिलो चाँडो राष्ट्रिय शक्ति नेपालको धारणामा आइपुग्नै पर्नेछ । आज विद्वान रवीन्द्र मिश्रजी पनि राष्ट्रिय शक्ति नेपालको वैचारिक दृष्टिकोण नजिक आइपुग्नु भएको छ । म उहाँलाई राष्ट्रिय शक्ति नेपालको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु ।
आजभन्दा करिब २ वर्ष अगाडि होला, मैले उहाँलाई भेटेर सँगै राजनीतिक यात्रा गर्ने प्रस्तावसहित यिनै कुराहरू राखेको थिएँ । तर त्यतिबेला मेरो कुरा खुशीले नभई करले मात्र सुन्नु भएको थियो जस्तो लागेको थियो । तर केही दिन अघिदेखि सामाजिक सञ्जालमार्फत् हामीले बोकेको धारणा उहाँबाटै पनि सुन्न पाउँदा मैले उहाँलाई फोनबाट बधाई तथा धन्यवाद पनि दिइसकेको छु ।
मलाई आशा र विश्वास छ, रवीन्द्र मिश्रजी मात्र होइन, अब अरू धेरैले यो राष्ट्रको माया गर्न र राष्ट्रलाई बचाइराख्नको निमित्त गणतन्त्र फ्याक्नै पर्ने आवश्यकता महसुस गर्नेछन् । त्यसैले रवीन्द्रजीको यो विश्लेषणले राष्ट्रलाई पहिचानसहित बचाइराख्नमा सहयोग पुग्ने छ । रवीन्द्रजीको धारणामा निश्चय पनि राष्ट्रवादी दम रहेको छ ।
अन्त्यमा तपाई केही सन्देश दिन चाहनुहुन्छ कि ?
जे होस्, स्वतन्त्र नेपालमा स्वाभिमानी नेपाली भएर रहिरहनको निमित्त यो संघीय, गणतान्त्रिक र धर्म निरपेक्षतासहितको व्यवस्थाले कुनै पनि हालतमा सहयोग गर्दैन । यसको अन्त्य हुनै पर्छ, गर्ने पर्छ ।