एउटा खेलमा फ्लप हुँदैमा टिममा नराख्नु उचित होइन : सुभाष खकुरेल

नमोबुद्ध नगरपालिका श्यामपाटी काउसेमा २०४४ असार ८ गते जन्मिएका सुभाष खकुरेल नेपाली क्रिकेटका एक हस्ती हुन् । क्रिकेटमा उनको बेग्लै पहिचान कायम छ । उनी कीर्तिमानी नेपाली क्रिकेट खेलाडी पनि बनेका छन् । विश्वकप टी–ट्वान्टीमा नेपालको तर्फबाट अर्धशतक बनाउने उनी पहिलो नेपाली खेलाडी बन्ने सौभाग्य पनि पाएका छन् ।

यतिबेला खकुरेल एभरेष्ट प्रिमियर लिगको तयारीमा व्यस्त छन् । उनी केही समययता राष्ट्रिय टोलीमा नियमित पर्न सकेका छैनन् । खकुरेलले आफू टोलीमा परे पनि वा नपरे पनि क्रिकेटका माधयमबाट देशको लागि केही योगदान गर्न सक्नु नै आफ्नो लक्ष्य रहेको बताए ।



अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाली क्रिकेट संघ (क्यान) को निलम्बनको निर्णय फिर्ता लिने निर्णय नेपाली क्रिकेटको लागि निकै उत्साहजनक रहेको बताए । उनी नेपालमा क्रिकेटको समयसापेक्ष विकासका लागि नेपाल सरकारले भौतिक पूर्वाधारसहित क्रिकेटमा यथेष्ट लगानी गर्नुपर्ने कुरामा जोड दिन्छन् ।

सन् २०१० मा क्रिकेटमा आफ्नो करियर सुरू गरेका खकुरेलले आफ्नो डेब्यु खेल यू–१९ मा युएईसँग खेलेका थिए । त्यस्तै उनले यू–२१ मा बंगलादेशसँग खेलेका थिए । पहिलो टी–२० को अन्तर्राष्ट्रिय खेल हङकङसँग खेलेका खकुरेलले पहिलो एकदिवसीय खेल भने नेदरल्याण्डसँग खेलेका थिए ।

लामो समयदेखि नेपाली ओपनिङ्गमा चल्न सकेको छैन । नेपालको जितमा मध्यक्रमका ब्याट्सम्यानहरूको योगदान रहेको छ । यस्तोमा खकुरेल भने विकेटलाई दोष दिन्छन् । नेपाली क्रिकेटको भावी योजना र क्रिकेटको विकासको लागि के गर्न सकिन्छ भन्ने विषयमा यिनै क्रिकेटरसँग नवकान्तिपुर डटकमका लागि सन्दीप भट्टराईले गरेको कुराकानीको सम्पादित अंशः

अहिले नेपालमा क्रिकेटको अवस्था कस्तो छ ?
अहिले नेपालमा क्रिकेटको अवस्था भनौं भने अहिले हामी एकदिवसीय राष्ट्र भैसकेकाले क्रिकेटको अवस्था राम्रो छ । नेपालले क्रिकेटमा उच्च स्तरीय खेल प्रदर्शन गरिरहेको छ । यस क्षेत्रमा नयाँ नयाँ युवा खेलाडीहरू प्रवेश गरिरहेका छन् र खेल पनि राम्रो खेलिरहेका छन् । क्रिकेट काउन्सिल नेपाल (क्यान) ले क्रिकेट खेलमा अझ बढी योगदान देओस् जसले गर्दा क्रिकेटको उचाईं अझ शिखरमा पुगोस् भन्ने आशा गर्दछु ।

एकदिवसीय मान्यता कायम राख्न के गर्नुपर्छ ?
एकदिवसीय मान्यता राख्न पहिले खेल जित्नैपर्छ । हामी जति जति खेल जित्दै जान्छौं, त्यति त्यति नै एकदिवसीय मान्यता पाउने अवसर सिर्जना भइरहन्छ । यसको लागि भएको टुर्नामेन्ट राम्रोसँग खेल्नु पर्ने हुन्छ र क्वालिफायर जित्नु पर्ने हुन्छ । त्यस्तै घरेलु एकदिवसीय र टी–२० खेलहरू धेरै भन्दा धेरै आयोजना गर्नु पर्छ जसले गर्दा क्रिकेट खेल्ऽाडीहरू व्यस्त रहुन् र कुनै एक खेलाडी घाइते भएको अवस्थामा उसको लागि पुनःस्थापना गर्न सकियोस् । त्यस्तै ट्रेनिंगको पनि उत्तिकै आवश्यकता छ । यसको साथै क्यानले पनि यसमा अहम् भूमिका देखाउन सक्नुपर्ने हुन्छ । क्यानले दक्ष ब्याटिंग कोच र बलिङ्ग कोच ल्याउन सकेमा नेपालले एकदिवसीय मान्यतालाई कायम राख्न सक्नेछ ।

क्यानले खेलाडीहरूको वृत्तिविकासमा कस्तो भूमिका खेलिरहेको छ ?
मैले खेल्दा चाहिँ ५÷६ वर्ष क्यान निलम्बनमैं पर्यो । त्यतिखेर खासै केही भएन । आशा गरौँ अब त क्यानको निलम्बन पनि फुकुवा भैसकेको छ । अब चैं क्यानले नेपालको क्रिकेट र नेपाली खेलाडीको वृत्तिविकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । क्यानको भूमिका पनि अहिले राम्रो भएको छ, जसले गर्दा क्यान नेपालको क्रिकेटको लागि परिपक्क भएर लागिपरोस् भन्ने चाहन्छु ।

लामो समय पारस खड्कासँग खेल्नु भयो । उहाँको सन्याससँगै कुनै कुरा मिस हुन्छ ?
पारसको सन्यासको कुरो उहाँको व्यक्तिगत निर्णय हो । उहाँको निर्णयमा हामीले केही भन्न मिल्दैन । क्रिकेटलाई उहाँले दिनसक्ने कुरा दिनु भयो होला र नयाँ खेलाडीहरूलाई पनि मौका दिनको लागि उहाँले सन्यास लिनुभयो होला । पारस हुनु र नहुनुमा नेपाली टिममा धेरै फरक पर्छ । तर उहाँको निर्णय हो, यसलाई सकारात्मक र सम्मानको रूपमा लिनुपर्छ ।

उहाँसँग धेरै खेल खेलियो, अतः धेरैै कुरा मिस हुन्छ । रूम सेयरिंगदेखि लिएर मैदानमा खेलेको खेल मिस हुन्छ । हुन त हामीले नेपालबाट खेल्नुभन्दा अगाडि घरेलु क्रिकेट खेल्थौँ; त्यो पनि मिस हुन्छ । त्यस्तै उहाँसँग ट्रेनिंग गरेको, बसमा ट्राभल गरेको देखि लिएर सबै कुरा मिस हुन्छ । एक–दुई वर्ष मात्र खेलेको भए पो यो कुरा मिस हुन्छ भन्नु; धेरै वर्ष सँगै खेल्यौं उहाँसँगका प्रायः सबै कुरा मिस हुन्छ ।

पारस अब व्यवस्थापकीय भूमिकामा आउने भन्नु भएको छ । यसले नेपाली क्रिकेटमा के फरक पार्ला ?
नेपालको क्रिकेटको लागि उहाँ राम्रो खेलाडी हो । उहाँ व्यवस्थापकीय भूमिका आउनुभयो भने नेपालको क्रिकेटअझ माथि पुग्ने कुरामा म आशा राख्दछु । के गर्दा क्रिकेटलाई फाइदा पुग्छ र के गर्दा क्रिकेटलाई थप विकास गर्न सकिन्छ भन्ने खुवी पारससँग छ । लगभग १७/१८ वर्ष क्रिकेट खेल खेलेको मान्छेले क्रिकेटको विकासको लागि धेरै कुरा गर्न सक्छ । यदि व्यवस्थापकीय भूमिकामा मौका दिएको खण्डमा नेपाली क्रिकेट क्षेत्रलाई धेरै फाइदा हुन्छ ।

नेपालको क्रिकेटको अबको लक्ष्य कस्तो हुनुपर्छ ?
अबको लक्ष्य भन्नुपर्दा एकदिवसीय मान्यता कायम राख्नसक्नु पर्दछ, जसले नेपालको क्रिकेट अझ उचाइमा पुग्दछ । एकदिवसीय मान्यता चार वर्षको हुन्छ । अब चार वर्ष एकदिवसीय मान्यता पाउनु भनेको क्रिकेटको लागि धेरै ठूलो कुरो हो । यदि एकदिवसीय मान्यता पाएनौ भने हामी डिभिजन २ मा झर्नु पर्ने हुन्छ, जसले गर्दा कुनै पनि अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा देशको सहभागिता रहँदैन ।

त्यसो भएर अहिलकोे महत्वपूर्ण कुरा भनेको एकदिवसीय मान्यतालाई कायम राख्नु नै हो । त्यस्तै क्यानले पनि थुप्रै अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेट प्रतियोगिता पनि आयोजना गर्नु पर्छ । नेपालमा अहिले प्रख्यात खेल नै क्रिकेट बनेको छ । क्यानले क्रिकेटलाई प्रायोजन गर्नु पर्यो भने अहिले कुनै पनि संघ–संस्थाले हुँदैन भन्दैनन् । अहिले हामी एकदिवसीय खेल वर्षको दुईवटा मात्र खेलिरहेका छौँ ।

तर यत्तिले त पुगेन नि क्रिकेटको विकासको लागि । पानी पर्ने सिजन भनेको जेठ, असार, साउन भदौ हो तर बाँकी समयमा त खास्सै पानी पर्दैन । यो समयमा चैं विभिन्न लिगहरू, सिनियर टिमहरूको लागि लिगगर्नु पर्यो क्यानले । देशलाई चिनाउने भनेको त सिनियर टिमले हो । अब अहिले म नेपाली टिममा छैन तर, अब नेपाली टिममा कसरी कम्ब्याक गर्ने ? नेपालमा धेरै घरेलु लिग हुँदैन । त्यसैले क्यानले यसमा ध्यान पुर्याउनु जरूरी छ । मैले १०–११ वर्ष खेलिसकेँ, राम्रै पनि खेलेको छु । तर अझै राम्रो खेल्नु पर्छ मैले । त्यसलाई प्रमाणित गर्न त घरेलु लिग चाहियो । घरेलु लिग नै भएन भने मैले नेपाली टिमको क्याम्पमा कसरी फर्कने ? हो, त्यही भएर नेपालमा धेरै भन्दा धेरै घरेलु लिगको आवश्यकता छ ।

घाइते भएकै कारण तपाई क्याम्पमा नपर्नु भएको हो ?
घाइते भएकै कारण म टिममा परिनँ होला । मलाई दुःख लाग्छ किन भने एउटा खेलिरहेको प्लेयर एक–दुई वर्ष बाहिर बसे पनि एउटा अवसर आउनु पथ्र्यो तर मैले त्यो अवसर पाइनँ । सबैलाई मौका त दिनु पर्यो नि ! एक–दुई म्याचमा राम्रो खेलेन भन्दैमा टिममा नै नराख्नु त भएन नि । अहिले नेपालमा खेलिरहेका केही खेलाडीहरू दुई वर्षदेखि फ्लप भैरहेका छन् तर मलाई चाहिँ कुनै एउटा खेलमा फ्लप भएँ भन्दैमा टिममा नै राखिएन ।

सबैलाई बराबरी मौका दिइनुपर्छ । कुनै खेलाडीले राम्रो खेल खेले पनि क्याम्पमा ब्याटिंग गर्न नदिइने हुँदा त्यस्तो खेलाडीले आफ्नो प्रतिभा देखाउनबाट बञ्चित हुनुपर्ने अवस्था आउँछ । सायद घाइते भएकै कारण म टिममा फर्किन पाइनँ । एक–दुईवटा क्याम्पमा राखेको भएको भए मैले आफूलाई प्रमाणित गर्ने अवसर पाउँथेँ होला । त्यही भएर मेरो खेल खस्केको जस्तो लाग्छ । नेपाली टिमबाट खेलेपछि कमसेकम क्याम्पमा त राख्नु पर्ने हो । अरूले ६ वटा म्याच खेल्ने अवसर पाउँदा मैले पनि ३ वटा त खेल्न पाउनु पर्यो नि । त्यसमा फ्लप भएँ भने निकालियोस् न, म फेरि मिहिनेत गरेर आउँछु । तर, त्यो छैन । एक–दुईवटा सिरिजमा नराम्रो खेल्यो भन्दैमा क्याम्प मैं राख्दैनन् । मेरो हिसाबमा मैले अरू खेलाडीको जस्तो बराबरी मौका पाइनँ ।

आगामी इपिएल आउँदै छ । कुन टिममा आबद्ध हुनुहुन्छ ?
म काठमाडौँ किंग्ससँग आबद्ध छु । आशा गर्छु, यसमा म राम्रो खेल पस्कन सक्छु । मैले पहिलो इपिएल घाइते भएर खेल्न सकिनँ, दोस्रोमा टिम मालिकले अक्सनपछि रिलिज गरिदिनु भयो । पर्सिदेखि म्याच सुरू छ, आज रिलिज गरिदिनुभयो । यस घटनामा कुनै नेपाली खेलाडीले बोलेनन् । मलाई लाग्छ कि मेरो ‘गड फादर’ नै छैन । पर्सिदेखि चितवन टाईगर्सको म्याच छ, मलाई आज रिलिज गरियो । यस विषयमा न कुनै सिनियर टिम बोल्योे न त कुनै कोच नै । सायद मेरो ठाउँमा अर्को खेलाडी भएको भए आन्दोलन नै हुन्थ्यो होला ।

तपाईलाई आफ्नो क्रिकेट करियरमा सर्वाधिक सम्झनलायक क्षण कुन लाग्छ ?
मलाई सम्झनलायक क्षण भनेको २०१४ को टी–२० विश्वकप नै हो । त्योभन्दा अघि विश्वकप क्वालिफायर्समा हङकङलाई जितेर विश्वकपमा पुगेको म्याच अझै सम्झना आउँछ ।

धेरै प्रशिक्षकसँग खेल्नु भयो । तपाइको नजरमा सबैभन्दा राम्रो प्रशिक्षक को हो ?
मलाई मन पर्ने प्रशिक्षक भनेको पुबुदु दासनायके हो । हुन त पुबुदु सर आउनुभन्दा पहिले पनि खेलिरहेको थिएँ, तर मैले मौका पाएको थिएन । पुबुदु सरले मेरो ट्यालेन्ट देखेर मलाई टिममा राख्नु भयो र त्यस खेलमा मैले राम्रो खेलेँ पनि ।

क्रिकेटको प्रतिबन्धदेखि फुकुवा र क्यानको वर्तमान नेतृत्वसम्म आइपुग्दा क्रिकेटभित्रको राजनीतिलाई कसरी लिनु हुन्छ ?
क्रिकेटमा राजनीति धेरै थियो, अब त्यो के हो लागि थियो मलाई थाहा छैन । अहिले पनि राजनीति छ । एक दुई म्याच खेलेर राष्ट्रिय टिममा पर्छ भने राष्ट्रिय टिमको स्तर के हो ? यसमा कसैले बोल्दा पनि बोल्दैन । कोही कसैले बोल्ने प्रयास गर्यो भने त्यसलाई कारवाही स्वरूप ‘तँ टिममा परिनस्’ भन्छन् । एक दुई म्याच खेलेर राष्ट्रिय टिममा खेल्न पाउनु राष्ट्रिय टिमको स्तर होइन । क्यानमा अहिले पनि राजनीति छ र त्यो पछिसम्म पनि रहन्छ । तर अहिले क्यानले धेरै सुधार गरिरहेको छ । आशा गरौँ अब क्यानमा राजनीति नहोस् ।

क्रिकेटमा आउन चाहने नयाँ पिढीलाई के भन्न चाहनु हुन्छ ?
नेपाली क्रिकेट राम्रो छ । अब नयाँ कोच र राम्रो प्रशिक्षण पाएमा नेपाली क्रिकेटको स्तर अझ माथि पुग्छ । शतप्रतिशत यसैमा नलाग्नुस्, पढ्नुस् पनि । पढाई नै सबैभन्दा ठूलो कुरो हो । सिस्टममा खेल्नुहोस् । कसैको सोर्स फोर्समा नभई राम्रो क्रिकेट खेल्नुभयो भने तपाई अवश्य पनि राष्ट्रिय टिममा पर्नुहुनेछ ।

विश्वमा यति धेरै फ्रेञ्चाइज टी–२० भैरहेका छन् तर नेपाली खेलाडीको उपस्थिति कमजोर छ । किन होला ?
मैले खेल्दा नेपाल डिभिजन ५ मा थियो । त्यसपछि २००८ मा नेपालले एकदिवसीय खेल खेल्यो । यदि नेपालले एकदिवसीय मान्यता नपाएको भए सन्दीप लामिछानेको पनि उपस्थिति हुँदैन थियो होला । एकदिवसीय मान्यता र राम्रो एक्पोजरले गर्दा अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको नाम चर्चित हुँदै उनी ग्लोबल आइकन बनेका हुन् । अहिले सोमपाल कामी, करण केसी, किशोर मल्ल खेलिरहेका छन् । एकदिवसीय मान्यता पनि पाएका छौँ । आशा गरौं, आइपीएल, सीपीएल, ग्लोबल टी–२० मा नेपाली खेलाडीको उपस्थिति बाक्लो हुनेछ ।

कोरोनाको कारण सबै क्षेत्र अस्तव्यस्त छ । यसले नेपालको क्रिकेटलाई कस्तो असर पार्यो ?
कोरोनाले गर्दा नेपालमा घरेलु क्रिकेट लिगहरू भएनन् । खेलाडीको स्केल पनि खस्कियो । राष्ट्रिय टिमको क्याम्प पनि हुन सकेन । गत वर्ष नै हुनुपर्ने इपीएल आगामी असोजमा हुँदैछ । कोरोना बढिरहेकोले गर्दा त्यो पनि हुन्छ हुन्न निश्चित छैन । कोरोनाले गर्दा नेपाली क्रिकेट पनि अछुतो रहेन ।

अन्त्यमा नेपाली क्रिकेट फ्यानलाई के भन्न चाहनु हुन्छ ?
नेपाली क्रिकेटलाई माया गर्दिनोस् । समर्थन गर्दिनोस् । नेपाली क्रिकेटको स्तर उकास्न फ्यानको धेरै महत्वपूर्ण भूमिका हुन्छ । मैले क्रिकेट खेल्दा समर्थन गर्नुहुने सबै फ्यानलाई हार्दिक धन्यवाद दिन चाहन्छु । तर खेलाडीलाई गाली नगर्नुस् । खेलाडीले आफ्नो देशको लागि भनेर मिहिनेत गरेर खेल्ने गरेको हुन्छ । सच्चा फ्यानले खेलाडीहरूलाई गाली गर्नुहुन्न ।।

सुभाष खकुरेल

सम्बन्धित समाचार