कृष्णप्रसाद न्यौपाने
काठमाडौं, ८ माघ ।
जागिर चितवन भए पनि गाउँघरको सम्झना आइरहन्छ । कोरोनाको कारणले २०७७ सालमा गाउँ कम गए पनि २०७८ सालमा आउने जाने क्रम चलिरहेको छ । बुबाको असामयिक निधन भएपछि मासिक श्राद्ध गर्न घर जाने गरेको छु ।
४५ दिनको कर्म गर्न जाँदा यसपालि काइँला काकालाई भेट्न जान मन लाग्यो । उनको घर मेरो घरबाट ५–७ मिनेटको दूरीमा छ । सूर्यबहादुर मगर उनको नाम भए पनि गाउँमा उनी काँइला काका भनेर चिनिन्छन् । पहिले उनी रसिक, गफाडी, सहयोगी थिए । सबैको हृदयमा बस्न सफल मिलनसार पनि । एकदिन बेलुकीपख जुस र चाउचाउका पकेट बोकेर उनका घरतिर लागेँ ।
काका चौतारोमा रहेछन्, अर्धनग्न अवस्थामा । मलाई देख्नासाथ जुरुक्क उठेर हातमा समातेर सोधे ‘मेरो पुजन खोई ? मेरो छोरो, मेरो कान्छो खोई ?’ कुनै समय काकाको परिवार सुन्दर र सुखी थियो । गाउँमा बसेर गरिखान दुःख थिएन । जेठा छोरा बुहारी, कान्छो छोरो, आफू दुई श्रीमान् श्रीमती ।
२०५२ सालमा सुरु भएको जन विद्रोहको लहर देशको सबै ठाउँमा फैलियो । युवा वर्ग परिवर्तन चाहना बोकेर सशस्त्र द्वन्द्वमा होमिए । काकाको घर पनि अछुतो रहेन । दुबै छोराहरू रोहन र पूजन सशस्त्र क्रान्तिमा लागे ।
लगभग एक वर्षपछिको कुरा । रोहन बेलुकापख मेरो घरमा टुप्लुक्क आइपुग्यो । मैले क्रान्तिको अवस्था सोधेँ । उसले भन्यो ‘मैले अब क्रान्तिमा नजाने निर्णय गरेँ । मलाई मन परेन, हिंसाको बाटो । दाजु म यहाँ बस्न सक्दिनँ । आफ्नै पार्टीबाट र सरकारी पक्ष दुबै तर्फबाट खतरा छ मलाई । म भोलि बिहानै भारततिर पलायन हुन्छु । केही खर्च पनि चाहिएको थियो ।’ केही बेरको गफपछि चिया पिइसकेर उठ्दै गर्दा उसले भनेको थियो ‘म भोलि बिहानै घर छाड्छु ।’
बिहान ४ बजेतिर ढ्वाङ्ग, ढ्वाङ्ग पड्केका गोलीको आवाजले गाउँको निद्रा खुल्यो । रोहन आएको सुइँको पाएर सेनालले घर घेरा हालेछ । उसलाई चौतारामो लगेर गोली ठोकेको रहेछ । बेलुका समाचार आयो– ‘अग्नि नाम गरेको आतङ्ककारी दोहोरो भिडन्तमा मारिएको छ । ऊबाट महत्वपूर्ण कागजातहरू, हतियार र नगद रकम बरामद भएको छ ।’
समय क्रममा शान्ति सम्झौता भयो । हतियार भण्डारण गरिए । चुनाव भयो । पार्टी सरकारमा छ तर कान्छो पुजनको केही अत्तोपत्तो छैन । ऊ कहाँ गयो ?
कोही भन्छन्– सल्लेरी आक्रमणमा मारियो । कसैले भने इलाममा, कसैले सिन्धुलीको बेथानमा । कसैले सरकारी सेनाले वेपत्ता पार्यो होला भन्ने अनुमान लगाए भने कसैले भारतको कुनै कुनामा केही काम गरेर बसेको छ पनि भने । आखिर ऊ गयो कहाँ ? बेपत्ता पारिएकाहरूको छानबिन आयोग अनि सत्य निरुपण तथा मेलमिलाप आयोगको लिस्टमा पनि ऊ परेन ।
आफ्नै आँखा अगाडि जेठो छोरो मारिएको, कान्छो छोरो बेपत्ता भएपछि काकाको मानसिक सन्तुलन बिग्रेको थियो । उनी आफ्नो कान्छो छोरो फर्केर आउने कुरामा विश्वस्त छन् । उनी बिहानदेखि बेलुकासम्म प्रायः चौतारोमा नै हुन्छन्, छोराको अनन्त पर्खाइमा । ६५ वर्ष काटेका उनी मान्छे चिन्दैनन् तर चौतारोमा आएको कुनै पनि मान्छेलाई हात समातेर सोधिहाल्छन् ‘मेरो छोरा खोई ? मेरो पुजन खाई ? किन ल्याउनु भएन ? मेरो छोरो कहाँ छ ?’
बाटोनजिक रोकिएका बसका ढोकामा उनका आँखा पुग्छन् । उनी बर्बराइरहेका हुन्छन्– ‘मेरो छोरो आउँछ, मेरो पुजन पक्कै आउँछ ।’