एलपी पौड्याल
काठमाडौं, ४ चैत ।
सन् २०३६ को जुलाई महिना । काठमाडौंको वातावरण उष्णामय छ तैपनि अमेरिकाबाट नाति संयम नेपाल आउने खुसीमा सपन गाडी लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यो । जहाज ठीक समयमा अवतरण गरेकोले उसले धेरैबेर कुर्नु परेन । संयम ट्रलीमा हालेका लगेज ठेल्दै बाहिर निस्के । संयम नजिक आइपुगेर ‘नमस्ते बुबा’ भन्दै गर्दा उसले संयमलाई स्नेहको न्यानो अँगालो मार्दै भन्यो ‘कति ठूलो भयौं बाबु तिमी त ! त्यहाँमाथि इन्जिनियर बनिसकेको मान्छे । इन्जिनियर नातिलाई अँगालो हाल्न पाउनु मेरो पनि सौभाग्य हो !’
‘बुबा हजुर पनि….!’
‘नमस्ते बुबा !’
कुनै नारी कण्ठको सुरिलो आवाजले सपन झस्कियो । उसको नजिक उभिएकी कुनै सुन्दरी उसैलाई लक्षित गरेर दुई हात जोडेको अवस्थामा थिइन् । उनी कति बेला उसको नजिक आएकी थिइन् भन्ने सपनले थाहै पाएको थिएन । उनी जिन्स पाइन्ट र टि–सर्टमा थिइन् । गोरो वर्ण र हँसिलो मुहारकी धनी ती नवयौवनालाई देखेर सपन केही बेर टोलाएजस्तै भए । त्यही बेला संयमले भने ‘यिनी मेरी साथी हुन् बुबा ! नाम आस्था शर्मा । इन्जिनियर पढ्दै छिन् । घर पहिले न्यु योर्क थियो, अहिले भर्जिनिया । म नेपाल आउने थाहापाएपछि उनी पनि मसँगै नेपाल घुम्न आएकी हुन् । आस्थाका आफन्तहरू पनि नेपालमा नै थिए अरे । सम्भव भए खोजी पनि गर्नु छ ।’
सपनले आस्थाको टाउकोमा हात राख्दै भन्यो ‘स्वागत छ नानु । तिम्रो पहिलो नेपाल भ्रमण सुखद् र अविस्मरणीय बनोस् ।’ अनि संयमतिर फर्केर भन्यो– ‘गफ गर्दै घरतिरै लागौं होला ।’ ड्राइभिङ सिटमा बस्तै उसले मनमनै सोच्यो– नाति अबचाहिँ ठूलै भएछन्, गर्लफ्रेण्ड लिएर घुम्न हिँड्ने भएछन् ! पहिले त्यस्तो सङ्कोची मान्छे, अहिले कुनै सुन्दरीकोे मन जितेर उसैलाई लिएर घुम्ने आँट गर्ने भएछन् । सबै समयको खेल !
आस्था घरपरिवारसँग छिट्टै घुलमिल भई । उज्यालो र हँसिलो अनुहारकी धनी तथा सबैसँग सहजै घुलमिल हुने स्वभावले ऊ त्यस परिवारकी सदस्यजस्तै भई । संयम त सबैको आँखाको नानी नै थियो । ब्रतबन्ध गरेर गएपछि १० वर्षपछि नेपाल फर्केको थियो, त्यो पनि छोटो समयको लागि । त्यसैले पनि समयको सदुपयोग गर्न संयमलाई कहिले सपिङ गर्न र कहिले आस्थालाई काठमाडौंका रमणीय स्थान घुमाउन भ्याइनभ्याई थियो ।
एकदिन बिहान सपन आफ्नो बैठक कोठामा बसेर टेलिभिजनमा समाचार हेर्दै थियो, आस्था आएर उसको नजिक बसी । एकछिन् समाचारतिर ध्यान दिएर सपनलाई सोधी ‘बुबा, हजुर बिजी हो ?’
‘होइन नानु, टाइम पास मात्र हो । त्यस्तो सिरियस मेटर केही होइन । भन न ।’
‘त्यस्तो त केही होइन बुबा, हजुरसँग बोल्न मन लागेर मात्र । हजुरसँग बसेर कुरा गर्न पनि समय नमिलेर… ।’
वास्तवमा सपनलाई पनि आस्थाका बारे थप कुरा बुझ्न र जान्न जिज्ञासा थियो तर उनीहरू आएदेखि नै बिजी बिजी भएकोले आस्थाको व्यक्तिगत जीवनका बारेमा धेरै कुरा जान्न पाएको थिएन । आस्थाको पूर्वपरिचितझैं लाग्ने अनुहारले पनि उसको त्यस जिज्ञासालाई थप उत्सुक बनाएको थियो । आस्थाबाटै कुराकानी गर्ने प्रस्ताव आएपछि ऊ हेरिरहेको टेलिभिजन अफ गरेर आस्थातिर फर्केर बस्यो ।
‘नानु, हामीबीच साना मसिना कुराहरू त धेरै भए तर एउटा कुरा चाहिँ तिमीसँग सोध्न मन लागिरहेको थियो, अनुकूल मिलेको थिएन । त्यो के भने, किन किन तिम्रो अनुहार मलाई पूर्वपरिचितझैं लाग्छ, पहिलोपल्ट एयरपोर्टमा भेटेदेखि नै । ठ्याक्कै ठम्याउन पनि सकिरहेको छुइनँ । तिम्रा बाबा आमाको नाम भन त । कतै म परिचित त छैन !?’
‘ए हो र बुबा !’ ऊ बैठक कोठा नै उज्यालो हुने गरी मुस्कुराइदिई । भनी ‘बाबाको नाम प्रयास भट्टराई हो र मामुको नाम आकृति शर्मा । हामी पहिला न्युयोर्क बस्थ्यौं, पछि भर्जिनिया सिफ्ट भयौं ।’
‘हँ…’
आकृतिको नाम सुन्ने बित्तिकै सपन अवाक् भयो । उसले केही खुसीे र केही आश्चर्य मिश्रित अनुहार बनाएर आस्थातिर हेर्योे । सपनलाई आस्थाको अनुहार परिचितझैं लाग्नुको रहस्य खुलेको अनुभव भयो । त्यति मात्र होइन, सपनलाई आस्थालाई स्नेहको अँगालोले बेरेर चुम्बन गर्न मन लाग्यो तर नातिकी गर्लफ्रेण्ड ! संस्कारले दिएन । तर पनि उसलाई हराएको आफ्नै परिवारको कुनै प्रिय सदस्यलाई अचानक भेटेझैं लागेर खुसीले पुलकित बन्योे ।
सपनको बदलिँदो व्यवहार हेरिरहेकी आस्थाले आश्चर्य मान्दै सोधी ‘के भयो बुबा हजुरलाई ? हजुरको अनुहार पूरै चेञ्ज भयो नि !’
‘आस्था, तिमीलाई म के भनौं ?’ सपनले खुसी र आश्चर्य मिश्रित भावले भन्यो ‘म आज अत्यन्त खुसी भएको छु र नियतिको खेल देखेर केही आश्चर्य पनि लागिरहेको छ ।’
‘अर्थात्….?!’ आस्था पनि केही रणभूल्लमा परेजस्तै भई ।
आस्थाले केही जान्ने जिज्ञासा राख्दैगर्दा सपन रहस्यमय तरीकाले उठ्यो र आफ्नो बेडरूमभित्र पस्यो । एकैछिनमा उसले हातमा आइप्याड लिएर आयो र पुनः पहिलाकै ठाउँमा गएर बस्यो । आस्था छक्क परेर हेरिरहेकी थिई । सपनले केही क्षण आइप्याडमा सर्च गरेर एउटा फोटो ओपन गर्यो । फोटो खुलेपछि आस्थालाई देखाउँदै भन्यो ‘हेर त नानु, यो फोटो चिन्छ्यौं ?’
कुनै टावरको झ्यालनजिक उभिएकी आफ्नी मामु र सपनको जोडी फोटो देखेर आस्था ट्वाँ परी र विस्फारित आँखाले सपनको अनुहारतिर हेरी । सोची– यो कसरी सम्भव भयो ? उसका मनमा अनगन्ति प्रश्नहरू जन्मिए । उसका लागि सपन अतितको कुनै रहस्यमय पात्रजस्तै बन्यो । उसले मौनतामैं सपनलाई अनेकौं प्रश्न गरी ।
‘मेरो अनुमान सही निस्कियो नानु, म तिम्रो मामुलाई चिन्दोरहेछु । वषौंंपछाडि उनकी छोरीलाई यस रूपमा भेट्ता मलाई कस्तो अनुभूति भइरहेको होला ? तिमी आफैं अनुमान गर त ! वषौंअगाडि देखेको आकृतिको त्यो मासुम अनुहारलाई १८–२० वर्षपछाडि आज अचानक आस्थाको रूपमा देख्दा कस्तो अनुभव भइरहेको होला मलाई !?’ आस्थातिर हेर्दै सपनले भन्यो ।
आस्था पनि आश्चर्यचकित बनी । खुसी, विस्मय र आश्चर्य मिश्रित भावले सपनलाई हेरिरही । ऊ निःशब्द भई । सम्झी– मामुले सपन सर भनेर डायरीमा उल्लेख गरेको मान्छे उहाँ नै हुनुहुँदोरहेछ । सपन सरका बारेमा मामुले सम्मानपूर्वक लेखेका शब्दहरू सम्झेर भावुक बनी । उसका आँखा रसाए । मामुको आदर्श पात्र सपन सरलाई संयमको हजुरबुबाको रूपमा भेट्दा उसलाई पनि कोही आफ्नै मान्छे भेटेजस्तो भयो । विधाताले जुराइदिएको संयोग देखेर ऊ पनि आश्चर्यचकित बनी ।
त्यहाँको वातावरण एकाएक स्तब्ध बन्यो ।
सन् २०१७ को सेप्टेम्बर महिनातिर पहिलोपल्ट अमेरिका भ्रमणमा गएको र त्यसै मेसोमा बासिङ्टन डिसी घुमेको दृश्य चलचित्रको पर्दामाझैं सपनको आँखामा नाच्न थाले । ऊ पूर्वस्मृतिको गर्तमा डुबेजस्तै भयो ।
सपन वासिङ्टन डिसी घुम्दै थियो । डिसी पुगेपछि अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस नहेरी फर्किने त कुरै थिएन । सुरक्षाका कारण नजिक जान नपाए पनि सपनले केही दूरीबाट भए पनि संसारकै शक्तिशाली राष्ट्रपतिको भवनलाई दृश्यावलोकन ग¥यो र त्यहाँबाट मोडियो ।
ऊ डिसीका अग्ला र कलात्मक घरहरू र फराकिला बाटाहरू देखेरभन्दा पनि त्यहाँका ठूला ठूला म्युजियमहरू देखेर बढी लोभिएको थियो । र, म्युजिमहरूमध्येमा पनि साइन्स म्युजियमको अवलोकन गरेर उसका आँखा र मन तृप्त भएका थिएनन् । त्यत्रो विशाल र आकर्षक म्युजियम हेर्दा शुल्क पनि नलाग्ने । त्यसैले सपन र नेपालबाट आएर भर्जिनियामा कर्म थलो बनाएर बसेको उनको साथी शिवराजसँग दोस्रोपल्ट साइन्स म्युजियम अवलोकन गर्दै थियो ।
म्युजियममा विज्ञानमा पढेका कतिपय कुराहरूलाई त्यहाँ प्रत्यक्ष रूपमा हेर्न पाउँदा सपनको मन त्यसै रोमाञ्चित बनेको थियो । त्यसमाथि ऊसँग त विज्ञानको पृष्ठभूमि पनि थियो । अन्तरिक्षमा पठाएका यानहरू र रकेटहरू त्यहाँ प्रत्यक्ष रूपमा हेर्न र छुन मात्र होइन, त्यसभित्र छिरेर भित्री संरचनाको अवलोकन गर्दै सेल्फी लिन पनि पाइने भएपछि त जोसुकैको मन प्रफुल्ल नहुने कुरै थिएन । त्यहाँ अन्तरिक्ष यात्रीका सजीवझैं लाग्ने मूर्तिहरू तथा उनीहरूले लगाउने पोशाकहरू पनि कलात्मक रूपमा सजाइएर राखेका थिए । त्यसैको पृष्ठभूमिमा ठूला ठूला पर्दाहरूमा रकेट प्रक्षेपण गर्दाका रोमाञ्चक भिडियोहरू हेर्न पाउँदाको क्षणमा ती दृश्यहरू भिडियो मात्र नभएर प्रत्यक्ष रूपमा नै रकेट प्रक्षेपण गरेको हेरिरहेकोे जस्तो अनुभूति हुँदो रहेछ । सपनलाई पनि त्यस्तै अनुभव हुँदो हो, ऊ उत्सुकतापूर्वक चारैतिर अवलोकन गर्दै थियो ।
ठीक त्यसै बेला सपनका आँखा केही पर रहेकी कुनै स्वप्न सुन्दरीमा गएर ठोक्किए । कुनै सिद्धहस्त कलाकारले आफ्नो सम्पूर्ण सिप र वर्षौंंको मेहनत लगाएर बनाएकी अद्वितीय नमूना जस्तै ! करिब करिब साढे पाँच फिटभन्दा पनि केही अग्ली देखिने, न मोटी न पातली, गोरो वर्ण, सबै अङ्गहरू चटक्क मिलेको शरीरमा रातो रङ्गको वानपिसले दिएको सौन्दर्यले अवाक् नहुने कोे थियो होला र ? उनी एउटा ६२÷६५ वर्षको पुरुष पात्रलाई सहारा दिएझैं गरेर एउटा हातमा वृद्धलाई समाएर अर्को हातले इशारा गर्दै त्यहाँको दृश्यलाई वर्णन गर्दै थिइन् । सपनलाई आकर्षण गर्ने अर्को विषय थियो, ती सुन्दरी नेपाली भाषामा बोल्दै थिइन् ।
नेपाल छोडेर बाहिर लागेपछि नेपाली भाषा बोल्ने जो कोही पनि आफ्नैजस्तो लाग्न थाल्छन् । त्यसमाथि त्यस्ती सुन्दरी ! सपनलाई कुनै अदृश्य शक्तिले उतैतिर तानेझैं भइरह्यो । ती सुन्दरीका अगाडि साइन्स म्युजियमका वैज्ञानिक आविष्कारहरू सबै फिक्का लागेझैं भए उसलाई । ऊ लाटाले पापा देखेझैं भयो । शिवराजले के भन्ला भन्ने भय नएको भए ऊ सुन्दरीसँग परिचय गर्न पुगिसक्थ्यो ।
तर अश्चर्य ! एकैछिनमा स्वप्न सुन्दरी त्यहाँको माहोलबाट विलुप्त भइदिर्ई । सपनले यता उता हे¥यो, कतै देखेन । मानौं केही अगाडि देखिएको दृृश्य साँच्चै स्वप्निल मात्र थियो र ब्युँझेपछि हरायो । ऊ स्तब्ध बन्यो तर सुन्दरीको हँसिलो र सुन्दर मुहार उसको मनमन्दिरमा गढेर बसेजस्तो भयो ।
डिसी शहरकोे केन्द्रमा आकर्षणका रूपमा रहेको तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्सको अन्तर्राष्ट्रियस्तरको एउटा भव्य होटल रहेछ । त्यस होटलको विशेषताका रूपमा होटलको माथिल्लो भागमा पूरै डिसी शहर अवलोकन गर्न मिल्ने टावर रहेछ । त्यस टावरबाट अमेरिकाको राजधानी वासिङ्टन डिसीको सौन्दर्य राम्ररी दृश्यावलोकन गर्न सकिने हुँदा पर्यटकहरूको लागि त्यो टावर एउटा आकर्षक गन्तव्य पनि बन्दोरहेछ । त्यो अवसरको लाभ लिन सपन र शिवले पनि त्यस टावरमा जाने निर्णय गरे ।
होटलको माथिल्लो भागमा पुगेर लिफ्टको ढोका खोलेर टावरतिर पाइला राख्नासाथ सपनको मुटुको गति एकाएक तेज भयो । साइन्स म्युजियमबाट अलप भएकी सुन्दरी त त्यहाँ पो देखापरी ! उसलाई हराएको आफ्नो अमूल्य वस्तु पुनः भेटेझैं भयो । टावरको क्षेत्रफल धेरै ठूलो नभएकोले उनीसँग जम्काभेटको बाहना बनाउन पनि सजिलो थियो, त्यसमाथि अहिले ऊ एक्लै थिई । शिवराज टावरको झ्यालबाट बाहिरको दृश्यलाई क्यामरामा कैद गर्न व्यस्त रहेका बेला ऊ सुन्दरीतिर हानियो ।
‘एक्सक्युज मी’
सुन्दरीले ठूलाठूला गाजलु आँखाले उसलाई हेर्दा पहिले त सपन केही डराएझैं भयो तर अनुहारमा खास्सै क्रोधाग्नि नदेखेपछि केही आश्वस्त बन्यो । केही आश्चर्य र केही नरम भाषामा सुन्दरीले भनी ‘यस् ।’
‘के तपाई पनि नेपालबाट हो ?’ सपनले सकेसम्म भाषामा मिश्री घोलेर प्रश्न ग¥यो । उसले प्रश्न गरुञ्जेलसम्ममा सुन्दरीले उसलाई एकपल्ट तलदेखि माथिसम्म हेर्न भ्याइसकेकी थिई । भनी ‘होइन, म न्यु योर्कबाट हो । तर म नेपाली नै हो । अनि तपार्ई ?’
‘म सपन पौड्याल । घुम्न भनेर आएको । टेक्सासमा छोरीज्वाइँ छन् । छोरीज्वाइँकै कृपाबाट अमेरिका प्रवेश गर्ने सौभाग्य पाएँ । टेक्सास आइसकेपछि अमेरिकाको राजधानी नपुगी कसरी फर्किनु भनेर यता आएँ ।’ अनि सोध्यो– ‘तपाईको पनि परिचय पाऊँ न ?’
‘म आकृति शर्मा । डिभी परेर अमेरिका आएको तीन वर्ष भयो । न्यु योर्क बस्छु । न्यु योर्कबाट डिसी धेरै टाढा होइन, तर आउन भ्याएकी थिइनँ । अहिले नेपालबाट बाबा आएको मौका पारेर घुम्न आएकी ….।’ त्यसपछि टावरको झ्यालको छेउमा उभिएर उनीहरूबीच धेरै गफ भए । यसै क्रममा फेसबुकको आइडी र मोबाइल नम्बर पनि साटासाट हुन भ्यायो ।
सपनलाई लागेको थिएन सुन्दरी आकृतिले पहिलो कुराकानीलाई नै यति धेरै महत्व देली भनेर । तर नसोचेको कुरा भएको थियो । ऊ सुन्दरी त थिई नै, उसको बोलीमा पनि जादु थियो । सपन आकृतिको बोलीमा लठ्ठीएको बेला कति बेलादेखि छेउमा आएर शिवराजले उनीहरूको कुराकानी सुनिरहेको थियो, पत्तै पाएन । उसले हत्तपत्त शिवराजलाई परिचय गराउँदै भन्यो ‘यी मेरा साथी हुन्– शिवराज ढकाल । भर्जिनिया बस्छन् । यी यहाँ भएकोले मलाई घुम्न सजिलो भयो ।’
आकृतिले शिवराजलाई अभिवादनको हात जोड्दै भनी ‘म आकृति शर्मा ।’
आकृतिको आकर्षक व्यक्तित्व, मीठो बोली र सरल व्यवहारबाट शिवराज पनि धेरै प्रभावित भयो । सम्झनास्वरूप तीनै जनाले मोबाइलबाट सेल्फी लिए र कुरा गर्दै टावरबाट तल झर्न लागे ।
‘हजुर के गर्नु हुन्छ नि ?’ आकृतिले सपनलाई सोधी ।
‘म पढाउने गर्छु नानु ।’
‘कलेजमा ?’
‘हो ।’
‘खुसी लाग्यो हजुरसँग भेटेर । शिक्षकहरू आदर्शका पात्र हुन् । मलाई शिक्षक हुन मन नलागे पनि शिक्षकहरूको संगत मन पर्छ । मेरो बाबा पनि रिटायर्ड शिक्षक नै हो ।’
‘ए ए । अनि तपाईलाई चाहिँ शिक्षक बन्न किन मन परेन नि ?’
‘मलाई तपाई होइन सर, हजुरले तिमी भन्दा हुन्छ । हजुर धेरै सिनियर मान्छे । मलाई कसैले होच्याएर तपाई भनेको भन्दा आदरसाथ तिमी भनेको मन पर्छ ।’
त्यसपछि एउटा अर्थपूर्ण मुस्कानसहित थपी ‘एसएलसी गरेर केही समय मैले पनि एउटा स्थानीय स्कुलमा पढाएँ । पढाउन थालेपछि सबैले मिस भन्न थाले । बोल्दा पनि होस पु-याउनुपर्ने, लगाउँदा पनि ढङ्ग पु¥याउनुपर्ने, चियाखाजा खान जाँदा पनि होसियारी हुनु पर्ने । अलिकति तलमाथि भयो कि मिसले नै यसो गरेपछि विद्यार्थीले के सिक्छन् ? भन्ने । हरेक व्यवहारमा नापतौल गर्नुपर्ने । म स्वतन्त्र पक्षीजस्तो भएर सिङ्गो आकाशमा शयर गर्न रूचाउने माछेलाई सीमामा बाँधिन मन लागेन सर, त्यसैले शिक्षक बन्न मन लागेन । तर ती सबै अनुशासनका बन्धनहरूलाई स्वीकार गर्दै आफू अँध्यारोमा रहेर पनि अरूलाई उज्यालो भविष्यतिर दिशानिर्देश गर्ने शिक्षकहरूचाहिँ मलाई मन पर्छन् । अधिकांश शिक्षकहरू इमान्दार पनि हुन्छन् ।’
‘वाहु आकृति, तिम्रो कुराले म पनि प्रभावित भएँ । तिमी जति सुन्दर छ्यौ, तिम्रो विचार पनि त्यस्तै रहेछ । तिमीलाई भेटेर मेरो अमेरिका भ्रमण सार्थक भयो ।’
‘छ्या, हजुर पनि ।’ आकृतिले सिङ्गो लिफ्टलाई उज्यालो पारेर मुस्कुराइदिई ।
कुरा गर्दै उनीहरू सबैं ग्राउण्ड फ्लोरमा पुगे ।
‘आकृति, तिमीसँग बसेर कफी….’
‘सर, हामीलाई ढिला हुन्छ । चियाकफी फेरि कुनै दिन ।’ सपनको कुरा पूरा नहुँदै शिवराजले रोक्यो । शिवराजले नै घुमाउन ल्याएकोले सपनले शिवराजको कुरालाई काट्न सकेन । सपन केही अल्मलिएको महसुस गरेर आकृतिले भनी ‘सर, हजुर घुम्ने क्रममा नै हुनुहुँदोरहेछ, १÷२ दिन बस्ने गरी न्यु योर्कतिर पनि आउनु न त । न्यु योर्क घुमाउने जिम्मा मेरो भयो ।’
‘होइन नानु, यसपटक सम्भव हुँदैन । म अर्कोपल्ट आउँदा चाहिँ अवश्य आउने छु । बरू त्यसपटक क्यानडाको सिमानामा रहेको पर्यटकीय स्थल नागरा फल्ससम्म घुम्न जाऔंला । म वाचा गर्छु, अर्कोपल्ट आउँदा तिमीसँग २÷४ ठाउँमा घुम्ने गरी नै योजना बनाएर आउँछु । यसपल्ट मैले चाँडै फर्किनु छ । टेक्सास फर्किने टिकट पनि कन्र्फम भइसकेको छ ।’
‘फर्किहाल्नुहुने ?’
‘हो, भर्जिनियाँबाट मेरिल्याण्ड हुँदै म पर्सि नै टेक्सास फर्किन्छु । कलेजस्टेशन पुगेको २÷४ दिनमा नै एउटा विद्यार्थीको निम्तो स्वीकार गर्न अस्टिन जानु छ । अस्टिनबाट फर्किनेबित्तिकै नेपाल फर्किन्छु । उहाँ मेरा विद्यार्थीहरू मेरो प्रतीक्षामा होलान् ।’
‘अमेरिकामा रहुञ्जेल पनि फोन सम्पर्कमा रहनुहोला है सर ।’ आकृतिको बोली केही बदलिएजस्तो भयो वा सपनले त्यस्तो महसुस गर्यो ।
हो, साँच्चै अचानक मौसममा सामान्य परिवर्तन आयो । बाहिर डिसीको मौसम त ठीकठाक नै थियो तर छुट्टिनुपर्ने घडी नजिक आएकोले ट्रम्स इन्टरनेशनल होटलको ग्राउण्ड फ्लोरमा उपस्थित आकृति र सपनको मानसिक मौसममा भने केही परिवर्तन देखियो । उनीहरू दुबै भावुक देखिए । शिवराजमा खास्सै परिवर्तन देखिएन । आकृतिले उसलाई खास्सै भाउ नदिएको आभास थियो उसलाई । ‘सम्पर्क हुँदै गरोस् है । बाई !’ भन्ने औपचारिक वाक्य बोलेर शिवराजले सपनलाई हातमा तान्दै भन्यो ‘छिटो जाउँ सर, हामीलाई ढिलो हुन्छ । मैले आज नाइट ड्युटी पनि जानु छ ।’
सपनको मन भारी थियो । केही क्षण अगाडि भएको परिचयले पनि कति धेरै भावुक बनाइदियो, ऊ आफैं छक्क परेझैं भयो । यति छोटो समयमा यो कस्तो आकर्षण ? फेरि बहकिने उमेर पनि होइन यो । तर पनि आकृतिबाट सपनलाई तत्कालै ओझेल हुने मन थिएन तर बाध्यताले छुट्टिनु पर्यो ।
‘सुन्दरीको जादूले सरलाई भावुक बनाएजस्तो छ । यात्रामा यस्ता पात्रहरू कति भेटिन्छन् कति, सबैसँग भावुक भएर हुन्छ र सर ?’ ड्राइभ गर्दै शिवराजले भन्यो । आकृतिप्रतिको हल्का टिप्पणी सपनलाई मन परेन । तर केही नबोली बाहिरको दृश्यमा अल्मलिएझैं गर्याे ।
अमेरिकाको व्यस्त जीवनलाई ख्यालमा राखेर सपनले मेरिल्याण्ड, भर्जिनियाँ र डिसीका लागि १० दिनको भ्रमण योजना बनाएर त्यतातिर उडेको थियो तर त्यस क्षेत्रमा बसोबास गर्ने साथीभाइ तथा पूर्व विद्यार्थीहरूले देखाएको सम्मान उसलाई स्मरण योग्य बन्योे । केही साथीभाइकोमा पुगे पनि धेरै शुभचिन्तकको आतिथ्यको आग्रहलाई उसले ‘अर्कोपल्टलाई है’ भनेर टार्न बाध्य भयो । अर्कोपल्ट आउँदा अलिक लामो समयका लागि आउने र सबैकोमा पुग्ने बाचा गर्दै स्प्रिट एयरबाट ऊ हुस्टन फर्कियो ।
गाउँबाट पहिलोपल्ट काठमाडौं पुगेको व्यक्तिका लागि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साह्रै ठूलो र गजबको लाग्छ तर जब मान्छे विदेश घुम्ने क्रममा अन्य देशका विमानस्थलहरू देख्छ, अनि मात्र उसलाई लाग्छ, त्रिभुवन विमानस्थल त भँगेरा मात्र रहेछ । सपनलाई पनि त्यस्तै महसुस भएको थियो ।
मेरिल्याण्डबाट आएको जहाज हुस्टन अन्तर्राष्ट्रिय विमानस्थलको जुन टर्मिनलमा अवतरण भएको थियो, उसले कलेजस्टेशन जानका लागि अग्रिम टिकट गरेको ग्राउण्ड सटल त्यसभन्दा फरक टर्मिनलमा लाग्दोरहेछ । एउटा टर्मिनलबाट अर्को टर्मिनलमा जान बिल्डिङको माथिमाथि गुड्ने चालकविहीन रेलमा शयर गर्नुपर्दोरहेछ । त्यस्तो रेललाई स्काई–वे भनिँदोरहेछ । विचरा उसलाई के थाहा !
चार–पाँच तले बिल्डिङको माथि कुद्ने स्काई वेको पहिलो यात्रामा सपनलाई केही अप्ठ्यारो तर धेरै रोमाञ्चक अनुभव भयो । एउटा टर्मिनलबाट अर्को टर्मिनलसम्मको रेल यात्रा गर्दा बाहिर देखिने दृश्यले मात्र होइन, रेलभित्रको प्रविधिले पनि उसको मन लोभ्याएको थियो । करिब ६÷८ मिनटको आकासे रेल यात्राले लाखौंको रमाइलो अनुभव गराएजस्तो भयो उसलाई ।
दस ठक्कर खाएर बल्लतल्ल सपनले आफ्नो गन्तव्यसम्म जाने ग्राउण्ड सटल लाग्ने ठाउँमा पुग्यो । ग्राउण्ड सटल बाटोमा गुड्ने भएर मात्र, भौतिक सुविधाका हिसाबले भने सुविधासम्पन्न विमान जत्तिकै हुँदोरहेछन् । हुस्टन इन्टरनेशनल एयरपोर्टबाट कलेजस्टेशनस्थित एयरपोर्टसम्मको ग्राउण्ड सटलको यात्रा पनि उसलाई नवीन र रोमाञ्चक अनुभव भयो । ग्राउण्ड सटल कलेज स्टेशनको एयरपोर्ट पुग्दा सपनलाई पिकअप गर्न उसका ज्वाइँ युवराज गाडी लिएर पुगिसकेका रहेछन् । ऊ ज्वाइँसँग डिसी–भर्जिनियाँको अनुभव शेयर गर्दै घरतिर लाग्यो ।
छोरीले चलाएको अटोमेटिक गाडीमा चढेर कहिले वालमार्ट र कहिले अन्य सपिङ मलहरूमा गएको अनुभव पनि बेग्लै छ सपनलाई । छोरीका कारण अमेरिका पुगेर छोरीले नै चलाएको गाडीमा चढेर यसरी घुम्न पाइएला भनेर सपनामा पनि सोचेको थिएन उसले । नदेखेको सपना पूरा हुँदै थियो उसको । सम्भवतः त्यसैले जीवनलाई सम्भावना नै सम्भावनाको भण्डार भनिएको होला । उसलाई पत्यार लाग्यो । नत्र कसरी सम्भव हुन्थ्यो एउटा आम नेपालीका लागि अमेरिकाको यात्रा !
सपनलाई लागेको अर्को चाखलाग्दो कुरा, अमेरिकामा गाडीको ड्राइभिङ सिट, हिड्ने बाटो मात्र होइन, विजुलीको स्वीचसमेत नेपालको भन्दा उल्टो साइडमा हुँदोरहेछ । छोरीसँग यात्रा गर्दा उसलाई जहिले पनि रङ साइडमा हिँडेजस्तो लागिरह्यो । उसको अनुहारको रङ उडेको देखेर छोरी संगीता भन्ने गर्थिन् ‘बाबा, नडराइस्यो, विस्तारै बानी लाग्छ ।’ तर उसलाई बानी पर्नपर्न लाग्दा नेपाल फर्किने बेला हुन लागिसकेको थियो ।
टेक्सासको बसाइका क्रममा पनि धेरैपल्ट उसको आकृतिसँग टेलिफोन वार्ता भयो । वासिङ्टन डिसीको भ्रमण आकृतिकै कारण उसलाई विशेष लागेको थियो । आकृति शारीरिक रूपमा त सुन्दर थिई नै, उसको बोल्ने तरीका, शब्दचयन, प्रस्तुत गर्ने विचार र जीवनप्रति बनाएको धारणा सबै राम्रा र आकर्षक लागे उसलाई । सोच्यो– मिठो र आकर्षक बोल्नलाई साहित्य नै पढ्नुपर्छ भन्ने होइन रहेछ ।
समयको गतिसँगै आकृतिसँग उसको फोन–सम्बन्ध घनीभूत बन्दै गयो । उनीहरूबीच जीवनका अन्तरङ्ग कुराहरू पनि हुन थाले । आकृति अन्य कुराका अतिरिक्त यौन जीवनसँग जोडिएका कुराहरूसमेत् खुलेर भन्न सक्थी । लामो समयसम्मको निरन्तरतापछि बेलुका बेलुका आकृतिसँग कुरा गर्ने बानी नै परिसकेको थियो उसलाई । आकृति उसको अमेरिका भ्रमणको एक अभिन्न अङ्ग बनिसकेकी थिई ।
एकदिन ।
शनिबारको राती करिब १० बजेको हुँदो हो, आकृतिको फोन आयो । मोबाइलमा आकृतिको फोटो डिस्प्ले हुनासाथ सपनको अनुहारमा खुसी पोतियो ।
‘आकृति, के छ खबर ? भोलि त छुट्टी होला ?’
‘हो सर, त्यही भएर फोन गरेकी । के गर्दै हुनुहुन्थ्यो, हजुरलाई डिस्टर्ब त भएन नि ?’
‘ए त्यस्तो केही हुँदैन आकृति । हिजोआज त तिमीसँग कुरा हुन पाएन भने पो डिस्टर्ब हुन्छु । तिमी बानी परिसक्यौ । अहिले अनलाइनमा नेपालतिरको समाचार हेर्दै थिएँ । दुई महिना हुनलाग्यो नेपाल छोडेको, के के न बितेजस्तो हुन्छ भन्या । हुटिट्याउँले आकाश थामेको भ्रम पालेझैं ।’
‘जिम्मेवारीको बोझले होला । फेरि दुई दिनमा के के खुराफात हुने देशमा दुईमहिना त निक्कै लामो समय हो नि सर !’
‘……………….’
‘ए साँची, हजुरको फर्किने बेला नि हुन लाग्यो होला ।’
‘हुन लाग्यो । अब धेरै छैन ।’
‘सरको अनुभवमा जीवन के रहेछ ?’ आकृतिले विषयअन्तर गरी ।
‘जीवन र प्रेमको परिभाषा जहिलै अपूर्ण र अधुरो हुन्छ जस्तो लाग्छ मलाई त । यी सापेक्षित हुन्छन् र देश, काल, वातावरण र साँस्कृतिक परिवेशबाट प्रभावित हुन्छन् । जसले प्रेम र जीवनको परिभाषा दिने प्रयास गर्छ, त्यो व्यक्तिविशेषको तत्क्षणको निजीे अनुभूति मात्र हो । त्यसैले मेरो अनुभव तिमीसँग मिल्छ भन्ने हुँदैन नानु ।’
‘हो है ! अनि …..’
‘अनि के ?’
(केही सङ्कोच मानेझैं गरेर) ‘यौनजीवनका विषयमा हजुरको दृष्टिकोण !’
‘खै यसलाई कसरी भनौं ?’
‘म हजुरसँग उत्ताउलिन खोजेकी होइन सर ! तर जान्ने इच्छा जाग्यो । प्लिज सर….’
‘मैले तिम्रो प्रश्नलाई कसरी ग्रहण गर्ने र के उत्तर दिने होला ? म आफैं रणभुल्लमा परें आकृति !’
‘यौनलाई कसरी बुझ्ने भन्ने सवाल मात्र हो मेरो ।’
‘ल म यससम्बन्धमा मेरो भोगाइको एउटा कथा भन्छु, त्यसमा रहेर उत्तर खोज्ने प्रयास गरौं है त ?’
‘हस् सर ।’
‘म कुनै समय एउटा व्यवसायिक कामको सिलसिलामा मलेसियाको राजधानी क्वालालाम्पुुुर गएको थिएँ । त्यहाँ बस्तैगर्दा एमबीबीएस पढ्दै गरेकी एउटी मले युवतीसँग मेरो मित्रता भयो । साथीहरू त्यो केटी मेरो एउटा साथीकी गर्लफ्रेण्ड हो भन्थे । त्यसैले पनि म उसलाई राम्रो व्यवहार गर्थें । उसको घर र मेरो बसाई नजिक नजिक रहेकोले समय मिलेसम्म हामी बेलुका बेलुका बुकी बिन्ताङ भन्ने शहरमा भेट भएर कफी पिएर छुट्टिन्थ्यौं । म त्यही शहरको एउटा होटलमा बस्ने बस्थेें । भेटमा रमाइला तर शिष्ट र शालीन गफहरू हुन्थे ।
एकसाँझ कुरै कुरामा मलेसियाको पर्यटकीय स्थल ग्याण्टिङ हाइल्याण्ड घुम्न जाने योजना बन्यो । उसले पनि सँगै घुम्न जाने प्रस्ताव गरी । उसको प्रस्ताव तत्काल अनुमोदन पनि भयो ।
घुम्न जाने अघिल्लो साँझ हामी सधैंको कफी पिउने ठाउँमा थियौं । बेलुकीपखको केएलको रमाइलो वातावरणमा कफीको स्वाद लिँदै गर्दा टुप्लुक्क मेरो भतिजो आइपुग्यो । ऊ त्यसताका केएलमा होटल म्यानेजमेन्ट पढ्दै थियो र पार्ट टाइम एउटा होटलमा काम पनि गथ्र्यो । मसँग नेपालीमा केही कुरा गरेर हिँड्यो । मले सुन्दरी रोजीले उसका बारेमा सोधी । मैले ऊलगायत उसले काम गर्ने होटलको म्यानेजर ज्याकी पनि भोलिको हाम्रो टिममा सामेल हुने कुराको जानकारी गराएँ । मेरो कुरा सुनेर केहीबेर ट्वाँ परेर मेरो मुखमा हेरी र पिउँदै गरेको कफी छोेडेर हिँडी । म हेरेको हेरै भएँ ।
केही क्षण त जिस्केकी होला भनेर पर्खें तर ऊ फर्केर आइन । फोन गरें, उठाइन । तत्कालै फेसबुक पनि ब्लक गरिदिई । कारण थाहा पाउन सकिनँ ।
पूर्वयोजना अनुसार नै भतिज कृष्ण, उसको हाकिम ज्याकी र म तीनजना भोलिपल्ट ग्याण्टिङ हाइल्याण्ड प्रस्थान गर्यौं । नेपालको चन्द्रागिरीजस्तो डाँडामाथि रहेको यो स्थान साँच्चै रमणीय रहेछ । प्राकृतिक सौन्दर्य र मानवीय कौसलको सम्मिश्रण त्यो ठाउँको अवलोकन नगरी फर्किंदा मलेसिया भ्रमण नै अधुरो भएसरह हुने रहेछ । गाडीबाट घुमेर गए पनि केवलकारबाट सिधा गए पनि हुने त्यस ठाउँमा हामी जाँदा गाडीको बाटो गयौं र फर्किंदा केवलकारको मज्जा लियौं । केवलकारबाट फर्किंदा जंगलमा विचरण गरिरहेका बाधको दृश्यले दिएको आनन्दको कुरा शब्दमा वर्णन गरेर साध्य छैन । टिममा मले सुन्दरी रोजी छुटेकी भए पनि ट्रिप रमाइलो र अविस्मरणीय भयो ।
फर्केपछि निक्कै समयसम्म रोजीसँग भेट हुन सकेन । फेसबुक र फोन ब्लक थियो, सम्पर्कको अर्को उपाय थिएन ।
एकसाँझ अचानक बुकी बिन्ताङको कफीसपमा ऊ भेटिई अर्थात् हाम्रो पुनः जम्काभेट भयो । मैले उसलाई रिसाएकी भए पनि सँगै कफी पिउन अनुरोध गरें । पहिले त नखरा गरी तर पछि मानी । कफी पिउँदै गर्दा मैले ऊ रिसाएर हिँडनुको कारण सोधें– ‘रोजी, भन त, तिमी मसँग किन रिसायौ ? मलाई मेरो गल्ती त महसुस गराऊ डियर !’
तर ऊ धेरैबेरसम्म बोलिनँ । नबोली नबोली कफी पिइरही । अन्त्यमा भनी ‘हेर, छोटो समयमा नै म तिमीबाट धेरै प्रभावित थिएँ । धेरै कुराकानीहरू पनि भए । तिम्रो बोली र व्यवहारले मलाई रामै्र मान्छेसँग सम्पर्क भएजस्तो लाग्यो । म तिम्रो व्यक्तित्वबाट पराजित हुँदै गर्दा ग्याण्टिङ हाइल्याण्ड भ्रमणको कुरा आयो । मैले तिमी र म मात्र त्यहाँ जाने, दिनभरि त्यहाँको सौन्दर्यको अवलोक गर्ने र त्यो रात त्यहीं बिताएर भोलिपल्ट फर्किने योजना बनाएकी थिएँ । तिमीले टिमसहित त्यहाँ जाने कुरा गरेपछि मलाई साँच्चै रिस उठेको हो । त्यो दिन तिमीले मेरो विश्वास र सपना भताभुङ्ग बनाइदियौ । मेरो मन दुख्यो । अब म तिमीसँग सम्पर्क गर्न चाहन्न ।’
उसको आशय बुझेपछि मैले भनें ‘रोजी, तिमी त मेरो साथीको गर्लफ्रेण्ड । ऊ अहिले नेपाल गएको छ । ऊ नभएको बेलामा उसको गर्लफ्रेण्डलाई … ! फेरि हाम्रो समाजमा त साथीको गर्लफ्रेण्ड वा श्रीमतीलाई भाउजूसरह मान्ने प्रचलन छ । त्यो कसरी सम्भव हुन्थ्यो र ? मिलेर चियाकफी खानु, कुराहरू वा विचारहरू सेयर गर्नु एउटा कुरा हो तर बेड नै सेयर…’
मेरो कुरा पूरा हुन नदिँदै उसले झर्केर भनी ‘भो बन्द गर तिम्रा बकबास ! यस्तो अव्यवहारिक आदर्शका कुरा गर्ने भएर मलाई नेपाल र इण्डियाका मान्छेहरू पटक्कै मन पर्दैनन् । मनभरि सेक्स पाल्ने अनि मुखले आदर्श छाँट्ने ! म मेडिकलकी विद्यार्थी हुँ । मलाई राम्ररी थाहा छ सेक्स के हो भनेर । मलाई पढाउने प्रोफेसर डाक्टरहरू नै मेरो फिगर देखेर लाइन मार्छन् । चाहेँ भने अहिले तिमै्र अगाडि लाइन लगाइदिन सक्छु । तर मेरो मनले तिमीलाई रोज्यो त मेरो के दोष ?’
ऊ भन्दै भई ‘मन नमिली गरिने सेक्स रेप हो तर मन मिलेपछि गरिने रेप पनि सेक्स हो । यो आधा घण्टामा सकिने कर्मलाई आनन्दले पूरा गर्ने र त्यसबाट प्राप्त ऊर्जालाई भविष्य निर्माणमा, करियर निर्माणमा लगाउने हो । तिमी मलाई हेरेर नढाँटी भन त, के मलाई देखेर, मेरो फिगर देखेर तिम्रो मनमा सेक्सको भाव उत्पन्न भएको छैन ? यदि साँच्चै छैन भने तिमी रोगी हौं, अस्वस्थ हौ । मन मिलेपछि पनि भन्न नसकेर वषौंसम्म तड्पिएर ऊर्जा जति सबै त्यही प्राप्तिका लागि लगाउने हो भने प्रगति कहिले गर्ने ?’
रोजी आवेशमा आफ्नो आक्रोश पोख्तै थिई । मैले हाम्रा कुरा अरूले त सुनिरहेका छैनन ? भनेर वल्लो पल्लो टेबलतिर नियालेंं, सबै आ–आफ्नै धुनमा मस्त थिए । म केही आश्वस्त भएँ ।
ऊ भन्दै गई..‘हरेक कुराका सीमा र मर्यादा हुन्छन् । मेरो बुझाइमा सेक्स बजारमा बेच्न राखिएको सस्तो वस्तु पनि होइन र बोल्नै वर्जित हुने विषय पनि होइन । मन मिलेर गरिने सेक्सबाट अपार ऊर्जा प्राप्त हुन्छ तर यसरी प्राप्त ऊर्जालाई सिर्जनात्मक काममा लगाउन सक्नुपर्छ । तिमीसँगको सम्पर्क, बसाइ र कुराकानीबाट खै किन हो म तिमीप्रति आकर्षित भएँ । मलेसियामा लोग्नेमान्छे नपाएर तिमीप्रति आकर्षित भएकी होइन र म प्रोस्टिच्युट पनि होइन । त्यो दिन तिमीले बुझेर पनि मलाई धोका दियौ तर पनि म कुण्ठा पालेर बस्तिनँ । सोचेकी थिएँ– पाएनँ । बस् कुरा सकियो । तिमीलाई देख्ता वा भेट्ता त्यो अतृप्त दिनको याद नआयोस् भनेर म तिमीबाट टाढिँदै छु, तिमीसँगका सारा मानसिक सम्बन्धहरू तोडेर । मानसिक सम्बन्ध विनाको शारीरिक सम्बन्ध बलात्कार हो । त्यो मबाट सम्भव छैन । त्यसैले अब तिमीले पनि मलाई भेट्ने कोसिस कहिल्यै नगर्नू । ठान, हिँड्दै जाँदा यात्राको कुनै मोडमा भेटिएका थियौं, कुनै अर्को मोडमा पुगेर बिलायौें । बस् ।’
उसको लामो प्रवचन सुनेर छुट्टिएपछि र उसैले नभेट्न निषेधाज्ञा जारी गरेपछि मलाई पनि उसलाई पच्छ्याउन मन लागेन । तर पनि झुक्किएर भए पनि एकपल्ट ऊसँग भेट भए हुन्थ्यो जस्तो चाहिँ लागिरह्यो । तर फेरि भेट भएन । त्यसदिनदेखि बुकी बिन्ताङको त्यो कफी सप मेरा लागि बिरानो बस्तीझैं बन्यो । सधैं रमझम देखिने त्यो कफी सप मेरा लागि कान्तिहीन बन्यो ।
ऊ स्पष्ट वक्ता थिई, जे सोचेकी थिई, त्यही भनी र त्यही गरी पनि तर मैले उसलाई कहित्यै भूल्न सकिनँ । उसको घृणाले पनि मलाई केही शिक्षा दिएझैं लागिरह्यो । ल भन आकृति, सेक्सका बारेमा रोजीको परिभाषा कस्तो लाग्यो ?
‘के त्यसपछि रोजीसँग कहिल्यै भेट भएन सर ?’
‘अहँ, भएन । त्यसको ३-४ दिनपछि म नेपाल फर्कें । मनमा लागिरह्यो– किन हामी मनमा एकथोक पालेर मुखले अर्कै कुरा गर्न रुचि देखाउँछौं ? के यही सभ्यता हो ? के रोजीले हाम्रो प्रवृत्तिमाथि नै धावा बोलेकी हो ? सोचें, अर्कोपल्ट मलेसिया गएको बेला यो कुरा स्पष्ट पार्ने प्रयास गर्ने छु । त्यति बेलासम्ममा त उसको रिस पनि शान्त भइसकेको होला । तर अर्कोपल्ट म मलेसिया पुग्दा ऊ एमडी गर्न क्यानाडा गइसकेकी रहिछ । मेरो जिज्ञासा अधुरै रह्यो । मन खल्लो भएर आयो ।’
‘विचरा हजुर पनि …’
‘तिमी पनि मलाई व्यङ्ग्य नगर आकृति ! सुन– मान्छे सँस्कार, संस्कृति र सभ्यताबाट पनि बाँधिएको हुन्छ । यो समयसापेक्ष पनि हुन्छ । केही अगाडिसम्म यौनका बारेमा कुरा गर्नु मर्यादाको उल्लङ्घन गर्नु सरह हुन्थ्यो, आज तिमी हामीबीच यसरी संवाद भइरहेछ । भोलि के हुन्छ भन्न सकिन्न । रोजी मेडिकलकी विद्यार्थी थिई, उसले यौनलाई जसरी बुझी, त्यसरी नै भनी । मेरो सँस्कारले उसको प्रस्ताव स्वीकार गर्न दिएन । ल भन त, के मैले रोजीमाथि अन्याय नै गरेको अर्थ लाग्यो र ?’
‘सही र गलत भन्ने कुरा पनि हजुरले भनेझैं सापेक्षित हुन्छ होला सर । त्यो घटनामा हजुरको चेतनाले ठीकै गरेको होला तर रोजीको लागि आत्मचोटको विषय बन्न पुग्यो । यौनका बारेमा रोजीको धारणामा म पनि धेरै हदसम्म सहमत छु । अमेरिका आएपछि, यहाँको जीवनदर्शन देखेपछि र जीवनलाई नजिकबाट नियाल्ने प्रयास गरेपछि मलाई पनि लाग्नथाल्यो– हामीले जेलाई सर्वश्व ठान्ने गथ्र्यौं, वास्तवमा त्यो त्यस्तो चिज होइन रहेछ । र, भर्जिनिटी नै कसैलाई मूल्याङ्कन गर्ने अन्तिम कसी पनि होइन रहेछ । सायद हाम्रो शास्त्रको अपव्याख्या भयो होला । दुबैको सहमति र स्वीकृतिमा गरिने यौन सम्पर्क जीवनको सबैभन्दा ठूलो आनन्द रहेछ, ऊर्जाको मुहान रहेछ । त्यसैले यस विषयमा अनावश्यक नाटक गर्नुको औचित्य लाग्न छोड्यो मलाई पनि ।’
‘के मैले रोजीसँग नाटक गरेको थिएँ भनेको ?’
‘मैले हजुरलाई लक्षित गरेको होइन सर, समग्रतामा भनेको हो ।’
अनुकूल मौका पाएर सपनले भन्यो ‘आकृति, तिम्रो जीवनको पनि कुनै त्यस्तो रोचक अनुभव भए सेयर गर न त । मलाई लाग्छ, तिमीभित्र पनि त्यस्तो केही रहस्य लुकेको हुनुपर्छ जुन निकासको पर्खाइमा होस् ।’
‘साँच्चै हो ?’ (मोबाइलमा आकृतिको उन्मुक्त हाँसो गुञ्जियो)
‘बाटो किनारमा फुलेको मनमोहक फूललाई कसैले स्पर्श नै गरेन होला भनेर कसरी विश्वास गरूँ म ?’
(पुनः हाँसो) ‘म हजुरसँग केही कुरा शेयर गर्न चाहन्छु तर आज होइन ।’
‘कहिले त ?’
‘अहिले त रातको १२ बज्न लाग्यो । अर्को शनिबार बेलुका । आइतबार मेरो विदा हुन्छ ।’
‘पक्का है त ?’
(हाँसो)
स्वप्न सुन्दरी आकृतिसँगको फोन संवादबाट सपनलाई आफ्नो यौवन फर्केको आभास भइरहेको थियो । जवानीमा कुनै सुन्दरीसँग यति खुलेर गफ गर्न आँटै आएन । जब गफ गर्ने आँट आयो, तब जवानी नै रहेन । जीवनको कस्तो विडम्बना ! यस्तै सोच्तै ऊ निदायो ।
सपन उसको पूर्व विद्यार्थी अनीलको निम्तो मान्न अस्टिन गएको थियो । बेलुकाका खाना खाएर सुत्न लाग्दा आकृतिको फोन आयो । उसले आज शनिबार हो भन्ने पनि बिर्सिसकेको थियो ।
‘नमस्ते सर !’
‘नमस्ते नानु । म त तिम्रै सुमधुर स्वरको पर्खाइमा थिएँ ।’
(हाँसो)
‘सर, हजुरसँग केही कुराहरू गर्न मन थियो तर गर्नु हुने वा नहुने हो भनेर द्विविधामा छु । हाम्रो समाजमा नारीले बोल्नुअघि हजारपल्ट सोच्नुपर्छ भन्छन् ।’
‘हामीबीच यति धेरै कुराहरू भइसकेका छन्, अझै पनि शङ्का छ र ? सङ्कोच नमानी भन्दा हुन्छ आकृति !’
‘ओके सर ।’
एकछिन रोकिएर कुरा आरम्भ गरी– ख्यालख्यालमा नै डिभी पर्यो । डिभी परेपछि अचानक शरीरमा पखेटा उम्रिए । शरीर नेपालमा भए पनि मनले अमेरिका घुम्न थाल्यो । साथीभाइबाट बधाईको ओइरो आउन थाल्यो । आफूलाई पनि ठूलै मान्छे भइयो कि क्याहो जस्तो लाग्न थाल्यो ।
आर्थिक रूपले हामी मध्यम वर्गीय, पैसाको चाँजोपाँजो मिलाउन सहज थिएन । तर अमेरिकाको डिभी परेको हल्ला चलेपछि २÷४ लाख जुटाउन समस्या पनि भएन । निक्कै राम्रो परिवारबाट बिहेका प्रस्तावहरू पनि आए, लगानी गरिदिने मान्छे पनि निस्किए तर मलाई ती बाटाहरूतिर जान मन लागेन ।
कलेज पढ्दाको मेरो साथी प्रयास पनि दुई वर्षअघि डिभी नै परेर अमेरिका आएको थियो र न्यु योर्कमा बस्थ्यो । अमेरिकामा मेरो साइनो पर्ने अरू आफन्तहरू कोही थिएनन् । त्यसैले म उसैको माध्यमबाट न्यु योर्क आएँ । आउने बित्तिकै कहाँ जाने ? तत्काल व्यवस्थापन गर्न सजिलो भएन । म ऊसँग बस्तै विकल्प खोज्न लागेँ । दुई जवान विपरीत लिङ्गी युवा मुटुहरू एउटै फ्ल्याटमा बस्न थालेपछि बेड सेयर हुन समय लागेन । मैले नयाँ ठाउँमा उसको माध्यमबाट उभिने आधार पाएकी थिएँ भने प्रयासले पनि उसले गरेको सहयोगको पारिश्रमिक स्वरूप सुन्दरीको न्यानो अँगालो । प्रयासले मेरो एक्लोपनको फाइदा उठायो भनेर ढाँट्दिन सर, तर मैले उसँग सहयात्राको सपना पनि देखेकी थिएँ ।
प्रयास कलेज पढ्दाकै साथी । त्यसताका हामी चियाकफीमा सीमित थियौं । केटाहरूमा उसको व्यक्तित्व आकर्षक नै थियो । मलाई त कलेजमा मात्र होइन, कलेजबाहिर पनि ‘परी’ उपनामले बोलाउँथे । केटी साथीहरू नै मेरो सौन्दर्यको ईष्र्या गर्थे । त्यसबेला प्रयास र म चियाकफीमा सरिक हुँदा धेरैको मन पनि जल्थ्यो होला । त्यही साथीसँग अमेरिकामा यसरी भेट होला र त्यस बेलाको अतृप्त मनको प्यास अमेरिकामा आएर मेटिएला भन्ने सपनामा पनि सोचिएकी थिइनँ । त्यसपछि नबोली नबोली योजना बन्थ्यो । कहिले ऊ मेरो बेडमा आउँथ्यो, कहिले म उसकोमा । दिन बित्तै गयो ।
म प्रयाससँगको सम्बन्धलाई स्थायित्व दिन चाहन्थें । ऊ काममा मेहनती र लगनशील पनि थियो । मलाई लाग्थ्यो, एउटा असल साथी जीवन–साथीमा नै रूपान्तरित भए झन राम्रो होला । तर जीवन सरल रेखामा बग्दोरहेन छ सर !
एकदिन अचानक उसले ऊ कुनै अमेरिकन केटीसँग प्रेममा परेको र अब उसको लागि मबाट अलग्गिने निर्णय सुनायो । म छाँगाबाट खसेझैं भएँ । मैले उसलाई ब्युँझाउने प्रयास गर्दै भनेँ– ‘प्रयास, तिमीले मलाई धोका दियौं, तिमीसँग बुनेको सपना चकानाचुर पारिदियौ ।’
तर उसले त्यसलाई धोका मानेन । उसले भन्यो– ‘आकृति, जतिबेला तिमीलाई एउटा सहयोगी साथीको खाँचो थियो, मैले साथ दिएँ । आर्थिक दृष्टिले पनि तिमीलाई कुनै टेन्सन हुन दिइनँ । अब तिमी अमेरिकामा एक्लै पनि एड्जस्ट हुन सक्ने समर्थ भइसकेकी छ्यौ । जहाँसम्म शारीरिक सम्पर्कतिरको तिम्रो सङ्केत छ, त्यो त समयको माग थियो र हामीबीच मौन सहमतिमा नै सम्पन्न भयो । तर, तिमीले नचाहेको भए त्यो पटक्कै सम्भव हुने थिएन । साथीका हिसाबले अहिले पनि म तिमीलाई सम्मान गर्छु । मेरो ठाउँबाट हेर त, अहिले म जुन केटीसँग बिहे गर्न लाग्दै छु, ऊ धेरै सम्पन्न छे र यहाँको उच्च वर्गसँग सम्बन्धित पनि । उसँगको सम्बन्धले मेरो अमेरिका बसाइ स्थायी हुनेमात्र होइन, शानदार पनि हुनेछ । शानदार जीवनको खोजी गर्दै तिमी हामी यहाँसम्म आएका होइनौं र ? सामान्य जीवन बाँच्न त नेपालमा नै सम्भव थियो नि ! त्यसैले आकृति, मेरो यस योजनामा तिमीले पनि साथ दिनुपर्छ । तिमी पनि मेरो कुभलो चाहने मान्छे होइनौ ।’ उसको तर्क सुनेर म नाजवाफ भएँ ।
उसको तर्कबाट म पराजित हुँदैगर्दा मैले सोचेँ, अब म पनि रून्चे नारी बन्नु हुँदैन । आशको दास हुँदा नै मान्छे दुखी हुने हो । मैले त्यो बानी सच्याउनुपर्छ । र सायद उसको ठाउँमा प्रयास ठीकै थियो होला, मेरो कोणबाट हेर्दा मात्र उसलाई गलत देखेकी हुँला । अतः मैले तत्क्षण उसको प्रस्तावलाई अनुमोदन गरिदिएँ । एउटा बाटो सकिँदैमा यात्रा पनि सकिँदैन, बरू अरू धेरै सम्भावनाहरू खोजी गर्ने अवसर प्राप्त हुन्छ भन्ने लाग्यो । अनि अचानक मेरो मुखबाट निस्क्यो– प्रयास, कलेज–जीवनदेखि नै हामी एकअर्काको नजिक थियौं, यहाँ आएर झन नजिक भयौं । तिमीलाई मैले मेरो हृदयको जुन ठाउँमा राखेकी थिएँ, त्यस ठाउँमा भविष्यमा अरू कसैलाई राख्न सकौंला वा नसकौंला तर पनि म तिम्रो जीवनको सफलताको कामना गर्छु । कोसिस गरौं, जीवनका कुनै मोडमा फेरि हाम्रो भेट कहिल्यै नहोस् । उड, जता उडे पनि । अब मेरोतर्फबाट तिमी स्वतन्त्र छौ ।
अन्ततः ऊ मलाई त्यहीं छाडेर उड्यो पनि ।
म पढ्दै पनि थिएँ, जागिर पनि खाँदै थिएँ । एक प्रकारले ममा परिपक्वता पनि आउँदै थियो । प्रयासले लगाएको घाउ पनि क्रमशः पुरानो हुँदै थियो । अमेरिकी जीवन शैलीमा बिहे र डिभोर्स त सामान्य मानिदोरहेछ भने मेरो त के भएको छ र ? भन्ने लाग्यो । त्यसपछि पनि नेपाली गैर नेपाली थुप्रै ठाउँबाट बिहेका प्रस्तावहरू आए । मलाई कुनै हतार थिएन, एउटा एउटा बहानामा सबैलाई टार्दै अगाडि बढेँ । म एउटा लेभलमा नपुगी बिहेका बारेमा सोच्दिन भन्नेमा थिएँ र छु पनि ।
यसैबीच दुई वर्षअगाडि आमा बित्नुभयो । म नेपाल जान सकिनँ । म एक्लै रोएर बसें । बाबालाई पनि साह्रै बोर भयो होला भन्ने ठानेर केही समयअगाडि यहाँ बोलाएँ । त्यही भएर बाबा अहिले मसँगै हुनुहुन्छ । बाबा मेरो घरजम भएको हेर्न चाहनुहुन्छ । प्रयास अलग्गिएपछि अरू कसैलाई जीवन–साथी नै बनाउने खालको साथी बनाएको छैन र बनाइहाल्ने मन पनि छैन । यस अवस्थामा वृद्ध हुनुभएको मेरो बाबाको मन कसरी राख्ने ? म के गरौं सर ? आफूलाई समस्या परेका बेला उचित सल्लाह माग्ने मान्छे पाउन पनि गाह्रो पर्दो रहेछ । त्यही भएर हजुरसँग सोधेकी सर । हजुरको अनुभवले के भन्छ ?
आकृतिबाट एकलापीय शैलीमा उसको आत्मवृतान्त सुनिरहेका सपनले लामो सास फेर्यो । ऊ केही स्तब्ध पनि बन्योे । आकृतिको उज्यालो र मनमोहक अनुहारभित्रको कालो पीडा महसुस गरेझै गर्यो । मान्छे जस्तो देखिन्छ, त्यस्तो हुँदैन र जस्तो हुन्छ, त्यस्तो देखिँदैन भन्ने कुरालाई पुनः एकपल्ट आत्मसात् गर्यो ।
सपनले सोच्यो– अब आकृतिलाई के सल्लाह दिने ? भूमिकासहितको उसको प्रश्नले एउटा परिपक्व उत्तर चाहेको थियो । यो उसको जीवन र स्वाभिमानसँग जोडिएको प्रश्न पनि थियो । केही बेर सोचेर उसले भन्यो– आकृति, मेरो विचारमा जीवनलाई जति जटिल बनायो, त्यो त्यति नै जटिल हुने र जति सरल बनाउन सक्यो, त्यति नै सरल बन्दै जाने रहेछ । रहर वा इच्छाहरूका पछि दौडेर मात्र गन्तब्यमा पुग्न कठिन हुन्छ । तिमीले आफूलाई पानी बनाउन सक्यौ भने जसले जहाँ राखे पनि त्यस्तै आकार बनाउन सक्छ्यौ । कठोर ढुङ्गा बन्न खाज्यौ पनि सबैले आफ्नो आकारमा ल्याउन घनले हिर्काउँछन् । प्रयाससँगको तिम्रो प्रेम एउटा विशिष्ट परिस्थितिको उपज थियो र आज त्यो परिस्थिति परिवर्तन भइसकेको छ । तिमीले पनि आफूलाई परिवर्तन गर्नुपर्छ नत्र डाइनोसार बन्न सक्छ्यौ ।
ऊ भन्दै गयो– ‘तिमीले गम्भीर भएर सोचेकी छैनौ होला, तिमीले प्रयासलाई गरेजस्तै तिमीलाई माया गर्नेहरू पनि तिम्रै वरिपरि हुनसक्छन् । सार्थक जीवनका लागि आफूले माया गरेको मान्छे पाउनुमा भन्दा आफूलाई धेरै माया गर्ने वा विश्वास गर्ने मान्छे पाउनु भाग्यको कुरा हो । प्रयास तिम्रो आरम्भ मात्र थियो, गन्तव्य थिएन । मान्छेहरू नजिकको खुसी चिन्न नसकेर अन्यत्र भौंतारिइरहेका हुन्छन् । तिमीले यस कुरालाई आत्मसात् गर्न सक्यौ भने नयाँ विकल्प पाउन सक्छ्यौ र सम्भवतः यससँगै बाबाको इच्छा पनि पूरा हुनेछ ।’
आकृतिले नबोली लामो सास तानेको सपनले महसुस गर्यो । अन्त्यमा सुस्त ढङ्गले बोली ‘खै सर…!’
परिस्थिति भावुक बनेकोले सपनले फोन वार्तालाई लम्ब्याउन चाहेन । त्यसपछि गम्भीर वार्ता नभई सपन नेपाल फर्किएको थियो । नेपाल फर्के पनि केही समयसम्म आकृतिसँग आराम विरामका कुरा भए तर अचानक फेसबुक ब्लक भयो । त्यसपछि संवाद पनि सम्भव भएन ।
सन् २०१९ देखिको कोरोनाको कहरले विश्वलाई नै तहसनहस बनाएकोले सपनको पुनः अमेरिका भ्रमणको सम्भावना पनि टरेको थियो । आकृतिसँगको सम्पर्क टुटेकोमा उसलाई नमिठो लागेको थियो । त्यस्तो स्पष्ठ मान्छे फेसबुक नै ब्लक गरेर नबस्नुपर्ने भन्ने लागिरहन्थ्यो उसलाई । झण्डै दुई दशकपछि आज उसको मानसपटलमा आकृतिको त्यो सुन्दर अनुहार पुनः ताजा भएर आइदियो ।
‘मामुसँग हजुरको कसरी भेट भएको थियो बुबा ?’ आस्थाले तन्द्रा भङ्ग गरिदिई ।
सपनले लामो सास फेरे । केही टोलाएजस्तै भए । त्यही बेला संयम पनि कोठामा पसे । उसलाई पनि शोफमा बस्न आग्रह गर्दै सपनले कुरा आरम्भ गरे ।
‘आजभन्दा झण्डै १९-२० वर्ष अघि अर्थात् सन् २०१७ सालको सेप्टेम्बरमहिनाको अन्त्यतिर म अमेरिका गएको थिएँ । त्यस बेला संयम ६÷७ वर्षका मात्र थिए होलान् । टेक्सासबाट म घुम्न भनेर भर्जिनिया गएँ । भर्जिनिया पुगेपछि अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस नहेरी के फर्किनु भनेर राजधानी वासिङ्टन डिसी गएँ । डिसीमा त आकृतिसँग भेट गर्न गएझैं अविस्मरणीय बन्यो ।’
‘म र मेरो साथी शिव साइन्स म्युजियम घुम्दै गर्दा पहिलोपटक मैले तिम्रो मामुलाई देखेको हुँ तर बोल्ने अवसर भने ट्रम्स टावरमा मात्र जु¥यो । उनी यति सुन्दर र शालीन स्वभावकी धनी थिइन् कि पहिले त उनको नजिक जान पनि डराएको थिएँ । तर भेट भइसकेपछि आकृति मसँग यसरी खुलिन् कि छु«िट्टन नै गाह्रो भयो । सम्झना स्वरूप हामीले त्यहाँ सेल्फी लिएका थियौं, यो फोटो त्यही दिनको सम्झाना हो । उनले मलाई न्यु योर्क घुमेर मात्र फर्किन आग्रह गरेकी थिइन् तर अर्कोपल्ट आउँछु भनेर वचन दिएर टेक्सास फर्केको थिएँ । समयले साथ नदिएर म पुनः अमेरिका जान सकिनँ । भेट्ने चाहना अधुरै रह्यो ।’
‘टेक्सास बसुञ्जेल पनि हामीबीच धेरै फोनवार्ताहरू भए । कतिपय अन्तरङ्ग कुराहरू पनि भए । यसैक्रममा उनले प्रयासले दिएको धोकाको बारेमा पनि कुरा गरेकी थिइन् । उनी त अमेरिकन केटीका कारण आकृतिलाई छोडेर हिँडेका थिए अरे त । फेरि कसरी ….?’ सपन आस्थातिर फर्के र जिज्ञासु नजरले हेरे ।
‘हो, बाबा कुनै धनी अमेरिकी केटीका पछि लागेर हिँडेपछि मामु एक्लै हुनुभएछ । सुरुमा एक्लोपनले निक्कै सताएछ तर पछि सबै एड्जस्ट गर्नुभएछ । राम्रो जागिर, आफ्नो घर र हिड्न एउटा गाडी भएपछि अमेरिकामा एड्जस्ट हुन खास्सै गाह्रो नहुँदोरहेछ । मामुको जीवनले एउटा लय समात्तै गर्दा धेरैतिरबाट विवाहका लागि अफरहरू पनि आएछन् तर मामुले कसैमाथि पनि विश्वास गर्न सक्नुभएन छ । त्यही बेला त्यस अमेरिकन केटीले पनि बाबालाई धोका दिएको र बाबा पागलजस्तै भएको चर्चा मामुले सुन्नुभएछ । तर एकपल्ट धोका दिएर हिँडेको मान्छेसँग कुनै मतलब नराख्ने भनेर मामुले बाबाको फोन, फेसबुकलगायत सबै सम्पर्कका माध्यमहरू ब्लक गरिदिनुभएछ ।’
आस्था भन्दै गई ‘एकदिन अचानक अस्पतालबाट फोन आएछ । बाबा गाडी एक्सिडेन्टमा परेर सिरियस भएको र बाबाले नै अस्पताललाई मामुको नम्बर दिएर फोन गरिदिन आग्रह गर्नुभएको रहेछ । डाक्टरको फोनले मामु दोधारमा पर्नुभएछ । अन्ततः एउटा मानवीय नाताले अस्पताल जाने निर्णय लिनुभएछ ।’
‘मामु पुग्दा बाबा दवाईका कारणले लठ्ठ भएर निदाइरहनुभएको थियो अरे । ब्युँझनेबित्तिकै पहिलो नाम नै मामुको लिनुभएछ । त्यसबेला मामु छेउमा नै हुनुहुन्थ्यो रे । मामुलाई देखेर बाबा खुसी र पश्चतापले रुन थाल्नुभएछ । नारीको मन न हो, मामु पग्लिनु भएछ । मामुको हात समातेर बाबा निःशब्द रुनुभएपछि बाबाको सम्पूर्ण हेरचाह मामुले नै गर्नुभएछ ।’
‘अस्पतालबाट डिस्चार्र्ज भएपछि बाबाकै आग्रहमा मामुले घर ल्याउनुभएछ । बाबा विस्तारै स्वस्थ हुँदैजानुभएछ । मामुलाई बाबालाई मानवीय सहयोग गरे पनि उहाँसँग पुनः एड्जष्ठ हुन मन थिएन अरे तर जीवनसँग सम्झौता गर्न बाध्य हुनुभएछ । म जन्में । तर मैले त बाबा मामुको दुबैको असाध्य माया पाएँ । मेरो बुझाइमा बाबाले मामुलाई पनि असाध्य माया गर्नुहुन्थो तर मामुमा केही असाधारण परिवर्तन देखियो । उहाँ पहिलाको जस्तो रहनुभएन । प्रायः टोलाएजस्तो हुने, रमाइलो र भीडभाडमा जान नरुचाउने, लाउने र खाने कुरामा पनि खास्सै ध्यान नदिने गर्न थाल्नुभयो । बाबाले मामुको यो अवस्थाको दोषी पनि आफैंलाई ठान्नुभयो र उपचारका लागि विभिन्न डाक्टरहरू कहाँ लैजानुभयो तर पनि सुधार आएन । अन्ततः आजभन्दा पाँच वर्ष पहिले मामुले हामीसँगका सम्बन्ध र बन्धनहरू तोडेर सधैंका लागि टाढा कतै जानुभयो…। हामी टुहुरा भयौं ।’
‘के भन्यौ ? …आकृति….!’ सपन आत्तिएझैं भए । रोक्तारोक्तै पनि उनका आँखाबाट आँसुका थोपाहरू झरे । सपनले आफ्नो मामुप्रति दर्शाएको असीम श्रद्धाभाव देखेर आस्था पनि स्तब्ध बनी । आस्थाका पनि आँखा रसाए । उसले आफूलाई रोक्तारोक्तै पनि रोक्न सकिनन् र भावावेशमा सपनको छातिमा टाँसिन पुगी । हजुरबा र आस्थाबीचको वार्ता सुनिरहेका संयम पनि भावुक बने ।