नारी नाङ्गिदाभन्दा पनि ढाकिँदा उनीहरूको सौन्दर्य खुल्ने गर्छ : निर्देशक थापा

भारतको सिमलामा जन्मिएका म्युजिक भिडियो निर्देशक शान थापाको गृह जिल्ला भने गुल्मी हो । सानै उमेरदेखि नै गीत संगीतलाई माया गर्दै आएका शान थापाको म्युजिक भिडियोका क्षेत्रमा बेग्लै पहिचान बनिसकेको छ ।

चार वर्षमा लगभग ४०० वटा म्युजिक भिडियोहरू निर्देशन गरेका थापालाई म्युजिक क्षेत्रमा होस् या चलचित्र क्षेत्रमा होस्, केही नयाँ आयामको साथ काम गर्ने ठूलो रहर थियो । र, त्यही रहरले नै गर्दा थापा आज आफ्नो क्षेत्रमा सफल पनि भएका छन् । दश वर्ष सिनेमा क्षेत्रमै लागेर डिजाइनरको रूपमा काम गरेका थापा यस क्षेत्रमा लागेको पनि १४ वर्ष भयो । आफ्नो सिर्जनालाई सन्तानजस्तै मान्ने थापाको सिद्धान्त भनेको आफूले गर्ने काममा मेहनत गर्नु हो । यिनै मेहनत गरेर आफूलाई स्थापित गराउन निरन्तर कर्मशील व्यक्तित्व थापासँग नवकान्तिपुर डटकमका लागि सन्दीप भट्टराईले गरेको कुराकानीको सम्पादित अंशः



दर्शक र श्रोतामाझ शान थापालाई कसरी चिनाउने प्रयासमा हुनुहुन्छ ?
म्युजिकका क्षेत्रमा होस् या चलचित्रका क्षेत्रमा, नयाँ आयामको साथ काम गर्ने मलाई ठूलो रहर थियो । त्यही रहर पूरा गर्नको लागि आफ्नो पढाई सकाएपछि यस क्षेत्रमा लागेको हुँ । दश वर्ष त म सिनेमा क्षेत्रमै लागेर डिजाइनरको रूपमा काम गरेँ र आफूलाई चिनाएँ । र, आफ्नो कार्य क्षेत्रलाई बढाउदै जाने क्रममा आज म म्युजिक भिडियो निर्देशकको रूपमा पहिचान बनाउँदै छु । पाँचवटा सिनेमामा पनि मैले सहायक निर्देशको रूपमा काम गरेको छु ।

तर, पछिल्लो समय म म्युजिक क्षेत्रमै काम गरिरहेको छु र चार वर्षमा मैले लगभग ४०० वटा म्युजिक भिडियोहरू निर्देशन गरिसकेको छु । तीमध्ये कुनै हिट भए, कुनै ठिक्क चले र कुनै चलेनन् पनि । भिडियो निर्देशकलाई दर्शकहरूले खास्सै चिनेका हुँदैनन् । हामी दर्शकमाझ आमने–सामने पनि हुँदैनौं । हामी पर्दापछाडि रहेर काम गर्ने तर कलाकारहरू पर्दाअगाडि रहेर अभिनय गर्ने भएकोले दर्शक श्रोताहरूले हामीलाईभन्दा कलाकारलाई चिन्दछन् । विधा नै त्यस्तै हो । हामीलाई चिनाउने भनेको कलाकारहरूले हो । उनीहरूले कुसलतापूर्वक गर्ने अभिनयमा हामी धोलिएर रहेका हुन्छौं । सिर्जनाभित्र हामी जीवित हुन्छौं । सिर्जना सफल भयो र दर्शक-श्रोताले मनपराईदिनुभयो भने हामीलाई पनि आनन्द लाग्छ । यात्रा गर्दा ठेस लागे पनि हामी दर्शक र श्रोतालाई मनोरञ्जन दिने खालको सामग्रीहरू बनाइरहेका हुन्छौँ । यो हाम्रो कर्म हो । दर्शक र श्रोताहरूले पनि हाम्रो कर्मलाई मनपराइदिनु भएको छ । यसैमा हामी सन्तुष्ट पनि छौं । यो एउटा टिम वर्क हो ।

म्युजिक भिडियो निर्देशन क्षेत्रमा लागेको कति वर्ष भयो ?
म यस क्षेत्रमा लागेको १४ वर्ष भयो । पहिला सिनेमानगरी थियो भने अहिले म्युजिक भिडियोको क्षेत्रमा काम गरिरहेको छु । व्यवसायिक रूपमा पछिल्लो समय सिनेनगरीको क्षेत्र चाहिँ केही नाजुकजस्तो भएको कारण म्युजिक भिडियोका क्षेत्रमा लागेको हुँ । तुलनात्मक रूपमा यो क्षेत्र केही राम्रो छ ।

एउटा निर्देशकका रूपमा म्युजिक भिडियो निर्देशन गर्न सजिलो कि चलचित्र निर्देशन गर्ने ?
फिल्म र म्युजिक क्षेत्र भनेको नितान्त फरक क्षेत्र हुन् । फिल्म भनेको २–३ घण्टासम्म दर्शकलाई मनोरञ्जन प्रदान गर्ने विषय हो भने म्युजिक भिडियो भने ३–४ मिनेटका लागि बनेको हुन्छ । फिल्मी क्षेत्र र म्युजिक क्षेत्रको प्रस्तुति गर्ने शैली नै फरक हुन्छ । गार्हो त दुवै क्षेत्र गार्हो नै छ । फिल्म निर्देशनको लागि धेरै समय छुट्याएको हुन्छ, टिम ठूलो हुन्छ र धेरै योजना बनेको हुन्छ भने म्युजिक क्षेत्रमा चाहिँं सीमित समयमा रहेर काम गर्नु पर्ने हुन्छ । यसमा म्युजिक निर्देशकलाई कामको भार बढी रहन्छ । कहिलेकाहीँ एक दिनअघि गीत सुनेर म्युजिक भिडियोको निर्देशन गर्नु पर्ने भएकोले म्युजिक क्षेत्र निर्देशन गर्न गाह्रै हुन्छ ।

पछिल्लोपटक निकाल्नु भएको म्युजिक भिडियो कुन हो ?
पछिल्लो पटक मैले एउटा तीज गीत निकालेँ, त्योभन्दा अगाडि ‘तिम्रो मनमा ए कान्छा’ र ‘आँखामा आउँछ सपनी’ हो । कामहरू गरिरहेको छु र पछिल्लोपटक चलेका भिडियोहरू यिनै हुन् ।

धेरै म्युजिक भिडियो निर्देशन गर्नुभयो । तपाईलाई मनपर्ने म्युजिक भिडियो चाहिँ कुन हो ?
म्युजिक भिडियो अरूले कसरी लिन्छन् मलाई थाहा छैन तर कुनै पनि मेरो सिर्जना मलाई आफ्नो सन्तान जस्तै प्यारो लाग्छ । हरेक म्युजिक भिडियोलाई हामी उत्तिकै मेहनत र समय दिएर बनाउने गर्छौं । मलाई केवल पाँच भ्युज गएको कुनै मेरो भिडियो पनि मनपर्न सक्छ । दर्शकको भ्युज हेरेर मलाई यो वा त्यो भिडियो बढी मनपर्छ भन्दिनँ । मैले सिर्जना गरेका सबै म्युजिक भिडियोहरू मलाई मन पर्छन् । सिर्जनाको मूल्याङ्कन गर्ने कार्य त दर्शक श्रोताको हो ।

तपाईको म्यूजिक भिडियो तपाई आफ्नै अफिसियल युट्युब च्यानलबाट रिलिज गर्नु हुन्छ कि अरू च्यानलबाट रिलिज गर्नु हुन्छ ?
मेरो अफिसियल युट्युब च्यानल पनि छ– टौवा । तर, म आफ्नो युट्युब च्यानलबाट रिलिज गर्दिनँ । किनभने म व्यवसायिक मान्छे, मैले हरेक च्यानलसँग आबद्ध भएर कम गर्नुपर्ने हुन्छ । मलाई अरू च्यानले हायर गर्नुहुन्छ । म आफूलाई हायर टेक्निसियन भन्न रूचाउँछु । त्यसैले म मेरो च्यानलभन्दा पनि हरेक च्यानल उठून् भन्न चाहन्छु ।

तपाईलाई अरू युट्युब च्यानलहरूले भ्युजअनुसार पैसा दिन्छन् कि अरू कुनै आधारमा ?
आजसम्म मेरो सवालमा छैन यो । भ्युज होइन, निर्माणको स्तर हेर्ने पनि हुनुहुन्छ । कतिजना भ्युजलाई पनि आधार मान्ने पनि हुनुहुन्छ । तर, म के भन्छु भने भ्युजको कुरा नगर्नुहोला । म मेहनत गर्छु । राम्रो कन्टेन्ट दिन्छु । त्यसैले मेरो सिद्धान्त भनेको मेहनत गर्नु हो र राम्रो भिडियो बनाउनु हो, जुन आज पनि सफल भएजस्तो लाग्छ ।

म्युजिक भिडियोलाई कसरी परिभाषित गर्नुहुन्छ ?
पहिला पहिला अडियो मात्र सुनिन्थ्यो तर पछि भिडियो पनि समावेश भएपछि यसले थप मनोरञ्जन दिने नै भयो । म्युजिक भिडियो भने मनोरञ्जात्मक विषय हो । म्युजिक भिडियो भनेको श्रव्यदृश्य मार्फत नाटकीय शैलीमा दृश्यहरू देखेर मनोरंजन लिने साधन हो । म्यूजिक भिडियोको सवाल्ऽमा गीतनै राम्रो हुनुपर्छ र गीत राम्रो भएसँगै भिडियो पनि राम्रो हुन्छ । म्यूजिक भनेको सुन्नको ल्ऽागि मात्र बनाएको हो नि तर आजको परिवेशमा हेर्नु पर्छ भन्ने पनि दर्शको चाहनाल् अहिले हामीले मेकरको रूपमा म्यूजिक भिडियो लिएर आएको भन्न सकिन्छ ।

अहिले म्युजिक भिडियोमा अश्लीता र परिवारले हेर्न नमिल्ने भिडियो सार्वजनिक भइरहेको अवस्था छ । यसलाई कसरी लिनु हन्छ ?
मेरो विचारमा जति पनि मेरो म्युजिक भिडियोहरू छन् नि, त्यसमा यस्ता विषयहरू समावेश नै छैनन् । नारी भनेका सुन्दरताका प्रतीक हुन्, सौन्दर्यका खानी हुन् । त्यसैले म्युजिक भिडियोहरूमा प्रायः नारी सौन्दर्यलाई नै पस्किने गरिन्छ र हेर्ने पनि गरिन्छ । यसको अर्थ केटालाई हेरिँदैन भनेको होइन तर सजावट र सौन्दर्यले गर्दा केटीहरू नै राम्रा देखिन्छन् । नारी सौन्दर्य देखाउन उनीहरूलाई नङ्ग्याउनु जरुरी छैन । मेरो विचारमा नारीहरू जति बढी ढाकिन्छन्, उनीहरूको सुन्दरता अझ बढी प्रस्फुटन हुन्छ । नाङ्गिएर मात्र सुन्दर देखिने होइन । नारीलाई नङ्ग्याउँदैमा वा कामुकता देखाउदैमा म्युजिक भिडियोहरू चल्छन् भन्ने पनि हुँदैन ।

मेरा म्युजिक भिडियोहरू अश्लीता झल्किने खाल्का हुँदैनन् र म अरूलाई यस्तो कार्य नगर्नु भन्न पनि सक्दिन । तर म व्यक्तिगत रूपमा चाहिँ म्युजिक भिडियोमा अश्लीलता पस्केका र परिवारहरू सँगै बसेर हेर्न नमिल्ने भिडियोहरू सार्वजनिक नभएकै राम्रो भन्ने चाहन्छु ।

तपाईसँग काम गर्दा कलाकारहरूले कस्तो प्रतिक्रिया दिन्छन् ?
मसँग अहिले जति पनि कलाकरूले काम गर्नुभएको छ, उहाँहरू चाहिँ निराश हुनु भएको छैन । म कलाकरहरूको केयर गर्नेदेखि लिएर सबै चाहिने सामानहरू उपलब्ध गराउँछु । किनभने उनीहरू त मेरो कलाकार हुन् नि ! मेरो भिडियोमा मुख्य भूमिकामा उनीहरू हुन्छन् । उनीहरूलाई आदर गर्न एक म्युजिक भिडियो निर्देशकको ठूलो भूमिका हुन्छ । अहिलेसम्म मसँग काम गरेका कुनै कलाकारले निराश हुनु परेको छैन होलाजस्तो लाग्छ ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण सबै क्षेत्र अस्तव्यस्त भयो । यसले म्युजिक भिडियो क्षेत्रमा कतिको असर पार्यो होला ?
लकडाउनको बेला त म्युजिक भिडियो बन्द नै भयो, रिलिज नै भएनन् । दोस्रो लकडाउनपछि पनि ४०–५० वटा म्युजिक भिडियो बनेका छन् । लकडाउनको बेला त युट्युब स्तब्ध नै भयो । तर म्युजिक भिडियो बजारमा रिलिज भइरहेकोले गर्दा खास्सै असर त गरेन । चलचित्रको क्षेत्रमाचाहिँ ठूलै असर पर्यो । चलचित्र क्षेत्रमा जस्तो असर म्युजिक भिडियोको क्षेत्रमा परेन । पछिल्लो अवस्थामा त झन् बढी म्युजिक भिडियोहरू बनिरहेका छन् ।

हालसालै बजारमा आउन लागेको तपाईको म्युजिक भिडियो कुन हो ?
मैले अहिले लगभग १२ वटा सुटिङ गरिसकेको छु । दशैंसम्बन्धी म्युजिक भिडियोहरू पनि छन् । अब समयअनुसार नै म रिलिज गर्दै जान्छु । तर, तत्कालै चाहिँ म कुनै पनि भिडियो रिलिज गर्ने तयारीमा छैन ।

अहिलेसम्म तपाईसँग काम गर्ने कलाकारहरूले म यति पारिश्रमिक भए मात्र काम गर्छु भनेर भनेका छन् कि छैनन् ?
अहिलेसम्म त्यस्तो अवस्था आएको छैन । उनीहरूको रेटअनुसार नै मैले पारिश्रमिक दिने गरेको छु । सबैजना सन्तुष्ट छन् । कुनै पनि कलाकारहरूले यति चाहियो, उति चाहियो भनेर भन्ने अवस्था आएको छैन ।
अन्त्यमा दर्शक-श्रोतालाई केही भन्न चाहनु हुन्छ ?
नेपाली म्युजिक भिडियो र गीतहरूलाई माया गरिदिनु होला । कोरोनको कहर अझै निर्मुल नभएको अवस्थामा आफू सुरक्षित बन्नु होला । तपाईंहरूलाई मनोरञ्जन प्रदान गर्न हामी म्युजिक भिडियोहरू बनाइरहेका छौं । घरमै बसेर नेपाली गीत सङ्गीतलाई माया गरिदिनु होला भन्न चाहन्छु ।

सम्बन्धित समाचार