चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ : नेम्वाङ

अघिल्लो निर्वाचनमा पहिलो भएको नेकपा एमाले यस पटकको स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा खुम्चिएको छ। पाँचदलीय गठबन्धनका कारण मात्रै नेपाली कांग्रेस पहिलो हुन पुगेको तर्क गर्ने एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ तमाम घेराबन्दीका कारण पनि एमाले दोस्रो स्थानमा रहन सक्नुलाई पार्टीको विजयका रूपमा लिन्छन्। उनी भन्छन्, ‘गठबन्धन गरेर जानु नै उहाँहरूको पहिलो पराजय थियो, त्यसमाथि पाँच दलीय गठबन्धनले नपुगेर अन्य दलसमेत जोड्दा पनि एमालेलाई दोस्रो स्थानभन्दा तल झार्न नसक्नु उहाँहरू थप पराजित हुनु हो । एक्लाएक्लै निर्वाचन लडेर विजय हुने हिम्मत् त एमालेसँग रहेनछ भनेर यो निर्वाचनले पुष्टि गरेको छ।’

उनै नेम्बाङसँग निर्वाचन, निर्वाचनको परिणामलगायत विषयमा गरेको कुराकानीको सम्पादित अंश :



स्थानीय तहमा एमालेले नमजासँग पराजय भोग्यो नि ? यो हालतमा पुगिएला भन्ने सोच्नुभएको थियो ?

सिटको सङ्ख्या हेर्दा त तपाईंले भनेको सही हो । तर, खासमा जनमतको हिसाबमा हेर्नुहुन्छ भन्ने एमाले थप शक्तिशाली भएर आएको छ। त्यो तपाईंहरूले निर्वाचनको परिणामको विश्लेषण गर्नुभयो भने पनि थाहा पाउनुहुन्छ ।

अघिल्लो निर्वाचनमा पहिलो पार्टी भएको एमाले अहिले दोस्रो पार्टीमा खुम्चिएको अवस्था छ । तैपनि शक्तिशाली भएको छ भन्नुहुन्छ, जनताले त परिणाम हेर्ने होला नि ?

सरसर्ती हेर्दा त्यस्तो लागे पनि यो चुनावबाट एमालेले एउटा नसोचेको विजय हासिल गरेको अवस्था छ । जब सत्तारूढ दलमा आबद्ध पाँच दलले गठबन्धन बनाएर निर्वाचनमा जाने निर्णय लिनुभएको थियो, त्यो बेलादेखि नै मैले भन्दै आएको थिएँ कि पाँच दल त्यसमा सत्तारूढ दल नै गठबन्धनमा मिलेर जानुको अर्थ एमालेले निर्वाचनअघि नै विजय हासिल गरिसक्यो । यो कुरा त मैले मात्रै होइन, राजनीतिक विश्लेषकहरूले नै भनेका थिए।

त्यो त चित्त बुझाउने कुरा होला । जनतालाई सेवा प्रवाह गर्ने जनप्रतिनिधि त तपाईंको पार्टीबाट नै हुन सकेनन् । धेरै जसो त कांग्रेस र माओवादीको भएको देखियो । मुख्यतः जनतालाई ‘डेलिभरी’ दिने कुरा होला नि ?

यसलाई भोलिका दिनमा जनताले हेर्ने नै छन् । तर, याद गर्नुपर्ने कुरा के हो भने संसदीय प्रणालीमा सत्तारूढ दलले कहिल्यै पनि गठबन्धन गरेर जाँदैन । गएको इतिहास पनि छैन । गठबन्धन गर्ने भनेको त प्रतिपक्ष दलले हो । झन् यो संसदीय प्रणालीको हिमायती भन्ने कांग्रेस नै एमालेसँग डराएर गठबन्धनमा गर्ने अवस्थामा पुग्नु भनेको त सुरूमा नै ऊ ‘डिफेन्स’मा पुगेको भन्ने अर्थमा बुझिनुपर्छ । त्यति मात्रै होइन, हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा त पाँच दलको गठबन्धनले समेत नपुगेर राप्रपालाई समेत जोडेर गठबन्धन गर्नुपर्ने अवस्थामा पुग्नु भनेको एमालेको त स्वतः विजय नै हो । भलै त्यो सिटमा देखिएन । त्यसैले म भन्छु– यो निर्वाचनले एमालेको जनमत घटेको छैन । सबै दललाई ‘डिफेन्स’मा राखेर एमालेले आफ्नो जनमत थप सुदृढ गर्ने अवस्थामा पुगेको छ । यसबाट हामी आत्तिएका छैनौँ । बरु थप शत्तिशाली भएर एमाले आएको छ।

सिट जति त अरु दलले कब्जा गरिसके । आत्तिएको छैन भन्नु त मनको लड्डु घिउसँग खाए जस्तो भएन र ?

ल तपाईंले भनेको मानें । उहाँहरूको जित भयो । तर, त्यसरी जित हासिल गर्दैगर्दा यो चुनावले कांग्रेसको जनमत कति छ ? माओवादीको कति छ ? एकीकृत समाजवादी कति छ ? पहिचान भयो त ? पहिचान त हुन सकेको छैन । यो निर्वाचनवाट कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत दलको जनमत देख्न पाइएन । किनभने सबैले सबैलाई भोट हालेका छन् तर एमालेको जनमत कति भन्ने त यस चुनावले देखाइसकेको छ। उहाँहरू आफ्नो जनमतसम्म देखाउन नसक्ने अवस्थामा पुग्नुभएको छ । जनमत पहिचान गर्ने अवस्थामा नै पुग्नसक्नु भएको छैन । एउटा राजनीतिक दलको योभन्दा बेहाल अरू के हुनसक्छ ?

भनेपछि एक्लाएक्लै चुनाव लडेको भए यो निर्वाचनवाट एमाले पहिलो पार्टी हुन्थ्यो ?

यो त जनमतले नै देखाइसक्यो त, देखाएन र ? एमालेलाई सारा घेराबन्दी गरेर गठबन्धन गरेर जानु भनेको सुरूमा नै राजनीतिकरूपमा पराजय हुनु हो । त्यसले पनि नपुगेर कुनै पनि पार्टीका सभापति होइन, प्रधानमन्त्री स्वयंले आमसभामार्फत् गठबन्धनलाई जिताउनु जनताको कर्तब्य हो भनेर भाषण गर्नुभयो । एउटा देशका प्रधानमन्त्रीले यसो भन्न मिल्छ ? तर, निर्वाचन आचारसंहिताविपरीत गठबन्धनलाई जिताउन जनतालाई दबाब दिनुभयो । खासमा प्रधानमन्त्रीको कुर्सीबाट भन्नुपर्ने कुरा यति मात्र थियो– स्थानीय तहको निर्वाचनमा डर, त्रास र भयरहित भएर स्थानीय तहको निर्वाचनमा आफूले रोजेको पार्टीलाई जिताउनुहोस् भनेर । तर, उहाँले त्यसो नभनेर गठबन्धन आबद्ध दललाई जिताउनु जनताको कर्तब्य हो भनेर गठबन्धनको पक्षमा मत माग्नुभयो । देशको अभिभावक मानिएको प्रधानमन्त्रीले यसो भन्न मिल्छ ? तर, उहाँले निर्वाचनको दौरानमा मन परेका पार्टी रोज्न पाइँदैन, जसरी पनि गठबन्धनलाई मत दिनुपर्छ भन्ने आशयसहित पदीय मर्यादा नै भुलेर निर्वाचनमा जानुभयो । कुनै पनि प्रधानमन्त्रीले संसारमा यसरी मत माग्छन्? मैले चाहिँ त कहीँ कतै थाहा पाएको छैन ।

त्यसोभए एमालेलाई एक्ल्याउन सबै उपाय सत्तारूढ दलबाट गरियो ?

यो त घाम जत्तिकै छर्लङ्ग छैन र ? यो त सबैले सहजै बुझ्ने कुरा हो । त्यत्रो गठबन्धन गर्दा पनि एमालेसँग पराजय हुने डरले पो हो कि के हो  एक जना नेताले त म नाम भन्दिनँ । तर, उहाँले त ‘गठबन्धनलाई मत नदिए देश दुर्घटनामा पर्छ’ भनेर जनतालाई धम्क्याउनु नै भयो । छोरीलाई जिताउनका लागि मत नदिए देश दुर्घटनामा पर्ने अनि दिए मात्र देश दुर्घटनाबाट जोगिनेसम्म कुरा गर्नुभयो ।

जनतालाई धक्क्याएर मत माग्ने काम शीर्ष नेताले मात्र होइन, प्रधानमन्त्री पत्नीले समेत गर्नुभयो । जिताएको अवस्थामा स्थानीय पालिकामा पैसा पठाउने, नजिताए नपठाउनेसम्म भन्नुभयो ।

जिताउने परिवारलाई मलेसिया हो कि साउदी अरब पठाउनेसम्मको अभिव्यक्ति दिनुभयो । प्रधानमन्त्री पत्नीले त्यो भूमिकामा बसेर यस्तो बोल्न मिल्छ ? तर, बोलिदिनुभयो । त्यति मात्र होइन, निर्वाचनपछि पनि राज्य शक्ति दुरुपयोग गरेर एमालेलाई एक्ल्याउने काम गरियो । पार्टी महासचिवले प्रेस विज्ञप्तिमार्फत् भनिसक्नुभएको छ। तसर्थ, म भन्छु–  एमालेको केही सिटमा तलमाथि भयो होला तर जनमत घटेको छैन। बरु, एमालेले एक्लैले अरू दललाई यो निर्वाचनमार्फत् ‘डिफेन्स’ मा राखिदिएको छ ।

सम्बन्धित समाचार