नवराज घिमिरे
काठमाडौं, ५ कात्तिक ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शासन सत्ता सम्हालेको पनि १०० दिन पूरा भएको छ । सत्ताको बागडोर सम्हालेको हनिमून पिरियड (मधुमास) समाप्त हुँदासमेत उनले आम जनाताको अपेक्षाअनुसार उल्लेखनीय केही गर्न सकेनन् । देउवालाई यसपटक अघिल्ला चार कार्यकालमा लागेका आरोपलाई मेटाउने सुवर्ण अवसर प्राप्त थियो तर मधुमाससम्मको गतिविधिको मूल्याङ्कन गर्दा उनले यस अवसरको सदुपयोग गर्न सक्ने लक्षण देखिँदैन । देशका कार्यकारी प्रमुखको मूल्याङ्कन निजले देश र जनताका पक्षमा गरेका ऐतिहासिक र साहसिक कदमका आधारमा गरिने हो, त्यस हिसाबले पाँचौं कार्यकालको आजको दिनसम्मलाई समीक्षा गर्दा यसपटक पनि देउवा चुक्तैगएका छन् भन्न अफ्ठ्यारो मान्नु पर्ने देखिँदैन ।
देउवा सामान्य अवस्थामा प्रधानमन्त्री बनेका होइनन् । दुई तिहाइको नजिक रहेको जनमत प्राप्त शक्तिशाली केपी ओलीको सरकार तासको घरझैं यति सजिलै ढल्ला भनेर कसैले परिकल्पना गरेका थिएनन््् र गर्ने कुरा पनि थिएन । तर आफ्नै दम्भ र कार्यशैलीले ओली ढले । यसरी ओली सरकार ढलेपछि अनअपेक्षित रूपमा केही राजनीतिक पार्टीहरूसँगको गठबन्धनको जगमा उभिएर देउवा प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुन पुगे । देउवा प्रधानमन्त्री बनिसकेपछि उनलाई स्पष्ट रूपमा दुईवटा अवसर प्राप्त थियो । पहिलो, केपी ओलीलाई सत्ताच्युत गराउनुको औचित्य प्रमाणित गर्ने र दोस्रो, आफ्नो छवि उजिल्याउने । तर यी दुबै कुरा पूरा गर्न देउवा असफल सावित भए । उनले आफूलाई मन नपराउनेहरूले लगाउने गरेको आरोप मात्र होइन, पूर्वराजाले लगाएको आरोपसमेत मिथ्या थिएन भनेर प्रमाणित गरिदिए ।
जनताले पूर्ववर्ती केपी ओलीकोे बहुमतको सरकारबाट निकै धेरै आशाा गरेका थिए । केपी ओली प्रधानमन्त्री बन्दै गरेका बेला बनेको उनको राष्ट्रवादी छवि र विचारोत्तेजक भाषण सुनेर मख्ख परेका जनताले उनीबाट विकास, सुशासन र भ्रष्टचारमुक्त समाजको परिकल्पना गरेका थिए । कमसेकम ओलीले आफ्नो कार्यकालमा विकास र समृद्धिको एउटा मार्गचित्र कोर्न सफल हुन्छन् र पछि आउने सरकारलाई पनि उनले निर्माण गरेको मार्गचित्र पछ्याउन कर लाग्छ भन्ने ठानिएको थियो । तर ओलीले साढे तीन वषर्मा विकासको खाका कोर्नमा भन्दा अरूलाई कटाक्ष गर्नमा नै मस्त रहे । उनले बहुमत प्राप्त एकलौटी सरकारको औचित्य पनि समाप्त गरिदिए । उनका प्रतिपक्षीहरूको कुरा मान्ने हो भने उनी नयाँ तानाशाह बन्ने बाटोतिर गतिशील भए । जनताको मनमा बनेको उनको छवि धमिलियो । उनले सबैलाई निराश बनाइदिए ।
ठूलो जेटमा दुई पाइलट हुन्छन् भनेर गफ दिए पनि प्रचण्डसँगको उनको हातेमालो ओलीका लागि दुर्भाग्यपूर्ण बन्यो । आन्तरिक व्यवस्थापन गर्न नसक्ता कलह बढ्दै गयो र पार्टी फुटको सङ्घारमा पुग्यो । दुबैले एकअर्कोलाई प्रयोग गर्न खोज्दा जुँगाको लडाइँ उत्कर्षमा पुग्यो । अनि, गाली र आरोपको वर्षा हुन थाल्यो । दुई पाइलटबीच गाली र आरोप यति हदसम्म भयो कि अन्ततः जेट विमान दुर्घटना ग्रस्त हुन पुग्यो र, यस दुर्घटनासँगै नयाँ सरकारको सम्भावनाको बीजारोपण भयो ।
ओलीले आफ्नै सहयोद्धाहरूलाई पनि साथमा लिन नसक्ता र अरू दलहरूको पनि साथ जुटाउन नसक्ता उनको सरकार धूलिसात् हुन पुग्यो । यस पृष्ठभूमिमा पाँच दलहरूको गठबन्धनमा शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बन्न पुगे ।
सरकारका १०० दिन लामो र धेरै अपेक्षा गर्ने समयावधि नहुन पनि सक्छ तर जुन पृष्ठभूमिमा देउवा प्रधानमन्त्री बनेका थिए, उनले १ दिन पनि त्यसै खेर जानदिन नहुने थियो । ओलीका असफलताहरूलाई मात्र केलाएर सच्याउन आरम्भ गरेको भए देउवामा आशाका सम्भावनाहरू देखिन्थ्यो । तर उनले त लगभग ३ महिनासम्म पनि मन्त्रीमण्डललाई पूर्णता दिन सकेनन् । बाहना जे पनि हुन सक्छ तर यो आलोचनाको भारी देउवाको काँधमा आइपर्ने छ । तीन महिनापछि बल्ल बल्ल बनेको मन्त्रिपरिषदमा पनि विवादिद व्यक्ति ल्याएर थप आलोचित बन्न पुगे । कतिपय महत्वपूर्ण नियुक्तिहरूमा पनि योग्य व्यक्तिको चयन हुन सकेन । उनमा पनि ओलीको झैं स्वनिर्णय हावी बन्न पुग्यो । नियुक्तिलगायत महत्वपूर्ण विषयहरूमा निर्णय गर्दा आफ्नै दलका साथीहरूसँग पनि परामर्श लिन उचित नठान्दा देउवा पनि ओलीपथतिरै गतिशील भएको आरोप लाग्न थालेको छ ।
प्रधानमन्त्री बन्दै गर्दा देउवाले प्राथमिकतामा कोरोनाविरुद्धको खोपलाई राखेका थिए र यस सन्दर्भमा केही आशालाग्दो काम पनि भएकै हो, बाढी पीडितलाई तत्काल राहतको घोषणा पनि गरेकै हो तर उनका कतिपय अलोकप्रिय कामका कारण ती सबै ओझेलमा परेको देखियो । उनले गठबन्धनका सबै दलहरूलाई पनि खास्सै विश्वासमा लिन सकिएको देखिएन । त्यसैले गठबन्धनको नेतृत्व गरिरहेको भए पनि उनी एक्लै हिँडेजस्तो देखिएको छ, जुन कसैको हितमा छैन र उनको आफ्नै हितमा पनि छैन ।
देउवा पाँचौं पटकसम्म प्रधानमन्त्री हुन पाउने थोरै भाग्यमानी नेपालीहरूमध्ये पर्दछन् तर यसरी पटक पटक पाएको अवसरलाई उनले सदुपयोग गर्न सकेनन् । लोकसेवाको तयारी गर्ने विद्यार्थीले उनलाई पाँचौं पटकसम्म नेपालका प्रधानमन्त्री हुन पाउने भाग्यमानी नेपालीका रूपमा पढ्लान् तर उनले गरेका उल्लेखनीय काम के के हुन् भनेर सोध्यो भने जिब्रो टोक्नुपर्ने हुन्छ । अरू कुरा बिर्से पनि नेपालको प्रजातन्त्रलाई किस्तीमा राखेर राजालाई चढाएको प्रसङ्गचाहिँ सबैले सम्झने छन् । चुनौतीलाई अवसरमा बदल्न नसकेर देउवाले विगतमा गरेको त्याग र समर्पणलाई आफैंले बलिवेदीमा चढाएका छन् ।
देउवा नेपाली कांग्रेस पार्टीका सभापति पनि हुन् । कोइराला परिवारबाट बाहिरको व्यक्ति पार्टी सभापति हुँदा ठूलै परिवर्तन हुने नारा लगाइएको थियो तर देउवाले त समय सीमाभित्र महाधिवेशन गराउनसम्म सकेनन् । बल्ल बल्ल तोकिएको महाधिवेशनको मिति पनि पटक पटक सारिँदै छ । उनले आफ्नै साथीभाइलाई विश्वासमा लिन नसक्ता पार्टीभित्रै उनको कटु आलोचना भइरहेछ । उनी न पार्टी सभापतिका रूपमा सफल देखिए न प्रधानमन्त्रीका रूपमा । देउवामा इच्छाशक्ति प्रबल भए अझै पनि आफूलाई प्रमाणित गर्ने सम्भावना भने टरिरकेको छैन ।
पार्टी नेतृत्वमा पुगेपछि जुनसुकै व्यक्ति पनि निरङ्कुश र तानाशाही बन्दै जानु र उसमा सधैं त्यही पदमा टाँसिएर बसिरहने प्रवृत्तिको विकास हुनु दुर्भाग्यपूर्ण हो जुन नेपालका सबै दलहरूमा सरूवा रोगझैं फैलिएको छ । यो प्रवृति कोरोनाभन्दा पनि घातक छ । देउवा पनि यस रोगबाट अछुतो रहन सकेनन् । तर देउवाको असफलता केवल देउवाको मात्र असफलता हुने छैन । यस असफलताको भागिदार नेपाली कांग्रेस पार्टी पनि हुने छ र यसको दुःखद् परिणामचाहिँ लामो समयसम्म सम्पूर्ण नेपाली जनताले भोग्नुपर्ने छ ।