नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असाेज ।
नेपालको राजनीतिक इतिहास हेर्दा दलहरू फुट्नु र जुट्नुलाई सामान्य मानिन्छ । अझ भनौं कम्युनिष्ट पार्टीहरू त नेपालमा लामो समय एकीकृत रहन सकेकै छैनन् । गत निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र चुनावी तालमेल गर्दै एकता सम्म गर्छौं भनेर चुनावमा सँगसँगै होमिए । यसले जनतामा निकै उत्साह जागेको थियो । पार्टी एकता पनि भयो तर लामो समय टिक्न सकेन । दुई पार्टी एकीकृत भएर बनेको सिंगो पार्टी नेकपा विभााजित भएर अहिले तीन टुक्रा बनेको छ । पार्टीहरू किन फुट्छ्न ? फुटको विकल्प किन खोजिँदैन ? युवाहरू नेताहरूको लहैलहैमा लागेर किन विभाजनको दिशा रोज्छन् ? यिनै सन्दर्भमा नेकपा (एकीकृत समाजवादी) पार्टीका भ्रातृ संगठन युवा संघ नेपाल गण्डकी प्रदेश कमिटी सचिव सन्तोष अधिकारीसँग नवकान्तिपुर डटकमले गरेको कुराकानीको सार सङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।
माउ पार्टी एमालेबाट विभाजित भएर नेकपा एस निर्वाचन आयोगमा दर्ता गराउनु भएको छ । नेपालमा कम्युनिष्ट पार्टीहरू विभाजित हुनुमा तपाई कसको दोष देख्नुहुन्छ ?
पहिलो कुरा त कम्युनिष्ट पार्टीहरू हुन् वा कांग्रेसलगायत अन्य पार्टीहरू हुन, कुनै पनि फुटेको राम्रो होइन । फुटेर वा विभाजित भएर हामी गन्तव्यमा पुग्न सक्दैनौं । नेपालमा कम्युनिष्ट पार्टीहरूलाई जनमत फापेन कि जस्तो देखिन्छ । २०५१ सालमा अल्पमतकै भए पनि एमालेले सरकारको नेतृत्व गर्यो । कमरेड मनमोहन अधिकारी नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्नुभयो । उहाँको शासन काल वास्तवमै उत्कृष्ट थियो । जनताहरूलाई भ्रम सिर्जना गरिएको थियो– कम्युनिष्ट पार्टीको शासन भए दुःख हुन्छ र सुखले बाँच्न दिंदैनन् भनेर । तर त्यसको ठीक उल्टो भयो । जनपक्षीय कार्यक्रमहरू आए । बालकदेखि वृद्धवृद्धासम्म लाभान्वित हुने गरी सरकारले कार्यक्रमहरू ल्यायो । यसले गर्दा जनतामा आशा पलाउँदै गयो र कम्युनिष्ट पार्टीहरूप्रतिको वितृष्णा हट्दै गयो । नेकपा एमाले देशको प्रमुख राजनीतिक शक्तिको रूपमा विकसित हुँदै थियो । तर यो अवस्था धेरै समय टिक्न सकेन र २०५४ सालमा नेकपा एमाले विभाजित भई नेकपा माले गठन भयो । त्यसैगरी २०६४ मा पनि तत्कालीन नेकपा माओवादीलाई जनताले अप्रत्याशित मत दिए । उक्त पार्टी प्रमुख शक्ति बन्यो तर कति समय ? करिब चार पाँच वर्ष । अहिले हेर्नुस त, नेकपा एमाले र माओवादी केन्द्र एकीकृत हुन लागे, बृहत कम्युनिष्ट पार्टीले जनताको निम्ति राम्रो काम गर्ला भनेर जनताले मत दिएका होइनन् ?
करिब दुई तिहाई बहुमतको सरकार गठन भयो । नेकपा ठूलो पार्टी बन्यो । तर भयो के ? उही विभाजन । अहिले वामदेव कमरेडले नेतृत्व गरेको एकता अभियान समेत गन्ने हो भने चार चिरामा कम्युनिष्ट पार्टी विभाजित छन् । यसको एउटा कारण नेताको विचमा पदको निम्ति खिचातानी, आफू मात्र सर्वमान्य, अन्य सबै पिछलग्गू भन्ठान्ने सोच, नेतृत्वको स्वेच्छाचारीता, मुद्दा केन्द्रीत नभई व्यक्ति केन्द्रित राजनीतिले हो जस्तो पनि लाग्छ । पार्टीको मूल नेतृत्वले अभिभावकत्व ग्रहण गरेर पार्टीलाई एकढिक्का राख्न सक्नु पथ्र्यो तर त्यो देखिएन । पार्टीलाई कमिटीगत निर्णय गर्दै अगाडि लैजान सकेको भए यो अवस्था आउँदैनथ्यो कि भन्ने लाग्छ ।
नेताको इगो वा जुंगाको लडाइँले गर्दा पनि पार्टीहरू विभाजित हुने गरेका छन् भन्नुभयो, कार्यकर्ताहरूले नेताहरूलाई खबरदारी गर्नु पर्दैन ?
पार्टी फुट्नुको एउटा कारण नेताको इगो पनि हो । एकले अर्काको अस्तित्व स्वीकार्न नसक्दा विभाजनसम्म पुगेको हो । लामो समय कमरेड केपी ओली र कमरेड माधवकुमार नेपालले सँगै एउटै पार्टीमा काम गरेको होइन ? केपी ओलीको भन्दा कम योगदान होला माधव कमरेडको कम्युनिष्ट आन्दोलनमा ? तर त्यो वास्तविकता स्वीकार्न कमरेड ओली त तयार देखिनुभएन । माधव कमरेडले पार्टीको नेतृत्व गरिरहँदा केपी कमरेडको हैसियत के थियो पार्टीमा ? स्थायी कमिटी सदस्य न हो । समयले मान्छेलाई कहाँदेखि कहाँसम्म पुर्याउँछ ? तर आफ्नो धरातल भने विर्सनु हुँदैन । कार्यकर्ताहरू सबै एकै किसिमका हुंदैनन् । कसैलाई दासत्व नै स्वीकार्य छ भने हामी के भन्न सक्छौं र ? परिस्थितिलाई सबैले एकै ढङ्गले बुझ्दैनन् । कोही पार्टीभित्र अराजकता हाबी भयो भनेर स्वीकार्छन् तर त्यसका बिरूद्ध बोल्न डराउँछन् । असल कार्यकर्ताले कुनै नेता वा समूहको पक्ष नलिई गल्ति गर्दा सबैलाई खबरदारी गर्न सक्नुपर्दछ । नेताले जसो गर्दा पनि सही थाप्दा अराजकता बढ्दै जान्छ ।
एमालेभित्रै रहेर अन्तरसङ्घर्ष गर्न डराएर पार्टी छोड्नुभएको भनेर बुझ्दा हुन्छ ?
त्यस्तो पनि होइन । जब ढोका नै खोल्न खोजिँदैन भने कहाँ गएर अन्तरसङ्घर्ष गर्नुहुन्छ ? बाहिर ‘पार्टीभित्र आउनुस्, सँगै काम गरौं’ भनेर भन्ने अनि कार्वाही पनि नरोक्ने । एकपछि अर्को आफू इतरका नेताहरूलाई कार्वाही गर्दै अगाडी बढ्न थालेपछि कसरी हुन्छ अन्तरसङ्घर्ष । पार्टी कसैको विर्ता त होइन नि ! नेतृत्वले एकलौटी निर्णय गर्दै जाने अनि अरू सबैले ताली बजाइदिने ? त्यस्तो पनि हुन्छ र कम्युनिष्ट पार्टीम ? अनि माधव कमरेडले नेतृत्व गरेको समूह पार्टीमा कमजोर हो र ? नवौं महाधिवेशनमा कति मतले हार्नुभएको हो माधव कमरेड ? आठौंमा त केपी कमरेडलाई नै परास्त गर्दै झलनाथ कमरेडले जित्नुभएको होइन ? नेताहरू मैदान छोडेर भाग्नुभएको होइन, बाध्यतामा पारियो भनेर बुज्दा हुन्छ ।
लामो समय काम गरेको पार्टी छोड्नुपर्दा कस्तो महसुस गर्नुभएको छ ?
हामी अवश्य पनि खुसी छैनौं । नयाँ पार्टी गठन गर्नु रहर होइन बाध्यता हो । २०७७ फाल्गुन २३ को सम्मानित सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्कायो तर नेतृत्व त्यसप्रति जिम्मेवार देखिएन । पार्टी वरिष्ठ नेताहरू लगायतका नेताहरूलाई कार्वाहीको श्रृङ्खला बढ्दै गयो । यसले माधव कमरेड लगयतका नेताहरू र उहाँहरूले नेतृत्व गरिरहेको एउटा पङ्क्तिलाई पार्टीभित्र ढोका बन्द गरिँदै गयो । दुर्ई दुई पटकसम्म जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था संसदको हत्या गर्न कोसिस गरेकोमा पार्टीभित्र आत्मालोचना गर्ने कुनै सङ्केत गरिएन । पार्टी एकताका लागि नाटक मञ्चन गरियो तर यथार्थमा पार्टी एकताका लागि लचकता देखिएन । यस्ता धेरै कारण छन, जसले गर्दा नेताहरू पार्टी पुनर्गठन गर्न बाध्य हुनुभयो ।
हालको नेकपा एसका नेता कार्यकर्ताहरू राजनीतिमा नयाँ हुन् र ? लामो समय नेताहरूले एमाले निर्माण र एमालेलाई एमालेजस्तो बनाउन योगदान गर्नुभएको छ । हामी पनि राजनीतिको सुरूवाती क्षणबाटै एमालेमा संगठित भयौं । त्यत्रो दुःख गरेको पार्टी छोड्नु पर्दा पीडा अवश्य पनि छ । तर अब नेकपा एसलाई जनता माझ लगेर स्थापित गर्नुको विकल्प छैन । हामी यही अभियानमा केन्द्रित छौं ।
एउटा छ युवा संघ नेपाल, अर्को छ राष्ट्रीय युवा संघ नेपाल, खासमा आधिकारिक युवा संघ चाहिं कुन हो ?
यसमा द्विविधा नै छैन नि । युवा संघ नेपाल हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन हो । त्यस्तै राष्ट्रिय युवा संघ नेकपा एमालेको भ्रातृ संगठन हो । यी दुई संगठन पहिले एक ठाउँमा थिए । पार्टी पुनर्गठनपश्चात २०७५ जेठ २ मा फर्किंदा हाम्रो संगठनको आधिकारिक नाम युवा संघ नेपाल थियो । हामी त्यही नाम लिएर अगाडी बढिरहेका छौं । साथीहरूले नेकपा कालको नाम बिर्सन सक्नुभएको छैन । त्यत्ति हो ।
नयाँ पार्टीको अवस्था कस्तो देख्नुहुन्छ गण्डकी प्रदेशमा ?
राम्रो छ । बाहिर हल्ला फिंजाइए जस्तो हामी कमजोर छैनौं । हामी बल्ल त कमिटी निर्माणमा जुटेका छौं । अझै पालिका कमिटीहरू बनिसकेका छैनन् । वडा तहसम्म कमिटीहरू बनाइसके पछि थाहा हुन्छ हाम्रो अवस्था कस्तो छ भनेर । कार्यकर्तामा आश मरेको छैन । उर्जाका साथ होमिएका छौं । यो पार्टीलाई हामी बलियो पार्टीको रूपमा स्थापित गर्न चाहन्छौं ।
गण्डकीमा युवा संघको संगठन विस्तार कति जिल्लामा सक्नुभयो ?
गण्डकीका धेरै जसो जिल्लामा कमिटीहरू गठन भएका छन् । कास्कीमा वैशाखमै बृहत युवा भेला आयोजना गरेर हामीले युवा संघ नेपाल कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटी पुनर्गठन गर्यौं । त्यस्तै म्याग्दी हाम्रो प्रदेश कमिटी इन्चार्जको गृह जिल्ला पनि हो । त्यहाँ पनि वैशाखमै कमिटी निर्माण भयो । अन्य जिल्ला गोर्खा, तनहुँ, पर्वत, बाग्लुङ, स्याङ्जामा पनि कमिटीहरू निर्माण भएका छन् । लम्जुङ, मनाङ, मुस्ताङ र नवलपुर जस्ता जिल्लाहरूमा तयारी गर्दैछौं । तिहार अगावै सबै जिल्लाहरूमा कमिटीहरू बनाइसक्ने योजनामा छौं ।
चुनाव नजिकिँदै छ, तपाईहरूको पार्टीको अवस्था कस्तो रहला ? तपाईहरूको लागि गण्डकी कमजोर प्रदेशको रूपमा लिइन्छ । कति सिट जित्ने अनुमान गर्नुभएको छ ?
मैले अघि नै भनिसकें नि, अहिल्यै भनिहाल्ने अवस्था छैन । तरकारीमा सबै आवश्यक तत्वहरू हालेर पकाएपछि मात्र चाख्दा त्यसको खास स्वाद थाहा हुन्छ । को कमजोर छ भन्ने कुरा त चुनावले बताउला नि ! धैर्य गरौं न चुनाव त । चुनाव नजिकै छ । म यत्ति भन्न सक्छु, हाम्रो पार्टीको सम्मानजनक उपस्थिति रहन्छ । अर्को कुरा कुनै पार्टीको शक्तिको मानक चुनावमा प्राप्त गरिने भोट वा सिट मात्रै होइन । लोकतान्त्रिक विधि र पद्दतिको लागि इतिहासका कठोर कालखण्डमा उक्त पार्टीले लिएका चट्टानी अडान र निर्णयहरू पार्टीका खास सामथ्र्यहरू हुन्, जसको मूल्याङ्कन गर्न सक्ने पुस्ता सामाजिक, आर्थिक, राजनीतिक विकासक्रमसँङ्गै देखिन्छ । एक दुई ओटा निर्वाचनले पार्टीको आकार यत्ती मात्रै हो भन्ने हुँदैन ।
तपाईहरूको पार्टीलाई जनताले अनुमोदन गर्लान त ? के भनेर जानुहुन्छ जनतामा ?
अवश्य अनुमोदन गर्नेछन् । जनताले राजनीतिलाई नजिकबाट नियालिरहेका छन् । किन र कसका कारण पार्टी विभाजन भयो भन्ने कुरा पनि स्पष्ट छ । हाम्रो पार्टी आफ्नो स्पष्ट धारणा लिएर जनता माझ जान्छ । जनतालाई सुसूचित पार्छ । पूरा गर्न नसक्ने झुटा आश्वासन दिँदैन । जनमुखी कार्यक्रम लिएर जनता माझ जान्छ । जनताले महसुस गर्ने किसिमले विकास, निर्माण र सुशासनको ग्यारेन्टी गराउने प्रण गर्दै राजनितिक घोषणा पत्र लिएर जनता माझ जानुपर्छ । अब जनताले बुझ्छन् । कसैका झुठा आश्वासनमा फँस्दैनन् र आफ्नो एकीकृत समाजवादीलाई मत दिएर अनुमोदन गर्छन् भन्ने कुरामा हामी विश्वस्त छौं ।