नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असार ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली कांग्रेसलाई ‘विपत सम्हाल्ने नेता’ र पार्टीको रुपमा इतिहासले स्थापित गरेको भन्दै कांग्रेसको यस बैठकले भरोसायोग्य सन्देश र समाधान जनतालाई दिनुपर्ने बताएका छन् । आज (बिहीबार) कांग्रेसको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उनले यस्तो बताएका हुन् ।
केसीले नेपाल गम्भीर संकटका चक्रब्युह वा पासोतिर उन्मुख रहेको बताएका छन् । उनले मूलधारका पार्टीहरूप्रति वितृष्णा र अविश्वास बढ्दै गएकोले नै स्वतन्त्र उम्मेद्वारतर्फ मतदाता आकर्षित भएको दाबी गरे ।
त्यस्तै उनले जनताको निकट सम्पर्क र राज्यको अग्रपंक्तिमा रहेका स्थानीय तहको निर्वाचनमा कांग्रेसले सन्तोषजनक उपलब्धी हासिल गरेपनि अन्तरघातबाट मुक्त रहन नसेको धारणा व्यक्त गरे । यस्तै उनले पार्टी कार्यालय सानेपामा संस्थापनइतरका नेतालाई बस्ने ठाउँ नदिइएको आरोप लगाए । उनले भने ‘यहीँ ठाउँ भए हामी होटलमा जान्नौं, छलफल गर्न पार्टी कार्यालयमै बस्छौं ।’
केसीले देशमा आर्थिक समस्या भइरहेका बेला सरकारले करोडौं रुपैयाँ खर्चेर हतियार किन्न लागेको विषयमा पनि प्रश्न उठाएका छन् । बैठकमा उनले देशमा आर्थिक संकट चुलिँदै गएको र विदेशी मुद्रा रित्तिँदै जान थालेको वित्तीय संकटका बेला ८४ करोड रुपैयाँ बराबरको विदेशी हातहतियार किन्नुको के औचित्य छ भनी प्रश्न गरेका हुन् । बैठकमा उनले आफ्नो १० बुँदे विचार प्रस्तुत गरेका छन् ।
उनले विदेश नीति र राष्ट्रिय सुरक्षा नीति सरकारबाट सर्वदलीय सहमतिद्वारा नै तय गर्नु आवश्यक रहेको बताउँदै ‘समानान्तर अर्थतन्त्र’ को नाममा भ्रष्टाचार, तस्करी, माफियागर्दी, कमिशनखोरी, आर्थिक अपराधीले खेलाएको कालो धनले राजनीतिमा पनि निर्णायक पहुँच बनाउन थालेको जिकिर गरेका छन् ।
यस्तो छ अर्जुननरसिंह केसीको विचार
देशको वर्तमान अवस्था : नेपाली कांग्रेसको जिम्मेवारी आदरणीय सभापतिज्यू, नेपाली कांग्रेस पार्टीका सम्पूर्ण पदाधिकारीहरू र सदस्य साथीहरू ।
१. नेपाल गम्भीर संकटका चक्रब्युह वा पासोतिर उन्मुख छ । असफल राज्यका विशेषताहरू देखिन थालेका छन् । ‘नेपाल श्रीलंकाको नियति भोग्ने अवस्थामा’ जान्छ कि भन्ने त्रासले सर्वसाधारण जनतालाई झन् गम्भीर चिन्तामा पारेको छ । भ्रष्टाचारको पासो, ऋणको भारी, बाह्य चलखेल र शक्तिराष्ट्रहरूको द्वन्द्वको महाभारी जस्ता अनेकौं चक्रब्युह देशभित्र देखिन थालेका छन् । देशमा आर्थिक संकट चुलिँदै गएको र विदेशी मुद्रा रित्तिदै जान थालेको बित्तीय संकटका बेला ८४ करोड रुपैयाँ बराबरको विदेशी हात–हतियार किन्नुको के औचित्य छ ?
२. दोस्रो विश्वयुद्धपछि ८० को दशक अन्त्यसम्म शीतयुद्धको केन्द्र युरोप थियो भने वर्तमान परिवेशमा अमेरिका–चीन बीचको शीतयुद्धको स्थल–केन्द्र नेपाल हुनथालेको छ । दुई विशाल छिमेकी भारत र चीनका बीच बढ्दो आर्थिक, सामरिक तथा राजनीतिक शक्तीका साथै यी दुई छिमेकीको रस्साकस्सी र युद्धस्तरीय प्रतिष्पर्धाबाट हाम्रो भूभाग चोखो रहन सक्दैन । यसबारे हाम्रो स्पष्ट दृष्टिकोण र उचित राष्ट्रिय भूमिका तय हुनु अनिवार्य छ । विदेश नीति र राष्ट्रिय सुरक्षा नीति सरकारबाट सर्वदलीय सहमतिद्वारा नै तय गर्नु आवश्यक छ ।
३. अर्थतन्त्र संकटग्रस्त हुनुको मूल कारण ‘समानान्तर अर्थतन्त्र’ को नाममा भ्रष्टाचार, तस्करी, माफियागर्दी, कमिशनखोरी, आर्थिक अपराधीले खेलाएको कालोधन राजनीतिमा पनि निर्णायक पहुँच बनाउन थालेको खतरनाक स्थितितिर मुलुक घिसारिँदैछ छ । बजेट प्रस्तुत हुने अघिल्लो राती अर्थमन्त्रालयमा भएको काण्ड र अर्थमन्त्रीको राजिनामाले धेरै कुराको रहस्योद्घाटन गरेको छ । कतै हाम्रो उदारतालाई कमजोर ठानेर त्यसको नाजायज फाईदा लिने तत्वहरू पल्किरहेका त छैनन् । सतर्कता जरुरी छ ।
४. देशमा अनियन्त्रित हुँदैगएको दण्डहिनता, भ्रष्टाचार र सुशासनको अभावले आर्थिक अपराधी, माफिया र बिचौलियालाई संरक्षण र हौसला पुगेको वर्तमानमा यसको निराकरणको लागि आजसम्मका सम्पूर्ण चर्चित भ्रष्टाचार काण्डहरूको उच्चस्तरीय न्यायिक छानवीन समिति गठन गरी यथार्थ जनसमक्ष ल्याउने र न्यायोचित कारवाही गर्ने अग्रणी भूमिका कांग्रेसले नै निर्वाह गर्नुपर्छ । यसबारे मैले यसभन्दा अघिको यस्तै बैठकमा पनि माग गरेको थिएँ । मुलुकलाई न्यायोचित रुपमा आर्थिक अपराधीबाट मुक्त गराउनु जरुरी छ ।
५. पारदर्शी तथा विधिको शासन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको आधार राज्य सञ्चालनमा अगाध विश्वास राख्ने नेपाली कांग्रेस र यसका सभापतिले सत्ता सम्हाल्नुभएको बेलामा पनि पूर्ववर्ति एमाले नेतृत्वको सरकारका पालामा प्रधानमन्त्रीको मातहतमा राखेका राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान, तथा सम्पत्ती शुद्धीकरण विभागहरू प्रधानमन्त्री कार्यालयको मातहतमा राखिरहनुको औचित्य के छ ? संवैधानिक परिषद ऐनको संशोधनको जरुरत किन पर्यो ? यसमा संविधान, पद्धति र ऐनबारे हाम्रो पूर्वअडान र प्रतिपक्षी दलको आसनबाट हामीले यसको घोर विरोध गरेको आफ्नै आवाज सम्झौं र ती विषयहरू यथास्थानमा पुनःस्थापित गरौं ।
६. मुलुक आन्तरिक र बाह्य ऋणमा फस्दैगएको छ । विगत पाँच वर्षको अवधिमा गार्हस्थ उत्पादन घटिरहेको छ तर आन्तरिक र बाह्य कर्जा तीनगुणाले बढेको छ । लगानी, उत्पादन, वितरण र रोजगारीको अवस्था संकटपूर्ण हुँदा कुल गार्हस्थ उत्पादन (GDP) को २० प्रतिशत आन्तरिक र बाह्य कर्जा पनि धेरै हुन्छ । उत्पादनशील क्षेत्रमा लाग्ने पूँजीको लागि मात्र यस्तो ऋण जति लिए पनि हुन्छ । नेपालमा GDP को ४३ प्रतिशत ऋणभार पुग्नु चेतावनीपूर्ण पूर्वसंकेत हो ।
७. चौधौं महाधिवेशनले केवल नेता व्यवस्थापन गर्यो, नीतिगत छलफल र निर्णय केही पनि भएन । तर महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दा पनि यसको नीति महाधिवेशन गर्न नसक्नु वा नचाहनु, केन्द्रीय विभाग गठन र भातृसंस्थाहरूको अधिवेशन गरी पार्टीलाई पूर्णता दिन नसक्नुले नेतृत्वको योग्यता पुष्टि हुँदैन । पार्टीको आदरणीय सभापति पद सबै दृष्टिकोणले सबल र सक्षम हुनुपर्ने हामी सबैको चाहना हो तर पार्टीको विधान र पद्धति लत्याएर निरंकुश बन्न खोजे क्षतिग्रस्त हुन्छ । पार्टीको केन्द्रीय समितिले ‘स्थानीय अवस्था र आवश्यकताअनुसार तालमेल गर्ने’ निर्णय लियो । पछि यही निर्णय विपरीत हस्तक्षेप हुनु पार्टी विधानको बर्खिलाप हो । देशको परिस्थिति र कांग्रेसमा बढेर आएको जिम्मेवारीले हामीलाई एक मिनेट पनि गैरजिम्मेवारी देखाउने छुट छैन ।
८. नेपाली कांग्रेसलाई ‘विपत सम्हाल्ने नेता’ र पार्टीको रुपमा इतिहासले स्थापित गरेको छ । त्यसैले कांग्रेसको यस बैठकले भरोसायोग्य सन्देश र समाधान जनतालाई दिनुपर्छ । निर्वाचनको बेलामा जनतामा गरिएको वाचा (घोषणापत्र) लाई ध्यानमा राखेर काम गर्न स्थानीय तहमा निर्वाचित कांग्रेसका साथीहरूलाई पार्टीले Input सहित निर्देशन दिनु जरुरी छ । स्थानीय तहको कार्यसम्पादनमा नेपाली कांग्रेस अन्य पार्टीभन्दा कसरी उत्कृष्ट हुनसक्छ भन्ने सवालमा हामीले नीति, अभिमुखीकरण कार्यक्रम र निष्कर्ष बनाउनु पर्ने हुन्छ । हाम्रो जिम्मेवारी बढेको उत्तरदायित्व हामीले पूरा गर्नुपर्छ । नत्र उपलब्धी बरदानको रुपमा आएको अभिशाप हुन बेर लाग्दैन ।
९. मूलधारका पार्टीहरूप्रति वितृष्णा र अविश्वास बढ्दै गएकोले नै स्वतन्त्र उम्मेद्वारतर्फ मतदाता आकर्षित भए । जनसंख्याको ४० प्रतिशत नयाँ पुस्ता र मतदातालाई पार्टीमा आकर्षित गर्ने भरोसायुक्त विशेष कार्यक्रम र रणनीतिको अभावको परिणाम जनताको आस्था डगमगाएको अर्थमा शिक्षा लिएर समयमै कोर्श करेक्सन गरिएन भने आगामी निर्वाचनहरूमा स्वतन्त्र उम्मेद्वारको संख्या र मतदाता थपिन सक्ने कटु यथार्थबारे सतर्कता अपनाऔं ।
१०. जनताको निकट सम्पर्क र राज्यको अग्रपंक्तिमा रहेका स्थानीय तहको निर्वाचनमा कांग्रेसले सन्तोषजनक उपलब्धी हासिल गरेको छ, तथापि अन्तरघातबाट मुक्त रहन सकेन । यसका कारक पक्षलाई जरैदेखि समाप्त गर्न आवश्यक छ ।