विश्वले नसुनेको युक्रेनको क्रन्दन

युक्रेनमाथि रुसको आक्रमण राजनीतिक दृष्टिले कति ठीक थियो वा कति बेठीक थियो भन्ने विषयमा आ–आफ्ना स्वार्थ अनुकूल व्याख्या र विश्लेषण होलान् तर मानवताका दृष्टिले यो एउटा बर्बर, कायर र अक्षम्य घटना हो भन्नलाई डराउनु पर्दैन । युक्रेनमा मात्र होइन, यस्ता घटनाहरू संसारको जहाँसुकै घटे पनि मानवतावादी दृष्टिले हेर्दा सबै अक्षम्य अपराध हुन् र यस्ता घटनाका कारक जो कोही भए पनि तिनीहरू निन्दाका पात्र हुन् । व्यक्तिवादी राजनैतिक तर्कहरू मानवताभन्दा माथि हुन सक्तैनन् ।

एक्काइसौं शताब्दीमा आएर पनि युक्रेनी जनता वा विभिन्न उद्देश्यले युक्रेनमा गई बसोबास गर्ने मानिसहरूले आज जे भोगिरहेका छन्, त्यो मानवताकै लागि दुर्भाग्यपूर्ण अवस्था हो । युक्रेनमा बसोबास गर्ने लाखौंलाख मानिसहरू आज रगतको आँसु बगाउन बाध्य छन् । कुनै पनि क्षण कतिको जीवन समाप्त हुने हो, टुङ्गो छैन् । हरेकका लागि भोलि अनिश्चित छ । एउटा निर्जीव पटेकाले हजारौंको ज्यान लिइरहेको छ र वषौं लगाएर निर्माण गरेका मानवीय संरचनाहरू ध्वस्त पारिरहेको छ । आकाशमा दैनिक सयौं युद्धपोतहरू मडारिइरहेका देखिन्छन्, त्यहाँबाट कति बेला बम र बारुद कहाँ खस्छन् भनेर अनुमान गर्न सकिने अवस्था छैन । मानिसहरूको खान–पिनको टुङ्गो छैन । भोक र प्यासले वृद्ध, बालक र रोगी आक्रान्त बनेका छन् ।



हरेक दिन भोकै, प्यासै बाँच्न पाइन्छ कि भन्ने आशामा युक्रेन छोड्न हतारिने लाखौं विवश व्यक्तिहरूको ताँती देख्ता र हरेक दिन सयौं मानिसहरू हताहत भएको देख्ता पनि अझै विश्वको मन पग्लेको छैन । जो द्वन्द्वको चपेटामा छन्, उनीहरूलाई सोच्ने फुर्सत छैन । जो सुरक्षित छन्, उनीहरूलाई लाइनमा लागेका मान्छेहरू वा मृतकको सङ्ख्या गन्नमा फुर्सत छैन । टेलिभिजनका पर्दामा विश्व युक्रेनको बर्बादी हेरिरहेको छ तर उनीहरूको क्रन्दन सुनिरहेको छैन । युक्रेन जलिरहेछ, हामी स्वार्थको जोडघटाउ गरेर बसिरहेका छौं । हाम्रो पुस्ताको दुर्भाग्य हो– हामी मानवता हराएको पाषण युगमा बाँचिरहेका छौं !

आफ्ना परिवारका सदस्यसहित सुरक्षित स्थानमा बसेर टेलिभिजनको पर्दामा बम, गोला र बारुदले कुइरी मण्डल बनेको युक्रेनको दृश्य हेरेर त्यहाँ के भइरहेको होला भनेर अनुमान गर्ने विषय एउटा होला तर युक्रेनले विगत २६÷२७ दिनदेखि के भोगिरहेको होला भनेर उनीहरूको पीडाको वास्तविकता बुझ्न मानवीय संवेदना चाहिन्छ । कुनै ठूलो देशका सनकी शासकले आफ्नो सामरिक स्वार्थसिद्धिका लागि यसरी अमानवीय ढङ्गले आक्रमण गर्ने र बाँकी देशहरू मुक दर्शक बनेर वा गफ दिएर मात्र बस्ने हो भने यो स्थिति भोलिका दिन अन्यत्र पनि नदोहोरिएला भन्न सकिन्न ।

यो एक प्रकारको सरुवा रोग हो । आज हामी युक्रेनको समाचार पढ्दै छौं, भोलि हाम्रो समाचार अरूले नपढ्लान भन्न सकिन्न । अनि, युक्रेनबासीले जस्तै जीवनभरिको परिश्रम, कमाइ र त्याग गरेर जोडेका भौतिक संरचना र उपलब्धिहरू सबै छोडेर केवल एउटा पाकोमा दुई जोर लुगा र भए अलिकति चिउरा–सातु बोकेर बाँचेका परिवारका सदस्यहरूलाई अगाडि पछाडि लगाएर जीवन रक्षाका लागि सुरक्षित स्थानको खोजी गर्दै यत्रतत्र भौंंतारिनुु पर्ने दिन नआउला भन्न सकिन्न ।
साना मसिना घटनामा ठूलो हल्ला मच्चाउने मानवअधिकारवादी संगठनहरू महिनौंदेखि युक्रेन जलिरहँदा के हेरेर बसिरहेका छन् ? वास्तविक रूपमा नै मानवता सङ्कटमा परेको बेला यस्ता संगठनले केही लछारपाटो नलगाउने हो भने किन चाहियो मानवअधिकारवादी संगठन ? अनि, शक्तिशाली देशले जे गरे पनि विज्ञप्तिमा मात्र सीमित हुने हो भने किन चाहियो संयुक्त राष्ट्रसंघ पनि ? अब संयुक्त राष्ट्रसंघ र मानवअधिकारवादी संगठनहरूले पनि आफ्नो औचित्यलाई प्रमाणित गर्नुपर्र्नेे बेला आएको छ ।

यस घटनामा मानवताको धज्जी उडाउन नेतृत्व गरिरहेका रुसी राष्ट्रपति पुटिनलाई मात्र दोषी देख्नु पनि न्यायसंगत नहोला । प्रत्यक्ष रूपमा हेर्दा रुसी आक्रमण देखिए पनि यसको पृष्ठभूमि निर्माण गर्नमा ठूला भनिने देशहरू अमेरिका, चीन, बेलायत, अन्य युरोपियन मुलुकहरू तथा नेटोको भूमिका पनि त्यत्तिकै जिम्मेवार छ । युद्धको परिणाम् कुनै शासकको पक्षमा वा कसैको विपक्षमा होला तर युद्धका नाममा क्षयीकरण भएको मानव–मूल्यको क्षतिपूर्ति कहिले केबाट हुन्छ ? आक्रमणका कारण त्रस्त भएका बालबालिकाको मानसिक क्षतिको पूर्ति कसरी हुन्छ ? युद्धका कारण जीवन गुमाउन बाध्य हजारौं सैनिक वा गैरसैनिकहरूको जीवनको हिसाबकिताब कसरी हुन्छ ? के यो विश्वमा मान्छेले बाँच्न पाउने अधिकार गुमाउँदै गएको हो ? धेरै प्रश्नहरू अनुत्तरित नै छन् । विनासको कुनै विन्दुमा पुगेर यो युद्ध त रोकिएला तर युद्ध रोकिए पनि युद्धले बनाएको डोबहरू भने सजिलै मेटिने छैनन् ।

 

रुस–युक्रेन युद्धको परिणाम् जे आओस् वा जसका पक्षमा आओस् तर एउटा कुरा चाहिँ के स्पष्ठ भयो भने तानाशाह शासकका नजरमा मानवता भन्ने विषय केवल भाषणको सौन्दर्य मात्र बन्दोरहेछ । जब जब सनकी शासकहरूका बीच जुँगाको लडाइँ हुन्छ, तब तब उनीहरूको स्वार्थसिद्धिका लागि कति मानिसहरूले जीवन आहुति दिनुपर्यो भन्ने विषयले भन्दा पनि कुन शासकले जुँगामा ताउ लगाउने अवसर पायो भन्ने विषयले माने राख्दोरहेछ । मानव सभ्यताकै लागि यो लज्जाको विषय हुनपर्ने हो ।

व्यक्तिको अहङ्कार बचाउन मानवता धरापमा परिरहेको अवस्थामा आज सुरक्षित मानिएको क्षेत्र भोलि युक्रेन वा कुरुक्षेत्र बन्न सक्छ । त्यसैले युक्रेनको घटनालाई ‘उनीहरूको मात्र घटना’ मानेर ढुक्कले बस्ने बेला होइन यो । भोलि त्यही घटना तपाई हामी रहेको क्षेत्रमा पनि नदोहोरिएला भन्न सकिन्न । अरू कति पुटिनहरूको गिद्धेदृष्टि तपाई हाम्रो क्षेत्रमा पनि परिरहेको हुन सक्छ । निहुँ खोज्नलाई त बलियाहरूले हजार बहाना बनाउन सक्छन् ।

सम्बन्धित समाचार