नवकान्तिपुर संवाददाता
काठमाडौं, २० वैशाख ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै अहिले देश नै निर्वाचनमय बनेको छ । सरकारले आगामी वैशाख ३० गतेको स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै चुनावी माहोल तातेको हो । अहिले देशभरिका सामान्य चिया पसलदेखि चोक, गल्ली हुँदै शहर, बजार र सभा–समारोहमा समेत निर्वाचनकै कुरा चलिरहेको पाइन्छ । निर्वाचन हुने सुनिश्चित भएर मिति पनि नजिकिँदै गएपछि विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेको पाइन्छ ।
यसैक्रममा सबै उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त रहेका छन् । उनीहरू आ–आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै मतदाताहरूको घर आँगनमा पुगेर भोट माग्दैछन् र भोटको लागि उनीहरू मतदातालाई सम्भव–असम्भव सपना पनि बाँडिरहेका छन् । सपना बाँड्ने काम पनि प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको देखिन्छ ।
विद्यमान कानुनी व्यवस्थाअनुसार मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडाहरू छन् । महानगरपालिकादेखि वडासम्मले निकट भविष्यमा नै नयाँ नेतृत्व पाउने छन् । निर्वाचनको लागि १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
कुन पदको लागि कतिले दिएका छन् उम्मेदवारी ?
निर्वाचन आयोगको तथ्याङ्कलाई आधार मान्दा वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा मेयर र उपमेयर, गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, वडाहरूको वडाध्यक्ष र सदस्यसमेतका लागि ३५ हजार २२१ पदहरू छन् र त्यसका लागि कूल एक लाख ५३ हजार २२० जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा कूल उम्मेदवारमध्ये ९५ हजार २५३ पुरूष र ५७ हजार ९६७ महिला रहेका छन् ।
निर्वाचनमा उम्मेदवारी दिने दलहरूमध्ये नेकपा एमालेका ३३ हजार ५०३, नेपाली काँग्रेसका ३१ हजार ४२५, नेकपा माओवादी केन्द्रका २२ हजार २७९, नेकपा एकीकृत समाजवादीका ११ हजार ३३०, जनता समाजवादी पार्टी नेपालका ९ हजार ४८१ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका चार हजार ७६१ उम्मेदवार छन् भने अन्य साना दलहरूले पनि आफूलाई बलियो रूपमा प्रस्तुत गरेका छन् । दलले नचिनेका र आफूलाई स्वतन्त्र उम्मेदवारका रूपमा प्रस्तुत गर्नेहरूको सङ्ख्या १२ हजार ७८९ रहेको छ ।
कति छन् मतदाता ?
निर्वाचन आयोगले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांकअनुसार स्थानीय तह निर्वाचनको लागि मतदाताको संख्या एक करोड ७७ लाख ३३ हजार ७२३ रहेका छन्, जसमा पुरूष मतदाताको संख्या ८९ लाख ९२ हजार १०, महिला मतदाताको संख्या ८७ लाख ४१ हजार ५३० र अन्य मतदाताको संख्या १८३ रहेको छ ।
कस्तो छ मतपत्र ?
स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले मतपत्र हरियो मसिले छपाई गरिएको छ । मतपत्रमा पहिलो क्रममा नेकपा एमालेको ‘सूर्य’, दोस्रोमा नेपाली काँग्रेसको ‘रूख’, तेस्रोमा नेकपा माओवादी केन्द्रको ‘गोलाकार हँसिया हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौँमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैटौँमा नेकपा एकीकृत समाजवादीको ‘कलम’ रहेको छ । त्यसैगरी अन्य दलहरूका चुनाव चिन्हहरू त्यसपछि क्रमशः रहेका छन् ।
चुनावी प्रचार–प्रसारमा कति खर्च गर्ने पाउँछन् उम्मेदवारले ?
निर्वाचन आयोगले उम्मेदवारले प्रचार प्रसारलगायत चुनावमा कति खर्च गर्न पाउने भन्ने व्यवस्था पनि सार्वजनिक गरेको छ । आयोगले तोकेका आधारमा महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले ७ लाख ५० हजार, महानगरका वडाध्यक्ष र सदस्यका उम्मेदवारले ३ लाख, उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले ५ लाख ५० हजार, उपमहानगरपालिकाका वडाध्यक्ष र सदस्यले दुई लाख ५० हजार रूपैयाँसम्म खर्च गर्न पाउँने छन् ।
यसैगरी नगरपालिका प्रमुख र उपप्रमुखले ४ लाख ५० हजार, नगरपालिकाका वडाध्यक्ष र सदस्यले दुई लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार, गाउँपालिका वडाध्यक्ष र सदस्यले एक लाख ५० हजार रूपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।