नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ चैत्र ।
महिलाहरूमा लाग्ने धेरै रोगमध्ये स्तन क्यान्सर पनि एक रोग हो । स्तनमा गाँठो आउनु, गिर्खा देखिनु, रगत वा पिप बग्नु आदि स्तन क्यान्सरका लक्षणहरू हुन सक्छन् । शरीरको कुनै पनि अंगमा हुने कोशिका अनियन्त्रित रूपमा बढ्नु नै क्यान्सरको प्रमुख कारण मानिन्छ । शरीरको आवश्यकताअनुसार कोशिकाहरू विभाजित हुन्छन् तर यदि कोशिकाहरू लगातार बढिरहे भने यसले क्यान्सरको रूप लिन सक्छ ।
सामान्यतयः क्यान्सर दूध उत्पादन गर्ने ग्रन्थीहरू (लोब्युल) वा त्यसको बाटो (नलीहरू) मा हुन्छ जसले दूधलाई ग्रन्थीबाट निप्पलमा लैजान्छन् । नियमित रूपमा व्यायाम र योग गरेर तथा बेलाबेलामा आफ्नो स्तनको चिकित्सककहाँ जाँच गराएर यसबाट बच्न सकिन्छ । महिलाहरूमा मात्र होइन पुरूषहरूमा पनि स्तन क्यानसर हुनसक्दछ तर महिलाको तुलनामा पुरूषमा यस्ता घटनाहरू न्यून हुने गर्दछ । सान्दर्भिक हुने ठानी स्तन क्यान्सरकै विषयमा क्यान्सर रोग विशेषज्ञ डा. आरती शाहसँग गरिएको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।
स्तन क्यान्सर भनेको के हो ?
मानिसहरूको उमेरसँगै शरीरको अंगहरू पनि बढ्दै जाने गर्दछन् । यो स्वाभाविक प्रक्रिया नै हो । त्यस्तै उमेरसँगै महिलाको स्तन पनि बढ्दै जान्छ । एउटा निश्चित अवधिसम्म स्तन बढ्नु स्वाभाविक प्रक्रिया नै हो तर अस्वाभाविक रूपमा स्तन बढिरहेको भने त्यसलाई स्तन क्यान्सर भन्न सक्छौ । त्यस्तै एउटा अंगबाट अर्को अंगमा फैलियो भने पनि त्यसलाई क्यान्सर भन्छौं । शरीरको कुनै पनि अंगमा अनियन्त्रित रूपमा कोशिका बढ्नु नै क्यान्सरको प्रमुख कारण हो । यदि कोशिकाहरू लगातार बढिरहे भने यसले क्यान्सरको रूप लिन सक्छ ।
विश्वमा स्तन क्यान्सरबाट कति मानिस प्रभावित छन् अथवा यसको जोखिममा कति रहेका छन् ?
विश्वको कुरा गर्ने हो भने फोक्सोको क्यान्सरपछि, स्तन क्यान्सर दोस्रो नम्बरमा पर्दछ । नेपालको तथ्यांक हेर्ने हो भने महिलाहरूको कुरा गर्दा एक नम्बरमा पाठेघरको क्यान्सर आउँछ र दोस्रो नम्बरमा स्तन क्यान्सर आउँछ । अहिले अस्पतालमा हेर्ने हो १० देखि १२ वर्षका किशोरीहरू स्तन क्यान्सरको समस्या लिएर आउँछन् ।
पछिल्लो समयमा क्यान्सरबाट मृत्यु हुने दर बढिरहेको छ, यसमा स्तन क्यान्सरले कति हिस्सा ओगटेको छ ?
स्तन क्यान्सरबाट मृत्यु हुने कुरा गर्दा यस क्यान्सरलाई दुई भागमा छुट्याउनु पर्छ । स्तन क्यान्सरमा पनि विभिन्न स्टेज हुने गर्दछ, जसमा पहिलो, दोस्रो, तेस्रो र चौथों स्टेज हुने गर्दछन् । पहिलो र दोस्रो स्टेजमा स्तन क्यान्सरलाई निको नै पार्न सकिन्छ । तर तेस्रो स्टेजमा छ भने चैं ६०–७० प्रतिशत निको हुने सम्भावना रहेको हुन्छ र चौथो स्टेजमा पुगिसकेको स्तन क्यान्सर भने केही गरे पनि निको हुँदैन ।
स्तन क्यान्सर कति प्रकारका हुन्छन् ?
स्तन क्यान्सरको मेडिकल हिसाबमा दुई प्रकारका हुन्छन् । क्यान्सरलाई चैं हामी फैलने र नफैलने क्यान्सरको रूपमा विभाजित गर्न सक्छौं ।
ब्रेस्ट वा स्तन क्यान्सरका लक्षणहरू केके रहेका छन् ?
पहिलो भने यस विषयमा जनचेतना नै हुनुपर्छ । ४० वर्ष काटेका महिलाहरूले स्तनको जाँच गराउनु पर्दछ । यदि आफ्नो आमा वा फूपुलाई (रगतको नाता हुने व्यक्तिको कसैलाई) यसअघि स्तन क्यान्सर भएको भए त्यस परिवारका व्यक्तिहरू यस विषयमा अझ सर्तक हुनु जरुरी छ । यस्ता व्यक्तिलाई सानै उमेरमा नराम्रो खालको क्यान्सर हुन सक्दछ ।
स्तन क्यान्सर प्रायः चार चरणमा हुन्छन् । पहिलो चरण भनेको म्यामोग्राम गरेर मात्र पत्ता लगाउने हो जसलाई हेरेर वा छामेर नै पत्ता नलाग्न सक्छ । यस्तो अवस्थालाई चाहिँ हामी स्टेज १ वा जेरो नै भन्ने गर्छौं । दोस्रो चरण भनेको स्तनमा एउटा सानो गाँठो आउँन सक्छ । त्यो कतै पनि फैलिएको हुँदैन, केवल त्यो ब्रेस्टमा मात्र हुन्छ । त्यस्तै तेस्रो चरणमा भने ब्रेस्टमा र काँखी (ब्रेस्ट बाहेक क्यान्सर फैलने भनेको काँखी हो) मा पनि डल्लो हुने गर्दछ । चौथो चरण भनेको ब्रेस्टको क्यान्सरे फैलिएर काँखीमा, फोक्सोमा, कलेजोमा, हड्डीमा र दिमागमा पनि पुग्न सक्दछ ।
स्तन क्यान्सर के कारणले हुन सक्दछ ?
यदि परिवारमा कसैलाई क्यान्सर छ भने त्यस परिवारका सदस्यलाई क्यान्सरको जोखिम बढी रहने गर्दछ, जसलाई हेरेडिटी क्यान्सर भनिन्छ । त्यस्तै बच्चा नपाएका र विवाह नभएका महिलाहरू, महिनावारी एकदमै चाँडो सुरू भएका र ढिलोसम्म महिनावारी भैरहेका महिलाहरूलाई पनि स्तन क्यान्सरको सम्भावना बढी हुने गर्दछ । यदि स्तनमा गाँठाहरू, पिप आउने, रगत आउने र निको नहुने घाउहरू आयो भने यो पछि गएर क्यान्सर हुन सक्दछ । त्यस्तै हर्मोन नियन्त्रण गर्ने औषधिबाट पनि महिलहरूमा स्तन क्यान्सरको जोखिम हुने गर्छ ।
स्तन क्यान्सरबाट कसरी बच्न सकिन्छ ?
स्तन क्यान्सरबाट बच्ने पहिलो उपाय भनेको चाहिँ महिनाको एकपटक आफैंले आफ्नो ब्रेस्ट जाँच्ने हो । चालीस वर्ष पुगेका महिलाहरूले ब्रेस्टको म्यामोग्राम गर्नु राम्रो हुन्छ, जसले बाहिरबाट थाहा नभए पनि उपचार पद्दतिबाट थाहा हुन सक्छ । त्यस्तै निप्पलबाट फोहोर रगत जस्तो तरल पदार्थ आयो भने, महिनावारी बन्द भैसकेका महिलाहरूको निप्पलमा गाँठो आयो, बारम्बार चिलायो, पिप आयो, काँखीमा गाँठोजस्तो देखियो भने यस्तो अवस्थामा तत्काल डाक्टरको परामर्श लिनुपर्छ, जुन ब्रेस्ट क्यान्सरका लक्षणहरू हुन् । त्यस्तै निडल र बायोप्सी गरेर पनि क्यान्सर भएको नभएको पत्ता लगाउन सकिन्छ । कुनै पनि क्यान्सर हुनबाटै जोगिन त गाह्रो होला तर यसबाट बच्ने उत्तम उपाय भनेको सुरूमा नै यसलाई पत्ता लगाउन सक्नु हो । चौथो चरणमा पुग्नु अगाडि धेरै हदसम्म पीडितको जीवन रक्षा गर्न सकिन्छ ।