नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ चैत ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकको अर्थतन्त्र सङ्कटोन्मुख अवस्थामा पुगेको बताएको छ । आज (आइतबार) ललितपुरमा एमालेका तीनजना पूर्व अर्थमन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकको अर्थतन्त्र सङ्कटोन्मुख अवस्थामा पुगेको बताएका हुन् ।
एमालेका तीनजना पूर्व अर्थमन्त्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बन्नुअघि कोभिडका महामारीबीचमा पनि देशको अर्थतन्त्र सुदृढ अवस्थामा रहेको बताएका छन् । ‘मुद्रास्फिति दर ४ प्रतिशतभन्दा तल रहीसमग्र मूल्य नियन्त्रणमा थियो । व्यापार घाटा भुक्तानी सन्तुलनमा नै थियो । बार्षिक रुपमा विप्रेषण झण्डै १० प्रतिशतले बढेको थियो । बार्षिक कारोबारमा रु. १ अर्ब २३ करोडले भुक्तानी बचत थियो । विदेशी मुद्रासञ्चिति रु. १४ खर्ब पुगेको थियो । त्यसवेलाको विदेशी मुद्रा सञ्चितिले ११ महिनाभन्दा बढीको वस्तु आयात धान्न सक्ने अवस्था थियो’ पूर्व अर्थमन्त्रीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै अर्थमन्त्रीहरुले नेकपा (एमाले)ले ल्याएको लोकप्रिय बजेटले निजी क्षेत्र उत्साहित भएको भन्दै व्यवसायमैत्री र पारदर्शी कर प्रस्तावका कारण लगानीकर्ता र व्यवसायीहरु ढुक्क भएर आर्थिक गतिविधि विस्तारमा लाग्ने वातावरण बनेको बताएका छन् । ‘नेपालको विकासमा सहयोग गर्न दातृ निकायको विश्वास बढेर गएको थियो । सरकारी वित्त स्थिति सन्तुलित थियो । आर्थिक बर्षको अन्त्यमा रु. १९५ अर्बको ट्रेजरी बचत थियो । बैंक निक्षेप २१ प्रतिशतभन्दा धेरेले बढेकोले बैंकिंग क्षेत्रमा लगानीयोग्य स्रोतको अभाव थिएन । बैंकिंग क्षेत्रमा तरलताको अभाव नहुँदा लगानीकर्ताले सहजरुपमा पुँजी पाउने अवस्था थियो । कर्जाको व्याजदर एकल अंक दरमा सीमित थियो’ विज्ञप्तिमा भनिएको छ ।
गठबन्धन सरकार बन्नासाथ आर्थिक गडबडी सुरु भएको एमालेले बताएको छ । गठबन्धन सरकारले नेकपा (एमाले) को सरकारका लोकप्रिय कार्यक्रम खारेज गरेको, सरकारको ध्यान आर्थिक समस्याभन्दा आफ्नै स्वार्थ सिद्धितिर केन्द्रित भएको, संसदबाट एमसीसी अनुमोदन गराउँदा गठबन्धनले अनौठो तमासा देखाएको, अर्थतन्त्र गम्भीर संकटको मोडमा पुग्दा पनि अर्थ मन्त्रालयले लिनुपर्ने कतिपय पहलकदमी नलिएको जस्ता कमजोरीका कारण समस्या भएको पूर्व अर्थमन्त्री पौडेल, पाण्डे र खतिवडाले बताएका छन् ।
त्यस्तै नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले लिएको आर्थिक नीतिका कारण मुलुकको अर्थतन्त्र थप कमजोर हुँदै गएको भन्दै नेपाल राष्ट्र बैङ्कको गभर्नरलाई निलम्बन गर्नु व्यक्तिमाथि नभई प्रणालीमाथिको हस्तक्षेप भएको दाबी गरे । यस्तै पूर्व अर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकमा विदेशी मुद्राको सञ्चितिमा चाप परेको र व्यापार घाटा उल्लेख्य रुपमा बढेको भन्दै तरलता अभावले पुँजीगत खर्च बढाउन सक्ने अवस्था समेत नरहेको बताए ।
यसैगरी पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडाले निजी क्षेत्र यो सरकारबाट निराश भएको भन्दै आर्थिक निकायहरुबीच समन्वयको अभाव रहेको अवस्थामा निजी क्षेत्रसहित सबैलाई विश्वासमा लिएर सङ्कटपूर्ण अवस्थाबाट मुलुकलाई अगाडि बढाउन सरकार गम्भीरताका साथ लाग्नुपर्ने बताए ।
यस्तो छ विज्ञप्तीको पूर्णपाठ :