कृष्णप्रसाद न्यौपाने
काठमाडौं, २ असाेज ।
शेर्पा, हायु, जिरेल, थाम, मगही, लेप्चा अछामी, दुरा
सन्थाली, दनुवार , थारु, पहरी, राई , कुसुन्डा, पुमा।
मेचे , ताजपुरी, धिमाल,खडिया, तामाङ , बोटे, घले
भाषा होस् न कुनै यही मुलुकका रैती हितैषी भए।।
।।१।।
जाओस् मानिस चर्च, मस्जिद तथा गुम्बा र देवालय
मानोस् चाड दसैं, तिहार, इद वा ल्होसार, माघी, तिज
रोदी , फाग र धान नाच, जितिया, सेलो र चण्डी, छठ
मान्ने मानिस बन्धुबान्धव सबै यो देश साझा घर।।
।।२।।
धोती, बक्खु, घलेक, कोट,फरिया, टोपी,पटासी सब
चौबन्दी, सुरुवाल टोप यिनले के भिन्नता गर्छ र?
लाऊन् वेश जुनै बसून् सब मिली नेपाल बासी जति
हाम्रो दिव्य धरा छ पूजित सदा हामी सबै सन्तति।।
।।३।।
छेत्री, बाहुन, डोम, ताजपुरिया, कामी,घले, झाँगड
पोडे, धानुक, गाइने, मगर वा सार्की, कुमाले थर
कोईरी , ठकुरी र यादव, दुरा, नेवार, तेली, सुढी
सारा एक बनौँ विभेद नगरी यौटे रहोस् आँगनी।।
।।४।।
के मङ्गोल र आर्य मानव सबै बन्धुत्व नै उच्च छ
चुच्चो नाक भएर मानिस कहाँ भिन्नै यहाँ हुन्छ र?
कालो चर्म हुँदा मनुष्यहरुमा पार्थक्य के नै छ र?
नेपाली जनता समान जहिले पाइन्न है अन्तर।
।।५।।
भाषा, धर्म, बसाइ, भूमि जसले टाढा कहाँ गर्छ र?
आफ्नो देश भनेर गर्वित हुने सम्बन्ध नै हैन र?
किल्ला, भूमि सदैव रक्षित बनून् खोला, गुफा, टाकुरा
आफ्नै पौरखमा रमाउन सिकून् हाम्रा युवा पाखुरा।।
।।६।।
नारा भाषणले लडाइ जनता कुर्सी चढेकाहरू
खेती गर्न सिपालु ती डलरका भोक्ता पुजारीहरू।
हाम्रो मेलमिलापमा विष छरी भाङ्जो खडा गर्दछन्
नेपाली जनता मिलीकन बसे के गर्न पो सक्दछन्।।
।।७।।