सत्ता गठबन्धनमा देशैभर ऐंजेरू, हौसियो एमाले

स्थानीय निर्वाचनको लागि मनोनयन दर्ता सम्पन्न भएसँगै सिट बाँडफाँटको सकसबाट दलहरूले मुक्ति पाएका छन् तर नेकपा एमालेविरूद्ध संघर्ष गर्ने बन्दै एक भएका पाँचदलीय गठबन्धनका नेताहरूले देशभर बागी उम्मेद्वारी दिँदा उनीहरूलाई मनाउन गठबन्धनका शीर्ष नेताहरूलाई हम्मेहम्मे परेको दखिन्छ । निर्वाचनको अघिल्लो दिनसम्म पनि उनीहरूको प्रयास गठबन्धनका उम्मेद्वारलाई सर्वसम्मत बनाउनमैं केन्द्रित हुनुपर्ने अवस्था छ । बरू प्रतिपक्षी दल नेकपा एमालेमा केन्द्रको आदेशको पालना भएको देखिन्छ, जसकारण राष्ट्रिय राजनीतिबाट विश्राम लिने अवस्था ल्याउने बताइरहेका गठबन्धनको बेमेलकै कारण एमाले नै पहिलो शक्ति बन्ने सम्भावना बढेर गएको छ ।

देशका कतिपय स्थानमा गठबन्धनको निर्देशनविपरीत स्थानीय नेताहरूले काँग्रेससँगै सहकार्य गरेपछि गठबन्धनमाथि नैतिक प्रश्नसमेत उठेको छ । एमालेलाई राप्रपा नेपालसँग सहकार्य गरेको बन्दै पश्चगामी शक्तिहरूको गठबन्धन बनेको आरोप लगाउने गरेको सत्ता गठबन्धनलाई आफ्नै नेताहरू एमालेसँग सकार्य गर्न पुगेपछि मुखमा बुझो लाग्ने देखिन्छ । साथै प्रतिष्ठाको विषय बनाइएको महानगरमा पनि गठबन्धनका उम्मेद्वारविरूद्ध बागी उम्मेद्वारी परेकोले चुनावी नतिजामा ठूलो असर गर्ने देखिन्छ । दलहरू भने उम्मेद्वारी फिर्ताको वातावरण बनाउनुको सट्टा कारबाहीको डण्डा चलाएर आगोमा घिउ थप्ने काम गरिरहेका छन् ।



देशभर सत्ता गठबन्धनमा देखिएको बेमेलले एमाले भने हौसिएको छ । गठबन्धन गठबन्धनबीच इगोको लडाइ हुने देखिएपछि देशभरको माहोल आफ्नो पक्षमा आउनेमा ऊ आशावादी देखिएको छ । ठूला दलहरू एकातिर र आफू अर्कोतिर भएको अवस्थामा थोरै सिटले भएपनि आफू पहिलो दल बन्न सकेमा आफ्नो ठूलो विजयी हुने भन्दै अध्यक्ष ओलीले एक भएर गठबन्धनको सामना गर्न नेता कार्यकर्तालाई निर्देशन दिइसकेका छन् ।

एमालेसँग भन्दा माओवादीसँग रूष्ठ काँग्रेस
निर्वाचनको वस्तुगत अवस्था हेर्दा पहिलो दल बन्न एमाले र काँग्रेसबीच नै प्रतिष्पर्धा हुने देखिन्छ । गठनन्धनमा सिट बाँडफाँटको अवस्था हेर्दा माओवादी तेस्रो दलमै सीमित बन्ने निश्चित छ । केवल १७ प्रतिशत स्थानमा उम्मेद्वारी दिएको माओवादी पहिलो पार्टी बन्ने प्रतिष्पर्धाबाट बाहिरिसकेको छ । यस्तो अवस्थामा नेपाली काँग्रेसले गठबन्धनका दलहरूलाई रिझाएर एमालेको मुकाविला गर्नुपर्ने हो तर कतिपय स्थानीय तहमा उम्मेद्वारी भागबण्डामा सहमति नजुट्दा काँग्रेस माओवादीसँगै रूष्ठ हुन पुगेको छ, जसको प्रभाव निर्वाचनमा पनि स्पष्ट देखिने छ । यसको प्रत्यक्ष लाभ एमालेलाई नै पर्ने देखिन्छ ।

काँग्रेसमा महाधिवेशनको तुस
हालै महाधिवेशन सम्पन्न गरेको नेपाली काँग्रेसमा त्यसको तुस पनि निर्वाचनमा देखिएको छ । कतिपय स्थानमा उम्मेद्वार चयन गर्दा महाधिवेशनमा सहयोग गरेकालाई च्याप्ने र असहयोग गरेकाहरूलाई पेल्ने कामहरू भए जसले गर्दा काँग्रेसमा निर्वाचनमा आन्तिरिक इगो साँध्ने काम भइरहेका छन् । यसको असर मतदानस्थलसम्मै पर्ने देखिन्छ ।

शेखर कोइराला समूहका प्रभावशाली नेता गुरुराज धिमिरेले यसै विषयमा असन्तुष्टि जनाउँदै निर्वाचनपछि पार्टीबाट राजीनामा दिने घोषणा नै गरेका छन् । अन्य नेताहरूमा पनि सिट बाँडफाँटलाई लिएर नै चर्को असन्तुष्टि देखिन्छ । निर्वाचनमा आन्तरिक अन्तर्घात गर्ने काँग्रेसको पुरानै रोग हो । यसबाट अहिले पनि काँग्रेस मुक्त हुन सकेको छैन, जसको कारण पहिलो दल बन्न एमालेसँग प्रतिस्पर्धामा रहेको उसलाई चुनौती थपिएको देखिन्छ ।

सम्बन्धित समाचार