एलपी पौड्याल
काठमाडौं, १० पुस
साहित्य त झरनाजस्तै झररर झर्नु पर्ने, पवनजस्तै सररर बहनु पर्ने, घामजस्तै सबैतिर टहटह लाग्नु पर्ने तर किन क्लिष्ट हुन्छ साहित्य यसरी ? किन क्लिष्ट हुन्छ साहित्य यसरी गुरु नथापी बुझ्नै नसक्ने जसरी, लिस्नो नलगाई चड्नै नसकिने जसरी अथवा टेबलमाथि नचढी भेट्नै नसकिने सिलिङ्ग जसरी । त्यसो भए के आत्मारति मात्र हो त साहित्य ? आफूले लेख्ने, आफैं छाप्न लगाउने अनि आफैंले पढेर मख्ख पर्ने ? मैले बुझ्नै नसकेको कुरा हो– किन लेखिन्छ साहित्य ? कसका लागि लेखिन्छ साहित्य र कुन प्रयोजनका लागि लेखिन्छ साहित्य ? आफ्नै लागि भए त जे लेखे नि भइगो, लक्ष्य नै नभए’सि त जता हिँडे नि भइगो । अनि, साहित्यकार कहलाइनका लागि मात्र त विमोचनका नाममा एउटा भव्य कक्टेल पाटी दिए भइगो । जसका लागि लेखिन्छ उसले बुझ्न के जरूरी भयो र ? कक्टेल पाटीमा डकार्दै एक–दुईजना प्रायोजित व्यक्तिले वाह ! साहित्यकारज्यू, एकदमै नयाँ प्रयोग छ, क्या दामी छ’ भनेर भनिदिए त भइगयो नि !
मैले आजसम्म बुझ्न नसकेको रहस्य हो, किन र कसका लागि लेख्न्छन् साहित्यकारहरू आम पाठकले नबुझ्ने साहित्य ? के सरल र सरस भइकन पनि साहित्य विशिष्ट हुन सक्तैन र ? कि साहित्यको मापदण्ड नै क्लिष्टता हो, दुर्बोध्यता हो अथवा जटिलता हो ? नरिवल वा सुपारीझैं साहित्यलाई आस्वादन गर्न किन कुनै हतियारकै सहयोग लिनुपर्छ ? नत्र किन लेखिन्छ साहित्य यति धेरै क्लिष्ट शब्दहरू जोडेर र किन लेखिँदैन साहित्य कठोर पत्थरहरू फोरेर ? किन साहित्यका नाममा यति धेरै भ्रम बेचिन्छ ? कोही आधुनिकताको नाममा, कोही प्रयोगवादका नाममा र कोही उत्तर–आधुनिकताका नाममा किन लेख्छन् लेखक आफैंले नबुझ्ने साहित्य ? केवल बडप्पनका लागि ? केवल विशिष्ट देखिनका लागि ? वा केका लागि ?
चुनावी नेताले जनता झुक्याउन बुनेको शब्दजालझैं साहित्यकारहरू पनि शब्दकोशबाट जटिल र कठोर शब्दहरू उत्खनन् गरेर भ्रम बुन्न थालेका छन् । के भ्रम नै आधुनिकता हो ? ए साहित्य सर्जकहरू भन्नोस्; के मृगतृष्णाजस्तै मात्र हो साहित्य ? कि प्राडा वा नाम चलेकाहरूले जे लेखे पनि त्यो हुन्छ विशिष्ट साहित्य ? कि प्रायोजित भीडले ताली पिट्तैमा हुन्छ लोकप्रिय साहित्य ? नत्र किन बग्दैन साहित्य–सरिता सागरलाई नै चुनौती दिएर ? किन जनजनको मुखबाट मुखरित हुँदैन साहित्य उनीहरूको दुःख र सुखको साथी बनेर ? किन बहँदैन साहित्य पवनलाई नै हाँक दिएर ? किन धड्कँदैन साहित्य मुटु–मुटुबाट गाउँबासी वा शहरबासीको स्पन्दन बनेर ? अथवा मैले बुझ्न सकेको छैन, किन सरल बन्न सक्तैन साहित्य स्वासप्रस्वासजस्तै बनेर ?
सरल र सरस लेखनकै कारण लोकप्रियताको शिखर छुने साहित्य र साहित्यकार नभएकै भने होइन । नेपाली साहित्यमा पनि सरल साहित्य–सरिता नबगेको पनि होइन । जति पढे पनि पढिरहुँजस्तो, जति सुने पनि सुनिरहुँजस्तो साहित्यको खडेरी परेकै पनि होइन तर उत्तरवर्ती साहित्यकारले त्यसलाई निरन्तरता दिनमा भन्दा क्लिष्टताको उकालो चढ्नमा वा अमूर्त चित्र कोर्नमा अथवा अन्धाहरूले हात्तीका विभिन्न भागमा छोएर हात्तीको स्वरूपको अर्थ लगाएझैं लेखनमा मात्र रूचि देखाएको पाइन्छ । आधुनिकता वा उत्तर आधुनिकताका नाममा सिर्जित साहित्य स्वयम् सर्जकले नै अर्थ लगाउन कठिन हुने खालका लाग्छन् । अनि फेरि प्रश्न गर्न मन लाग्छ, किन लेखिन्छ यति जटिल साहित्य, केवल आत्मरतिका लागि मात्र…? थोतेलाई उखु उपहार दिएजस्तो किन थोपरिन्छ विश्रृङ्खलित विचारहरूका निरस भारी निरीह पाठकहरूलाई ?
आधुनिक साहित्यको फेवा तालमा जति पौडी खेल्दा पनि किन भिज्दैनन् आम पाठकका मुटुहरू निथ्रुक्क भएर ? उत्तर आधुनिकताको महासागरमा नै डुबे पनि किन मेटिँदैन तृष्णा साहित्यनुरागीहरूको संतृप्त भएर ? सरलताभित्रैबाट साधन र साध्य किन खोजिएन ? जति पढे पनि आधुनिक साहित्यले पाठकका मनको तार किन झङ्कृत गर्न सक्तैन ? सरलतासहित नेपाली साहित्यले किन अझै आफूलाई गौरवको शिखरमा विराजमान गराउन सकिरहेको छैन ? के यसको जवाफ खोज्ने बेला अझै आइसकेको छैन ??
२०६९-१२-०८