मेरो कर्म भनेको स्वास्थ्यकर्मी हुनु र रहर भने गायिका हुनु हो : राधिका ढकाल

मेलम्ची नगरपालिका वडा नं ५ मा जन्मिएकी राधिका ढकालले आफ्नो परिचय लोक गायिका तथा स्वास्थ्यकर्मीको रूपमा दिएकी छन् । गायिका तथा स्वास्थ्यकर्मी भए पनि ढकाल आफ्नो कर्म भनेको स्वास्थ्यकर्मी र गायिका हुनुचाहिँ आफ्नो रहर भएको बताउँछिन् ।

सानो उमेरदेखि नै नर्स बनेर विरामीको सेवा गर्न इच्छा भएकोमा र अहिले आएर स्वास्थ्यकर्मी हुन सकेकोमा आफू ज्यादै उत्साहित भएको बताउँदैै लोक तथा दोहोरी गायिकाको रूपमा पनि आफू स्थापित भएकोमा उनी धेरै खुसी भएको बताउँछिन् । लोक तथा दोहोरी गीत आफ्नो मौलिक भाषा, रहन सहन, भेषभूषालाई परिचित गराउने माध्यम रहेको बताउने ढकालले दुवै क्षेत्रमा लाग्दा पनि आफूले यसलाई सहज रूपमा लिएको बताइन् । प्रस्तुत छ उनै ढकालसँग नवकान्तिपुर डटकमका लागि गरिएको कुराकानीका सम्पादित अंशः



लोक तथा दोहोरी गीतलाई कसरी परिभाषित गर्नु हुन्छ ?
मेरो विचारमा लोक तथा दोहोरी गीत भनेको आफ्नै गाउँ–घरको रहनसहन, भेषभूषालाई परिचय गराउने माध्यम हो । दोहोरी गीत भनेको व्यक्तिविशेष वा ठाउँ विशेषअनुसार हुन्छ । आफ्नो दुःख पीडालाई भुल्दै जीवनलाई खुसियाली बनाउने माध्यमका रूपमा मैले लोक गीत तथा दोहोरी गीतलाई लिने गरेकी छु ।

तीज नजिकिंंदै छ, कुनै गीत निकाल्नु भएको छ ?
यसपालीचाहिँ मैले कुनै योजना बनाएकीे छैन । यस क्षेत्रमा लागेपछि आर्थिक समस्या पनि आउँछ । अहिले कोरोनको महामारीले संगीत क्षेत्रसहित विभिन्न व्यापार व्यवसायलाई धरासायी बनाएको छ । मेरो पेशा नै गायन हो भन्नेलाई आज बिहान बेलुका जीविकोपार्जन पनि धौधौ भएको छ । पहिलाकै तीज गीत भएको हुनाले पनि यसपाली तीजको गीत निकालिनँ ।

पछिल्लो समय कुन गीत निकाल्नु भयो ?
पछिल्लो समय मैले असारे गीत गाएको थिएँ असारमा । त्योभन्दा अगाडि दोहोरी गीत पनि आयो । तर, पछिल्लो गीतचाहिँ असारे गीत चक्रधुम नै हो ।

तपाईं स्वास्थ्यकर्मी कि गायिका ?
मेरो कर्म भनेको स्वास्थ्यकर्मी हो र रहरै–रहरमा लागेर बनेको चाहिँ गायिका हो । दुबैलाई उत्तिकै सम्मान गर्छु । आम मानिसलाई चिनाउनु पर्दा म आफूलाई गायिका भनेर चिनाउँछु ।

स्वास्थ्य क्षेत्रमा काम गर्न सजिलो कि गायन क्षेत्रमा ?
दुवै पेशा गाह्रो नै हो । अहिले बढी अध्ययन भनेको स्वास्थ्य क्षेत्रमा गर्नुपर्छ । किनभने यो मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । स्वास्थ्यसम्बन्धी कुराहरूमा अलिक बढी मिहिनेत गर्नुपर्छ । र, गायन क्षेत्र पनि गाह्रो नै छ । किनभने दोहोरी गीत स्टेज कार्यक्रममा गाउँदा केटा र केटीबीच दोहोरी चल्छ । त्यति बेला गीत फर्काउन गाह्रो हुने हुनाले दुवै पेशा गाह्रो नै छ ।

स्वास्थ्य क्षेत्रमा रहेर कोभिडको बेलामा कस्तो कार्य गर्नुभयो ?
कोभिडको एक दुईवटा केश हुनुभन्दा अगाडि मैले एउटा कोरोना सम्बन्धि गीत निकालेँ । यो गीत सबै ठाउँमा बज्यो, जसले गर्दा कोरोनाबाट कसरी बच्ने भन्ने विषयमा एउटा सचेतना कार्यक्रम जस्तै रह्यो । स्वास्थ्यकर्मी भएको कारणले गर्दा हामीलाई लकडाउन के हो भन्ने नै थाहा भएन । यही पेशामा लागेको हुनाले हामीले मानिसहरूलाई कोभिडको महामारीमा पनि स्वास्थ्य सेवा प्रदान गर्यौं विशेष सावधानी अपनाएर ।

कोरोना महामारीले गर्दा नै तपाईंले यसपटक तीज गीत ननिकाल्नु भएको हो ?
त्यस्तो होइन । पहिलाका गीतहरू छँदैछन् भनेर मैले गीत ननिकालेको हो । आफ्नै व्यस्तताको कारणले र आफ्नो लगानी परेपछि केही त आश हुन्छ नै । कोरोना महामारीको कारण स्टेज कार्यक्रम पनि नहुँदा लगानी उठाउन गाह्रो हुन्छ कि भनेर यस वर्ष गीत निकालिनँ । फेरि तीज गीत भनेको एक दुई महिना चल्ने हो, अरू सदाबहार गीत जस्तो हुँदैन । महिला गायिका भएर पनि यसपाली तीज गीत निकाल्न सकिनँ । अर्को वर्ष भने अवश्य निकाल्नेछु ।

तपाईंले गाएका गीतमध्ये तपाईंलाई कुन गीत मनपर्छ ?
मलाई आफूले गाएका सबै गीत मनपर्छ । यो, त्यो भन्ने नै छैन । तर, पछिल्लो समय मलाई चिनाएको भनेको राधा–कृष्ण भन्ने गीतले हो । र, युट्युबमा धेरै चलेको गीत पनि यही हो ।

तीजको गीतको नाममा विभिन्न विकृतिहरू आएका छन् । यसलाई कसरी लिनुहुन्छ ?
तीज गीत भनेको चाहिँ खास महिलाकै लागि हो । अहिलेको गीतमा पुरुषहरूको आवाज पनि छ तर म चैं तीजको गीतमा महिलाको मात्र आवाजमा निकाल्नु पर्छ भन्न चाहन्छु । विकृति विसङ्गति त छँदै छ नि । तीज भदौमा आउँछ तर गीत भने चैत वैशाखदेखि नै बजारमा आउँछ । त्यसको कारणले अरू गीतहरू मर्छन् ।

हुन त अहिले कोरोना महामारीले गर्दा तीजको रमझम त्यति छैन । नभए त एक दुई महिनादेखि नै तीजको दर कार्यक्रम भनेर पार्टी प्यालेस भरिन्थ्यो । विभिन्न स्टेज कार्यक्रमहरू हुन्थ्यो । त्यस्तै तीजको गीतको नाममा पहिरन र शब्द नै उत्ताउला खालको हुने गरेको हुँदा तीज गीत परिवारसँग बसेर हेर्न पनि अफ्ठ्यारो हुने गरेको छ । तीजको गीत भनेको नारीको बेदना र मर्म बोकेको गीत हो । तर, यहाँ त विभिन्न कमेडी र शब्दहरू पनि उत्ताउला हुने गरेका छन् । यसै कारण तीजको गीतमा विकृति पैदा भएको छ । हाम्रो संस्कार के हो भनेर हामीले बुझ्नु पर्छ । तीज महिलाहरूको महान् चाड भएकोले यसलाई सबैले सम्मान गर्नुपर्दछ ।

तपाईंलाई कुन भेगको गीत गाउन मनपर्छ ?
मलाई सबै भेगका गीतहरू मनपर्छ चाहे त्यो पूर्वेली होस् या पश्चिमेली । तर, म चाहिँ प्रायः काठ क्षेत्रकै भएर होला, काठे गीत नै धेरै गाउँछु । यो भन्नुको आशय मलाई पूर्वेली या पश्चिमेली मन नपर्ने भन्न खोजेको होइन । मलाई सबै भेगको गीत मनपर्छ ।

परिस्थिति सहज भयो भने कुनै गीत निकाल्ने सोचमा हुनुहुन्छ ?
परिस्थिति सहज हुने या नहुने हो, त्यो कसैलाई थाहा छैन । विश्वभरि नै फैलिएको यो महामारी सहज नभए पनि म केही समयपछि एउटा पश्चिमेली गीत निकाल्दै छु । त्यसको एरेन्जको काम पनि भैसक्यो । सायद त्यही गीत आउँछ होला । भोकलको कार्यक्रम एक दुई हप्तामा हुने कार्यक्रम छ ।

हालसम्म कुन कुन गीत निकाल्नु भयो ?
मेरो पहिले निकालेको गीत स्वास्थ्य सम्बन्धी गीत हो– अमूल्य चोला । यो मुटु सम्बन्धी गीत हो । त्यस्तै ठट्यौल्ऽी तीज गीत ‘कुल्फिवाले भैया’ लोक दोहोरी गीत ‘रातो टुनी टारी खेत मुनि’, ‘जाली रूमाल खल्तीमा’, ‘रामेछाप सिन्धुली’, तीज गीत ‘सानो मायालाई’, कोरोना सम्बन्धी गीत ‘राधा कृष्ण’ र असारे गीत ‘हुने भयो चक्रधुम’ रहेका छन् र चाँडै नै पश्चिमेली गीत ल्याउँदै छु ।

तपाईको नजरमा सबैभन्दा मन पर्ने लोक गायक तथा गायिका को को हुन् ?
मलाई सबै गायक तथा गायिकाहरू मनपर्छ, यो त्यो भन्ने नै छैन ।

अन्त्यमा दर्शकहरूलाई के भन्न चाहनु हुन्छ ?
लोक गायिकाको रूपमा म सम्पूर्ण दर्शक श्रोतालाई के भन्छु भने विकृति र विसङ्गति फैलाउने गीतभन्दा पनि खुसी बनाउने, शब्द र सङ्गीत सुहाउने गीत सुन्ने, हेर्ने र सुनाउने गर्नुहोला ।

 

सम्बन्धित समाचार